Pages

Saturday, April 14, 2018

राराबाट प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपीशर्मा ओलीले रारा तालको किनारबाट जनताको नाममा सम्बोधन गरेका छन्।
...
आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु !

१. नयाँ वर्ष २०७५ को शुभारम्भमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. नयाँ बर्षको पहिलो विहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई संवोधन गर्न पाउँदा निकै खुशी लागेको छ । रारा आफैमा प्रतीक हो– हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो संभावना र भविष्यको । अपरिमित प्राकृतिक र सांस्कृतिक सम्पदा, अनेकौं सामाजिक र जैविक विविधता र जीवन्त एवं स्वाभिमानी जनता– समृद्धिका लागि आवश्यक सबै कुरा हामीसँग छन् ।  तर अर्को पृथक परिदृष्य पनि मेरा आँखामा नाचिरहेको छ– नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन् । कर्णाली लगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन् । अनि गर्भभित्र अपार संभावना बोकेर पनि मानव सूचकाङ्कको पुच्छारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रुपान्तरणको पर्खाइमा छ ।

३. नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । “समृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो संकल्पलाई कर्णालीसँगै सिङ्गो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।

Monday, April 9, 2018

अब राष्ट्रपति पनि ट्विटे

राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि औपचारिक रुपमा 'ट्विटे' भएकी छिन्।

उनको पहिलो ट्विट–  'सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !'

खासै काम पनि नहुने यस्ता पदहरुले ट्विटे हुन फाइदाकै कुरा हो। कम्तीमा त्यहाँ समय कटाउन बडो सजिलो छ। त्यसमाथि नशा लाग्यो भने त कुरै छाडिदिउँ।

Sunday, April 8, 2018

भारत भ्रमणमा जाँदा 'प्रधानमन्त्री ओली', फर्किँदा 'प्रधानमन्त्री डा ओली'

तीन दिने भारत भ्रमण पूरा गरि प्रधानमन्त्री केपी शर्मा ओली आज (०७४ चैत २५) गते स्वदेश फर्किएका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएको ५१ र संसदबाट विश्वासको मत पाएको २९ औं दिनमा भारत भ्रमणमा गएका ओलीले भारतमा प्रधानमन्त्री मोदी, राष्ट्रपति कोविन्द लगायतका व्यक्तिसँग भेट गरे।

उनी 'प्रधानमन्त्री ओली'बाट 'प्रधानमन्त्री डा ओली' भएका छन्। उनलाई आज भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो। विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गरेका थिए।

Friday, April 6, 2018

२ वर्ष, ४ भारत भ्रमण

प्रधानमन्त्री ओली आजदेखि भारत भ्रमणमा गएका छन्। उनी ५४ जना भ्रमण टोलीको नेतृत्व गर्दै आज (०७४ चैत २३) भारत प्रस्थान गरेका हुन्।
नेपाल वायु सेवा निगमको विमानबाट बिहान ९ बजे दिल्ली प्रस्थान गरेका उनी पौने ११ तिर दिल्ली पुगेका थिए। विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री रामनाथ सिंहले स्वागत गरेका थिए।
ओली दुई वर्षको अन्तरालमा दोस्रो पटक प्रधानमन्त्री भएर भारत भ्रमणमा गएका हुन्। गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओली ५१ औं दिनमा भारत भ्रमणका लागि निस्किएका हुन्।
पछिल्लो २ वर्षमा ४ वटा भारत भ्रमण भएका छन्:

• प्रधानमन्त्रीमा केपी ओली निर्वाचित (पहिलो पटक): ०७२ असोज २४
भारत भ्रमणः ०७२ फागुन ७ देखि १२

• प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित (दोस्रो पटक): ०७३ साउन १९
भारत भ्रमणः ०७३ भदौ ३० देखि असोज २

• प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित (चौथो पटक): ०७४ जेठ २३
भारत भ्रमण: ०७४ भदौ ७ देखि ११

