Pages

Wednesday, May 30, 2018

गणतन्त्रका राजाहरुले गणतन्त्र नखाउन्

किशोर दहाल

जेठ १५, २०७५| प्रकाशित १२:२९

१० वर्षअघि आजैका दिन तत्कालीन संविधानसभाको पहिलो बैठकले गणतन्त्र सम्बन्धी प्रस्ताव पारित गरेको थियो। त्यतिबेला उपलब्ध ५ सय ६४ सभासदमध्ये ५ सय ६० ले गणतन्त्रको पक्षमा मत दिएका थिए। र, ०६५ साउन ६ मा पहिलोपटक राष्ट्रपतिमा रामवरण यादव चुनिएपछि औपचारिक रुपमा नेपालमा गणतान्त्रिक अभ्यास सुरु भएको थियो।

यो १० वर्षमा काठमाडौंमा प्रशस्तै धुलो उडिसकेको छ। सडकको धुलो पनि, सत्ताको धुलो पनि। र, धुलो जत्तिकै उडिरहेका छन्, गणतन्त्रप्रतिको निराशा पनि। प्रत्येक पटक काठमाडौंका सडकमा राष्ट्रपतिको सवारी चल्दै गर्दा सामाजिक सञ्जालमा उस्तै प्रतिक्रिया सुनिन्छ- 'यो गणतन्त्र राजतन्त्रभन्दा फरक भएन। राजाको ठाउँमा महाराजा/महारानी आए।' सवारीको नाममा जनताले पाउने सकसका अघि उनीहरुको आक्रोश अस्वभाविक होइन। बेलाबेलामा राष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक अर्घेल्याइँ र सेवा-सुविधासँग जोडिएर आउने समाचारले पनि जनताको आक्रोशको आगोमा घ्यु थपिरहेको हुन्छ।

गणतन्त्रसँगै नेपालीका केही अपेक्षा थिए। प्रथमतः राजाको खोपी निर्णयबाट वाक्क भएका जनतालाई गणतन्त्रका खोपीले दुःख दिँदैन भन्ने अपेक्षा थियो। राजतन्त्रकालीन सामन्तवादको 'क्लोन' गणतन्त्रमा पुनरावृत्त हुँदैन भन्ने अपेक्षा थियो। अपेक्षा धेरै थिए तर त्यति ठूला थिएनन्। छोटोमा भन्दा, राजाको नाममा ज्ञानेन्द्र शाहले जस्ता व्यवहार देखाए, कम्तिमा ती व्यवहार नदोहोरिउन् भन्ने साधारण मानिसका अपेक्षा थिए। सामन्तवादबाट सिर्जित कठिनाइको अन्त्य हुने अपेक्षा थिए। राजतन्त्र र गणतन्त्रको औचित्यमाथि सैद्धान्तिक विमर्श गर्न सक्ने सानो जमातले ठूलो अपेक्षा राखेको भए पनि सामान्य मानिसका सामान्य अपेक्षा मात्रै थिए। तर, त्यही अपेक्षामाथि यो १० वर्षमा खासै उत्साह भरिन सकेको छैन। एउटा राजाले बोकेको सामन्तवादलाई अहिले सयौं राजाले काँध थापिरहेका छन्।

गणतन्त्र नेपालको गर्भ कथा

किशोर दहाल

जेठ १५, २०७५| प्रकाशित ०५:३५

काठमाडौं- पहिलो संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको प्रस्ताव पारित भएको १० वर्ष पूरा भएको छ। ०६५ जेठ १५ मा बसेको सो बैठकले २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।

'सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ', गणतन्त्रको प्रस्तावको पाँच बुँदामध्ये पहिलो बुँदामा उल्लेख थियो। गणतन्त्रको प्रस्ताव तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभामा पेश गरेका थिए।

गणतन्त्रको प्रस्ताव त्यतिबेला कार्यान्वयनमा रहेको अन्तरिम संविधान, २०६३ को धारा १५९ (२) अनुरुप प्रस्तुत गरिएको थियो।

सोही प्रस्ताव अनुसार राजाका परिवारलाई आम नेपाली नागरिकलाई भन्दा भिन्न रुपले प्राप्त सबै अधिकार, सुविधा र हैसियत अन्त्य गरिएको थियो। साथै, प्रत्येक जेठ १५ गते गणतन्त्र दिवसलाई हर्षोल्लासपूर्ण वातावरणमा मनाउन पहिलो बैठकले आह्वान पनि गरेको थियो।

उपेन्द्र यादवको एमाले मार्ग

किशोर दहाल

जेठ १४, २०७५| प्रकाशित १८:४८

संविधान जारी हुँदै गर्दा फोरम अध्यक्ष उपेन्द्र यादव निकै आक्रोशित सुनिन्थे। उनी भन्थे– 'संविधान पुनर्लेखन हुनुपर्छ।' उनले कतिपय कार्यक्रममा संविधान पुनर्लेखनका लागि मात्रै सरकारसँग वार्ता हुने बताउने गरेका थिए। यादवका अघिल्तिर आन्दोलनकारी अन्य पार्टीका नेताहरु उति आक्रामक थिएनन्। संविधान संशोधन मात्रै उनीहरुको मुख्य माग थियो। अन्य नेताहरु संशोधन गर्नुपर्ने धारा र उपधारामा अलमलिइरहँदा यादवको भने एक सूत्रीय माग थियो– 'संविधान पुनर्लेखन नै हुनुपर्छ।'

संविधानको बचाउमा लागेको अर्को दल तत्कालिन नेकपा एमाले र उसका अध्यक्ष केपी ओली यादवको ठीक विपरित धारणा राख्थे। पहिले त सो पार्टीका नेताहरु संविधान संशोधन हुनसक्ने वा गर्नुपर्ने विषय नै राष्ट्रघातसँग तुलना गर्थे। पछिपछि चुनाव र सत्ताको नजिक पुगेपछि भने आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुनसक्ने बताउन थालेका थिए। त्यो आवश्यकता र औचित्यका पछाडि देशको समृद्धि र विकास लागि अवरोध पुगेमा मात्रै संविधान संशोधन हुनसक्ने एमालेको तर्क हुनेगर्थ्यो। अर्थात्, संविधान संशोधन आवश्यक छैन भन्ने एमालेको अन्तर्य बुझ्न कठिनाइको विषय थिएन।

सरकारका सय दिनबारे विपक्षीको मूल्यांकन : हल्लै बढी !

