Pages

Tuesday, February 27, 2018

समयरेखामा ओली, १९ महिनापछि फर्किए बालुवाटार

किशोर दहाल

२o७४ फागुन ३ बिहीबार| प्रकाशित १९:o५:oo

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार छाडेको १९ महिनामै उनी पुनः सोही निवास पुगेका हुन्। यसअघि २०७२ असोजदेखि ०७३ साउनसम्म उनी प्रधानमन्त्री भएका थिए।

नयाँ संविधान जारी भइसकेपछि दुई पटक प्रधानमन्त्री हुने उनी पहिलो नेता पनि हुन्।

मंसिर १० र २१ मा दुई चरणमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा नेकपा एमाले पहिलो दल बनेपछि ओलीलाई पुन: प्रधानमन्त्री बन्ने अवसर जुरेको हो।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दलको हैसियतमा छ। प्रतिनिधिसभामा एमालेका १ सय २१, कांग्रेसका ६३,  माओवादी केन्द्रका ५३, राजपाका १७ र संघीय समाजवादी फोरमका १६ सदस्य छन्। अन्य ५ वटा दलले १/१ सिट सहित स्वतन्त्र सांसदको हैसियतमा प्रतिनिधित्व गरेका छन्। सरकार निर्माणका लागि १ सय ३८ सिट आवश्यक रहेकोमा एमाले र माओवादीका १ सय ७४ जना सांसद पुग्छन्।

बालुबाटारबाट बाहिरिएर सबैभन्दा छिटो फर्कने प्रधामन्त्री ओली नै हुन्। त्यसपछि भने शेरबहादुर देउवाको नाम आउँछ। ०५९ असोजमा बालुवाटारबाट बाहिरिएका देउवा ०६१ जेठमा फर्किएका थिए। उनी २० महिनापछि प्रधानमन्त्री निवासमा फर्किएका थिए।


०७२ असोज २४ मा प्रधानमन्त्री बन्दा ओलीलाई प्रचण्डले प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा ओलीले कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए। त्यतिबेला ओलीले ३ सय ३८ मत पाउँदा कोइरालाले २ सय ४९ मत पाएका थिए। प्रधानमन्त्री हुन त्यतिबेला कम्तिमा २ सय ९८ मत आवश्यक पर्थ्यो।

कोइरालालाई पराजित गरेर प्रधानमन्त्री बनेका ओली र उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने प्रचण्डबीच करिब ६ महिनापछि नै असमझदारी देखिन थालेको थियो। ०७३ वैसाख २२ मा प्रचण्डले एक विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियाको बाँकी कार्यभार, संविधानको कार्यान्वयन, पुनर्निर्माणका लागि नेकपा एमालेलाई समर्थन गरेको तर परिणाममुखी कार्य अगाडि बढाउन नसकेकाले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गरेर ती कार्यभार पूरा गर्न आग्रह गरे। उनले ओलीलाई भेटेरै आफ्नो नेतृत्वमा सरकार गठनका लागि सघाउन आग्रह गरे। तर, एमाले र माओवादीबीच वैशाख २३ मा ९ बुँदे सहमति भएपछि तत्कालका लागि ओली सरकार ढलेन। यद्यपि सरकारले बजेट ल्याएपछि प्रचण्ड प्रधानमन्त्री बन्ने भद्र सहमति भने भयो।

तर, बजेटपछि ओलीले राजीनामा नदिएपछि असार २८ मा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो। प्रधानमन्त्रीलाई समर्थन फिर्ताको पत्र पठाउँदै प्रचण्डले भने, 'वर्तमान सरकारको नेतृत्व ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं।'

त्यसको भोलिपल्ट अर्थात् असार २९ मा प्रचण्ड प्रस्तावक र शेरबहादुर देउवा समर्थक भएर प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वास प्रस्ताव पेश गरियो। प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त लगायतका दलका गरी २ सय ५५ जना सांसदले हस्ताक्षर गरे। संसद् बैठक साउन ७ का लागि बोलाइयो तर बैठक बस्न सकेन। साउन ८ र ९ गते अविश्वास प्रस्तावमा छलफल भयो। सरकारविरुद्ध प्रस्तुत भएको अविश्वास प्रस्ताव र त्यस क्रममा उठेका विभिन्न प्रश्नका जवाफ दिएपछि ओलीले ९ गते नै संसद्‌बाट राजीनामा दिए। अविश्वास प्रस्तावमाथि मतदान भएन।

