Pages

Friday, December 28, 2018

गगनले सोधे– सदनमा पटकपटक मेरो माइक किन काटिन्छ?

२o७५ पौष १३ शुक्रबार| प्रकाशित १६:४३:oo

काठमाडौं– प्रनितिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बोल्न दिइएको समयभन्दा अघि नै माइक काटिएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपत्ति प्रकट गरेका छन्।

‘मलाई पार्टीले ४ मिनेट छुट्याएको थियो। तर, सभामुखले ३ मिनेट समय दिएर बोलाउनु भयो। तर समयभन्दा अघि नै माइक काटियो, यसमा मेरो आपत्ति छ’, सांसद थापाले भने, ‘यसअघि पनि यस्तो भएको छ, यसपटक पनि भयो, यो के भइरहेको छ मैले बुझिरहेको छैन। पटकपटक माइक किन काटिन्छ?’

कांग्रेस नेता तथा सांसद थापाले आफूलाई बोल्न दिइएको समयअघि नै माइक काटिएको बताएपछि हामीले सदनको भिडियो रेकर्ड हेर्‍यौं।

शुक्रबारको संसद् बैठकमा थापा १ बजेर २४ मिनेट २० सेकेन्डदेखि बोल्न सुरु गरेका रहेछन्। १ बजेर २६ मिनेट ५३ सेकेन्ड हुँदा उनको माइक काटिएको रहेछ।

सभामुख महराले सांसद थापालाई दिएको समयभन्दा अघि माइक काटिएपछि थापाले आफ्नो दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई यसबारे जानकारी गराएका थिए। कांग्रेस सचेतक खाँडले सभामुखलाई समय घटाउने र बढाउने अधिकार नहुने भन्दै यसबारे सदनमै आपत्ति जनाएका छन्।

पत्रकारलाई खुवाइने खाजाको मूल्य कति? सञ्चारमन्त्रीको जवाफ– खुद्रे कुरा भयो

किशोर दहाल

२o७५ पौष १२ बिहीबार| प्रकाशित १७:२५:oo

काठमाडौं– लोकतन्त्रपछि मन्त्रिपरिषद्को निर्णयहरु संक्षेपमा सुनेर सम्प्रेषण गर्ने बानी लागेका पत्रकारहलाई गत कात्तिक २५ गते राति सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अचम्मित तुल्याइदिए।

सोही राति अबेर सकिएको मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका पत्रकारहरुलाई उनले भने– 'आवश्यक निर्णयहरु गरिएको छ र समय क्रममा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ।'

निर्णयहरु तत्काल नसुनाउनका लागि उनले खुलाएका कारण यस्तो थियो– 'पत्रकारहरुलाई चिया पनि खुवाउन नपाइने अवस्था भयो। स्थानको अभाव भयो। कहिले बालुवाटार, कहिले सिंहदरबार जुनसुकै अवस्थामा पनि बस्नुपर्ने। यहाँहरुका लागि सुविधा होस् भनेर सूचना सम्प्रेषणमा एकरुपता दिन नयाँ प्रयोग गर्ने तयारी गरेका हौं।'

आइतबार रातिको यो घटनापछि त्यही बिहीबार उनले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर निर्णयहरु सुनाए। त्यसयता हरेक बिहीबार पत्रकार सम्मेलन गरेर निर्णयहरु सुनाइने गरिएको छ।

बैठक टार्दै महन्थ ठाकुर


२o७५ पौष १० मंगलबार| प्रकाशित १८:३१:oo

काठमाडौं– मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको राष्ट्रिय जनता पार्टीको बैठक अन्तिम समयमा स्थगित भयो। बैठक अन्तिम समयमा स्थगित हुनुको कारण बताइयो, महन्थ ठाकुरको स्वास्थ्य। तर यसैगरी अन्तिम समयमा बैठक स्थगित भएको यो पहिलो पटक होइन। राजपामा संयोजक परिवर्तन भएपछि पटकपटक भइसकेको छ।

यसरी बैठक बस्नै नसक्ने स्थिति आउनुलाई महतो पक्षका नेताहरु भने ठाकुरको असन्तुष्टिलाई जोडेर प्रतिक्रिया दिने गरेका छन्। ठाकुर र उनी पक्षका नेताहरुले संयोजक परिवर्तनलाई स्भाविक रुपमा लिन नसक्दा पार्टीमा गम्भीर बैठक नै हुन नसकेको महतो पक्षका नेताहरुले तर्क छ। 'खासमा ठाकुरलाई संयोजकबाट हट्नुपरेकोमा निकै ठूलो पीडा छ', एक नेता भन्छन्, 'उहाँले सहज रुपमा लिनै सक्नुभएको छैन।'

पार्टी बैठकको 'लाइभ कास्ट' सम्भव छ?

एमालेमै छलफल भएको विषय

किशोर दहाल

२o७५ पौष ९ सोमबार| प्रकाशित १९:३१:oo

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा 'लाइभ कास्ट'को विषयले प्रवेश पाएको छ।

पुस ६ गतेको बैठकमा लिलामणि पोखरेलले बैठकको 'लाइभ कास्ट'को कुरा उठाएका थिए। भोलिपल्टको बैठकमा अर्का नेता विष्णु पौडेलले उनको कुरामा समर्थन जनाएका थिए। लिखित प्रतिवेदनमा 'बैठकमा मिडिया प्रवेशको अनुमति' अन्तर्गत उनले लाइभ कास्ट गरौं भन्ने कमरेड लिलामणि पोखरेलको भनाइप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्।

केन्द्रीय सदस्य विष्णु रिजालले पनि पौडेलको प्रस्ताव तत्काल कार्यान्वयनको माग गरेका छन्। फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्– 'नेकपा स्थायी समिति बैठकमा महासचिव विष्णु पौडेलले भन्नुभएछ, ‘पार्टीका बैठकमा मिडियालाई प्रवेशको अनुमति दिऔं। त्यसो गर्दा वक्ता जिम्मेवार भएर बोल्छ र बोलेका कुरा पनि तोडमरोड नभएर सार्वजनिक हुन्छन्।’ यो प्रस्ताव शीघ्र कार्यान्वयन होस्।'

'बैठकमा को कता फर्केर बोल्यो, कुन औंला कता ठड्यायो र कोतिर आँखा तर्‍यो भन्ने रिठ्ठो नबिराई बाहिर आउँछ भने मिडियाकर्मीलाई सीधै पहुँच किन नदिने', प्रश्न गर्दै उनले भनेका छन्, 'बहस गरौं।'
व्यवहारिक रुपमै 'लाइभ कास्ट' सम्भव छ त?

पार्टी महासचिव समेत रहेका पौडेल भन्छन्– सम्भव छ।

स्थायी समितिमा झलनाथको टिप्पणी– जनताको जनवादको युग सकियो

२o७५ पौष ७ शनिबार| प्रकाशित १३:४८:oo

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जनताको जनवादलाई न्युनतम कार्यक्रम बनाउनुको औचित्य नभएको बताएका छन्।

पार्टीको जारी स्थायी समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै नेता खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको आलोचना गरेका हुन्।

'प्रतिवेदनले वैज्ञानिक समाजवादलाई अधिकतम कार्यक्रम भनेको छ। समाजवाद र साम्यवाद दुवै हो, एउटा मात्रै हो भन्न मिल्दैन', खनालको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'प्रतिवेदनले न्युनतम कार्यक्रम जनताको जनवाद भनेको छ। जनताको जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, जनताको बहुदलीय जनवादको युग सकियो। फेरि जनताको जनवादलाई न्युनतम कार्यक्रम बनाउनुको औचित्य छैन।'


Saturday, December 22, 2018

स्थायी समितिले सचिवालयलाई सिकाउला सबक?

किशोर दहाल

२o७५ मङ्सिर २९ शनिबार| प्रकाशित ११:oo:oo

काठमाडौं– लामो समयदेखि स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठक शनिबार दिउँसो बस्दैछ। विधानमा तीन महिनामा एक पटक बस्नुपर्ने भनिएको बैठक सचिवालयको बेवास्ताका कारण बस्न सकिरहेको थिएन।

गत २२ गते चार सचिवालय सदस्यहरुले बैठक नै बहिस्कार गरेपछि बाँकी पाँच सदस्यले २९ गतेका लागि बैठक बोलाएका थिए। यद्यपि, यो बैठक पनि स्वभाविक चाहनाभन्दा पनि बैठक बहिस्कार गर्ने नेताहरुले आफू निकटका स्थायी समिति सदस्यहरुको छुट्टै बैठक बोलाउने तयारीको संकेत पाएपछि यो बैठक बोलाइएको समाचारहरु सार्वजनिक भइसकेका छन्।

लामो समयपछि बस्न थालेको बैठक महत्त्वपूर्ण होला भन्ने अपेक्षा लिएको स्थायी समिति सदस्य भीम रावल बताउँछन्। 'स्थायी समिति बैठक बस्नुपर्छ भनेर स्थायी समितिका अधिकांश सदस्यले माग गर्दै आएका र छलफलका विविध विषयहरु सतहमा आएकाले स्थायी समिति बैठक महत्त्वपूर्ण हुनसक्ने अपेक्षा छ', उनले भने।

Friday, December 14, 2018

डा कुमुद, जो 'मृत मुटु' झिकेर नयाँ जीवन दिन्छन्

किशोर दहाल

२o७५ मङ्सिर २६ बुधबार| प्रकाशित १३:५७:oo

काठमाडौं– ‘सबै कुरा ठिक भएपछि मात्रै कुनै काम गर्छु भनेर बस्यो भने त कहिल्यै सफल भइँदैन।’

डाक्टर कुमुद धिताल चार वर्षअघि ‘सर्कुलेटरी डेथ’ (धड्किन छाडेको) मुटुलाई पुनः चलाएर अर्को व्यक्तिमा प्रत्यारोपण गर्दैगर्दा आफ्नो मनमा खेलेको कुरा सुनाउँदै थिए। यसअघि ब्रेनमात्रै मृत्यु भएका व्यक्तिको चलिरहेको जिउँदो मुटु प्रत्यारोपण गरिएको भए पनि यसपटक भने उनको टिमले नयाँ प्रयोग गर्दै थियो। ठूलो सफलताको मुखमा उभिएको थियो, डा धिताल र उनको समूह।

