Pages

Monday, May 4, 2020

नेकपा विवादमा प्रचण्ड : जित्नलाई केही छैन, हार्नलाई सर्वस्व

किशोर दहाल
शनिबार, वैशाख २०, २०७७, ११:१२

काठमाडौं- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध ‘निर्णायक लडाइँ’को नेतृत्व गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निम्ति अहिले जित्नलाई केही पनि छैन तर हारे भने केही बाँकी पनि रहने छैन। यो परिस्थितिलाई बुझेका उनी निकटका नेताहरुले प्रचण्डलाई सचेत गराउने गरेका थिए- यो लडाइँमा हामी किन अघि सर्ने? आखिर जितियो भने माधव नेपालले जित्छन्। हारियो भने हाम्रो भविष्य सकिन्छ।

तर ओली विरुद्धको ‘लडाइँ’मा प्रचण्ड फर्कनै नसकिनेगरी होमिइसकेका छन्। त्यसको नेतृत्व नै गरिरहेका छन्। बुधबारको सचिवालय बैठकमा उनले आफूलाई पटकपटक अपमानित गरेको, पार्टी अध्यक्षको रुपमा अस्वीकार गरेको,पार्टी एकताको भावना विपरित गतिविधि गरेको, अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदाको उनको आक्रोशित प्रस्तुतिले उनी अब ‌ओलीविरुद्ध सुरु भएको लडाइँ निश्तिच मोडमै पुर्‍याउने तयारीमा रहेको देखिन्छ।  यसअघिको कोठे बैठक वा स्वार्थ गठबन्धनका भेलामा राखिनेजस्तो छलछामयुक्त भाषामा होइन, उनले  प्रष्ट रुपमा ओलीले राजीनामा दिनुपर्ने बताए।

आफू निकटका सांसदलाई ओलीले भने- जुनसुकै परिस्थिति आउन सक्छ, तयार बस्नू

किशोर दहाल
मंगलबार, वैशाख १६, २०७७, १३:३१

काठमाडौं- पार्टीमा विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफू निकटका सांसदहरुलाई तयार अवस्थामा बस्न भनेका छन्। सोमबार दिनभर नेकपाका नेताहरुको बहुपक्षीय भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओली र माधव नेपालका साथै उनीहरु निकटका नेताहरुको पनि छलफल भएको थियो। त्यस्तै अर्का अध्यक्ष प्रचण्ड र झलनाथ खनालबीच पनि भेटवार्ता भएको थियो। साँझपख भने प्रधानमन्त्रीले आफू निकट झन्डै दुई दर्जनभन्दा बढी सांसदहरुलाई भेटेर पछिल्लो घटनाक्रमको व्याख्या गर्दै आगामी रणनीतिका बारेमा केही संकेत गर्ने प्रयत्न गरे।

‘पार्टीमा संकट देखिएको कुरा तपाईंहरुलाई तपाईंहरुलाई थाहै छ। यसको कारण पनि तपाईंहरुलाई थाहै छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक सांसदले भने, ‘अब जुनसुकै परिस्थिति पनि आउनसक्छ। तयार बस्नुहोला।’

प्रधानमन्त्रीको संकेत पार्टी फुट्ने अवस्था पनि आउन सक्ने भएकाले त्यतिबेलाका लागि साथ खोजेको ती सांसदले अर्थ्याए।