Pages

Sunday, September 26, 2021

‘श्वेतशार्दूल’का लेखक भन्छन्- मदन भण्डारी भइदिएको भए पनि हाम्रो राजनीति यस्तै हुन्थ्यो (अन्तर्वार्ता)

किशोर दहाल

शनिबार, असोज ९, २०७८, ०७:०१

आफ्नो छोटो आयुमा पूर्ण जीवन बाँच्ने एक जना नेता हुन्, मदन भण्डारी। नेपालको कम्युनिस्ट आन्दोलनलाई उनले जनताको बहुदलीय जनवादको उपहार दिएकै कारण आज कम्युनिस्ट पार्टीहरु संसददेखि सडकसम्म उभिन सकेका छन्। लोकतन्त्रको कसीमा प्रमाणित हुन सकेका छन्। भण्डारीको पार्टी एमाले र एमालेबाट विभाजित पार्टीहरुमा जबज सधैं भावनाको विषय भइरहेको छ। अन्य कम्युनिस्ट पार्टीले जबजलाई स्वीकार नगरेता पनि उही बाटो हिँडिरहेका छन्।

भण्डारीको जिप दुर्घटनामा निधन भएको २८ वर्षभन्दा बढी भइसकेको छ। उनीबारे अंशअंशमा र सन्दर्भअनुसार धेरै लेखिएका छन्। सम्झना लेखिएका छन्, समर्पण लेखिएका छन्, समीक्षा लेखिएका छन्। तैपनि उनको जीवनरेखालाई देखाउने सांगोपांग सामग्रीको अभाव थियो। त्यसको पूर्ति गर्ने प्रयास गर्ने लेखक हुन्, रमेश रुछेन राई। राजनीति र विकासका स्वतन्त्र अध्येता राईसँग उनको पुस्तक ‘श्वेतशार्दूलः मदन भण्डारीको जीवन’ र मदनलाई केन्द्रमा राखेर नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

पुस्तकको सन्दर्भ

तपाईंद्वारा लिखित ‘श्वेतशार्दूल’ कस्तो पुस्तक हो? कसका लागि हो?

सामान्यरुपमा भन्दा मैले पुस्तकमा मदन भण्डारीको जीवनी नै लेखेको हो। पुस्तकमा उहाँको जन्मदेखि मृत्युसम्मका विशेष घटनाक्रमहरु छन्। उहाँको जीवनमार्फत नेपालको वाम राजनीति हुर्किएको कालखण्ड र एमाले तथा मालेको कलिलो समयको कथा यो पुस्तकको मुख्य खण्ड हो। त्यो सँगसँगै पूर्वी पहाडबाट पूर्वी तराईमा हुने बसाइसराइ, त्यहाँको जनजीवन, समाज, आर्थिक प्रणाली र सांस्कृतिक पद्धतिका कुरा जोडिन आउँछन्।

मैले यो पुस्तक २०७१ सालमा लेख्न थालेको हुँ। त्यतिबेला मदन भण्डारीको मृत्युको समयमा जन्मिएका बच्चाहरु नै २१ वर्षका भइसकेका थिए। उनीहरु ब्याचरल पढ्ने उमेरका थिए। उनीहरुलाई नै मदन भण्डारी चिनाउने भनेर मैले यो पुस्तक लेख्न थालेको थिएँ। त्यसैले त्यो उमेर समूहका लागि महत्त्वपूर्ण होला। त्यससँगसँगै यो पुस्तक स्वतन्त्र पाठक, नेकपा एमालेका कार्यकर्ता तथा वामपन्थी राजनीतिको बारेमा रुचि राख्नेहरुलाई पनि काम लाग्ला। केही भूमिगत र केही खुला महाअधिवेशनको कुरा पनि छन्। त्यसैले अहिलेको नेकपा एमालेको वैचारिक आधार कसरी तयार भयो भन्ने बारेमा जानकारी लिन चाहनेलाई काम उपयोगी हुनसक्छ।

Friday, September 24, 2021

सभामुख–एमालेको तिक्तताले ‘डेडलक’मा संसद् : कहिले भेटिन्छ मिलनबिन्दु?