किशोर दहाल

जेठ १०, २०७५| प्रकाशित ०६:१५

काठमाडौं– केपी शर्मा ओली प्रधानमन्त्री भएको शुक्रबार सय दिन पुग्दै छ। गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। त्यसपछि फागुन १४ र चैत २ मा भएको विस्तारबाट मन्त्रिपरिषद् अहिले २२ सदस्यीय पुगेको छ।

ओली नेतृत्वको यो सरकार संसदीय विश्वासको आधारमा मात्रै होइन, जनताको अपेक्षाको आधारमा पनि निकै बलियो सरकार हो। 'समृद्ध नेपाल, सुखी नेपाली'को नारा बोकेर आफू अगाडि बढिरहेको प्रधानमन्त्री ओलीले बताउने गरेका छन्। त्यसो त विकास, समृद्धि र सपनाको कसीमा चुनावी घोषणापत्र पनि कम आकर्षक थिएन। केही दिनअघि सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रम पनि उस्तै सपनाहरुले भरिएका छन्।

ओलीले प्रधानमन्त्रीका रुपमा बिताएको यो सय दिन उनको आगामी दिनका आँखीझ्याल हुनसक्छ। अघिल्लो पटक सरकारको नेतृत्व गर्दा ओलीले देखाएका सपना, चुनावी घोषणापत्र तथा त्यतिबेलाका भाषणहरुमा उनको प्रतिबद्धता र अहिले पनि उनले दैनिकजसो व्यक्त गरिरहेका सुखद भविष्यका संकेतहरु कति पूरा होलान्, कति गफमै सीमित होलान्, त्यसका लागि अझै केही समय कुर्नैपर्छ। तर, पूर्वानुमान भने गर्न सकिन्छ।

शुक्रबार सय दिन पूरा गर्दै गरेको यो सरकारबारे सरकारबाहिर रहेका दलका नेताहरु के प्रतिक्रिया दिन्छन् त? सरकारको कामप्रति उनीहरुको मूल्यांकन कस्तो छ? नेपाल लाइभले केही नेतासँग प्रतिक्रिया लिएको छ।

वाम गठबन्धनको समृद्धिका चुनावी नारा : कति पर्लान् नीति तथा कार्यक्रममा?

 किशोर दहाल

जेठ ६, २०७५| प्रकाशित १९:३६

काठमाडौं– वाम गठबन्धन गरेर निर्वाचनमा भाग लिएका तत्काली नेकपा एमाले र माओवादी केन्द्रले केही बाचा, केही सपना र आशाहरु जनतामाझ बाँडेका थिए। दुई पार्टीको एकता, स्थिर सरकार र समृद्धि उनीहरुका मुख्य प्रतिबद्धता थिए।

वाम एकता भएसँगै पहिलो बाचा पूरा भएको छ। योसँगै स्थिर सरकारको चित्र पनि प्रस्ट भइसकेको छ। अहिले गठन भएको नेपाल कम्युनिस्ट पार्टीका कसैले चाहँदैमा पार्टी फुटाएर सहजै नयाँ पार्टी गठन गर्न सहज छैन। त्यसैले अहिलेको सरकार स्थिर सरकार नै भएको आम मानिसको बुझाइ गलत छैन। यो बाचा पनि पूरा हुने अवस्था अहिलेसम्मको घटनाक्रमले देखाउँछ।

यी सबैको औचित्य विकास र समृद्धिसँग जोडिएको छ। खासमा विकास र समृद्धिको सपनालाई मूर्तरुप दिन भनेर नै माथिका दुई प्रयास भएको नेताहरुका अभिव्यक्तिले प्रस्ट पार्छ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधि र प्रदेशसमा चुनावका लागि पूर्व एमाले र पूर्व माओवादी केन्द्रले संयुक्त घोषणापत्र तयार गरेका थिए। घोषणापत्रको खण्ड ६ मा 'समृद्धिका कार्यक्रमहरू' भनेर आफ्ना कार्यक्रमलाई लिपिबद्ध गरिएको छ। सो खण्डमा कृषि, ऊर्जा, यातायात, जलमार्ग, पर्यटनजस्ता धेरै क्षेत्रमा विभिन्न प्रतिबद्धता गरिएका छन्। सामान्य बुझाइ पनि के हुन्छ भने, पार्टीहरुले घोषणा पत्रमा जारी गरेका बाचा र प्रतिबद्धता उनीहरुको सरकार भएको बेला पूरा हुनुपर्छ।

नेकपादेखि नेकपासम्म : नेपालका कम्युनिष्ट पार्टीको जुट र फुट शृंखला

किशोर दहाल

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसको बारेमा विवाद छ। जसरी अहिलले अप्रिल २२ लाई स्थापना दिवस मान्ने चलन छ, सुरुसुरुमा सेप्टेम्बर १५ लाई स्थापना दिवस मानिन्थ्यो। सोही दिनको अवसरमा कार्यक्रमहरु आयोजना गरिन्थ्यो। यद्यपि, स्थापनाको वर्ष भने सन् १९४९ भएकोमा कुनै विवाद पाइँदैन।

सुरुका वर्षमा पुष्पलालले लगातार सेप्टेम्बर १५ लाई पार्टी स्थापना दिवस मान्दै लेख्ने बोल्ने गरेका थिए। पार्टीको मुखपत्र 'कम्युनिस्ट', ०१५ सालको चुनावमा कम्युनिस्ट पार्टीको घोषणापत्र, पार्टीको पहिलो सम्मेलनको राजनीतिक प्रतिवेदन, प्रथम महाधिवेशनमा पारित दस्तावेज लगायतका धेरै ठाउँमा पार्टी स्थापनाको मिति १५ सेप्टेम्बर १९४९ नै थियो।

तर, पार्टी फुट्दै गएपछि स्थापना दिवसबारे किचलो आउन थालेको थियो। र ०३४ सालमा तत्कालीन नेकपा (चौम) को मुखपत्र 'मसाल' मा स्थापना कालका तीन नेताहरु नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलाश जोशीले पार्टी स्थापना २२ अप्रिलमा भएको भन्दै त्यसलाई गलत सावित गर्न चुनौति दिँदै जारी गरेको पुरानो वक्तव्य छापियो। साथै, उनीहरुले २२ अप्रिललाई स्थापना दिवस मनाउन पनि अनुरोध गरे। यसप्रति पुष्पलालले कुनै खण्डन वा आफ्नो प्रतितर्क दिने काम गरेनन्। पछि एमालेको पाँचौं महाधिवेशनले १० वैशाख (अप्रिल २२, १९४९) मा नै कम्युनिस्ट पार्टी स्थापना भएको निष्कर्ष निकालेपछि यसबारे पछिल्लो समय बहस भएको पाइँदैन।

राष्ट्रियसभा गृहबाट पार्टी एकीकरणको घोषणा, यस्तो छ रौनक (तस्बिर)

किशोर दहाल

जेठ ३, २०७५| प्रकाशित १८:१९

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि आयोजित घोषणासभामा सहभागी हुन सबै नेताहरु राष्ट्रिय सभागृह पुगेका छन्। एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेताहरु यतिबेला राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकीकरण घोषणा सभामा सहभागी भएका छन्।

घोषणासभामा भाग लिन अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ। सभागृहको हलभित्र नेता कार्यकर्ता खचाखच छन् भने भित्र पस्न नपाएका उत्साहित कार्यकर्ताहरु सभागृहको बाहिर बसेका छन्।

भोलि एकताको सम्भावना ९९.९ प्रतिशत : माओवादी नेता, भोलि एकता मिति तोकिन सक्छ : एमाले नेता

