Pages

Sunday, February 4, 2018

प्रतिनिधिसभाका लागि पाँच महिला चुनिए, दुईको अग्रता

किशोर दहाल

२o७४ मङ्सिर २६ मंगलबार| प्रकाशित ११:४८:oo

काठमाडौं– प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ मध्ये १६० स्थानको नतिजा आइसक्दा महिला प्रतिनिधित्व न्युन देखिएको छ।

हालसम्म पाँच महिलाले मात्रै प्रतिनिधिसभाका लागि स्थान सुरक्षित गरेका छन्। दुई महिला उम्मेदवारले अग्रता लिएका छन्।

प्रदेश १ बाट एक, प्रदेश ३ बाट एक, प्रदेश ४ बाट दुई र प्रदेश ७ बाट एकजना निर्वाचित भएका हुन्। प्रदेश २, ४ र ६ बाट कोही पनि महिलाले चुनाव जितेका छैनन्। अग्रता लिएका दुई महिला उम्मेदवारले पनि चुनाव जितेमा प्रदेश १ मा थप एक र प्रदेश ४ मा एक जनाको प्रतिनिधित्व रहनेछ। यो प्रत्यक्षतर्फको प्रतिनिधित्व हो, पछि समानुपातिक प्रणालीबाट सो क्षेत्रबाट महिला प्रतिनिधित्व हुन सक्नेछ।


कुन महिला उम्मेदवारले कहाँ जिते?

पवित्रा निरौला (झापा २)
नेकपा एमालेका तर्फबाट उम्मेदवार भएकी पवित्रा निरौलाले नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरेकी थिएन्। निरौलाले कुल ४५ हजार ८ सय १७ मत पाउँदा थापाले ३२ हजार ५० मत मात्रै पाए।

अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेकी निरौला विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी हुन्। उनी २०७० सालको संविधानसभाको चुनावमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्। त्यतिबेला उनी कांग्रेस उम्मेदवार सुधीर शिवाकोटीसँग पराजित भएकी थिइन्। त्यतिबेला शिवाकोटीले १३ हजार ५ सय ५४ मत पाउँदा निरौलाले १२ हजार ८ सय २५ मत पाएकी थिइन्।

पम्फा भुसाल (ललितपुर ३)
माओवादी केन्द्रकी उम्मेदवार भुसालले नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई पराजित गरेकी थिइन्। भुसालले २४ हजार ३६ मत ल्याउँदा अमात्यलाई २२ हजार ३ सय २८ मत पाएका थिए।

भुसाल ०५० सालमा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष भएकी थिइन्। नेपाली राजनीतिमा पहिलो महिला पार्टी अध्यक्ष हुने भुसाल नै हुन्।

ललितपुर ३ मा माओवादी नेतृ पम्फा भुसालको दोस्रो प्रतिस्पर्धा थियो। उनी ०६४ सालमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएकी नेतृ हुन्। तर उनले पनि ०७० सालको चुनावमा भाग लिएकी थिइनन्।

माओवादी जनयुद्धका बेला सक्रिय र केन्द्रीय नेताकै रुपमा रहेर भूमिका निर्वाह गरेकी भुसाल वैद्य नेतृत्वमा माओवादीको विभाजन हुँदा विभाजित पार्टीतिर गएकी थिइन्। पछि केही समूहका साथ उनी माउपार्टीमै फर्केकी थिइन्।

दुर्गा पौडेल (प्युठान १)
राष्ट्रिय जनमोर्चाकी नेतृ पौडेलले प्युठान १ मा कांग्रेस उम्मेदवार तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन्। पौडेलले ४७ हजार ५ सय १३ मत पाएकी थिइन् भने पोखरेलले ३१ हजार २ सय ८६ मत पाएकी थिइन्।

०४१ देखि राजनीति सुरु गरेकी पौडेल अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता पनि हुन्। उनी २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा चुनावमा काठमाडौं १० बाट पराजित भएकी थिइन्। तर २०७० सालको चुनावमा भने उनी समानुपातिक तर्फबाट सभासद बनिन्।

कमला रोका (रुकुम पूर्व १)
माओवादीकी उम्मेदवार रहेकी रोकाले रुकुम पूर्वमा कांग्रेस उम्मेदवार हरिशंकर घर्तीमगरलाई पराजित गरेकी थिइन्। रोकाले १० हजार ४ सय ३४ मत पाउँदा मगरले ४ हजार ४ सय ६ मत पाएका थिए।

रोका माओवादी जनयुद्धमा सुरुवातदेखि नै संलग्न भएकी थिइन्।

बीना मगर (कञ्चनपुर १)
माओवादीकी उम्मेदवार मगरले कञ्चनपुर १ मा कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गरेकी थिइन्। मगरले ३८ हजार ४ सय ६७ मत पाउँदा विष्टले १९ हजार २ सय १९ मत पाएका थिए।

बाल कलाकारबाट विद्यार्थी नेतृ हुँदै पार्टी राजनीतिमा आएकी मगर ०७० सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार भएकी थिइन्। तर उनी यसपटककै प्रतिस्पर्धी विष्टसँग पराजित भइन्। त्यतिबेला उनी तेस्री भएकी थिइन्। विष्टले १० हजार २ सय ९४ मत पाउँदा मगरले ९ हजार १ सय ५१ मत मात्रै पाएकी थिइन्।

अग्रता
अन्तिम मत गणना बाँकी रहेको पाँच निर्वाचन क्षेत्रमध्ये दुई वटामा महिला उम्मेदवारले अग्रता लिइरहेका छन्।

सुनसरी ३ मा एमाले नेतृ भगवती चौधरीले अग्रता लिइरहेकी छिन्। उनीसँग कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार प्रतिस्पर्धामा छन्।

०६४ सालमा चौधरी मन्त्रिपरिषद्बाट मनोनीत सभासद भएकी थिइन्। तर ०७० सालमा भने तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष रहेका गच्छदारसँग पराजित भएकी थिइन्। यही क्षेत्रमा भएको प्रतिस्पर्धामा चौधरीले १७ हजार १ सय ६२ मत पाउँदा विजयी भएका गच्छदारले १७ हजार ५ सय २४ मत पाएका थिए।

स्याङ्जा २ मा एमाले नेतृ पद्मा कुमारी अर्यालले अग्रता लिइरहेकी छिन्। उनलाई कांग्रेस नेता तथा वर्तामान शिक्षामन्त्री गोपालमान श्रेष्ठले पछ्याइरहेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएकी अर्याल ०७० सालमा समानुपातिक सभासद बनेकी थिइन्। उनी पार्टीको केन्द्रिय सदस्य पनि हुन्।

http://nepallive.com/news-details/8617/2017-12-12

No comments:

Post a Comment