Pages

Sunday, February 4, 2018

एमालेबाट समानुपातिकमा बसेका पुरुषहरुलाई छटपटी, को पर्लान् ३ जनामा?

किशोर दहाल

२o७४ पौष ४ मंगलबार| प्रकाशित २o:३o:oo

काठमाडौं– प्रत्यक्षतर्फ ८० सिट जितेर ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी सिट जितेको छ।

प्रतिनिधिसभाका लागि देशभरबाट कुल ३१ लाख ७३ हजार ४ सय ९४ मत ल्याएको एमालेले समानुपातिकतर्फबाट ४१ सिट पाउनेछ। यद्यपि दलहरुले पाउने समानुपातिक सिट संख्याबारे आयोगले अन्तिम टुंगो लगाइसकेको छैन।

प्रत्यक्ष र समानुपातिक तर्फबाट कुल १ सय २१ सिट जितेको एमालेले संसदमा कम्तिमा ३८ जना महिला पठाउनुपर्ने वाध्यता छ। उसले समानुपातिक सूचीमा रहेका बढीमा ३ जना पुरुषलाई मात्रै सांसद बनाउन सक्नेछ।


प्रत्यक्षतर्फको चुनावमा दुई महिला उम्मेदवारले मात्रै चुनाव जितेका कारण एमालेले समानुपातिकतर्फबाट अधिकांश महिला प्रतिनिधित्व गराएर संविधानले कल्पना गरेको एकतिहाइ महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्नेछ।

महिलाको ठूलो संख्या पठाउनुपर्ने भएकाले एमालेबाट समानुपातिक सूचीमा रहेका पुरुष उम्मेदवारहरुमा छटपटी बढेको छ। एमालेभित्र जम्मा ३ जना मात्रै छानिने सम्भावना भएपछि को सांसद बन्ने भन्ने तीव्र प्रतिस्पर्धा र चलखेल हुने अनुमान गर्न सकिन्छ। एमालेभित्रबाट समानुपातिकको सूचीमा बसेका सोमनाथ प्यासी लगायतका नेता मात्र होइन विभिन्न पार्टीबाट चुनावअघि एमाले प्रवेश गरेका धेरै नेता समानुपातिक सूचीमा छन्। र तीमध्ये अधिकांश पुरुष नै छन्।

केही चर्चित नाम

सिपी मैनालीको नेतृत्वमा रहेको नेकपा मालेका प्रभावशाली नेता तथा तत्कालीन संसदीय दलका प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङ मालेबाट एमाले गएर समानुपातिक सूचीमा परेका थिए। आदिवासी जनजाति क्लस्टरमा उनको नाम छ।

एकनाथ ढकाल नेपाल परिवार दलका अध्यक्ष थिए। पहिलो र दोस्रो संविधानसभामा उनले सोही पार्टीबाट प्रतिनिधित्व गरेका थिए। उनी मन्त्री पनि भइसकेका छन्। उनी चुनावअघि मात्रै एमाले प्रवेश गरेका हुन्।

दिनेशचन्द्र देवकोटा योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। उनी पनि एमालेको समानुपातिक सूचीमा छन्। उनको नाम खस आर्य क्लस्टरमा छ।

पूर्व समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष थिए। तर, चुनावअघि उनले आफ्नो पार्टीलाई एमालेमा विलय गराए। उनको नाम पनि एमालेको तर्फबाट समानुपातिकमा खस आर्य क्लस्टरमा छ।

दलित क्लस्टरमा नाम रहेका रामप्रीत पासवा पहिलो पटक राष्ट्रपतिको चयन ताका चर्चामा आएका नेता हुन्। सुरुमा उनको नाम एमालेले राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको थियो। तर, पछि कांग्रेससँग फरक सहमति भएपछि उनी राष्ट्रपतिको दौडबाट बाहिरिएका थिए।

उद्योगी मोतीलाल दुगड ०६४ सालमा सद्भावना आनन्दीदेवीबाट समानुपातिक सभासद बनेका थिए। ०७० सालको चुनावमा नव नेपाल पार्टी बनाएर प्रतिस्पर्धा गरेको उनको पार्टीले कुनै पनि ठाउँमा जित्न सकेको थिएन। त्यसपछि उनले आफ्नो पार्टीलाई एमालेमा विलय गराएका थिए। विभिन्न व्यापारिक क्षेत्रका लगानीकर्ता दुगडको सेन्चुरी मसला चर्चित उत्पादन हो।

गंगाप्रसाद यादव पनि चुनावअघि एमालेमा प्रवेश गरेका थिए। विघटित संसदको उपसभामुख रहेका उनी कमल थापा नेतृत्वको राप्रपाबाट सांसद भएका थिए। उनी पनि मधेसी क्लस्टरमा समानुपातिक सूचीमा छन्।

त्यस्तै मधेस समता पार्टीका मेघराज निषाद पनि एमालेको समानुपातिक सूचीमा छन्।

नेकपा एमालेको स्थिति

प्रत्यक्षतर्फ जितेको– ८० जना

समानुपातिक तर्फ जितेको– ४१ जना

जम्मा– १२१ जना

प्रत्यक्षमा जितेका महिलाको संख्या– २ जना

३३ प्रतिशत– ४० जना

समानुपातिक तर्फबाट छान्नुपर्ने महिला संख्या– ३८ जना

http://nepallive.com/news-details/9283/2017-12-19

No comments:

Post a Comment