किशोर दहाल

जेठ २, २०७५| प्रकाशित १६:२२

काठमाडौं– एमाले र माओवादीबीच भोलि नै पार्टी एकता हुने सम्भावना बढेको छ। यद्यपि, दुवै पार्टीका उच्च नेताहरुले भने मिति सम्बन्धमा फरकफरक प्रतिक्रिया दिइरहेका छन्।

माओवादीका नेताहरुले भोलि नै पार्टी एकता हुने र निर्वाचन आयोगमा दर्ता हुने सम्भावना रहेको प्रतिक्रिया दिइरहँदा एमाले नेताहरु भने भोलि पार्टी एकता हुने सम्भावना कम भएकाले मिति भने तोकिन सक्ने बताउँछन्। त्यसरी तोकिने मिति जेठ ६ हुन सक्ने एमालेका एक उच्च नेताले प्रतिक्रिया दिए।

भोलि नै एकता गर्ने सम्भावना भएमा पत्रकार सम्मेलन र ६ गते भएमा संयुक्त सभा गरेर पार्टी एकताबारे जानकारी दिइनेछ।

स्थानीय सरकार : एक वर्षसम्म हिँडियो मात्रै, अब दौडिनुपर्छ

किशोर दहाल

बैशाख ३१, २०७५| प्रकाशित २०:००

जनताको सबैभन्दा नजिकको सरकार अस्तित्वमा आएको एक वर्ष भएको छ। अघिल्लो वर्ष आजकै दिन प्रदेश ३, ४ र ६ का ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा मतदान भएको थियो। अन्य प्रदेशमा पनि क्रमशः असार १४ र असोज २ मा गरी ३ चरणमा चुनाव भएपछि अहिले देशका कुल ७ सय ५३ स्थानीय सरकारले जनप्रतिनिधि पाएका छन्।

स्थानीय तहका विविध आयाम जनतासँग प्रत्यक्ष जोडिएको हुन्छ। मुख्यतः यो निर्वाचनले यसअघि १५ वर्षसम्म रिक्त रहेको स्थानीय निकायको पूर्ति र प्रतिस्थापन गरेको छ। अब जनताका नजिकै जनताकै मतद्वारा चुनिएका प्रतिनिधिहरु छन्। साथै, उनीहरु पहिलेजस्तो स्थानीय निकाय मात्र होइनन्, स्थानीय सरकार नै चलाइरहेका छन्। त्यस्तै, ठूलो संख्यामा महिला प्रतिनिधित्व सुनिश्चित भएको छ। संविधानले नै कतिपय पदका लागि महिला प्रतिनिधित्व सुनिश्चित गरेकाले स्थानीय तहदेखि नै महिलामा नेतृत्व विकास र निर्णय क्षमता अभिवृद्धि गराउन यो संरचनाले सहयोग पुर्‍याएको छ।

'हिजो जिविसबाट ५० हजार रुपैयाँ माग गर्न ठूलै मान्छेको पहुँच चाहिन्थ्यो',  गाउँपालिका महासंघका अध्यक्ष समेत रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ भन्छन्, 'अहिले गाउँका सामान्य मानिससँग पनि यहाँ यस्तो समस्या पर्‍यो, समाधानका लागि पाँच लाख चाहियो भन्ने तागत बढेको छ।'

आधा सच्चिएको राष्ट्रवाद !

किशोर दहाल

बैशाख २५, २०७५| प्रकाशित १०:४६

काठमाडौं- प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीको दोस्रो पटकको उदय उनको पहिलो कार्यकालकै कारण सम्भव भएको हो। विशेषगरी पहिलो कार्यकालमा भारतीय नाकाबन्दीमा अडान लिएर, चीनसँग केही सम्झौता गरेर, विकास र सपनाका कुरा गरेर उनले एउटा जमातमा लोकप्रियता हासिल गरे। आफूलाई राष्ट्रवादी नेताका रुपमा प्रस्तुत गर्न सके।

समयले खोजेको के थियो, राजनीतिले खोजेको के थियो भन्नेमा बहस हुँदै गर्ला तर केपी शर्मा ओलीले नेपालको एउटा समुदायमा लामो समयदेखि 'खोजेजस्तो नेता'को रिक्त स्थान पूरा गरे। उनी विकासदेखि स्वाभिमानका प्रतीकका रुपमा उदाए।

तर, उनको सत्ता यात्रा लामो समयसम्म कायम रहन सकेन। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिस्थापन गरे। कुनै बेलाका राष्ट्रवादी नेता ठानिएका प्रचण्ड त्यतिबेला 'लम्पसारवादी' नेतामा पदार्पण भएको व्याख्या खुबै प्रचारित भयो। 'राष्ट्रवादी प्रधानमन्त्री' ओलीलाई सत्ताबाट विस्थापन गरेकै कारण प्रचण्डलाई 'ओलीवादी'जमातले लम्पसारवादी प्रधानमन्त्री करार गर्न कुनै कसर बाँकी राखेन।

कांग्रेसमा विवादका बीच पदाधिकारी चयन

किशोर दहाल

बैशाख २१, २०७५| प्रकाशित १७:४८

काठमाडौं- नेपाली कांग्रेसले रिक्त रहेको पदाधिकारी चयन गरेको छ। नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्रीमा र डा प्रकाशशरण महतलाई सहमहामन्त्रीमा बहुमतले चयन गरेको हो।

बैठकमा सहभागी सदस्यहरुमध्येबाट बहुमतले पदाधिकारी चयन गरिएको हो। 'एउटा राजनीतिक दलमा कुनै निर्णय सर्वसम्मत रुपमा र कहिले बहुमतबाट हुन्छ', पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'यसलाई स्वभाविक रुपमा लिनुपर्छ।'

'महाधिवेशन भएको २ वर्षसम्म पदाधिकारी चयन नहुँदा उत्पन्न भएका सबै प्रश्न आजदेखि अन्त्य भएको छ। आजदेखि नै नयाँ पदाधिकारीले काम सुरु गर्नुहुनेछ,' शर्माले भने।

पदाधिकारीमा चयन भएका निधि, खड्का र महत सभापति देउवानिकट नेताहरु हुन्।

पदाधिकारी चयन हुँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने असन्तुष्ट छ। बैठकमा पौडेल पक्षधरका केही नेता बीचमै उठेर हिँडेका थिए।

प्रचण्ड, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

किशोर दहाल

बैशाख २१, २०७५| प्रकाशित १२:४९

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यावदबीच आज भेटवार्ता भएको छ।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा तीन अध्यक्षबीच भेटवार्ता भएको माओवादी प्रवक्ता पम्फा भुसालले पुष्टि गरेकी छिन्।

एमाले र माओवादीबीच एकतामा गतिरोध देखिइरहेको बेलामा प्रचण्डले आफ्नै निबासमा दुई नेतालाई बोलाएर गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यस्तै, भेटघाटमा सामान्य छलफल मात्र भएको नयाँ शक्तिका सूचना तथा सञ्चार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन्।

भट्टराई पूर्वमाओवादी उपाध्यक्ष हुन् भने यादव नेतृत्वको फोरमलाई पनि माओवादी एजेन्डाको नजिकको पार्टीको रुपमा हेरिन्छ।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/23081