• प्रधानमन्त्रीमा केपी ओली नियुक्त (दोस्रो पटक): ०७४ फागुन ३
भारत भ्रमणः ०७४ चैत्र २३ देखि २५

आजको नयाँ पत्रिकाले प्रधानमन्त्री ओलीको यो भ्रमण कानुन विपरीत भएको उल्लेख गरेको छ। उसले लेखेको छ-
एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् । राजकीय भ्रमणलाई मर्यादित बनाउन मन्त्रिपरिषद्ले पारित गरेको विशेष व्यवस्थाविपरीत हुने यस्ता भ्रमणले राष्ट्रको मर्यादालाई कमजोर बनाइरहेको छ ।
नेपाल सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रिभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ को दफा १० ले स्पष्ट भनेको छ, ‘एक वर्षमा एउटा देशमा एउटा राजकीय भ्रमण हुनेछ ।’

Thursday, April 5, 2018

'मिल्ने' र 'निल्ने' चरणमा प्रचण्डको ५० प्रतिशतको अस्त्र

किशोर दहाल

चैत १९, २०७४| प्रकाशित १४:०४

पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्रशिक्षणलाई अघिल्लो हप्ता राजधानीमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने– 'एकीकृत पार्टीको संगठन बनाउँदा ५०/५० प्रतिशत हुनुपर्छ। नभए एकता हुँदैन।'

त्यसपछि पनि प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि सोही आशय व्यक्त गरिसकेका छन्।

दुई पार्टीबीचको एकता प्रक्रियामा प्रचण्डको प्रस्ताव माओवादीको माथिल्लो हैसियतको दाबीसहित आएको छ। गत असोज १७ बाट सुरु भएको एकता प्रक्रियापछि प्रतिनिधि र प्रदेशसभा चुनावमा एमाले र माओवादीले ६० र ४० प्रतिशतको भागबण्डा गरेका थिए। तर, राष्ट्रियसभाको चुनावमा भने उनीहरुले ७० र ३० प्रतिशतको भागबण्डा गरे। दुई पार्टीबीच चुनावपछि ७ मध्ये ६ वटा प्रदेश र संघमा पनि विभिन्न पदमा बाँडफाँट भएका छन्। तर, ती कुनै बाँडफाँट पनि ५०/५० प्रतिशतमा आधारित छैन।

तर, एक्कासी माओवादीले ५० प्रतिशत मागेपछि प्रश्नहरु उब्जिएका छन्।

प्रधानमन्त्रीले भारत भ्रमणअघि नै किन जोड दिए पार्टी एकतामा?

किशोर दहाल

चैत ११, २०७४| प्रकाशित १८:५०

नेपालमा कम्युनिष्ट पार्टी गठनको मितिलाई ध्यानमा राखेर अप्रिल २२ मा पार्टी एकता गर्ने तयारीमा रहेका एमाले र माओवादी त्यसअघि नै प्रक्रियालाई अन्तिम रुप दिन कस्सिएका छन्।

प्रधानमन्त्री ओलीको प्रस्ताव पाएपछि शनिबार बसेको माओवादी हेडक्वार्टर बैठकले पनि प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता प्रक्रियालाई टुंगो लगाउनुपर्ने निश्कर्ष निकाल्यो।
प्रधानमन्त्री यही चैत्र २३ देखि २५ गतेसम्म भारत भ्रमणमा जाने चर्चा चलेको छ।

तयारी मितिभन्दा अघि नै पार्टी एकता गर्न हतारिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। त्यसमा पनि 'भारत भ्रमण' अगाबै भन्ने शब्द प्रयोगले मानिसमा कौतुहलता जागेको छ।

तयारीको दुई वटा अर्थ हुनसक्छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : सभापतिलाई बलियो बनाउने कि पार्टीलाई?