‘प्रत्यारोपण गर्ने भनिएको मुटु हेरेँ, खासै राम्रो छैन। बिरामीलाई प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने भइरह्यो। मनमा डर र आँट दुवै खेलिरहेका थिए,’ चिकित्सकीय प्रयोगको त्यो अद्भूत क्षणबारे उनलाई अझै सम्झना छ, ‘सफल भइएन भने मेरो करिअरलाई नै नोक्सान पुर्‍याउँछ भन्ने पनि लाग्यो। फेरि सोचेँ– यत्रा मुटु हेरिसकेको छु, यो त ठिकै होला। दस वर्षपछि यही विधिबाटै मुटु प्रत्यारोपण गर्न सकिने रहेछ भन्ने पत्ता लाग्यो भने मलाई अहिले त्यही काम नगरेकोमा कति विस्मात होला? दुई घन्टासम्म यस्तै सोचिरहेँ। अनि आँट गरेँ।’

सबै चिज तयार नै थियो। उनीहरुको टिम अघि बढ्यो। सफल पनि भयो। त्यसपछि उनले खुट्टा बजारे। साथीसँग खुसी साटे।

बिरामी व्यक्ति, जसको मृत्यु भइसकेको थियो। उसको शरीरमा चल्न छाडिसकेको मुटुलाई निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको खबरबारे सन् २०१४ को अक्टोबर महिनाको अन्तिमतिर मात्रै संसारले थाहा पायो। डाक्टर धितालसहित उनको टिमले अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा यो सफलता दर्ज गराएको थियो। नयाँ प्रयोगमा अस्पताल नै सशंकित थियो। जसले गर्दा पहिलो सफलता हासिल गरेको तीन महिनापछि र तेस्रो सफलता पनि हासिल गरेपछि मात्रै बाहिर यो कुरा भन्यो, पत्रकार सम्मेलनमार्फत। नेपाली मूलका व्यक्तिको नेतृत्वमा यो सफलतालाई कतिपयले चमत्कार नै भएको बताए।

Thursday, December 6, 2018

बुद्धिजीवीप्रति ओलीको निरन्तर आक्रोश : मुसाको संज्ञादेखि थला पार्ने चेतावनीसम्म

'सो कल्ड' बुद्धिजीवी अरुले खुवाइदिएको ट्याब्लेटले बोल्ने हुन्'

किशोर दहाल

२o७५ मङ्सिर २० बिहीबार| प्रकाशित १३:३८:oo

काठमाडौं– अहिले तातो बहसको विषय बनेको छ– विकास र समृद्धि। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बाहकको रुपमा प्रस्तुत गर्न थालेको पनि धेरै भयो। तर, उनले सोचेको वा बुझेको विषयमा अन्यले प्रश्न उठाउनेबित्तिकै क्षुब्ध हुने गरेका छन्। सामान्यदेखि विशिष्ट कार्यक्रममा समेत व्यक्ति-व्यक्तिको प्रश्न र आलोचनाको टिप्पणी गर्छन्। आफ्नो जवाफ फर्काउँछन्। त्यसका लागि उनी उखान, टुक्का, चुट्किला तथा छोटा कथाहरुको समेत सहायता लिन्छन्।

संसारका अन्य देशमा प्रधानमन्त्रीले सायदै बुद्धिजीवीहरुलाई सिधासिधा चेतावनी दिन्छन्। तर, नेपालमा यो सम्भव छ।

यहाँका प्रधानमन्त्री नै भन्न सक्छन्, 'म जवाफ दिएर थला पार्न चाहन्नँ।'

इसाइवादी सम्मेलनले सिर्जना गर्‍यो नेकपाभित्र कम्पन

किशोर दहाल

२o७५ मङ्सिर १८ मंगलबार| प्रकाशित १८:o३:oo

सरकारले निकै प्राथमिकता दिएको 'एशिया प्यासिफिक समिट' सकिए पनि त्यसका चर्चा सेलाइसकेको छैन। धर्म परिवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रममा व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी ओली, सरकार र पार्टीको भूमिकालाई लिएर आलोचना भइरहेको छ। आलोचनाका केन्द्रमा भने प्रधानमन्त्री ओली नै छन्।

प्रधानमन्त्रीको आलोचना अस्वभाविक थिएन। खासमा उनका पछिल्ला कदमहरुले नै उनलाई अलोकप्रिय बनाउँदै लगेका थिए। सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रमका अवसरमा गरिएको तामझाम तथा निर्मलाका निम्ति न्याय माग्दै टाँसिएका पोस्टरहरु च्यात्ने कदमहरुले पछिल्लो समय सरकारको आलोचना बढिरहेको थियो।

यस्तै अवस्थाबीच सुरु भएको थियो, समिट।

महतो नेतृत्वको राजपाको प्राथमिकता कता?

किशोर दहाल

२o७५ मङ्सिर ९ आइतबार| प्रकाशित o४:२७:o७

काठमाडौं- नेतृत्व परिवर्तनसँगै राजपाको रणनीति पनि परिवर्तन हुने आशंका अस्वभाविक होइन। नयाँ संयोजक बनाइएका राजेन्द्र महतोले नाकाबन्दीका बेला दिएका कडा अभिव्यक्तिका कारण काठमाडौंमा आलोचित थिए। उनै महतोलाई संयोजक चुनेपछि राजपाले नयाँ बाटो हिँड्न लागेको हो कि भन्ने धेरैलाई लागेको छ।

त्यसो त राजपामा संयोजक परिवर्तन कुनै अनौठो कुरा थिएन। कारण, ०७४ बैशाखमै ६ पार्टी मिलाएर राजपा बनाउँदा नै दुईदुई महिनामा संयोजक परिवर्तन हुने गरी चक्रिय प्रणाली अपनाउने सहमति भएको थियो। तर महन्थ ठाकुरलाई नै निरन्तरता दिइयो। उनी डेढ वर्ष संयोजक भए।

त्यसैले पनि अहिलेको संयोजक परिवर्तन पूर्व सहमति अनुसार नै भएको राजपाको नेताहरुको अभिव्यक्ति छ। उनीहरु विगतमा अभ्यासमा नरहेको तर स्वभाविक परिवर्तन मान्छन्।

जनयुद्धका नेतृत्वमा त्रास यथावत्

किशोर दहाल

२o७५ मङ्सिर ५ बुधबार| प्रकाशित १६:५५:११

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित युद्ध समाप्त भएको १२ वर्ष पुगिसकेको छ। रोल्पामा समातेको बन्दुक छाडेर सिंहदरबारको हिस्सा उपभोग गरिरहेका त्यस युद्धका नेतृत्वकर्तालाई भने विगतको प्रतिच्छायाले सताउन छाडेको छैन।

युद्धका नेतृत्वकर्तामा रहेको डर बेलाबेलामा उनीहरुकै मुखबाट अभिव्यक्त भइरहेको पाइन्छ। फरकफरक समूहमा सक्रिय भएको किन नहोस्, त्रास भने साझा छ– विगतको युद्धको बदलामा कुनै अदालतबाट दोषी ठहर त हुनुपर्ने हो कि!

निरन्तर त्रास
त्यसो त त्रासको श्रृंखला नयाँ होइन। विस्तृत शान्ति सम्झौता नहुँदैदेखि युद्धका नेतृत्वकर्ता प्रचण्डले आफूलाई असुरक्षा रहेको संकेत गर्न थालेका हुन्। उनले भनेका पनि थिए– मदन भण्डारी नबनाइदेलान् भन्ने के ग्यारेन्टी?

शान्ति प्रक्रियाको उकालो ओरालोमा प्रचण्डले आफूलाई सुरक्षा खतरा रहेको बताउन छाडेका छैनन्। खतराको स्रोत कहिले बाह्य शक्ति त कहिले पूर्व सहयात्रीसम्मलाई औंल्याउने गरेका छन्। दुनियाँको नजर परेको संघर्षबाट आएको नेतालाई सुरक्षा खतरा हुनु स्वभाविक पनि हो। त्यो विगतमा पनि थियो। भविष्यमा पनि रहन्छ।

नेपाल कम्युनिस्ट पार्टी (भद्रगोलवादी)

किशोर दहाल

२o७५ मङ्सिर ४ मंगलबार| प्रकाशित १२:४३:१४

काठमाडौं- एकतापछि कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक र बाह्य चरित्र कस्तो बन्दैछ? सांगठनिक र नेतृत्वगत कोणबाट मात्र नभएर सरकार तथा पार्टीको सम्बन्ध कुन दिशामा गइरहेको छ भन्ने प्रश्न तल्लो तहका कार्यकर्तासम्म चासो र चर्चाको विषय बनिरहेको छ।

त्यसका लागि एकता अघिको  पृष्ठभूमि चर्चा हुनु बान्छनीय छ। 

माओवादी केन्द्रसँग एकता हुनुअघि एमालेको संगठन अन्य पार्टीभन्दा निकै चुस्त मानिन्थ्यो। बेलाबेलामा बैठक बसिरहन्थ्यो, नेताहरु बढी अन्तर्क्रियात्मक थिए।  निर्णयहरु सार्वजनिक भइरहन्थे। समसामयिक विषयमा पार्टीको धारणाको अभाव हुँदैनथ्यो। प्राय नेताहरुले जिम्मेवारी पाएका थिए। ती व्यस्त रहन्थे।

अर्कोतर्फ माओवादी केन्द्रमा भने बैठक र बहस अपवाद जस्तो थियो। कमैमात्र बैठक बस्ने सो पार्टीमा अध्यक्ष प्रचण्ड नै हाबी थिए। उनको धारणा नै पार्टीको धारणा हुने गरेको थियो। एकप्रकारले नेतृत्व निर्देशितको अवस्था सो पार्टीमा थियो।

एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व माओवादीको कार्यशैली पछ्यायो। बैठकमा विचार मन्थन भएर खोजी गरिएको बाटो भन्दा पनि अध्यक्षद्वयले आफ्नो सुविधा अनुसार देखाएको बाटोमा अहिले नेकपा हिँडिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बेलाबखतमा भन्ने गरेको ‘अर्का अध्यक्ष केपी ओलीसँग कुराकानी यस विषयमा भइसकेको छ’ भन्ने वाक्यले पार्टी कुन पद्धतिबाट चलिरहेको छ भन्ने प्रष्ट पार्छ।

पुराना कमिटी, जिम्मेवारी, उत्तरदायित्व, छलफल पद्धति आदिजस्ता कुराहरु विघटित भइसकेको र नयाँ पद्धितको सुरुवात नभइसकेको संक्रमणकालीन अवस्थामा रहेको नेकपाभित्र अनेक किसिमका भद्रगोल देखिन थालेका छन्।

प्रकाश नहुँदा प्रचण्ड परिवारको एक वर्ष

किशोर दहाल

२o७५ मङ्सिर ३ सोमबार| प्रकाशित ११:१५:५o

काठमाडौं– ‘मलाई छोराभन्दा पनि एउटा सहयोगी र एउटा साथी गुमेको जस्तो लागिरहन्छ। प्रकाशले मलाई राम्ररी बुझेको थियो’, प्रकाश पिता तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकटहरुको जमघटमा पटक पटक भन्ने गरेका छन्, ‘कतिपय कुरामा ऊ परिपक्व हुँदै थियो। तर छोडेर गयो।’

पुत्र प्रकाशका प्रसङ्गहरुमा प्रचण्ड भावुक हुन्छन् र सम्हालिन्छन्। सार्वजनिक कार्यक्रमहरुमा पनि उनको भाव भंगीमा देखिएकै हो। खासगरी प्रचण्ड पत्नी सीता दाहालको अनियन्त्रित उद्वेलनका कारण कार्यक्रमहरुमा प्रचण्ड अरु बढी नियन्त्रित जस्तो देखिन्छन्। उनलाई थाहा छ, उनी पुत्र गुमाएका पिता मात्र होइनन्, यो देशका नेता पनि हुन्।

अघिल्लो वर्ष सम्पूर्ण देश चुनावी संघारमा रहेका बेला प्रचण्डलाई पुत्र शोक परेको थियो। उनी चुनावी अभियानमा झापामा रहेका बेला काठमाडौंमा प्रकाशको निधन भएको थियो। उनको निधनले परिवारलाई परेको असरबारे दिदी गंगा दाहालले सोमबार बिहान फेसबुमा लेखिन्– तिमी बिनाको यो एक बर्ष हाम्रो लागि कहालीलाग्दो पलपल तिम्रो सम्झनामा बिते। तिमी बिनाको परिवार अधुरो छ भाइ।

भाँडियो पूर्व पञ्चहरुको एकता, सिद्धान्त मिलाउनभन्दा नेता व्यवस्थापन गर्न कठिन

किशोर दहाल

२o७५ कार्तिक २५ आइतबार| प्रकाशित १३:५१:३३

काठमाडौं– पूर्व पञ्चहरुको पार्टी राप्रपा, राप्रपा प्रजातान्त्रिक तथा एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रक्रिया तत्काललाई रोकिएको नेताहरुले बताएका छन्।

यी तीन पार्टी, एकताको अन्तिम चरणमा रहेको बताइए पनि त्यसमा लामो समयसम्मका लागि शंशय पैदा भएको उनीहरुको तर्क छ।

आइतबार राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई भेटेका थिए। त्यसपछि उनले आफ्नो पार्टीका केन्द्रीय सदस्यलाई भेटबारे ब्रिफिङ गरेका थिए। ‘अध्यक्ष कमल थापाले मिलिसकेको विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो’, बैठकमा सहभागी एक नेताले भने, ‘बैठककै बीचमा पनि थापा पशुपति शमशेरसँग टेलिफोनमा कुराकानी गरिरहनुभएको थियो।’

थापाले बैठकमा ब्रिफिङ गरेअनुसार राप्रपा प्रजातान्त्रिकको अनावश्यक अस्पष्टताले एकता प्रक्रिया तत्काललाई रोकिएको छ। ‘सैद्धान्तिक विषय मिलिसकेको थियो। महाधिवेशनको डकुमेन्टलाई आधार मानेर एकता गर्ने सहमति भइसकेको थियो’, एकता भाँडिनुअघिसम्मको अवस्थाबारे ती नेताले बताए।

सेनाको सूचीका ‘भारतीय एजेन्ट’

सरोजराज अधिकारी

काठमाडौं– नेपाली सेनाले तयार पारेको नेपाली ‘भारतीय एजेन्ट’मा पूर्वप्रधानमन्त्रीदेखि कवि र गायकसम्मका नाम समेटिएका छन्।

नेपाल लाइभले प्राप्त गरेको उक्त दस्ताबेजमा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, सूर्यबहादुर थापासम्मलाई ‘भारतीय एजेन्ट’का रुपमा औंल्याइएको छ। बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको भने सूचीमा नाम छैन।

सूचीमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, रामवरण यादव, विमलेन्द्र निधि, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रदीप गिरी, मोहनबहादुर बस्नेत, अर्जुननरसिंह केसी, रमेश लेखक, मोहमद अफताव आलम लगायतको नाम समावेश छ।

त्यसैगरी, एमालेबाट वामदेव गौतम, सुवास नेम्वाङ, भरतमोहन अधिकारी, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, शंकर पोखरेल, रवीन्द्र अधिकारी, राजेन्द्र पाण्डेलगायत नेताको नाम छ। पञ्चायत पृष्ठभूमिका कमल थापा, दिपक बोहोरा लगायतको पनि नाम समेटिएको छ।

तराई मधेसका नेताहरु विजयकुमार गच्छदार, बद्रीप्रसाद मण्डल, जयप्रकाशप्रसाद गुप्ता, मृगेन्द्रप्रसाद सिंह, पदमनारायण चौधरी, राजेन्द्र महत्तो, रामेश्वर राय यादव, महेन्द्र यादव, विमल श्रीवास्तव, सर्वेन्द्रनाथ शुक्ला, हृदयेश त्रिपाठी, रामजनम चौधरीलगायतको नाम छ।

सैनिक सूचीमा विभिन्न पेशाकर्मीको नाम पनि उल्लेख छ। पत्रकारमा चन्द्र भण्डारी झापा, हरिभक्त शर्मा संखुवासभा, रेवतीरमण सुवेदी भोजपुर, केदार सुवेदी भोजपुर, हरि घिमिरे धनकुटा, शशीशरण झा धनुषा, हरिहर विरही, शम्भु श्रेष्ठ, गोपाल थपलिया, चन्द्रलाल झालगायतको नाम छ।

यस्तो थियो मन्त्री छँदा पद्मरत्न तुलाधरले दिएको गाईबारे विवादित अभिव्यक्ति

किशोर दहाल

२o७५ कार्तिक १८ आइतबार| प्रकाशित १६:४o:२२
काठमाडौं– मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको आइतबार अपराह्न नर्भिक अस्पतालमा निधन भयो।

उनी केही दिन अघिदेखि अस्पताल भर्ना भएका थिए। सुरुमा माइतीघरमा अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका तुलाधरलाई पछि नर्भिकमा रिफर गरिएको थियो।

भाषा आन्दोलनबाट उदाएका मानवअधिकारवादी नेता तुलाधर ०५१ मंसिरमा गठन भएको तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री भएका थिए।

मन्त्री भएकै बेला उनी एउटा अभिव्यक्तिलाई लिएर चर्को आलोचनामा फसे। गाईबारे उनले बाराको कलैयामा २०५१ फागुनमा अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिप्रति व्यापक मतमतान्तर भए। उनका पुत्ला जलाइए। राजीनामा मागिए। विरोधमा बन्द घोषणा पनि गरिए। तर, जसरी प्रचारित भइरहेको छ, आफूले त्यस्तो नबोलेको तुलाधरले बताइरहे।

सिपले होइन, आँटले गाडी कुदाइन्छ उपल्लो मुस्ताङमा

किशोर दहाल

२o७५ कार्तिक १७ शनिबार| प्रकाशित ११:२७:४१

साँझको साढे ६ बजे निकै अध्याँरो भइसकेको थियो। दिनभरजसो देखिएका मुस्ताङका सेता हिमाल ओझेल परिसकेका थिए। पाखो खोस्रेर बनाइएको मुक्तिनाथ-कागबेनी सडकमा बहने चिसो सिरेटोले मुटु नै कमाउँथ्यो। चिसैले हुनुपर्छ, स्थानीयवासी घरबाहिर खासै देखिँदैनथे।

गत कात्तिक ५ गते मुक्तिनाथको चहलपहलाई उतै बिसाएर हामी यो सडक खण्डको ११ किलोमिटर दुरी हिँडेरै पार गर्दै थियौं। बाटो पिच भएकाले हिँड्न गाह्रो थिएन। तर, साँझको समय त्यो लामो लामै दुरी हो। करिब दुई किलोमिटर ओरालो झरेपछि हामीले स्थानीय हिँड्ने गोरेटो बाटो छोटो हुन सक्ने महसुस गर्‍यौं। र, सडकछेउकै एउटा घरअघि उभिएका एक अधबैंसे पुरुषलाई त्यसबारे सोध्यौं।

उनले उत्तर दिएनन्। बरु प्रश्नै सोधे, 'घर कहाँ?'

हामी मुस्ताङ घुम्न आएको र अहिलेचाहिँ यो सडकखण्ड हिँडेरै पार गर्न आँटेको थाहा पाएपछि उनी झनै कडा सुनिए, 'रात परिसक्यो। अर्काको देशमा जे पनि हुन सक्छ। बाटामा कसैले लुटपाट गर्‍यो भने के हुन्छ? मारेर फालिदियो भने के हुन्छ? दिमाग छैन?'