रिक्त पदाधिकारी चयनका लागि बस्ने भनिएको कांग्रेस बैठक सर्‍यो

किशोर दहाल

बैशाख १७, २०७५| प्रकाशित १०:५७

काठमाडौं- सभापति शेरबहादुर देउवाले डाकेको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बस्दै नबसी स्थगित भएको छ। रिक्त पदाधिकारी चयनका लागि सोमबार बिहानलाई बोलाइएको बैठक वैशाख २१ दिउँसो २ बजेसम्मका लागि सरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आइतबार केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक आज बिहान ८ बजेका लागि बोलाएपछि नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले असन्तुष्टि जाहेर गरेका थिए।

कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको छैन।

कांग्रेस निर्णय : पहाड खोतलेर मुसाको सिकार

किशोर दहाल

बैशाख १७, २०७५| प्रकाशित ०१:३२

काठमाडौं- चुनावी हारको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चौधौं दिनसम्म बसेर आइतबार सकिएको छ। बैठक जति गरमागरम भयो, निर्णय उति सशक्त हुन सकेन। विशेषगरी देउवा पक्ष इतरका नेताहरुले बैठकमा उठाएका मुद्दाहरुलाई शाब्दिक कुशलताका साथ निस्तेज तुल्याउन संस्थापन पक्ष सफल भएको छ।

देउवा पक्ष इतरका नेताहरुका केही सोझा र साझा सवालहरु बैठकभर उठिरहेका थिए। मुख्यगरी चुनावी हारको मुख्य जिम्मेवारी सभापतिले लिनुपर्ने, महासमिति बैठक तत्काल बोलाइनुपर्ने र विधान विपरितका समिति खारेज गरिनुपर्ने उनीहरुका माग थिए। तर देउवा पक्षले यी तीनवटै मुद्दामा कुशलतापूर्वक अर्को पक्षको आँखामा छारो हाल्न सफल भएको छ।

निर्णयको भाषा मिलाउन केही दिनयता कसरत चलिरहेको थियो। शुक्रबार केन्द्रीय सदस्यले बोलिसकेपछि महामन्त्रीको प्रतिवेदन प्रस्तुत हुने बताइएको थियो। तर त्यसो हुन सकेन। विवादका बीच शनिबार बिहान बस्ने भनिएको बैठक बस्नै सकेन। आइतबार पनि सहमतिको प्रयास चलिरह्यो। केही नेताहरुले सहमतिको भाषामा महामन्त्रीको प्रतिवेदन अथवा समग्र बैठकको निर्णयमा सहमति जुटाउन दिनभर दौडधुप चलिरह्यो। आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक पनि साँझ सबा ७ मा मात्रै सकिएको थियो।

निर्वाचित केन्द्रीय समितिको बैठकप्रति पौडेल पक्षको घोर आपत्ति

किशोर दहाल

बैशाख १६, २०७५| प्रकाशित २२:५७

काठमाडौं- सभापति देउवा पक्षधरले रिक्त पदाधिकारी चयनका लागि सोमबार बिहान निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएकोप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कडा आपत्ति प्रकट गरेको छ।गत चैत ९ देखि जारी केन्द्रीय कार्यसमिति बैठकको अन्त्य गर्दै पदाधिकारी चयनका लागि सोमबार बिहानका लागि बैठक बोलाइएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिएका थिए।

बैठकको निर्णय सुनाउनको लागि गरिएको प्रवक्ता र महामन्त्रीको पत्रकार सम्मेलन सकिए लगत्तै पार्टी कार्यालयमै पौडेलले पत्रकार सम्मेलन गरेर सोमबार बोलाइएको बैठकको विरोध गरेका हुन्। 'भोलि बोलाइएको बैठक आपत्तिजनक छ', पत्रकारहरुसँग पौडेलले भने।पौडेलले सल्लाह र सहमति नगरी बैठक बोलाइएको त्यो बैठक विधान र नियम विपरीत भएको भन्दै पौडेलले आपत्ति प्रकट गरेका हुन्।'महाधिवेशन सकिएको दुई महिनाभित्रै नियुक्त गरिसक्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेपछि त्यो पदहरु स्वत रिक्त हुन्छ', पौडेलले भने।यस्तै, केन्द्रीय कार्यसमिति बैठक समापनका क्रममा चुनावी हारबारे सभापति शेरबहादुर देउवाले जिम्मेवारी नलिएकोमा पनि पौडेलले आपत्ति जनाए।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

किशोर दहाल

बैशाख १६, २०७५| प्रकाशित १८:११

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा गुटहरूको विवाद मिल्न नसक्दा अनिश्चित बनेको बैठक अन्तत: साँझदेखि सुरु भएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक साँझ ६ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

विवाद मिलाएर सहमतिको प्रतिवेदन तयार भएपछि बैठक बसेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रतिवेदनमा चुनावी समीक्षाको सार आउने प्रवक्ता शर्माले बताए। महामन्त्रीको प्रतिवेदनले पार्टीमा जागरण र उत्साह ल्याउने अपेक्षा रहेको उनले बताए।

केन्द्रीय समिति बैठक आजै सकिने जनाइएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुको कारणबारे विवाद हुँदा बैठक शनिबारदेखि अनिश्चित बनेको थियो।

महामन्त्रीको प्रतिवेदनमा सहमति नजुट्दा कांग्रेस बैठक अन्योलमा

किशोर दहाल

बैशाख १६, २०७५| प्रकाशित १४:२०

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा गुटहरूको विवाद मिल्न नसक्दा आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्म पनि बस्न सकेको छैन।

चुनावी हारको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन्। बैठकमा झण्डै ७० सदस्यले आफ्नो धारणा राखेका छन्। बैठकमा उठेका विषयलाई एकिकृत गरि महामन्त्रीले प्रतिवेदन ल्याउने भनिए पनि सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो।

‘प्रतिवेदन फिनिसिङको काम भइरहेको छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सो काम सकिएपछि बैठक सुरू हुन्छ।’

महानमन्त्रीको प्रतिवेदनले बैठकमा उठेका असन्तुष्टिलाई सम्बोधन नगर्ने संकेत पाएपछि रामचन्द्र पौडेल पक्षका नेताहरूले विरोध गरेका छन्। तर देउवा पक्ष भने सहमति नभए आफू अनुकूलकै प्रतिवेदन ल्याउन कसरत गरिरहेको छ।

Tuesday, May 29, 2018

महामन्त्रीको प्रतिवेदनमा सहमति नजुटेपछि कांग्रेस बैठक स्थगित

किशोर दहाल

बैशाख १५, २०७५| प्रकाशित २०:२३

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा सहमति जुट्न नसकेपछि शनिबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ। अर्को बैठक आइतबार बिहान ९ बजे बोलाइएको छ।

'आज (शनिबार) को बैठक स्थगित भयो', कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भने, 'अर्को बैठक भोलि ९ बजे बस्नेछ।'

चुनावी हारको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन्। गत चैत ९ देखि जारी बैठकमा झन्डै ७० जनाले आफ्नो धारणा राखेका थिए।