किशोर दहाल

सोमबार, असोज ४, २०७८, २१:१०

काठमाडौं– प्रतिनिधि सभाको सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गर्‍यो। विगत दुई हप्तादेखि एमालेले जारी राखेको अवरोध खुलाउने मिलनबिन्दु नभेटिँदा जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था 'डेडलक'मा फसेको छ नै, यो कतिञ्जेल कायम रहन्छ भन्ने पनि अनिश्चित बनेको छ।

भदौ २३, भदौ २५, भदौ २७, भदौ २९ र असोज ४ मा प्रतिनिधि सभाको बैठक बसेका छन्। तर, सबै बैठकमा एमालेका सांसद्हरुले वेल घेराउ गरेका छन्। नाराबाजी गरेका छन्। भदौ २५ गतेको बैठकमा केही अभद्र देखिए भए पनि त्यसपछिका बैठकमा एमाले सांसदहरुको प्रस्तुति शान्त विरोधमा रुपान्तरित भएको छ।

एमालेले भदौ १ गते नै आफ्ना सांसद्हरुलाई निष्कासन गरिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको भए पनि सभामुखले सूचना नटाँसिदिएकोमा असन्तुष्टि व्यक्त गरेको छ। सभामुखले सूचना टाँस गरिदिएको भए १४ सांसद् पदमुक्त हुन्थे र आफ्नो पार्टी विभाजन पनि हुने थिएन भन्ने एमालेको ठम्याइ छ। सभामुखले एमालेमाथि पक्षपातपूर्ण व्यवहार गरेको र एमाले विभाजनको मतियार भएको आरोप उसले लगाइरहेको छ। यही आरोप सार्वजनिक रुपमै लगाउन थालिएपछि दुई संस्थाबीच अविश्वास बढेको हो।

संविधान दिवसमा ‘मधेशकेन्द्रित’ दल : सत्तासँगको सम्बन्धले बर्सेनि बदलिइरहन्छन् ‘असन्तुष्टि’

किशोर दहाल

आइतबार, असोज ३, २०७८, १०:४०

काठमाडौं- संविधान निर्माणको कोसेढुंगा मानिने २०७२ जेठ २५ को १६ बुँदे सहमतिमै त्यसबेला संविधानसभामा रहेका मधेसकेन्द्रित दलहरुले असन्तुष्टि जनाए। त्यसपछि पनि संविधान जारी गर्दासम्म अबलम्बन गरिएका प्रक्रिया र संविधानका कतिपय प्रावधानमाथि असन्तुष्ट बनेका उनीहरुमध्ये कतिपयको असन्तुष्टि र आक्रोश संविधानसभाबाट जारी संविधान सातौं वर्षमा प्रवेश गर्दासम्म पनि जारी छ। रोचक चाहिँ यस्तो असन्तुष्टि र आक्रोशको पारो भने सालैपिच्छे तलमाथि भइरहन्छ, फेरिइरहन्छ। र, त्यो मूलतः सत्तासँगको सम्बन्धका आधारमा प्रतिबिम्बित हुने गरेको छ।

विगत ६ वर्षमा उनीहरुले कहिले कालो दिवस, कहिले विरोध दिवस, कहिले मौन रहने जस्ता रणनीति अपनाउँदै आएका छन्। समग्रमा ‘संविधानमा संशोधन खाँचो छ’ भन्ने उनीहरुको भनाई रहे पनि संविधान र यससँग सम्बन्धित दिवसप्रति कस्तो धारणा बनाउने भन्नेमा भने उनीहरु अलमलमै रहेको वर्षैपिच्छे आउने असन्तुष्टिका फरक-फरक शैलीले प्रष्ट पार्छन्।

