Pages

Sunday, February 4, 2018

मौन अवधिको उल्लंघन गर्दै दल र मिडिया, रवीन्द्र अधिकारीलाई पनि पत्र काटियो

किशोर दहाल

२o७४ मङ्सिर ९ शनिबार| प्रकाशित १७:३४:oo

काठमाडौं– पहिलो चरण अन्तर्गत ३२ जिल्लामा आइतबार हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि शुक्रबारदेखि नै मौन अवधि सुरु भएको छ। यसबीच ती जिल्लामा निर्वाचन प्रचार–प्रसारका कुनै गतिविधि गर्न पाइँदैन।

दुई चरणमा निर्वाचन हुन लागेकाले दलहरुले दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा चुनावी कार्यक्रम गरिरहेका छन्। त्यसलाई उनीहरुका कार्यकर्ताले सभाका भाषण, घरदैलोका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सबैतिर फैलाइरहेका छन्।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालका अनुसार, चुनाव नभएको ठाउँमा सभा तथा घरदैलो गर्न पाइए पनि चुनाव हुन बाँकी क्षेत्रमा समानुपातिक मत प्रभावित हुनसक्ने भएकाले सामाजिक सञ्जालमा पोस्ट गर्न र समाचार बनाउन पाइँदैन। ‘दल र उम्मेदवार त गैरजिम्मेवार भए–भए,’ पौड्याल प्रश्न गर्छन्, ‘सञ्चार माध्यम जिम्मेवार हुन पर्दैन?’


एमाले नेता रवीन्द्र अधिकारीले पोखराको सभाका तस्बिर फेसबुक र ट्विटरमा हालेको जानकारीसँगै स्पष्टीकरण माग गर्दै पत्र काटिसकिएको उनले जानकारी दिए। यसअघि राप्रपा नेता कमल थापालाई पनि पत्र काटेर स्पष्टीकरण सोधिएको छ। पौड्यालले भने, ‘आयोगले सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यमको अनुगनम गरिरहेको छ। मौन अवधिको मर्मविपरीत कार्य गर्ने सबैलाई पत्र काटेर स्पष्टीकरण सोधिनेछ।’

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले गोरखाको रामपुरमा शनिबार आयोजित कार्यक्रमको तस्बिर ट्विटरमा पोस्ट गरे। प्रधानमन्त्री देउवाले तत्काल त्यसलाई रिट्विट गरिदिए। त्यति मात्रै होइन, स्वयं देउवाको फेसबुक पेजबाट उनको कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि भयो। प्रधानमन्त्रीको चुनावी कार्यक्रम, अभिव्यक्ति र सक्रियता आइतबार निर्वाचन हुने ३२ वटै जिल्लामा पनि पुग्यो।

नेकपा एमालेका नेता तथा कास्की २ बाट प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र अधिकारीले पनि शनिबार पोखरामा आयोजित कार्यक्रमको तस्बिर ट्विटरमा पोस्ट गरे। उनले त्यहाँ वामपन्थी गठबन्धनको भव्यता झल्कने फोटो पोस्ट गरे। उनको फोटोको अप्रत्यक्ष सन्देश पनि जिल्लागत सिमाना नाघेर सबैतिर पुग्यो।

अधिकारी मात्रै होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट प्रेससँग समन्वय गर्ने जिम्मा पाएका चेतन अधिकारीले ओलीले पोखरामा गरेको भाषण फेसबुक लाइभ गरे। त्यस्तै, संघीय समाजवादी फोरमका संयोजक उपेन्द्र यादवका सहयोगी महेश चौरसियाले पनि राजविराजमा आयोजित कार्यक्रममा यादवले गरेको भाषण फेसबुक लाइभ गरे।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको कुनै दायरा नहुने भएकाले नेताहरुले गरेको भाषणको भिडियो, तस्बिर र अन्य चुनावी गतिविधि त्यसरी फैलाउँदा आइतबार हुने निर्वाचनमा मुख्यगरी समानुपातिक मतलाई ठूलै प्रभाव पार्नेमा शंका छैन। नेताहरुले आफ्नो पार्टीका बारेमा दिने अभिव्यक्ति र अन्य पार्टीबारे गर्ने आलोचनाले केही हदसम्म प्रत्यक्ष उम्मेदवारलाई पनि सहयोग वा असहयोग पुग्न सक्छ। जुन मौन अवधिको मर्मविपरीत हो।

कार्यकर्ता मात्रै होइन, मुख्य दलका नेता र प्रधानमन्त्री स्वयंले निर्वाचन आचारसंहिताको यो सामान्य तथ्यलाई ख्याल गरेको देखिँदैन, जुन प्रधानमन्त्री देउवा फेसबुकबाट भएको उनको सभाको प्रत्यक्ष प्रसारण र रिट्विटले पनि पुष्टि गर्छ। मर्यादित हिसाबले चुनाव सम्पन्न गर्ने दायित्व भएका प्रधानमन्त्रीले नै निर्वाचत आचारसंहिताको उल्लंघन गरेपछि मर्यादित वातावरणमा निर्वाचन सम्पन्न हुने कुरामा प्रश्न उब्जिएको छ।

सामाजिक सञ्जालको मात्रै होइन, सञ्चार माध्यमको भूमिका पनि सन्देहात्मक देखिएको छ। मौन अवधिमा नेताहरुको अभिव्यक्तिलाई कतिपय सञ्चार माध्यमले समाचार बनाएर प्रस्तुत गरिरहेका छन्।

शनिबार पोखरामा आयोजित वाम गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेस विरुद्ध अभिव्यक्ति दिँदै आफ्नो सरकार बनेपछि गर्ने कामबारे सपना बाँडे। विश्वसनीय सञ्चार माध्यमका रुपमा देशभर हेरिने र सामाजिक सञ्जालमार्फत धेरैको पहुँचमा पुगेका धेरै डिजिटल पत्रिकाहरुले त्यसलाई मुख्य प्राथमिकता दिए।

ओलीको मात्रै होइन, अन्य नेताको भाषणमा आधारित भएर समाचार प्रकाशन भइरहेका छन्।

सरकारका नेतृत्वकर्ता, दलका जिम्मेवार नेता, सञ्चार माध्यम सबैले निर्वाचन आचारसंहिता बेवास्ता गरेपछि निर्वाचन स्वच्छ र संयमित हुनेमा शंका उब्जिएको छ।

http://nepallive.com/news-details/6785/2017-11-25 

No comments:

Post a Comment