ओली पहिलोपटक प्रधानमन्त्री हुनु ३ हप्ता अघिदेखि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। प्रधानमन्त्री भइसकेपछि ओलीले भारतीय नाकाबन्दीको विरोधमा अडानहरु लिए। जसले भारतीय दबाबलाई निस्तेज बनाउन सहयोग गर्योे। साथै, ओली राष्ट्रवादी नेताका रुपमा चिनिए। पछिल्लो चुनावमा एमालेको जितका लागि धेरैले ओलीको त्यही प्रधानमन्त्री काल र अडानलाई कारण मान्ने गर्छन्।
त्यस्तै, उनले भारतसँग मात्रै नभई चीनसँग पनि संवाद र सहमतिको प्रक्रिया सुरु गरे। भारतकेन्द्रित सम्बन्धलाई चीनतिर पनि विस्तार गर्ने प्रयास गरे।

तर, उनका केही अभिव्यक्तिले उनलाई मधेसमाझ अलोकप्रिय पात्रका रुपमा उभ्याइदिएको थियो। विशेषगरी उनले मधेस आन्दोलनलाई भारतीय चाहनाको उपजका रुपमा व्याख्या गर्ने र उसैले अह्राएका केही नेताले भाँडभैलो मच्चाएको रुपमा व्याख्या गरेका थिए। र, खुलेआम सोही किसिमको अभिव्यक्ति दिने गरेका थिए।

अर्कोतिर उनी आफ्ना 'उडन्ते सपना'का कारण पनि विवादित र चर्चित भएका थिए। मानिसले खाना पकाउन ग्यास नपाएर जाडोमा रातभर डिपोअगाडि लाइन लाग्नुपरिरहेका बेला उनी पाइपबाट घरघरमा ग्यास पुर्यानउने सपना बाँड्थे।

नाकाबन्दी सुरु भएको एक हप्तामै काठमाडौंका सवारीसाधनलाई इन्धन दिन नसकेर जोरबिजोर प्रणाली कार्यान्वय गर्नुपरेको र मानिसले गाडीको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्नुपरेको अवस्थालाई कुनै प्रभावकारी सम्बोधन गर्न आवश्यक नठानेका उनले रेल र जहाजका सपना देखाएका थिए। त्यस्तै, उनी अत्यधिक खर्च र आर्थिक सहयोग वितरणका लागि पनि बदनाम भएका थिए।

मूल समस्यामा अनुदार भएका वा बेवास्ता गरेकै कारण माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको बताएको थियो।

ओलीपछि साउन १९ मा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री चुनिए। १० महिना प्रधानमन्त्री भएका उनले गत जेठ १० मा राजीनामा दिए। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने।

प्रतिनिधिसभाका लागि भएको चुनावमा कांग्रेस दोस्रो ठूलो दल बनेपछि प्रधानमन्त्री देउवाको सत्ता त्याग स्वाभाविक भयो। उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा गरी पदबाट बाहिरिए।

संविधानको नयाँ प्रावधानअनुसार बिहीबार नै प्रधानमन्त्रीमा ओलीका लागि दाबी गर्दै एमाले र माओवादीले राष्ट्रपतिलाई पत्र बुझाएसँगै उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। बिहीबारै सपथ ग्रहण गरी ओलीले प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो कार्यकाल सुरुवात गरेका छन्।

प्रतिनिधिसभामा बहुमत जुटाउन सक्ने दलका नेतालाई राष्ट्रपतिलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार ओली प्रधानमन्त्री बनेका हुन्। अब उनले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ।

समयरेखामा ओली

२००८ फागुन १० – जन्म (तेह्रथुम, तीनसल्ले)

२०२३ – राजनीतिमा प्रवेश

२०२७ – कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण, भूमिगत, पहिलो पटक पक्राउ (फागुन)

२०२९ - झापा आन्दोलन कमिटीको प्रमुख

२०३०–४४– जेल

२०४८– देखि स्थायी समिति सदस्य

२०४८– झापा ६ बाट सांसदमा विजयी

२०५१– झापा ६ बाट सांसदमा विजयी

२०५१– गृहमन्त्रीमा नियुक्त

२०५६– झापा २ र ६ बाट सांसदमा विजयी

२०६३– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा नियुक्त (जनआन्दोलनपछि गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा)

२०६४– झापा ७ बाट संविधानसभा सदस्यमा पराजित (चैत्र २८ गते सम्पन्न निर्वाचन)

२०७०– झापा ७ बाट संविधानसभा सदस्यमा विजयी (मंसिर ४ गते सम्पन्न निर्वाचन)

२०७०– पार्टी संसदीय दलको नेता (माघ २१ गते)

२०७१– पार्टी अध्यक्ष निर्वाचित (असार १९–२५ मा सम्पन्न नवौं महाधिवेशनबाट)

२०७२– प्रधानमन्त्री निर्वाचित (असोज २४ गते)

२०७४– झापा ५ बाट सांसदमा विजयी (मंसिर २१ गते सम्पन्न निर्वाचन)

२०७४– दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त (फागुन ३ गते)

http://nepallive.com/news-details/15385/2018-02-15 

No comments:

Post a Comment