शुक्रबार नै पदाधिकारीले पनि जवाफ दिएर बैठक अन्त्य गर्ने बताइए पनि सहमतिका लागि शनिबारसम्म समय बढाइएको थियो। शनिबार बिहान ९ बजेका लागि तय गरिएको बैठक बस्न नसकेपछि शीर्ष नेताहरुले दिउँसो ३ बजेदेखि छलफल गरेर सहमतिको प्रयास गरेका थिए। तर, सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो।

बैठकमा उठेका धारणाहरुलाई समेटेर महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा नेताहरुबीच सहमति जुट्न सकेको छैन।

महामन्त्रीको प्रतिवेदनमा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

किशोर दहाल

बैशाख १५, २०७५| प्रकाशित १७:०६

काठमाडौं- शनिबार बिहान ९ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक साँझ ५ बजेसम्म पनि सुरू हुन सकेको छैन।

गत चैत ९ देखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन्।

बैठकमा उठेका धारणाहरूलाई समेटेर महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा नेताहरू बीच सहमति जुट्न नसक्दा शनिबार सकिने भनिएको बैठक अनिश्चित बनेको हो।

महामन्त्रीको प्रतिवेदनले बैठकका असन्तुष्टिलाई सम्बोधन नगर्ने संकेत पाएपछि कतिपय सदस्यहरूले 'नोट अफ डिसेन्ट' लेख्ने संकेत दिएका थिए। जसले गर्दा सभापति सहितका मुख्य नेताहरूले सहमति गर्न चाहेका हुन्। सभापति देउवा, शशांक कोइराला, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार लगायतका नेताहरू दिउँसो तीन बजेदेखि छलफलमा व्यस्त छन्। शीर्ष नेताहरूले प्रतिवेदनको टुंगो लगाएपछि बैठक बसेर कांग्रेस बैठक टुंग्याउने तयारी छ।

देउवा पक्षइतरका नेताले चुनावी हारमा सभापति देउवाको रणनीतिक अकुशलता देखिएको, विधान विपरीत संसदीय बोर्ड, कार्यसम्पादन समिति बनाएकाले खारेज गर्नुपर्ने, महासमिति बैठक र अग्रिम महाधिवेशन बोलाउनुपर्ने लगायतका माग गरेका थिए।

त्यस्तै, देउवा पक्षकाले भने उल्लेखित कमजोरीमा सभापति मात्रै जिम्मेवार हुन नसक्ने धारणा राखेका थिए। नेतृत्व तहमा भएका सबैले जिम्मेवारी लिनुपर्ने बताएका थिए। साथै, दुई वटा कम्युनिस्ट पार्टी मिलेकाले कांग्रेस हार्नु स्वाभाविक भएको देउवा पक्षीय नेताहरूको तर्क थियो।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/22730

कांग्रेस बैठक : केन्द्रीय सदस्यले बोल्ने पालो सकियो, अब पदाधिकारीले जवाफ दिने

किशोर दहाल

बैशाख १४, २०७५| प्रकाशित १४:०४

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ। बैठकमा आजै पदाधिकारीले जवाफ दिने कार्यक्रम छ।

'अन्तिममा केन्द्रीय सदस्य रामचन्द्र पौडेलले आफ्ना धारणा राख्नुभयो', कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'अब महामन्त्री र सभापतिले बैठकमा उठेका विषयमाथि जवाफ दिनुहुनेछ।'

बैठकमा हिजो ३ घन्टाभन्दा बढी बोल्दा पनि आफ्नो धारणा नसिध्याएका विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले आज थप सबा १ घन्टा बोलेका थिए।

'उहाँले पार्टी एकीकरण गर्दा भएका सम्झौताहरूलाई लागू गर्न जोड दिनुभयो', प्रवक्ता शर्माले भने।

गच्छदारपछि बोलेका पौडेलले भने चुनावमा अन्तर्घात गर्नेहरूलाई छानबिन गरी कारबाही गर्न जोड दिए।

गत चैत ९ देखि जारी बैठक आज सकिने सम्भावना रहेको प्रवक्ता शर्माले बताए।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/22664

कांग्रेसमा 'युवा प्रतिवेदन'ले देखाएको बाटो

किशोर दहाल

बैशाख ११, २०७५| प्रकाशित २०:४१

काठमाडौं- ०७४ चैत ९ देखि चलेको कांग्रेस केन्द्रीय कार्यसमितिमा मंगलबार ६ युवा नेताका तर्फबाट गगन थापाले ५१ पाना लामो प्रतिवेदन पेश गरेका छन्। वृद्ध नेताहरु सामान्य राजनीतिक छलकपटभन्दा माथि उठ्न नसकेको विगतको समीक्षा बैठकहरुको निरन्तरतामाथि थापाले प्रस्तुत गरेको प्रतिवेदनले क्रमभंग गर्ने प्रयास गरेका छन्।

प्रतिवेदन भावनात्मकभन्दा पनि तथ्यपरक बनाउने प्रयास गरिएको छ। त्यसैले खास व्यक्तिको हारजितबाट सिर्जित भावनात्मक आवेगभन्दा इतिहासदेखिकै कांग्रेसको भूमिकालाई केलाउँदै आजको अवस्थासम्म आइपुगेको बाटो खोतलिएको छ। साथै, कांग्रेसको अबको बाटोको नक्सांकन गर्ने प्रयास पनि गरिएको छ।

जब जनताले जिते

किशोर दहाल

बैशाख ११, २०७५| प्रकाशित ०८:०२

पछिल्ला १२ वर्षमा देशमा निकै उचारचढाव आएका छन्। डेढ दशक अगाडि कल्पनासम्म गर्न नसकिने धेरै राजनीतिक मुद्दाहरुलाई हामीले हासिल गरेका छौं। देश सिद्धान्ततः त्यही बाटोतर्फ अघि बढिरहेको छ, जे जनता चाहन्छन्।

आज भोग्दै गरिएका कैयौं राजनीतिक उपलब्धीको पछाडि १२ वर्षअघिको जनताको आवेगपूर्ण सडक संघर्ष जोडिएको छ। देशका सर्वशक्तिमान राजाको बन्दुक र सम्पूर्ण राज्य संयन्त्रको दुरुपयोगलाई जनताले सडकमा उभिएर छाती थापेरै चुनौति दिए। संसदीय राजनीति गरेका शक्ति र सशस्त्र संघर्ष गरिरहेको तत्कालिन नेकपा माओवादीको संयुक्त नेतृत्वमा जनताले सडक संघर्षबाटै आफ्नो जीत सुनिश्चित गर्न सकेका थिए।

२०५२ देखि ‘जनयुद्ध’ गरिरहेको माओवादी र तीन वर्षदेखि सडक संघर्ष गर्दे आएका कांग्रेस, एमालेजस्ता संसदवादी दलहरुको संघर्षको उच्चतम बिन्दु मान्न सकिन्छ, २०६३ वैशाख ११ को दिनलाई। निरन्तर १९ दिनदेखि लाखौं जनता सडकमा उत्रेर गरेको आन्दोलनलाई जित्न असम्भव देखेपछि ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फर्काएको’ भन्दै विघटित संसदलाई पुनर्स्थापना गर्न बाध्य भएका थिए। २०६२ चैत २४ देखि राजाका कर्फ्यु र निषेधाज्ञा तोडेर भएको आन्दोलनपछि उनी पछि हट्नु अवश्यम्भावी थियो र भयो पनि त्यस्तै।

ओली-प्रचण्डले किन दिन सकेनन् एकताको प्रस्ट आधार?