किशोर दहाल

चैत ८, २०७४| प्रकाशित ०७:००

चुनाव सम्पन्न भएको झन्डै डेढ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। माघ ४ र ५ मा बसेको बैठकमा बोल्ने धेरै केन्द्रीय सदस्यले चुनावी समीक्षाको माग उठाए। तर, सभापति शेरबहादुर देउवाले त्यसलाई टारे र भने– समीक्षा अहिले होइन।

सभापति देउवाले निर्वाचनको समीक्षा गर्न छिट्टै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरे। सो बैठक राष्ट्रियसभामा उम्मेदवार तय गर्ने विषयमा केन्द्रित भयो।

सभापतिले उतिबेला प्रतिबद्धता गरेको चुनावी समीक्षाका लागि बस्ने भनिएको बैठक आजदेखि सुरु हुँदैछ।

नाम मात्रैको समीक्षा

चुनावी समीक्षाका लागि बोलाइएको बैठकमा चुनावबारे छलफल भए पनि त्यसले खासै समस्या केलाउन सक्ला त? भन्ने प्रश्न कांग्रेसजनमा छ। कांग्रेसको चुनावी हारको कारण विगत लामो समयदेखि कांग्रेस हिँडेको बाटो र सभापतिका रुपमा देउवाको रणनीतिक असफलतासँग जोडिएको छ।

तर, सभापतिमाथि कार्यसमितिमा प्रश्न उठ्न त सक्ला, उत्तर नै लिन भने मुस्किल देखिन्छ। कारण, सो समितिमा उनी बलियो हुनु नै हो। विधानमा ८५ जना केन्द्रीय समितिको व्यवस्था भए पनि अहिले ८० जना उपलब्ध छन्। त्यसमध्ये ६० जनाजति देउवा पक्षका रहेको उनी पक्षका नेताहरुको हिसाब छ। त्यसैले पनि देउवाले चाहेको दिशातिर सहजै बैठकको माहोल मोडिन्छ।

कस्तो रह्यो प्रधानमन्त्रीको एक महिना? सुखद् संकेतले पाउला मूर्तरुप?

किशोर दहाल

चैत ३, २०७४| प्रकाशित १२:१३

काठमाडौं– केपी शर्मा ओली प्रधानमन्त्री भएको आज ठ्याक्कै एक महिना पुगेको छ। उनी गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनी १९ महिनामै बालुवाटार फर्किएका थिए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि त्यसैदिन राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए। राष्ट्रपति भण्डारीले सोही दिन उनलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाएकी थिइन्। प्रधानमन्त्रीको रुपमा सपथ खानु केहीअघि मात्रै उनी दलको नेतामा समेत सर्वसम्मत चयन भए।

आफू नियुक्त भएकै दिन ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे। सोही दिन लालबाबु पण्डित र थममाया थापाले क्रमश: जनसंख्या तथा वातावरण र महिला तथा बालबालिका मन्त्रीको रुपमा सपथ लिए। प्रारम्भिक मन्त्रिपरिषद्मा उनले चयन गरेका टिमले मानिसलाई सकारात्मक सन्देश दियो। मन्त्रिपरिषद्मा थापा नयाँ पात्र भए पनि पण्डित लोकप्रिय नेता हुन्। पहिलो पटक मन्त्री छँदा उनले गरेका केही कामहरुले उनलाई चर्चित बनाएको थियो। तर पण्डितलाई चैत्र २ गतेको मन्त्रिपरिषद् विस्तारसँगै जिम्मेवारी हेरफेर गरियो। अब उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन्।

राष्ट्रपतिमा भण्डारी पुनः निर्वाचित, यस्तो छ ३ पटकको राष्ट्रपति चयनका अन्तर्कथा

किशोर दहाल

फागुन २९, २०७४| प्रकाशित १८:०५

काठमाडौं- राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन्। संविधान घोषणापछि ०७२ कात्तिकमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारी अर्को कार्यकालका लागि निर्वाचित भएकी हुन्।

९ वर्षीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो व्यक्ति भएकी छन्। संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने व्यवस्था छ।