उनी रिसाउनु वा खुसाउनुले हाम्रो बाध्यता कम हुँदैनथ्यो। कागबेनीसम्मको दुरी छोटिने कुरै थिएन।

हामी उनलाई छाडेर अघि बढ्यौं। तर उनी पनि हामीसँगै केहीबेर ‌ओरालो झरे। रिसाए पनि बाटो देखाइदिन आए होलान् भन्ने लाग्यो। हामीले स्थानीय सम्झिएका उनी त टुरिस्ट गाइड पो रहेछन्। उनका भरियाहरु तोकिएको समयमा आइनपुगेकाले अघि सडक छेउमा बसेर कुरिरहेका रहेछन्।

Saturday, November 10, 2018

निर्मला हत्या प्रकरण : 'हाई प्रोफाइल'का ५ विवादित अभिव्यक्ति

किशोर दहाल

कात्तिक १६, २०७५| प्रकाशित ०६:५३
काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ। गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी  थिइन्।

यसबीचमा छानबिनका लागि झन्डै आधा दर्जन समिति बनिसक्दा पनि अनुसन्धानमा खासै उपलब्धि हुन सकेको छैन। निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा संघर्ष गरिरहेकाहरु अहिले पनि सडकमै छन्।

यो सय दिनका बीचमा हाई प्रोफाइलबाट आएका ५ अभिव्यक्तिहरु नेपाल लाइभले स्मरण गरेको छ। जुन विवादित बनेका थिए।

प्रधानमन्त्रीको सन्देशमा उल्लेखित 'सद्भाव खलबल्याउने'को संकेत कता?

प्रेस सल्लाहकार भन्छन्– जति भनिएको हो, त्यतिमात्रै बुझियो भने राम्रो हुन्छ

किशोर दहाल

कात्तिक १३, २०७५| प्रकाशित १८:१३
Nepal Live


काठमाडौं– सोमबार बिहानदेखि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यबारे आम चासो बढिरहेका बेला मंगलबार बेलुका अस्पतालबाटै एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले भने– 'धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैनन्।'

मुस्ताङी 'युवराज'को रोयल रिसोर्ट

किशोर दहाल

कात्तिक ११, २०७५| प्रकाशित १४:२८
Nepal Live

लो-मान्थाङ (मुस्ताङ)- लो-मान्थाङको मुख्य बस्तीबाट करिब डेढ सय मिटर पश्चिममा एउटा सेतो र चम्किलो भवन देखिन्छ। दरबारजस्तो। गत बिहीबार बिहान यो भवनको अघिल्तिर तीन घोडा र सम्भवतः तिनका मालिक त्यही भवनको गेटको अघिल्तिर उभिइरहेका थिए। घोडाको डोरी समाएर।
घोडाहरु उभिएकै छेउमा बोर्ड टाँसिएको थियो- रोयल मुस्ताङ रिसोर्ट प्रालि। 

नेकपाको चियापानमा कसले छर्‍यो पर्चा? प्रतिगामी भन्दै यसरी गरियो कुटपिट [भिडियो]

स्वयंसेवकलाई 'आदेश'– प्रतिगामी हो, बाहिर निकाल्देऊ

किशोर दहाल

कात्तिक १०, २०७५| प्रकाशित १५:५३

Nepal Liveकुटाइ खाने व्यक्ति (रातो घेरामा)


काठमाडौं- शनिबार भृकुटीमण्डप पार्क सधैं व्यस्त हुने गर्छ। बिदा मनाउन बच्चाबच्ची लिएर आएका बाबुआमा हुन् या प्रेमालाप गर्न आउने युवायुवती। तर आज शनिबार भृकुटीमण्डप राजनीतिमय बनेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुन नेता कार्यकर्ता र चासो राख्ने सर्वसाधारण भृकुटीमण्डमा ओइरिएका छन्।
१२ बजेपछि एकाएक भिड बढ्दै थियो। प्रदर्शनीमार्गसम्म तन्किएको लाइन पछि पद्मोदय मोडसम्म पुग्यो।
मुख्य नेताहरु आगन्तुकलाई स्वागत गर्नमै व्यस्त थिए।

कागबेनीको बिहानी मुस्कान [फोटो फिचर]

किशोर दहाल

कात्तिक ८, २०७५| प्रकाशित १०:००
Nepal Live


कागबेनी (मुस्ताङ)- दसैं सकियो। मुस्ताङ घुम्न आएका पर्यटक भने फर्किइसकेका छैनन्।
पर्यटकीय बस्ती हो, मुस्ताङको कागबेनी। यतिबेला यहाँ चिसो निकै बढेको छ। बाक्लो कपडा लगाएका मानिसहरूको चहलपहल बिहानैदेखि सुरु हुन्छ। उनीहरु चिसो सिरेटोमा आफूलाई हल्का बनाइरहेका छन्।

गृहमन्त्री र आइजिपीको राजीनामा माग्दै दिनहुँ प्रदर्शन

किशोर दहाल

असोज २०, २०७५| प्रकाशित १८:४४
Nepal Live

काठमाडौं– केही दिनअघिसम्म 'निर्मलाको अपराधीलाई कारबाही गर' तथा 'निर्मलालाई न्याय देऊ' भन्दै गरिने आन्दोलन अहिले 'गृहमन्त्री राजीनामा दे' र 'आइजिपीलाई बर्खास्त गर्' भन्नेतिर केन्द्रित हुन थालेको छ। निर्मलाको निम्ति न्यायको नारा सँगसँगै गृहमन्त्रीको राजीनामा पनि उत्रै आवाजका साथमा उठ्न थालेको छ।

Saturday, October 6, 2018

गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन [भिडियो]

किशोर दहाल

असोज १८, २०७५| प्रकाशित १२:१७

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको निम्ति न्याय माग गर्दै आज सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरिएको छ।

घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्।  प्रदर्शनकारीले गृहमन्त्री र आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै उनीहरु विरुद्ध नारा लगाएका थिए।

नेकपा सूत्रपातको एक वर्ष : विवाददेखि विवादसम्म

किशोर दहाल

असोज १७, २०७५| प्रकाशित २२:०७

अघिल्लो वर्षको ठिक यसै समयताका आम जनता दशैं मनाउन व्यस्त भइरहेको बेलामा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरु गहन छलफलमा थिए। उनीहरु नजिकिएको चुनावलाई केन्द्रमा राखेर दुई कम्युनिस्ट पार्टीको एकीकरणको रणनीति बनाइरहेका थिए। नेताहरु आफ्नो प्रयत्नलाई भत्काउने प्रयास कतैबाट नहोस् भन्नेमा सचेत थिए, त्यसैले सामान्य सुइँकोसम्म पनि बाहिर दिइरहेका थिएनन्। दशैंको उल्लास सकिएपछि धेरैले यो प्रयत्नबारे जानकारी पाएका थिए।

दशैं समाप्तिको केही दिनपछि अर्थात् असोज १७ गते राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी उनीहरुले ‘एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं’ भन्ने जानकारी गराए। अन्तिम दिनमा डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पनि यो प्रक्रियामा जोडिन आइपुग्यो। त्यसदिन ६ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै एमाले, माओवादी र नयाँ शक्तिले भने– ‘हाम्रो पृष्ठभूमिर जनताको चाहना एवम् राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन्।’

एक हप्ताअघिसम्म पनि कसैले सामान्य अनुमान पनि नगरेको घटना भयो, कारण, एमाले र माओवादी त्यतिबेला तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका थिए। अर्कोतिर, माओवादी उही एमालेको सरकार ढलाएर कांग्रेससँग सहकार्य गर्दै थियो। ऊ कांग्रेसप्रति इमानदारीको भावमा आलोपालो सरकार चलाइरहेको थियो। तत्कालीन समयको केही महिनाअघि मात्रै प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेका थिए। सम्बन्धमा कुनै दरार देखिएको थिएन। तर, त्यतिबेला जे भयो, धेरैका निम्ति अचम्म भयो।

म जे गर्दैछु, केपी ओलीले कुनै बेला सिकाएको कुरा नै गर्दैछु : योगेश भट्टराई [भिडियो वार्ता]

किशोर दहाल

असोज १७, २०७५| प्रकाशित १८:१३

केही दिनअघिको संसद बैठकमा सत्ताधारी दलकै नेता माधव नेपालले सरकारको कार्यशैलीको चर्को आलोचना गरे, स्थायी समिति सदस्यलाई चिया खुवाए। अहिले पार्टी विधि र प्रक्रियाबाट नचलेको र नेतृत्व तहमै विश्वासको संकट देखिएको नेकपाभित्रका नेताहरुले बताउन थालेका छन्। ट्विटरदेखि पत्रपत्रिकासम्ममा यस किसिमको बहस तन्किएको छ। हामीले नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईलाई सोधेका छौं- वाम विमानमा निरन्तर किन गडबडीहरु देखिइरहेका छन्?

मंगलबार नेपाल लाइभका किशोर दहालले भट्टराईसँग गरेको लामो कुराकानीको केही अंश यहाँ प्रस्तुत छ। विस्तृत कुराकानीका लागि तपाईंले भिडियो हेर्न सक्नुहुनेछ।

पार्टी एकीकरण भएकै दिनदेखि वरियतालाई लिएर झलनाथ खनाल असन्तुष्ट। गोविन्द केसीलाई भेटेपछि नारायणकाजी श्रेष्ठले प्रवक्ताबाटै राजीनामा दिनुपर्‍यो। विधि प्रक्रिया मिचियो भनेर अहिले माधव नेपाल असन्तुष्ट। वाम विमानका चक्का, ढोका तथा पखेटा सबैतिर यसरी क्रमश गडबडी देखिँदै गएको छ। किन यस्तो भइरहेछ?