किशोर दहाल

बैशाख ९, २०७५| प्रकाशित २३:०९

काठमाडौं– प्रचारित गरिएजस्तो वैशाख ९ अर्थात् आजैको दिन पार्टी एकता नहुने भएपछि एकताको प्रस्ट आधार प्रस्तुत गर्न नेकपा एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसमा संयुक्त कार्यक्रम आयोजना गरे। तर, एकताको आधार भने प्रस्तुत गर्न सकेनन्। खासमा विवादमा रहेको भनिएको विषयलाई छिचोल्न भइरहेको प्रयासबारे उनीहरुले कार्यकर्तालाई कुनै विश्वसनीय आधार दिन सकेनन्।

कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३४ मिनेट बोलेका थिए भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मिनेट बोलेका थिए। एकताबाट फर्किने ठाउँ नभएको, एकताको विकल्प नभएको तथा विकास र समृद्धिका लागि एकता अपरिहार्य रहेको भन्नेमै उनीहरुको भाषण केन्द्रित थियो।

अब दायाँ-बायाँ गर्ने छुट छैन : प्रचण्ड

किशोर दहाल

बैशाख ९, २०७५| प्रकाशित १६:४५

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरी छिटै नयाँ केन्द्रीय समिति घोषणा गर्ने बताएका छन्।

राष्ट्रिय सभागृहमा आयोजत नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीमा आयोजित संयुक्त कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुई पार्टी एकता अन्तिम बिन्दुमा पुगेको बताए।

अपडेट : मिल्यो ब्यानर विवाद- दुई पार्टीका दुई ब्यानर राखेर सुरु भयो कार्यक्रम

किशोर दहाल

बैशाख ९, २०७५| प्रकाशित १६:०६

काठमाडौं- ब्यानर विवादले रोकिएको नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको 'नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं १४८औं लेनिन जयन्ति'को कार्यक्रम दुई ब्यानर राखेसँगै झन्डै ४ घन्टापछि सुरु भएको छ।

पहिलेको ब्यानरमा मार्क्स, लेनिनकै फोटो नभएपछि माओवादी केन्द्रका कार्यकर्ताले कार्यक्रममा अवरोध सिर्जना गरेका थिए। अहिले नयाँ ब्यानर र कार्ल मार्क्स र लेनिनको फोटो ल्याएसँगै कार्यक्रम सुरु भएको हो। १ बजेतिर कार्यक्रम स्थलमा पुगेर भिआइपी कक्षमा बसेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्टेजमा आएका छन्।

कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र कम्युनिस्ट नेताहरुको लहरमा नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि कार्यक्रम रोकिएको थियो। अहिले पुरानो ब्यानरसँगै नयाँ ब्यानर र कुर्सीमा कार्ल मार्क्स र लेनिनको फोटो राखेर कार्यक्रम सुरु गरिएको हो।

अपडेट : स्टेजमा ओली-प्रचण्ड अझै उक्लिएनन्, बद्री पंगेनीले गीत गाएर भुलाउँदै

किशोर दहाल

बैशाख ९, २०७५| प्रकाशित १५:०६

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं १४८औं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको कार्यक्रममा ब्यानरको विषयमा विरोध भएपछि अझै कार्यक्रम सुरु हुन सकेको छैन।

कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरे। त्यसपछि उक्त ब्यानर हटाइएको छ। ब्यानरको विषयमा विवाद उठेपछि १२ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अझै औपचारिक रुपमा सुरु भएको छैन।

औपचारिक कार्यक्रम सुरु हुन नसकेपछि लोकगायक बद्री पंगेनीले गीत गाएर उपस्थित नेता कार्यकर्तालाई मनोरञ्जन दिइरहेका छन्। उनले 'प्रचण्ड र ओली, नफेर है त्यो बोली' बोलको गीत गाएर समय उपस्थित नेता-कार्यकर्तालाई भुलाइरहेका छन्।

ब्यानरमा लेनिनको फोटो नभएपछि माओवादीको नाराबाजी

किशोर दहाल

बैशाख ९, २०७५| प्रकाशित १३:१४

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको कार्यक्रममा ब्यानरको विषयमा विरोध प्रदर्शन भएको छ।

कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। माओवादी समर्थित अखिल क्रान्तिकारीले ब्यानरमा कार्ल मार्क्स, लेलिन, माओ जस्ता नेताको तस्बिर नराखिएको भन्दै नाराबाजी गरेपछि कार्यक्रम स्थलमा राखिएको ब्यानर झिकिएको छ।

संविधान संशोधनका लागि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ : राजकिशोर यादव

किशोर दहाल

बैशाख ७, २०७५| प्रकाशित १९:३९

काठमाडौं– राष्ट्रिय जनता पार्टीका एकजना अध्यक्ष राजकिशोर यादवले संविधान संशोधनका लागि प्रधानमन्त्री केपीशर्मा ओलीसँग कुराकानी भइरहेको बताएका छन्।

राजपाले पार्टी गठनको पहिलो वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै यादवले प्रधानमन्त्रीले आफ्नो बोली व्यवहारमा कसरी उतार्ने हुन् भन्ने हेर्न बाँकी रहेको बताए।

'संविधान संशोधनको लागि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ', यादवले भने, 'उहाँले सबैलाई मिलाएर लैजान खोजेको छु भन्नुभएको छ। अब उहाँले व्यवहारमा कसरी उतार्नुहुन्छ हेर्न बाँकी छ।' यादवले प्रधानमन्त्रीले देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौंको ज्ञानेश्वरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न व्यक्तिहरुले राजपा नेताहरुलाई शुभकामना दिएका थिए।

कार्यक्रममा राजपाका अध्यक्षमण्डलका पाँच नेताहरु, दोस्रो र तेस्रो तहका नेताहरुका साथै कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर भने उपचारको सिलसिलामा दिल्लीमा छन्।

राजपा हिँडेको बाटो : संघर्षमा अलमल, उद्देश्य अनिश्चित

किशोर दहाल

बैशाख ७, २०७५| प्रकाशित १०:०६

काठमाडौं– मधेसी मोर्चाको नाममा अनेक खाले आन्दोलन गर्दै आएका केही मधेसकेन्द्रित दलका नेताहरु आजभन्दा ठ्याक्कै एक वर्षअघि अर्थात् ०७४ बैसाख ६ गते राति अबेरसम्म जावलाखेलको एक घरमा छलफलमा व्यस्त थिए। ७ गते बिहान झन्डै २ बजेसम्म चलेको सो वार्तामा पाँच पार्टीका नेताहरु उपस्थित थिए।