नेपालको पहिलो राष्ट्रपति भने रामवरण यादव हुन्। उनी ०६५ साउनदेखि ०७२ कात्तिकसम्म राष्ट्रपति बनेका थिए। पहिलो संविधानसभाको कार्यकाल सुरु भएपछि राष्ट्रपति भएका यादव दोस्रो संविधानसभाले संविधान निर्माण गरेपछि मात्रै राष्ट्रपतिबाट बाहिरिए।

राष्ट्रपति चयनका बेला राजनीतिक घटनाक्रम निकै तीव्र बन्ने गर्छ। पार्टीभित्र राष्ट्रपतिका आकांक्षीलाई व्यवस्थापन गर्नेदेखि मतदानमा समीकरण मिलाउनेसम्मका सकसमा दलहरु हुन्छन्। गठबन्धन बन्छन्, रातारात तोडिन्छन्। अनिश्चित गठबन्धनकै कारण पहिलो पटक राष्ट्रपतिको चयन गर्न दुई पटक निर्वाचन गर्नुपरेको थियो।

नेपाल लाइभले राष्ट्रपतिका लागि भएका तीनवटै निर्वाचनलाई सम्झिने प्रयास गरेको छ।

राष्ट्रपतिकै उम्मेदवार बन्दा राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्छ कि पर्दैन?

किशोर दहाल

फागुन २४, २०७४| प्रकाशित २०:२५

काठमाडौं- वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदका लागि पुनः उम्मेदवारी दर्ता गराएकी छिन्। उनी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन्।

राष्ट्रपतिका रुपमा भण्डारी नै विजयी भएमा गणतन्त्रको ९ वर्षे इतिहासमा दुई पटक राष्ट्रपति बन्ने उनी पहिलो व्यक्ति हुनेछिन्। संविधानको धारा ६४ (२) ले तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार हुन मात्रै रोक लगाएको छ।

बुधबार उम्मेदवारी दर्ता गर्नका लागि संसद भवन नयाँ बानेश्वरमा उनी आफैं उपस्थित भएकी थिइन्। उनका लागि नेकपा एमाले र माओवादी केन्द्रका सांसदले प्रस्ताव र समर्थन गरेका थिए।

संसदीय दलमा देउवाको जितले दिएका सन्देश

किशोर दहाल

फागुन २१, २०७४| प्रकाशित २१:०८

अन्ततः नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नै संसदीय दलको नेतामा निर्वाचित भएका छन्। उनले आफूलाई सर्वसम्मत नेता बनाउने प्रयास गरेका थिए। तर, अन्तिममा पूर्व उपसभापति प्रकाशमान सिंहसँगको चुनावी प्रतिस्पर्धामा देउवाले नै बाजी मारे। सोमबार भएको निर्वाचनमा उनले ४४ मत पाए। कुल ६३ जना रहेको संसदीय दलमा सिंहले १९ मत मात्रै पाए।

देउवाको विजयले दिने केही सन्देश छन्।

पहिलो हो, संसदीय दलको चुनावले कांग्रेसमा देउवा थप बलियो रहेको पुष्टि गर्छ। स्थानीयदेखि संघीय चुनावसम्मको हारपछि कांग्रेसभित्र र बाहिर निकै आलोचित भएका देउवाले आफूलाई पार्टीभित्र बलियो नै रहेको प्रमाणित गरेर देखाइदिए। उनले झन्डै ७० प्रतिशत मत ल्याए। कतिपय कांग्रेस नेताको भनाइ मान्ने हो भने, देउवाले अनुमान गरेभन्दा बढी मत पाए।

चुनावपछि पार्टी र पार्टीमा सभापति देउवा कमजोर भए भन्ने विश्लेषण हुने गरेको थियो। विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनका आवाज पनि उठेका थिए। तर, देउवाले यो विजयबाट पार्टीमा नीति र नेतृत्व परिवर्तनको आवाज उठाइरहेकाहरुलाई एकमुस्ट जवाफ फर्काएका छन्।