महाधिवेशनपछि पनि राजपा अध्यक्ष मण्डल कायमै रहने

किशोर दहाल

असोज १७, २०७५| प्रकाशित १४:२१

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा)ले परिमार्जित विधान निर्वाचन आयोगमा पठाएको छ। महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै रहने व्यवस्था गरिएको परिमार्जित विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने उल्लेख गरेको छ।

सोमबार राजपाले निर्वाचन आयोगमा 'राष्ट्रिय जनता पार्टी नेपालको विधानः २०७४ (संशोधन र परिमार्जितः २०७५)' पठाएको छ। केही अघि बसेको अध्यक्ष मण्डलले परिमार्जित विधान पारित गरेको हो।

विधान पारित भएसँगै राजपाका नेताहरुमा भने असन्तुष्टि देखिएको छ। अध्यक्ष मण्डलको बैठकले मात्रै विधान पारित गरेको र कतिपय प्रावधानका विषयमा पर्याप्त छलफल नै नभएको  नेताहरुले टीप्पणी गरेका छन्। ' परिमार्जित विधान राजनीतिक समिति वा केन्द्रीय समितिबाट अनुमोदन गर्न आवश्यक समेत ठानिएन', एक जना राजनीतिक समिति सदस्यले भने।

ट्विटरमा छताछुल्ल नेकपा आन्तरिक विवाद, रिमाल र भट्टराईबीच फेरि घोचपेच

किशोर दहाल

असोज १४, २०७५| प्रकाशित ०९:२८

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता विष्णु रिमाल र योगेश भट्टराईबीच सामाजिक सञ्जालमा पुनः घोचपेच सुरु भएको छ। सरकार सञ्चालनको शैलीमा पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला दुई नेताले भने सामाजिक सञ्जालमै एकअर्काप्रति लक्षित ट्विट लेखेका छन्। उनीहरु दुई बीचको यो घोचपेच दोस्रोपटक हो।

दोस्रो घोचपेचको सन्दर्भ केलाउनुअघि पछिल्लो समय विकसित घटनाक्रमलाई छोटोमा पुनःस्मरण गरौं।

सरकारले सोचजस्तो काम गर्न नसकेको, भाषणमात्रै गरेको, मंहगी बढेको, कामभन्दा बढी हल्ला गरेको, काम गर्न नसकेपछि कार्यकर्तालाई अरिंगाल र मौरी बनेर विपक्षीमाथि खनिन उक्साएको भनेर प्रधानमन्त्री केपी ओलीमाथि आरोप लागिरहेको छ। यसैबीचमा, पार्टीको एकता प्रक्रियामा पनि विवाद बढ्दै गएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफूहरुलाई दबाएर अघि बढ्न खोजेको आरोप लगाइरहेको छ।

गत बिहीबार चालू अधिवेशन अन्त्य हुनुअघि संसदमा बोल्दै पूर्व प्रधानमन्त्री तथा एमाले सचिवालय सदस्य माधवकुमार नेपालले सरकारको चर्को आलोचना गरेका थिए। उनले देश डुब्नै लागेको भन्दै ‘माझी’ खोजेका थिए। साथै, शुक्रबार पार्टीको स्थायी समिति बैठक डाकी सरकारकै आलोचना गरेका थिए।

पार्टीका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सिंगापुरमा छन्। सरकारको समीक्षा हुनुपर्ने बताउँदै आएका उनी यसअघि भारत र चीन भ्रमणमा गएका थिए। सरकारको कामकारबाही मात्रै होइन, कार्यशैलीप्रति असन्तुष्ट प्रचण्डले पनि बेलाबेलामा आफू निकट नेता र पत्रकारहरु डाकी सरकारको आलोचना गर्दै आएका छन्। छिमेकी देशहरुको भ्रमणलाई फेरि प्रधानमन्त्री बन्ने उनको चाहनाको दौडथुपको रुपमा पनि अर्थ्याउने गरिन्छ।

Saturday, September 29, 2018

न्यायाधीश नियुक्ति गर्दा कति दबाब आयो भनेर सुनाउनु त पर्‍यो नि : सुशीला कार्की [अन्तर्वार्ता]

किशोर दहाल

असोज ५, २०७५| प्रकाशित ०६:०५

नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रुपमा सुशीला कार्की जति चर्चित छिन्, महाभियोगको प्रस्ताव दर्ता गरिएको पहिलो प्रधानन्यायाधीशको रुपमा पनि उति नै मिडियामा छाइन्। हक्की, निडर र इमानदार प्रधानन्यायाधीशको रुपमा छवि बनाएकी कार्की अघिल्लो वर्ष सर्वोच्चबाट बाहिरिएकी हुन्। उनकै अनुसार उनले त्यतिबेला मुक्तिको अनुभव गरेकी थिइन्।

कार्की तिनै व्यक्ति हुन्, जसले सामान्य मानिसले पनि बुझ्नेगरी न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बहसमा ल्याइदिइन्। शनिबार उनको पुस्तक 'न्याय' सार्वजनिक हुँदै छ। पुस्तकले न्यायपालिका, कार्यपालिका र व्यवस्थापालिका बीचको अन्तर्द्वन्द्वलाई अझै आम जानकारीमा ल्याउनसक्ने अनुमान गरिएको छ।

कार्कीको पुस्तक, पुस्तक लेख्दाका अनुभव र न्यायालयका विषयमा नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी :

तपाईं न्यायालयमै छँदा कहिल्यै पुस्तक लेखिएला भनेर सोच्नुभएको थियो?
म पहिलो महिला प्रधानन्यायाधीश भएँ। मैले आफ्नो काम इमानदारीका साथ गरेँ। धेरैले मलाई त्यसैगरी चिन्थे। तर मलाई महाभियोग लगाउने काम पनि भयो। त्यो कुरा अनौठो थियो। त्यसैले भेट्नेहरुले पुस्तक लेख्न सुझाउँथे। लेख्नैपर्छ भनेर कर गर्थे। महाभियोग लगाए पनि चोलेन्द्र शमशेरको आदेशपछि जब म पुन: सर्वोच्च जाने वातावरण बन्यो। त्यसपछि मैले किताब नै लेख्ने मानसिकता बनाएर अलिअलि लेख्न थालेँ। सर्वोच्चबाट बाहिरिएपछि पनि धेरैले कर गर्न थाले। प्रकाशकहरुले पनि कर गरे। मैले पनि झन् समय बित्दै गयो भने घटनाहरु बिर्सिन सक्ने सम्भावना थियो। त्यसपछि नियमित लेख्न थालेँ। मंसिर (०७४) मा सुरु गरेँ, पुसमा आफ्नो काम सकाएँ। तर, प्रकाशकले केही महत्त्वपूर्ण फैसला पनि राखौं भन्ने सुझाव दिए, त्यसलाई पनि कुरौं भन्ने लाग्यो। त्यसपछि पनि लेखन/पुनर्लेखन गर्दागर्दै अरु केही महिना बित्यो।

संविधान जारी गर्ने अन्तिम समयसम्म नै तानातानको अवस्था थियो : सुवास नेम्वाङ [अन्तर्वार्ता]

किशोर दहाल

असोज ३, २०७५| प्रकाशित १०:४४

चार वर्ष मेहनत गर्दा पनि पहिलो संविधानसभाले संविधान बनाउन सकेन। स्वाभाविक रुपमा त्यसमा एउटा दोष तत्कालीन सभाध्यक्षका रुपमा सुवास नेम्वाङको भागमा पनि परेको थियो। दोस्रो संविधानसभामा उनी नै सभाध्यक्ष चुनिएपछि केही असन्तुष्टि पनि व्यक्त भएका थिए। तर दोस्रो सभाबाट भने संविधान जारी भयो। संविधानका प्रति केही असन्तुष्टि यद्यपि छन्, तर यो मुख्य रुपमा कार्यान्वयनमा आइसकेको छ। चुनौती कम भएझैं देखिन्छ। नेम्वाङ संविधानसभाको कार्यकाललाई कसरी सम्झन्छन्? संविधानका प्रति असन्तुष्टि राख्नेहरुप्रति उनको धारणा कस्तो छ? पहिलो सभाबाट जारी हुन नसकेको संविधान दोस्रोबाट जारी हुन कसरी सम्भव भयो? यिनै सेरोफेरोमा नेपाल लाइभका किशोर दहालले नेम्वाङसँग कुराकानी गरेका छन्।

निकै संघर्ष गरेर संविधान जारी भयो। केही असन्तुष्टिका बाबजुद त्यो लागू पनि भयो। संविधान बनाउने सभाको अध्यक्षता गरेको व्यक्तिका हिसाबले तपाईंलाई कस्तो महसुस हुन्छ?
२०७२ असोज ३ गतेको साँझ म अत्याधिक खुसी थिएँ। मैले त्यतिबेला नै भनेको थिएँ– यो खुसीको वर्णन गर्न मसँग शब्द नै छैन। किनभने ७० वर्षदेखिको जनताको चाहाना र भावनाले मूर्तता प्राप्त गरेको क्षण थियो, त्यो। जनताले जनताका लागि सफलतापूर्वक संविधान बनाएका थिए। अहिलेसम्मका क्रान्ति र उपलब्धिहरुलाई संस्थागत गर्ने जिम्मेवारी पाएको संविधानसभाले सफलतापूर्वक संविधान बनाएको थियो। र, त्यो संविधान ९० प्रतिशतभन्दा बढी सभासदको हस्ताक्षरबाट बनेको थियो। ठूला लोकतान्त्रिक परिपाटी भएका देशहरुमध्ये छिमेकी भारतमा ६५ प्रतिशत र अमेरिकामा ५२ प्रतिशतले संविधान बनाएका थिए। हामीले ९० प्रतिशत सभासदहरुको हस्ताक्षरबाट संविधान जारी गरेका थियौं। त्यसैले त्यो कतिको खुसीको क्षण थियो भन्ने कुरा अहिले म दोहोर्‍याउन चाहन्नँ।

संविधानजस्तो कुरामा मजाक गरियो : राजेन्द्र महतो [अन्तर्वार्ता]