बैठकले एकीकृत पार्टीको नाम राष्ट्रिय जनता पार्टी रहने, नेतृत्व महन्थ ठाकुरले गर्ने, चुनाव चिह्न र झन्डामा छाता राख्ने सहमति गर्यो। जसअनुसार ७ गते दिउँसो उनीहरुले काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एकताको घोषणा गरे। एकता घोषणामा पार्टीको चिह्न र झन्डा सार्वजनिक गरियो।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक एकता प्रक्रियामा सामेल भएका थिए।

एकता प्रक्रियाको अन्तिम समयमा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि जोडिन आइपुग्यो।

यसरी ६ वटा मधेसकेन्द्रित दलहरु मिलेर राष्ट्रिय जनता पार्टी गठन भयो। पार्टीको नाममा मधेस शब्द कतै उल्लेख भएन। एकतासभामा राजेन्द्र महतोले भनेका थिए, 'यो पार्टी हिमाल, पहाड र तराईको पनि हो।'

तर 'राष्ट्रिय जनता पार्टी' नामको पार्टी निर्वाचन आयोगमा एक महिनाअघि नै दर्ता भइसकेकाले त्यो नाम एकीकृत पार्टीले पाएन। १३ गते बसेको पार्टीको बैठकले पार्टीको नाम 'राष्ट्रिय जनता पार्टी,  नेपाल' (राजपा) राख्ने निर्णय गर्यो ।

एकतामा 'प्रचण्ड' जटिलता


किशोर दहाल

बैशाख ६, २०७५| प्रकाशित १०:२४

काठमाडौं– गत चैत दोस्रो साता पार्टी निकट विद्यार्थी संगठनको प्रशिक्षणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बराबरी हैसियत नभए एकता नै नहुने भनेर विद्यार्थी नेतालाई आश्वस्त बनाउन खोजे। गोप्य भनिएको सो प्रशिक्षणमा प्रचण्डले दिल खोलेर दिएका अभिव्यक्ति गोप्य रहन सकेनन्। अन्तिमतिर पुगेको भनिएको नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा त्यसपछि किचलो थपिएका छन्।

५० प्रतिशतबाट सुरु भएको एकता प्रक्रियाको कठिनाइमा जबज (जनताको बहुदलीय जनवाद), जनयुद्ध, चुनाव चिह्न हुँदै प्रचण्डको भावी हैसियतसम्म थपिएका छन्। फलस्वरुप बैसाख ९ मा हुने भनिएको पार्टी एकता घोषणा तत्काललाई स्थगित भएको छ। नेताहरुले बैसाखभित्रै एकता हुने अभिव्यक्ति दिएका छन्; तर विश्वसनीय आधार भने प्रस्तुत गर्न सकेका छैनन्।

मुख्य रुपमा संगठनमा रहने सदस्यको संख्या, जनयुद्ध रचुनाव चिह्नका विषयमा कुरा नमिलेको माओवादी नेता हरिबोल गजुरेल बताउँछन्।

एमाले नेता झलनाथ खनालले भने सतहमा आएका मुद्दाबाहेक केही अन्यविषयमा पनि मिलनबिन्दु खोज्न बाँकी रहेको संकेत गरे। 'कतिपय कार्यशैलीका कुरामा, भावनात्मक कुरामा, मनमा खेल्ने अनेकथरी कुरामा छलफल गरेर भावनात्मक एकता गर्नुपर्नेछ। त्यस्तै कतिपय कुरा स्पष्ट गर्न बाँकी रहेको हामीले बुझ्यौं', उनले भने, 'ती विषय अध्यक्षहरुले नै टुंग्याउन बाँकी रहेको बुझियो। त्यसैले अन्य कुरा मिलिसकेकै छ। मिलाउन बाँकी कतिपय कुरा मिलाउनुस् भनेर उहाँहरुलाई छाडिएको छ।'

सम्पत्ति विवरण सार्वजनिक गर्न अलमल, क-कसले बुझाए?

किशोर दहाल

बैशाख ३, २०७५| प्रकाशित १८:५२

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले फागुन ३ मा सपथ लिएसँगै उनले थप दुई जनालाई मन्त्रिपरिषद् सदस्य बनाएका थिए। सोही दिन एमालेका दुई नेताहरु लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापा मगरले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा सपथ लिए।

उनीहरुले जिम्मेवारी सम्हालेको ६० दिन पुगिसकेको छ। त्यसपछि पनि पटकपटक विस्तार भएर २२ सदस्यीय पुगेको मन्त्रिपरिषद्का दुईबाहेक बाँकी सदस्यहरुको सम्पत्ति अझै आम जानकारीमा आउन सकेको छैन।

वर्तमान मन्त्रिपरिषद्का केवल दुई जना सदस्यले पत्रकार सम्मेलन नै गरेर आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन्। गत चैत ५ गते कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मन्त्री बनेको चौथो दिनमा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति सार्वजनिक गरेका थिए। उनी चैत २ गतेको मन्त्रिपरिषद् विस्तारमा थपिएका हुन्।

तामाङसँगै थप भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि २६ औं दिनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे।

२०७४ मा नेपाली राजनीति : आशाको सञ्चार

किशोर दहाल

चैत ३०, २०७४| प्रकाशित १३:२१

काठमाडौं– संविधानले निर्दिष्ट गरेका तीनै तहको चुनाव होला कि नहोला भन्ने अन्योलको बीचमा ०७४ साल आरम्भ भएको थियो। तर, सम्पूर्ण खालका चुनाव सम्पन्न भएर यो साल हामीबाट बिदा भएको छ। ती चुनावले नेपालीमा पहिलो पटक स्थिर सरकारको आशा र विश्वास जगाइदिएको छ। बहुदल प्राप्तिपछिका कुनै पनि सरकारले पूर्ण अवधि काम गर्न नपाएको परिप्रेक्ष्यमा अब ५ वर्ष एउटै सरकारले काम गर्न पाउनेमा प्रशस्त आधार देखिएका छन्।

राजनीतिक दलहरुबीच विगतका केही वर्षदेखि देखिएको तीव्र असहमति यसै वर्षदेखि मत्थर भएको छ। प्रतिस्पर्धात्मक शक्ति रहेका दुई कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र एकता प्रक्रियाको अन्तिम चरणमा पुगेका छन्। साथै, संविधानप्रति असहमति राखिरहेका मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रधानमन्त्रीमा केपीशर्मा ओलीलाई मत दिएर नयाँ सम्बन्धको सुरुवात गरेका छन्। यो प्रयासले दुई दलसँग दुई वर्षयता जारी असमझदारीको अन्त्य तथा राजनीतिक मुद्दामा देखिएका फरकमतले अब वार्ता र सहमतिबाटै निष्कर्ष पाउने संकेत देखा परेको छ।

दिल्ली विमानस्थलमा प्रधानमन्त्री ओलीले पाउलान् 'सरप्राइज' स्वागत?

