Pages

Sunday, February 4, 2018

यी 'हेभीवेट' नेता : जो हारे

किशोर दहाल

२o७४ मङ्सिर २४ आइतबार| प्रकाशित १७:४o:oo

प्रदेश र प्रतिनिधिसभाको चुनावी परिणाम आइरहँदा यसले धेरैलाई झट्का दिएको छ। विशेषगरी नेपाली कांग्रेसका लागि यो नतिजा सुखद भएको भएको छैन। उसका धेरै 'हेभीवेट' नेताले हार बेहोरिसकेका छन्।

केही स्थानको नतिजाबाहेक वाम गठबन्धन र मधेस गठबन्धनको लागि यो नतिजा निकै उत्साहजनक देखिएको छ। नेपाल लाइभले पछिल्लो मतपरिणामलाई केलाएर पार्टीभित्र र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गरेका नेतृत्वको चुनावी हारलाई केलाएको छ।


नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा थिए। अर्का चर्चित नेता बाबुराम भट्टराईसँग उनी पराजित भएका हुन्। पहिलो चरण अन्तर्गत मंसिर १० गते चुनाव भएको यो क्षेत्रले धेरैको ध्यान केन्द्रित गरेको थियो। जहाँ भट्टराईले बाजी मारे। अन्तिम मतपरिणाम अनुसार नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले ३१ हजार ८ सय ७ मत पाए। श्रेष्ठले भने २४ हजार ९ सय ३३ मत मात्रै पाए।

रामचन्द्र पौडेल

०४६ सालपछिका सबै निर्वाचनमा जित हासिल गरेका पौडेल यसपटक भने पराजित भए। उनीसँग कृष्णप्रसाद श्रेष्ठसँग पराजित भए। ०७० सालको चुनावमा पौडेलले श्रेष्ठलाई पराजित गरेका थिए। अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले ३४ हजार ४ सय ८९ मत पाए भने पौडेलले  २७ हजार ६ सय ७५ मत पाए।

राजनीतिमा निकै संघर्ष गरेको भन्दै आफूलाई प्रधानमन्त्रीका रुपमा पटकपटक दाबी गर्दै आएका पौडेलको संसदको यो कार्यकालमा पनि प्रधानमन्त्री बन्ने सपना अधुरै भएको छ। पौडेल कृषि विकास, स्थानीय विकास मन्त्री, शान्ति तथा पूनर्निर्माण मन्त्री भएका थिए। उनी सभामुख पनि भइसकेका छन्।

कृष्णप्रसाद सिटौला

०६४, ०५१ र ०६४ सालमा झापाबाट पराजित सिटौला ०५६ र ०७० सालमा भने विजयी भएका थिए। उनी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्तवपूर्ण भूमिका खेलेका नेता हुन्। दोस्रो जनआन्दोलनपछिको सरकारमा उनी गृहमन्त्री बनेका थिए। उनी उपप्रधानमन्त्री र आपूर्ति मन्त्री बनिसकेका छन्।

यसपटक झापा ३ मा वाम गठबन्धनले सहयोग गरेका राप्रपाका राजेन्द्र लिङ्देनले ४४ हजार ६ सय १४ मतसहित सिटौलालाई पराजित गरे। सिटौलाले भने ३१ हजार १ सय ५६ मत पाएका थिए।

विमलेन्द्र निधि

चुनाव भएका निकै चर्चित क्षेत्रमध्येको धनुषा ३ बाट विमलेन्द्र निधिलाई हराउँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो निर्वाचित भएका छन्। महतोले ३० हजार ७ सय ५० मत पाउँदा निधिले २७ हजार ८ सय ४७ मत पाएका थिए।

०२५ सालदेखि राजनीतिमा होमिएका निधि सरकारका विभिन्न मन्त्रालय सम्हालिसकेका छन्। उनी पार्टीका महामन्त्री समेत भइसकेका नेता हुन्। निधि ०५६ सालको चुनावदेखि निरन्तर सांसदमा जित्दै आएका थिए। तर, यसपटक भने महतोले उनको अपराजित यात्रामा पूर्णविराम लगाइदिए।