किशोर दहाल

असोज २, २०७५| प्रकाशित ०६:३०

०७२ जेठ २५ गते राति मुख्य चार राजनीतिक दल(नेपाली कांग्रेस, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तथा फाेरम लोकतान्त्रिक) बीच १६ बुँदे सहमति भएपछि दुई नेता खास चर्चामा रहे– केपी शर्मा ओली र राजेन्द्र महतो। कतिसम्म भने उनीहरु दुवै जना आफ्नो समुदायका लागि आशा र अर्को समुदायको लागि विरोधको केन्द्रमा रहे। १६ बुँदेबाट असन्तुष्ट मधेस केन्द्रित दलहरु सडक आन्दोलन हुँदै सीमा अवरोधसम्म पुगे। त्यतिबेला सबैभन्दा कडा मानिएको विरगञ्ज नाका अवरोधको नेतृत्व उनै महतोले गरेका थिए।

सडक आन्दोलनदेखि सीमा अवरोधसम्मको मधेस आन्दोलनलाई उनै महतोले कसरी सम्झिन्छन्? त्यो संघर्षप्रति उनको कुनै पश्चाताप वा उत्साह बाँकी छ? संविधान दिवसको दिन गर्ने भनिएको ‘ब्ल्याक आउट’को औचित्य के हो? लगायतका विषयमा नेपाल लाइभका लागि किशोर दहालले महतोसँग कुराकानी गरेका छन्।

२०७२ जेठ २५ गते राति चार राजनीतिक दलहरुले १६ बुँदे सहमति गरे। त्यसै दिन बिहान उनीहरुबीच त्यसको सैद्धान्तिक सहमति भएको थियो। र दिउँसो माओवादी अध्यक्ष प्रचण्ड एवम् तपाईंहरु सम्मिलित ३० दलीय मोर्चाको बैठक बस्यो। त्यसपछि ३० दलीय मोर्चा फुट्यो पनि। खासमा प्रचण्डले तपाईंहरुलाई के भन्नुभएको थियो? तपाईंहरुले के प्रतिक्रिया दिनुभएको थियो?

विप्लवलाई सहयोग पुर्‍याउँदै सरकार

किशोर दहाल

भदौ ३१, २०७५| प्रकाशित ०९:३५
काठमाडौं– एक महिनायता सरकार र खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'बीच छाड्ने र पक्रिने 'खेल' चलिरहेको छ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई प्रहरीले साउन २३ गते पक्राउ गरेपछि यो खेल सुरु भएको हो।

प्रकाण्डलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पहिलोपटक साउन २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भयो। त्यसमाथि सुनुवाइ गर्दै भदौ १ गते सर्वोच्चले छाड्ने आदेश दिएको थियो। प्रहरीले छाड्न त छाड्यो तर सोही दिन सर्वोच्च अदालतबाट बाहिरिन लाग्दै गर्दा प्रहरीले उनलाई पक्रियो। मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीमा चढेर बाहिरिन लागेका प्रकाण्डलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै पक्रियो र काभ्रे पुर्‍यायो।

निर्मलाका बाअामा : काठमाडौंले न्याय देला भन्नेमा पनि शंकै छ

किशोर दहाल

भदौ २७, २०७५| प्रकाशित २०:२४

काठमाडौं– देश तीजको रौनकमा झुमिरहेको छ। सहर र सञ्चारमाध्यम दुवै राताम्मे भएका छन्। तर बुधबारै कञ्चनपुरले महेन्द्रनगरमा भने कालो कपडा लगाएर 'ब्ल्याक तीज' मनायो। डेढ महिनादेखि समाचार र चासोको केन्द्रमा रहेको त्यही कञ्चनपुरबाट एउटा समूह भने न्यायको खोजीमा भन्दै काठमाडौं आइपुगेको छ। अधिकारकर्मीको साथ लागेर काठमाडौं आइपुगेका हुन्, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गा पन्त।

'न्याय दिलाउँछौं भनेर धेरै आए। तर न्यायका लागि हामीले यसो गर्‍यौं भनेर भन्न कोही पनि आएनन्। त्यसैले काठमाडौं नै आउनुपर्‍यो', बुधबार साँझ नेपाल लाइभसँगकाे कुराकानीमा दुर्गाले भनिन्।

तर काठमाडौं आएर पनि न्याय पाइन्छ नै होला भन्नेमा भने उति आशावादी सुनिएनन्, यज्ञराज। 'सोध्दाखेरी सबैले न्याय पाउनुहुन्छ भन्छन्', उनले निराश भावमा सुनाए, 'तर न्याय पाइएला भन्ने आशाचाहिँ छैन।'

काठमाडौंमा उनीहरुले यथासम्भव उच्च पदस्थलाई भेट्ने प्रयास गर्नेछन्। र, सुनाउने प्रयास गर्नेछन्, डेढ महिना यताको आशाको भाषा। र, माग्नेछन्, न्याय। न्याय बाहेक त अरु केही चाहिएकै छैन।

मोटरसाइकलमा आएको व्यक्तिले भन्यो– एक्लै हुनुहुन्छ, ख्याल गर्नुस् : वीरेन्द्र केसी

किशोर दहाल

भदौ २७, २०७५| प्रकाशित १५:०३

काठमाडौं– निर्मला पन्त बलात्कार र हत्या घटना अनुसन्धानका लागि  गठित उच्च स्तरीय छानबिन समितिका एक जना सदस्य वीरेन्द्र केसीले दिएको राजीनामा दुई दिनपछि फिर्ता लिए।

सोमबार राजीनामा दिँदा केसीले भनेका थिए, 'घटनाको छानबिनको क्रममा सत्यतथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीबाट जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग, मानवअधिकार प्रवर्द्धन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सरकार र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाका लागि सहयोगको अपिल गर्दछु।'

बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनै केसीले आफूलाई असुरक्षित महसुस गराउने व्यक्तिबारे बताएका छन्। उनले मोटरसाइकलमा आएका एक व्यक्तिले 'तपाईं एक्लै हुनुहुन्छ, अलि ख्याल गर्नुस् है' भनेका कारण आफू सशंकित भएको बताए। उनका अनुसार घटना १५ गतेको हो। त्यस दिन समितिका सदस्यको तर्फबाट आफू मात्रै घटनास्थलमा पुगेको बताएका छन्।

निर्मला हत्या प्रकरण : छानबिन समितिका सदस्य केसीले राजीनामा फिर्ता लिए

के छ केसीले जारी गरेको विज्ञप्तिमा?

किशोर दहाल

भदौ २७, २०७५| प्रकाशित १३:३०

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना छानबिनका लागि बनेको सरकारी उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन्।

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका केसीले सोमबार राजीनामा दिएका थिए।

संविधान घोषणाअघि दिल्लीसँग दुई वाचा गरिएको प्रमाण छ : डा बाबुराम भट्टराई

किशोर दहाल

भदौ २३, २०७५| प्रकाशित १९:१६

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान जारी हुनुपूर्व दिल्ली गएका नेताले त्यहाँका उच्च नेतृत्वसँग दुईवटा वाचा गरेको बताएका छन्।

'नेपालका प्रमुख नेताहरु संविधान जारी हुनुअघि साउन महिनाभर दिल्ली भ्रमणमा गएका थिए', भट्टराईले आग्रह गरे, 'त्यतिबेला त्यहाँका शीर्ष नेताहरुसँग के कुरा भएका थिए, खोल्नुपर्छ।अहिलेसम्म अनुमानगिरी मात्रै चलेको छ। तर मसँग तथ्य प्रमाण छ।'

'संविधान जारी हुनुपूर्व भदौको कुनै दिन भारतका एकजना उच्च तथा आधिकारी आएर मसँग कुरा गरेका थिए', भट्टराईले भने, 'उच्च तहको सन्देश भनेर मलाई दुईवटा कुरा भनिएको थियो। एउटा नेपाललाई धर्म निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता जस्तै केही भइदिए हुन्थ्यो भनिएको थियो। अर्को, फास्ट ट्र्याक दिए हुन्थ्यो। मेरो कानले नै सुनेको कुरा हो यो। त्यतिबेला म हासें मात्रै।'

पत्रकार बसन्त बस्नेतको पुस्तक '७२ को विस्मय' सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले भारतले मधेसलाई माया नगर्ने बताए। संविधान रोक्न अन्तिम समयमा आएका भारतीय दूत मधेसको मायाले नआएको उनले बताए।

उनले भारतले नाकाबन्दी गरेर आफ्नो कुबुद्धि देखाएको बताए। पूर्वप्रधानमन्त्री भट्टराईले संविधानको प्रस्तावनामा मधेसको आन्दोलनलाई उल्लेख नगरेकोमा असन्तुष्टि जनाए। भट्टराई अघि बोलेका तत्कालीन संविधानसभा अध्यक्ष सुभाष नेम्वाङले मधेसको आन्दोलनलाई पनि समेट्ने शब्दहरु राखेको बताउँदै सबै आन्दोलन र संघर्षलाई राख्दा प्रस्तावना नै लामो हुनसक्थ्यो भनेका कुरालाई भट्टराईले खण्डन गरेका थिए।

'संविधानमा प्रस्तावना जे लेखिएको छ त्यो छेउ न टुप्पोको छ। त्यहाँ भएभरका शब्द राखिएका छन्', उनले थपे, 'त्यत्रा शब्द घुसाउन सकिन्थ्यो भने मधेस आन्दोलन, जनजाति आन्दोलन पनि राख्दा के बिग्रिन्थ्यो? आखिर यथार्थ त्यही थियो।'

डा भट्टराईले नेपालको विविधतालाई सम्बोधन गर्न अन्तिममा १० वटा प्रदेश बन्ने बताए। त्यो अहिले नभए केही वर्षपछि होला तर त्यहाँ नपुगी नहुने उनले दाबी गरे।

'यहाँको बहुजातीय, बहुभाषिक बनोट छ। त्यसलाई ठीक ढंगले स्थापित गर्ने गरी हामीले व्यवस्था गर्दैनौं। सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध गर्ने बाटो हामीले लिँदैनौं, त्यतिबेलासम्म जतिसुकै लोकतन्त्र गणतन्त्रको बाँसुरी बजाए पनि केही मानिसले चित्त म चाहिँ सक्दिनँ।'

मधेसमा राज्यको परीक्षा सुरु भयो : बसन्त बस्नेत [अन्तर्वार्ता]

