Pages

Wednesday, March 22, 2017

के पढ्ने, किन पढ्ने ?


उज्ज्वल प्रसाईं ।

यहाँका अधिकांश मान्छेले इज्जतिलो जीवन जीउन पाएका छन् कि छैनन् भन्ने कुराले समाज परिवर्तन वा विकास भएको छ कि छैन भन्ने कुराको निर्धारण गर्छ । कोहीसँग सम्पत्ति नै छैन, कोहीसँग यति धेरै छ कि जे गर्दा पनि सकिदैन । यो अन्याय होइन ? भन्न सकिएला कोही अल्छि भएर यस्तो भयो । तर, सारा गरिबहरुलाई अल्छि करार गर्न मिल्छ ? यहाँको गरिबीको कारण हरेक गरिब व्यक्ति र परिवार दोषी भएर हो ? वा गढबढी व्यवस्थामा छ ? कोही मान्छे दलनमा छ, उसले आफ्नो जिन्दगीमा पाउनुपर्ने जति सम्मान पाएको छैन । ऊ दलितको घरमा जन्मियो, उसको भाग्य नै त्यस्तो भनेर त्यत्तिकै छोड्न मिल्छ ? कोही तामाङको घरमा जन्मियो, उसले नेपाली भाषामा राम्रोसँग पढ्न सकेन, बिभिन्न कारणले पढाइमा सुधार भएन । ऊ गरिब नै रह्यो । अब उसलाई ‘तँ तामाङको घरमा जन्मिस्’ भनेर पन्छाउन मिल्छ ? यहाँ तर्क के गरिन्छ भने म बाहुनको घरमा जन्मिएँ, म धनीको परिवारमा जन्मिएँ, के यो मेरो गल्ति हो ? उसो भए दलित वा तामाङले दलित वा तामाङ समुदायमा जन्मेर गल्ति गरेको हो ? यस्तो तर्कको उभिने कुनै जमिन हुँदैन । त्यसैले समस्या व्यवस्थामा र हाम्रो सामाजिक संरचनामा छ, त्यो समस्या कसरी छ भनेर खोजेपछि मात्रै हाम्रो तर्कले उभिने जमिन पाउँछ । 

Tuesday, March 7, 2017

इटहरी, सप्तरी र दुर्गति

किशोर दहाल

१५ महिनाअघिको इटहरी घटना सम्झौं ।

२०७२ साल मंसिर ११ गते । आन्दाेलनरत संयुक्त मधेसी मोर्चाले सुनसरीको इटहरीमा आयोजना गर्ने भनिएको आमसभाको तयारी स्वरुप निर्माण गरएको मञ्चमा आगो लगाएर तोडफोड गरियो । र, त्यो तोडफोड स्थानीयबासीले गरेको भनिए पनि मञ्च बिथोल्नेमा अधिकांश एमाले, कांग्रेस र माओवादीका कार्यकर्ता प्रयोग भएका थिए । अझ, तत्कालिन सरकारको नेतृत्वकर्ता दल एमालेका कार्यकर्ता बिशेष सक्रियताका साथ सहभागी भएका थिए ।

र, त्यतिबेलै एउटा घोषणा पनि गरियो– नेपालको राष्ट्रिय अस्मितामाथि धावा बोलेर भारतको पक्षमा वकालत गरेकाले फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महत्तोलाई इटहरी प्रवेशमा रोक लगाइएको छ ।

मञ्चबाट अाफ्नाे कुरा भन्ने साहस जुटाएका मधेस केन्द्रित दलका नेताहरूलाई मञ्च प्रयाेग गर्न मात्रै नभइ इटहरी प्रवेशमै रोक लगाउने दुस्साहस गरियो ।

एमालेको ‘मेची–महाकाली राष्ट्रिय अभियान २०७३’ लागि मधेसी मोर्चाले उही इटहरी प्रवृत्तिलाई सप्तरीमा दोहो¥याउन खोज्यो । जुन घटनाक्रम केही दिनयता चर्चामा छ ।