विगतमा मधेसलाई केन्द्र बनाएका धेरै पार्टीहरुको अस्तित्व भए पनि अहिले दुई पार्टीमा समेटिएका छन्, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)। अघिल्लो वर्ष मधेसकेन्द्रित राजनीतिबाट उदाएका सबै शक्तिहरु जसपाको नाममा एकीकृत थिए। जे होस्, दशक वरिपरिको समयरेखामा हेर्ने हो भने मधेसकेन्द्रित दलहरु यादव र ठाकुरको नेतृत्वमा दुई धारमा रहेको पाइन्छ। केही नेता तथा पार्टीहरु यताउता भए पनि मूलतः उनै दुई नेताको निकटताबाट पर पुग्न भने सकेका छैनन्। संविधान दिवसको अवसरमा व्यक्त हुने धारणामा पनि उनै दुई नेताको राजनीतिक अवस्थितिले प्रभावित हुने गरेको पाइन्छ।

एमाले आफैंले सम्झाइरहेको ५७ दिन लामो त्यो संसद् अवरोध

किशोर दहाल

बुधबार, भदौ ३०, २०७८, १८:०४

काठमाडौं- संघीय संसद्को भदौ २३ गतेबाट सुरु नवौं अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सहज ढंगले चल्न सकिरहेको छैन। अवरोधका बीच सदनबाट केही अध्यादेश अघि बढाउन खोजिए पनि तिनले निष्कर्ष पाएका छैनन्। बजेटसम्बन्धी अध्यादेश टुंगोमा नपुग्दा बुधबार मध्यरातदेखि सरकारी खर्च गर्ने बाटो बन्द भएको छ।

प्रतिपक्षको अवरोधकै बीच सदनका कारबाही अघि बढाउन खोज्दा संसद्‌मा केही अराजक दृश्य देखापरेका छन्। भदौ २५ को बैठकमा एमाले सांसद् रेखा झाले माइक निकालेर सभामुखलाई प्रहार गर्ने प्रयास गरिन्। मौका मिले अर्को दिन पनि हान्ने भनेर सार्वजनिक रुपमै बोलिन्। सोही दिन सांसदहरु मर्यादापालकको काँधमा चढेर रोस्ट्रम पुग्न खोजेका दृश्य देखिए। सभामुखविरुद्ध मुर्दावादका नारा लागे।

भदौ १ गते एमालेले आफ्ना १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले अध्ययन र परामर्श भन्दै त्यसको सूचना टाँस नगरेर समय बिताइदिए। हुन त, सभामुखलाई १५ दिनको समय उपलब्ध थियो। तर, यसअघि उनले केही घण्टाकै अन्तरालमा जिम्मेवारी पूरा गरेको तर एमालेका हकमा समय लम्ब्याएको भन्दै एमाले आक्रोशित बनेको हो।

सभामुख-प्रमुख प्रतिपक्ष द्वन्द्व : एमालेको चेतावनी- ‘जुनसुकै बेला महाभियोग दर्ता गर्न सक्छौं’

किशोर दहाल

शुक्रबार, भदौ २५, २०७८, २२:५४

काठमाडौं- प्रतिनिधि सभाको बैठक दुई दिनमा ६ पटकसम्म बस्यो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बुधबार र शुक्रबार तीन-तीन पटकसम्म बसेको बैठकमा केही कार्यसूची अगाडि बढाइएका छन्। भदौ २३ गतेको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरिएको थियो। शुक्रबारको दोस्रो बैठकमा बजेटसम्बन्धी अध्यादेशहरु स्वीकृत गरिएका थिए भने तेस्रो बैठकमा प्रतिस्थापन विधेयक पेस गरियो।

संसद्‍मा विरोध र अवरोध कायमै रहँदा सामान्यतया कुनै पनि कारबाही अगाडि बढाइँदैनन्। तर, यसपटक भने न कारबाही रोकियो, न त प्रतिपक्षको माग सुनुवाइ गरिने कुनै उपाय खोजियो। आगामी दिनमा पनि यो शैली कायमै रहने देखिन्छ। ६ वटा बैठक अवरुद्ध गरिसकेको एमालेले त्यसलाई निरन्तरता दिने बताएको छ। ‘जबसम्म सभामुखले हामीले उठाएका प्रश्नको जवाफ दिनुहुन्न, तबसम्म हाम्रो अवरोध जारी नै रहन्छ,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्।