किशोर दहाल

भदौ २२, २०७५| प्रकाशित १८:५५

पत्रकार बसन्त बस्नेतको पहिलो पुस्तक '७२ को विस्मय' शनिबार सार्वजनिक हुँदैछ। पुस्तकको 'कभर'मै संविधान, मधेस र नाकाबन्दीलाई 'ह्यासट्याग'सहित जोड दिइएकाे छ। तर, बस्नेत भन्छन्, 'पुस्तक मधेसबारे मात्रै छैन। मधेस यसको मुख्य भाग हो।'

खासमा पुस्तकमा के छ? उनले भनेजस्तै मुख्य भागका रुपमा रहेको मधेस, मधेसका मुद्दा, बदलिएका मधेसकेन्द्रित दलहरुलाई उनले कसरी हेरेका छन्? मधेस राजनीतिप्रति उनको प्रक्षेपण कस्तो छ? लगायतका विषयमा नेपाल लाइभका किशोर दहालले बस्नेतसँग कुराकानी गरेका छन्।

पुस्तकमा के छ?
समग्र नेपालको उत्तर संक्रमणकाल यो पुस्तकको केन्द्रमा छ। मधेस यसको अभिन्न हिस्सा हुँदै हो। मैले नेपालमा प्रजातन्त्रको सूत्रपात हुँदायताको पहिचान, आत्मसम्मानको राजनीतिबारे चियाउने प्रयास गरेको छु।

किताब कसका लागि लेखिएको हो?
पक्कै, पाठककै लागि। अझ इतिहास, राजनीति, समाजका मुद्दाहरुबारे रुचि राख्ने पाठकहरुले बढी रुचाउनुहुन्छ होला। यो संक्रमणकालीन नेपालको समकालीन राजनीतिक इतिहास हो।

पत्रकारले साधारणतया आफूले रिपोर्टिङ गरेको क्षेत्रमा किताब लेख्ने गर्छन्। तर त्यसरी किताब नै लेख्न वर्षौं समय लगाएका हुन्छन्। तपाईंले कति समय काम गरेपछि यस्तो किताब लेख्ने अठोट गर्नुभयो?
यसको कुनै बनिबनाउ नियम छैन। मैले औपचारिक बिट सम्हाल्नुअघि पनि यो विषयमा लेख्ने, खोज्ने गर्थें। संविधान निर्माण प्रक्रियाको फास्टट्र्याक र योसँग जोडिएका असहमतिहरु नै तत्कालीन समयको 'फल्टलाइन' स्पष्ट गर्न पर्याप्त थिए। पुस्तक त्यही बुझाइले लेखायो।

सांसदको प्रश्न–डुबान नियन्त्रण कहिले हुन्छ?, प्रधानमन्त्रीको जवाफ– खोला सरकारले ल्याएको होइन

'शिखर सम्मेलनको सफलताले नेपालको प्रभाव, प्रतिष्ठा, विश्वसनीयता, क्षमता आदि वृद्धि गरेको छ'

किशोर दहाल

भदौ १९, २०७५| प्रकाशित १५:५७

काठमाडौं– मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गरेको विषयमा करिब ३५ मिनेट आफ्नो धारणा राखे। त्यसपछि सांसहरुले उनलाई विभिन्न प्रश्नहरु सोधे। त्यसैमध्येका एक थिए, राजपाका सांसद महेन्द्र राय यादव। उनले बुँदागत रुपमा तीनवटा प्रश्न राखेका थिए।

यादवले दोस्रो प्रश्न सोधे– नदि नियन्त्रण र चुरे संरक्षणका बारेमा नेपाल र भारतका बीचमा जुन समझदारी बन्यो, त्यो कहिलेसम्म कार्यान्वयन हुन्छ?

उनले तेस्रो प्रश्न पनि उस्तै समस्यामा रहेर सोधे– कोशी नदिको बाढीले अहिले पाँच सय घर डुबान भएको छ। यसको कहिलेसम्ममा नियन्त्रण हुनसक्छ?

प्रधानमन्त्रीले आफ्नो जवाफको अन्तिमतिर यादवको प्रश्न माथि बोलेका थिए। सुरुमा उनले यादवको प्रश्न सार्वजनिक खपतका लागि उठाइएको भन्दै हल्कारुपमा लिए।

त्यसपछि उनले आफ्ना कुरा राखे– 'बाढीको कुराहरु छन्। नेपालमा खोलाहरु नियन्त्रण गर्न सकिएको छैन। यो खोला ६ महिनामा यो सरकारले ल्याएको पनि होइन। हामी प्रयास गर्दैछौं कि नदि नियन्त्रण होस्। नदि नियन्त्रण गरौं। जनताले दुःख नपाउन्। अहिले हामी उद्दारका काममा, राहतका काममा केन्द्रित भएका छौं। उद्दार र राहतको काम भइरहेको छ। सरकार अत्यन्त संवेदनशील छ।'

सार्वजनिक पदासीनका विवरण गोप्य नराख्न विधेयकमा संशोधनै शंशोधन

किशोर दहाल

भदौ १८, २०७५| प्रकाशित २०:०७

काठमाडौं– सरकारले संसदमा दर्ता गराएको 'वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'माथि १६ सांसदले ९० वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

सांसदहरु दुर्गा पौडेल, भरत कुमार साह, खगराज अधिकारी, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, विन्दा पाण्डे गगन थापा लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

सरकारले भदौ ४ गते दर्ता गराएको यो विधेयकमा सार्वजनिक पदमा आसीन व्यक्तिका कतिपय विवरण प्रकाशन र प्रसारण गर्न र प्राप्त गर्न कठिन हुने व्यवस्था गरिएको भन्दै विरोध भएका थिए।
सार्वजनिक पदमा भएका व्यक्तिका कतिपय महत्त्वपूर्ण र आम चासोको विवरण पनि गोप्य हुने व्यवस्था विधेयकमा रहेको थियो। सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावमा त्यस्ता कतिपय बन्देज हटाउन प्रस्ताव गरिएको छ।

प्रधानमन्त्रीलाई आफू मात्रै ठीक छु भन्ने खतरनाक बानी : गगन थापा

किशोर दहाल

भदौ १३, २०७५| प्रकाशित २१:५७

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई आफू मात्रै ठीक छु भन्ने लाग्ने खतरनाक बानी रहेको बताएका छन्।बुधबार राजधानीमा आयोजित 'वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्र माथिका चुनौतिहरु' विषयक अन्तर्क्रियामा बोल्दै थापाले प्रधानमन्त्री ओलीमा आफूलाई भगवानले पठाएको भन्ने धारणा रहेको बताए।

'प्रधानमन्त्री ओलीमा म ठीक, म बाहेक सबै गलत। म यो समाजमा भएका सबै विकार र विकृतिलाई निर्मुल गर्न आएको हुँ। भगवानले मलाई पठाउनुभएको हो। म अवतार हुँ भन्ने लागेको छ', थापाले थपे, 'राजा महेन्द्रलाई ठ्याक्कै त्यही लागेको थियो। बिपीलाई थुनिसकेपछि उहाँले भन्नुभयो- सय वर्षमा नगरेको काम दस वर्षमा मैले गर्छु। वीरेन्द्रलाई पनि त्यस्तै लाग्यो। उहाँले भन्नुभयो- विकासको मूल फुटाउँछु। त्यसको केही वर्षपछि एशियाली मापदण्डमा पुर्‍याउँछु।''केपी ओलीलाई अहिले प्रतिपक्षी पार्टीका नेता कार्यकर्ता मात्रै गलत लागिरहेको छैन। आफ्नै पार्टीमा पनि माधव नेपाल, पुष्पकमल दाहाल सबै गलत लाग्छन्। यी जान्दैनन् भन्ने लाग्छ। भगवानले त मलाई पठाएका हुन् भन्ने लाग्छ', थापाले भने।

'टिकापुर घटनामा पक्राउ परेकालाई दोषी साबित गर्ने ठाउँ छैन'

किशोर दहाल

भदौ ७, २०७५| प्रकाशित १९:०३

काठमाडौं– टिकापुर घटनाको ३ वर्ष पुगेको सन्दर्भमा आयोजित एक अन्तर्क्रियामा वक्ताहरुले सो घटनालाई राजनीतिक घटनाको रुपमा अर्थ्याएका छन्। साथै, उनीहरुले अबको आन्दोलनको रचनात्मक बाटो खोजिनुपर्ने बारे पनि विमर्श गरेका छन्।

संविधान जारी हुनुपूर्व ०७२ भदौ ७ मा थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा झडप हुँदा टिकापुरमा सात प्रहरी र एक बालकको ज्यान गएको थियो। सो घटनापछि स्थानीय थारुहरुमा प्रशासनबाट व्यापक दमन भएको विभिन्न अध्ययनहरुले देखाएका छन्। थारु प्रतिनिधिहरुले पनि यस विषयमा बोल्दै आएका छन्।

बिहीबारको कार्यक्रममा पनि धेरै वक्ताहरुले टिकापुर घटनाप्रति दुःख व्यक्त गरे पनि त्यो राज्यको कारणले घटेको घटना भएकोमा जोड दिए।

अधिवक्ता शंकर लिम्बुले राज्यले गैरकानुनी रुपमा टिकापुरका घटनका दोषीलाई थुनामा राखिएको बताए। 'यो सरकारवादी मुद्दामा नेपालको कानुनले एक वर्ष भित्रमा टुंग्याउनुपर्छ। यो मुद्दामा एक वर्षभित्रमा नटुंग्याएपछि यो मुद्दा गैरकानुनी हिसाबले चलिरहेको छ। यो कुरा हामीले अदालतमा पटकपटक उठाएका छौं', उनले थपे, 'जब घटना घट्यो त्यतिबेला कसैलाई पक्राउ गरिएको छैन। पछि घरघरबाट पक्राउ गरिएको छ। सात जना प्रहरी र एकजना बालकको मृत्यु भयो, उनीहरु र पक्राउ पर्नेहरुको लिंकेज कहीँबाट पनि देखिँदैन। कहीँबाट पनि पुष्टि हुँदैन।'