रामशरण महत

महत ०६४ र ०७० सालका दुवै संविधासभा चुनावमा विजयी भएका थिए। तर, यसपटक भने उनले जितलाई निरन्तरता दिन सकेनन्। उनलाई माओवादीका हितबहादुर तामाङले पराजित गरेका हुन्। तामाङले ३६ हजार ४ सय ७३ मत पाउँदा महतले २७ हजार ९ सय २० पाए।

महत पटकपटक अर्थमन्त्री र परराष्ट्रमन्त्री भइसकेका छन्।

अर्जुननरसिंह केसी

०६४ सालको संविधानसभा निर्वाचनमा पराजय भोगेका कांग्रेस नेता अर्जुननरसिंह केसी ०७० सालमा भने विजयी भएका थिए। दुवै पटक उनका प्रतिस्पर्धी थिइन्, माओवादीकी विमला सुवेदी। तर, यसपटक भने उनले नयाँ प्रतिस्पर्धी पाएका थिए। केसीलाई एमालेका नारायणप्रसाद खतिवडाले पराजित गरेका हुन्। खतिवडाले ३६ हजार ८ सय ९२ मत पाए भने केसीले २६ हजार ३ सय ३५ मत पाएका थिए।

शेखर कोइराला

०६४ सालको चुनावमा मोरङ ७ बाट तत्कालीन मधेसी जनअधिकार फोरमका नेता विजय गच्छदारसँग पराजित शेखर कोइराला तत्कालै भएको उपनिर्वाचनमा त्यहीँबाट विजयी भएका थिए। ०७० सालमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए। यसपटक मोरङ ६ बाट उम्मेदवार भएका कोइराला एमालेका नेता लालबाबु पण्डितसँग ६ सय ७५ मतान्तरले पराजित भए। पण्डित ३३ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा कोइरालाले ३३ हजार २ सय ६६ मत मात्रै पाए।

नवीन्द्रराज जोशी

जोशी काठमाडौं क्षेत्र नम्बर ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित भए। श्रेष्ठले १३ हजार ३ सय ९७ मत पाउँदा जोशीले १२ हजार ९ सय ५३ मत पाएका थिए।
०३५ सालदेखि राजनीतिमा होमिएका जोशी ०६४ र ०७० का चुनावमा काठमाडौं ८ बाटै विजयी भएका थिए। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा उद्योगमन्त्री भएका थिए।

कमल थापा

राजनीतिमा 'मुसा' उपनाम पाएका विवादित नेता कमल थापा यसपटक मकवानपुर १ मा विगतकै प्रतिस्पर्धीबाट पराजित भए। थापा ०६४ सालमा मकवानपुरमा चुनाव लड्दा एमालेका कृष्णप्रसाद दहालले नै हराएका थिए। ०७० सालमा भने थापाले समानुपातिक बाटो रोजेका थिए।

यसपटक दहालले ३८ हजार १ सय ७५ र ३१ हजार ९ सय ३० मत ल्याउँदै थापालाई हराए। पञ्चायत समर्थक विद्यार्थी राजनीतिबाट उदाएका थापा ०६२/६३ सालको जनआन्दोलनमा शाही सरकारको गृहमन्त्री रहँदा दमन गरेपछि केही वर्ष राजनीतिमा प्रभावहीन भएका थिए। तर, चतुर राजनीतिक खेलाडी थापा गणतन्त्रमा पनि सत्ताको अवसर लिइरहेका थिए।

बामदेव गौतम

पटकपटक गृहमन्त्री बनेका गौतम माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मुख्य भूमिका खेलेका नेता हुन्। यसका साथै उनी पछिल्लो वाम गठबन्धनका एक प्रमुख सूत्रधार पनि हुन्। बर्दिया १ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका गौतम सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतको अन्तरले पराजित भएका हुन्। सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउँदा  बामदेवले ४४ हजार ७६ मत ल्याए।

http://nepallive.com/news-details/8404/2017-12-10

No comments:

Post a Comment