किशोर दहाल

चैत २३, २०७४| प्रकाशित ०९:०७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा जाँदै छन्। उनी ९ बजे नेपाल एयरलाइन्सको विमानमा ५४ सदस्यीय नेपाली भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जान लागेका हुन्।

प्रधानमन्त्री ओली दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल ओर्लने निश्चित छ। तर उनलाई विमानस्थलमा कसले स्वागत गर्ने भन्नेचाहिँ निश्चित भइसकेको छैन। त्यहाँ उनले 'सरप्राइज' स्वागत पाउन सक्ने अनुमान गरिएको छ। स्वागतकर्ता स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन सक्छन्।

यसमा केही तर्कहरु छन्।

Thursday, May 24, 2018

बिप्पाको कपिराइट अन्त्यको घोषणा गर्छु : बाबुराम भट्टराई

आज ०७५ जेठ आज १० मा संसदमा आफ्नो धारणा राखेका डा बाबुराम भट्टराईको भाषणको एक अंश:

भारत र चीन उदाउँदो अर्थतन्त्रको रुपमा आउँदैछन्। त्यसैले तिनीहरुसँग नजोडिइकन हामीले विकास गर्छौं भनेर सम्भव हुँदैन। त्यसैले हामीले यी दुईसँग सन्तुलन कसरी मिलाउने हो, भूराजनीतिक सन्तुलन, त्यस्तै बाह्य पूँजीलाई पनि पनि राष्ट्रिय हित अनुकूल ल्याएर अघि बढ्नको निम्ति हामीले उपयुक्त नीति ल्याउनुपर्छ। यहाँ संकेत त छन्, तर भन्न हिचकिचाहट भएजस्तो म देख्छु। मैले पहिले पनि भनेको छु, बाह्य पूँजीको संरक्षण नगरीकन, त्यसलाई स्वागत नगरिकन, हाम्रो राष्ट्रिय हित अनुकूल हुनेगरी दुवै देश (भारत र चीन)बाट पूँजी ल्याएर, लगानी गरेर वस्तु निर्यात नगरेसम्म देशको विकास हुँदैन। बाह्य पूँजीका निम्ति सुरक्षा र संरक्षण दिने नीति हाम्रो हुनै पर्छ। त्यसका लागि हामीले बिप्पा सम्झौता गर्नैपर्छ। तर बिप्पा शब्दले किन संकोच पैदा गरिरहेको छ, मैले बुझेको छैन। यदि यो बाबुराम भट्टराईले प्रधानमन्त्री कालमै उठाएको हो भन्ने लागेको हो भने त्यसप्रति मेरो कुनै कपीराइट छैन। मैले यही मञ्चबाट त्यो कपिराइट अन्त्य गरेको घोषणा गर्छु।

Thursday, May 17, 2018

एमाले र माओवादीबीच एकता

नेकपा एमाले र माओवादी बीच एकता सम्पन्न भएको छ। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने छ।

एमाले–माओवादी एकीकरणको संयुक्त घोषणा

१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव सँगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरूको भावना एवं आकांक्षाअनुरूप आवश्यक छलफल र बहसपश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेका छौं ।

यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछौं । यो सुखद ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६ बुँदे सहमति गर्दै नेपालको संविधानअन्तर्गत पहिलोपटक हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा साझा घोषणापत्र र उम्मेदवारहरूका साथ हामी अघि बढेका थियौं । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवादउन्मुख सामाजिक, आर्थिक रूपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोषसहित हामीले गरेका निर्णयहरू जनता तथा पार्टी कार्यकर्ताहरूबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलोपटक हामीले संघीय संसद्मा दुई तिहाइ बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरूमध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्त्वपूर्ण सफलता हासिल भएका छन् । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीका तर्फबाट जारी विशेष निर्देशनलाई पार्टी पंक्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंस्कृत नेपाल निर्माण गरेर हामी दिगो र युगीन महत्त्वको बनाउने छौं ।

Saturday, May 12, 2018

३० घण्टाको तेस्रो नेपाल भ्रमण पूरा गरि फर्किए मोदी

आफ्नो २ दिने (०७५ बैशाख २८-२९) नेपाल भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। उनी हिजो (शुक्रबार) बिहान पौने ११ बजे जनकपुर उत्रिएका थिए। दिल्लीबाट पटना आएर त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउने भनिए पनि उनी सोझै विमानबाट जनकपुर उत्रिएका थिए।

जनकपुरमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले विमानस्थलमा स्वागत गरेका थिए। विमानस्थलबाट सिधै जानकी मन्दिरमा पुगेका मोदीलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका थिए। मोदीले विशेष पूजा गरे पश्चात् दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गरेका थिए।

उस्तै पोषाकमा प्रस्तुत भएका ओली-मोदीले हरियो झण्डा हल्लाएर जनकपुर-अयोध्याकाअयोध्याको बस उद्घाटन गरेका थिए। त्यसपछि जनकपुरस्थित बाह्र बिगाह मैदानमा मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेका थिए। त्यहाँ पोखरेल, राउत, उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सम्बोधन गरेका थिए। राउतको सम्बोधन विवादित भयो।

३ घण्टाभन्दा बढी समय जनकपुरमा बिताएर मोदी काठमाडौं आए। उनलाई टुँडिखेलमा 'गार्ड अफ अनर' प्रदान गरियो। लगत्तै उनले उपराष्ट्रपति, राष्ट्रपतिलाई सम्बन्धितको भवनमै गएर भेटे। साँझमा द्वारिकाज होटलमा प्रधानमन्त्रीसँग भेटे। त्यहीँबाट अरूण तेस्रोको स्वीच थिचेर शिलान्यास गरे।

शनिबार बिहानै मुक्तिनाथ गएर पूजा गरे। फर्केर काठमाडौंस्थित पशुपतिनाथमा पूजा गरे। त्यसपछि हायात होटलमा कांग्रेसका नेताहरू सामूहिक, माओवादीबाट प्रचण्डसँग एक्लै, राजपाका ६ जना अध्यक्षसँग सामूहिक र फोरम अध्यक्ष उपेन्द्र यादवसँग एक्लै भेटे।
त्यसपछि, उनी राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दनका लागि पुगे। त्यहाँ उनलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मेयर विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दन गरे। त्यहाँबाट मोदी त्रिभुवन विमानस्थल गए र स्वदेश फर्के।

नेपाली पत्रकारमाथि विभेद 
शुक्रबार जानकी मन्दिरमा मोदीको पूजाको फोटो खिच्न भारतीय पत्रकारलाई सहज प्रवेश सुविधा थियो तर नेपाली पत्रकारलाई अवरोध गरिएको थियो। मुख्यमन्त्रीको कार्यालयले उपलब्ध गराएको पास भएका पत्रकारलाई पनि प्रवेशमा अवरोध गरियो।

त्यस्तै, शनिबार नागरिक अभिनन्दनका लागि मोदी सहागृहमा आउँदा पनि नेपाली पत्रकारलाई प्रवेश दिइएन। निजी क्षेत्रका सञ्चारगृहमा काम गर्ने पत्रकारलाई गेट बाहिरै रोकिएको थियो। भारतीय पत्रकारलाई भने कुनै रोकटोक थिएन।