प्रेसलाई सूचना पाउन झनै कठिन, वैयक्तिक गोपनीयता विधेयकमा यस्तो छ व्यवस्था

किशोर दहाल

भदौ ६, २०७५| प्रकाशित १८:४४
काठमाडौं– सरकारले संसदमा दर्ता गराएको 'वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा सार्वजनिक पदमा आसीन व्यक्तिका कतिपय विवरण प्रकाशन र प्रसारण गर्न  र प्राप्त गर्न झनै कठिन व्यवस्था प्रस्ताव गरिएको छ।

भदौ १ देखि लागू भएको मुलुकी संहितामा सार्वजनिक सरोकारका विषयमा सूचना संकलन र प्रसारण वा प्रसारणमा कडाइ हुने खालको प्रावधान राखिएको भन्दै विरोध भइरहेको बेलामा संसदमा सोमबार दर्ता भएको विधेयकमा झनै कठिनाइ हुने केही व्यवस्था थपिएको हो।

यो विधेयक संसदबाट यही रुपमा पारित भई लागू भएमा हाल सहजै प्रकाशन र प्रसारण हुने गरेको सार्वजनिक पदमा आसीन व्यक्तिका विवरण अब बिनाअनुमति प्रकाशन वा प्रसारण गर्न पाइनेछैन। यसरी नपाउनेमा शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र लगायतका विषयसमेत रहेका छन्।

सप्तरीको मलेठ घटनाबारे झुट बोले प्रधानमन्त्री ओलीले

हाइवे पुग्दा गोली चल्यो : ओली, सभामा बोल्दै गर्दा गोली चलेको हो : आयोग

किशोर दहाल

भदौ २, २०७५| प्रकाशित १४:४१
काठमाडौं– २०७३ फागुनमा सप्तरीको मलेठमा भएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन्। शनिबार प्रदेश २ को संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही बेर बोलेका थिए। 
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा सकेर राजमार्ग पुगेपछि गोली चलेको बताएका छन्। तत्कालीन नेकपा एमालेको मेची-महाकाली चुनावी अभियानका क्रममा फागुन २३ गते सप्तरीको मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीहरुमाथि प्रहरीले चलाएको गोलीबाट ५ जनाको ज्यान गएको थियो।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, 'म त जनतालाई आफ्नो कुरा भन्न गएँ त्यहाँ। केही कुराहरु भनेँ। र, म फर्किएँ। हामी हाइवे पुगेपछि गोली चल्यो। सभा सिद्धिएपछि गोली किन चल्यो? कसले चलायो र किन चलायो?'

जोशी अस्वीकृतिका बाछिटाहरु

किशोर दहाल

साउन १८, २०७५| प्रकाशित १९:५९

एक हप्तादेखिको अन्योल चिर्दै संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी अयोग्य रहेको निष्कर्ष निकालेको छ। अघिल्लो बिहीबार गरिएको सुनुवाइका क्रममा जोशीले दिएका जवाफ र पछिल्ला दिनमा सार्वजनिक भइरहेका जोशीबारेका 'प्रमाण'हरुले उनको प्रधानन्यायाधीश दौड टाढा रहेको संकेत गरिरहेकै थिए। भयो पनि त्यस्तै। प्रधानन्यायाधीश पद जोशीको छेउबाटै अलप भयो।

जोशीका निम्ति यो दुखान्त हो। ०६३ पछिका केही संसदीय सुनुवाइमध्ये पहिलोपटक उनीमाथि नयाँ अभ्यास भयो। यो संसदीय सुनुवाइ समितिले आफूलाई 'सुनिने' होइन, 'देखिने' समिति भएको प्रमाणित गर्‍यो। यो कदमलाई नयाँ इतिहासको सुरुवात हुने अपेक्षा गर्न सकिन्छ।

समितिले जोशीलाई अस्वीकार गर्दै गर्दाका केही बाछिटाहरुलाई यतिबेला केलाउन सकियो भने भविष्यका लागि एउटा राम्रै पाठ बन्न सक्छ।

भारतीय प्रधानमन्त्री मोदीको समय नमिल्दा अन्योलमा इपिजी प्रतिवेदन

किशोर दहाल

साउन १५, २०७५| प्रकाशित १८:०७

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिन नसक्दा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तहमा बुझाउने काम पछि धकेलिँदै गएको छ। प्रतिवदेन दुवै देशका प्रधानमन्त्रीलाई बुझाएपछि सार्वजनिक गर्ने कार्यक्रम छ।

गत असार १५ र १६ मा काठमाडौंमा बसेको इपिजीको नवौं तथा अन्तिम बैठकले साझा प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने भनिए पनि अहिलेसम्म अन्योल देखिएको हो।

समूहले पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ। 'पहिले भारतीय प्रधानमन्त्री मोदीलाई प्रतिवेदन बुझाइन्छ', इपिजीमा प्रतिनिधित्व गरेका एकजना सदस्य राजन भट्टराईले भने, 'उहाँको समय मिलाउने प्रयास भइरहेको छ।'

प्रधानमन्त्री ओली किन मन पराउँदैनन् बुद्धिजीवी?

किशोर दहाल

साउन १२, २०७५| प्रकाशित ०६:१७

प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना आलोचकलाई कडा आलोचना गर्न पोख्त छन्। त्यसका लागि उनी उखान, टुक्का, चुट्किला तथा छोटो कथाहरुको समेत सहायता लिन्छन्।

धेरै नेतामा जस्तो ओलीमा पनि एउटा कमजोरी छ– आफ्नो आलोचनालाई सहज रुपमा नलिने। उनी आफ्नो आलोचना गरिएको सानोतिनो सन्दर्भलाई पनि निकै ख्याल गरिरेहका हुन्छन्। पत्रिकामा प्रकाशित समाचार, लेख तथा सडकका भाषण गरिएका विषयमा समेत अपडेट भइरहेका हुन्छन्। र, सार्वजनिक कार्यक्रम तथा संसद्‌मा बोल्ने अवसर पाउँदा त्यसको प्रतिवाद गर्छन्।

नेपाली बुद्धिजीवीका बारेमा पनि ओलीको खासै सकारात्मक धारणा छैन। उनको अभिव्यक्ति सुन्दा उनलाई बुद्धिजीवी पटक्कै मन नपर्ने अनुमान गर्न गाह्रो पर्दैन। कारण, उनले बुद्धिजीवीबारे सकारात्मक बोलेको सुन्न मुस्किल छ।

उनी बुद्धिजीवीलाई कहिले 'फर्सी / फर सी' सँग तुलना गर्छन् भने, कहिले मुसासँग। उनी बुद्धिजीवीलाई कठैबरी, माया लाग्छ भन्ने जस्ता व्यंग्य पनि प्रयोग गर्छन्। सरकारबाहिर कुनै अमुक दलको अध्यक्षको हैसियतले मात्रै होइन, प्रधानमन्त्री भइसकेको अवस्थामा पनि उनको पूर्वाग्रह जारी नै छ। केही दिनअघि पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले बुद्धिजीवीहरुलाई विवेक कहाँ लगेर कतिमा बन्धक राखेको भन्न समेत भ्याए।

पहिलोपटक प्रधानमन्त्री हुँदा उनले बुद्धिजीवीले आफूलाई हैरान बनाएको सार्वजनिक रुपमै भनेका थिए। ०७३ जेठ ६ गते राजधानीमा आयोजित प्रेस चौतारी नेपालको महाधिवेशन उद्‌घाटन समारोहमा सम्बोधन गर्दै त्यतिबेला समेत प्रधानमन्त्री रहेका ओलीले आफ्ना कुराले बुद्धिजीवीहरु छटपटाएको बताएका थिए। उनले थपेका थिए– बुद्धिजीवीहरु भन्नाले इनभर्टेड कमावाला बुद्धिजिवी। उनीहरुलाई घोडाले जोर लात्ती हानेजस्तो भएको छ।

त्यसपछि पनि उनले बुद्धिजीवीको आलोचना गर्न छाडेका छैनन्। नेपाल लाइभले उनै ओलीको केही भाषणमा प्रयोग भएको बुद्धिजीवीको प्रसंगहरुलाई सम्झिने प्रयास गरेको छ:

यस्ता छन् डा केसीको अहिलेसम्मका अनसन, माग र सहमतिको शृंखला

किशोर दहाल

साउन ११, २०७५| प्रकाशित १७:११

काठमाडौं- डा गोविन्द केसी र सरकारबीच बिहीबार सहमति भएको छ। सहमतिसँगै २७ दिनदेखि अनसनरत डा केसीले बिहीबार राति अनसन तोडेका छन्।

डा केसीले गत असार १६ देखि जुम्लामा आफ्नो १५औं अनसन सुरु गरेका थिए। त्यहाँ उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि अनसनको २०औं दिन अर्थात् गत साउन ३ मा जुम्ला अस्पतालमा बल प्रयोग गरी सरकारले डा केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो।

तर, डा केसीलाई काठमाडौंमा ल्याइएपछि पनि उपचार र वार्ता तत्काल सुरु हुन सकेन। ७ गते बेलुकादेखि मात्रै वार्तामा सक्रियता देखिएको थियो।

विभिन्न माग राखेर ०६६ सालदेखि स्वास्थ्य सरोकारका विषयमा आवाज उठाउन थालेका डा केसीले ०६९ सालदेखि भने अनसन नै बसेर सरकारलाई माग पूरा गर्न दबाब दिन थालेका थिए। उनको दबाबकै कारण स्वास्थ्य क्षेत्रमा धेरै सुधार भइसकेको छ। साथै, यस क्षेत्रको विकृति र विसंगतिबारे आम मानिसले पनि थाहा पाउने अवस्था बनेको छ।

डा केसीको १५औं अनसनमा सहमति भएसँगै उनको झन्डै दशक लामो संघर्षले पनि निष्कर्ष पाउनेछ।

उनका १५ पटकका अनसन कसरी बिते? के-के माग राखियो, के-के सहमति भयो? त्यसलाई हामीले जस्ताको तस्तै राखेका छौं।