अहिले आफूहरुको दुईवटा माग रहेको भट्टराई बताउँछन्। ‘पहिलो, हामीले कारबाही गरेर निष्कासन गरेका सांसदहरुलाई अरु सरहको व्यवहार नगरेर १३/१३ दिनसम्म सभामुखले के कारणले रोक्नुभयो भन्ने प्रश्नको उहाँबाट जवाफ आउनुपर्‍यो। जवाफका लागि जवाफ होइन, वस्तुगत जवाफ आउनुपर्छ। दोस्रो, निर्वाचन आयोगले हामीले निष्कासन गरेका गैरकानुनी मान्छेहरुलाई सनाखत गरेर पार्टी दर्ता गरेको छ। त्यसका विरुद्धको पनि अभियान हो,’ उनले भने।

गगन र विश्वप्रकाशको उम्मेदवारी घोषणा : कांग्रेसमा सुरु भो ‘ठाउँ कब्जा’को अभियान

किशोर दहाल

बिहीबार, भदौ २४, २०७८, १९:३०

काठमाडौं– नेपाली कांग्रेसको आउँदो मंसिरमा हुने १४औं  महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्न प्रवक्ता विश्वप्रकाश शर्मा बिहीबार सुन्दरीजल पुगे। महामन्त्रीमा उम्मेदवारी घोषणा गर्न काठमाडौंबाट झन्डै २० किलोमिटर यात्रा गरेर शर्मा त्यस्तो ठाउँ पुगेका थिए, जहाँ बीपी कोइराला ८ वर्षसम्म बन्दी बनाइएका थिए। बीपीको जन्मजयन्तीकै दिन शर्माले सुन्दरीजलमै पुगेर आफ्नो उम्मेदवारी घोषणा गरे।

'आज यो भूमिमा म बडा भावुकताका साथ नेतृत्व पंक्तिलाई स्मरण गर्न चाहन्छु। र, आजको दिनलाई नै नेपाली कांग्रेसको प्रवक्ताबाट माथिल्लो जिम्मेवारीमा जानलाई उम्मेदवारी घोषणा गर्नका लागि मैले उपयुक्त दिनको रुपमा ठहर्‍याएँ', सुन्दरीजलमा शर्माले भने, 'बीपी जन्मजयन्तीभन्दा सुन्दर दिन के हुन्छ?'

शर्माले केही बेर कांग्रेसका पहिलो पुस्ताका नेताहरुको संघर्ष, त्याग र समर्पणको चर्चा गरे। विशेषतः बीपीको सपनाको स्मरण गरे। खासगरी बीपीले १५ वर्ष समय पाए देशलाई उचाइमा पुर्‍याउने परिकल्पना प्रस्तुत गरेको, तर महेन्द्रले जेलमा राखेको बताए। अहिले पनि कांग्रेसले एउटा चुनाव जित्ने र अर्को हार्ने गरिरहेको भन्दै शर्माले लगातार तीनवटा चुनाव जिताउनका लागि आफू महामन्त्रीको उम्मेदवार बनेको बताए।

दुई पार्टी विभाजन : कस्तो बन्यो प्रदेश सभाको शक्ति संरचना?

किशोर दहाल

बुधबार, भदौ २३, २०७८, १५:०२

काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टीको विभाजनसँगै सातमध्ये ६ वटा प्रदेशको प्रदेश सभाको शक्ति संरचनामा परिवर्तन आएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश सभामा पछिल्लो विभाजनले प्रभाव पारेको छ। गण्डकी प्रदेश सभा भने कुनै प्रभाव परेन।

प्रदेश १, प्रदेश २, बागमती र कर्णालीमा चौथो दलको रुपमा एकीकृत समाजवादीको उपस्थिति देखिएको छ। यो दलको गण्डकी प्रदेश सभामा कुनै उपस्थिति छैन। तर लुम्बिनीमा छैटौं र सुदूरपश्चिममा भने पहिलो दलको रुपमा उभिएको छ।

जनता समाजवादी पार्टी विभाजन भई गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीको प्रभाव खासै परेको छैन। प्रदेश २ मा लोसपा तेस्रो ठूलो दल भएको छ। त्यस्तै, १ सांसद सहित सुदूरपश्चिममा पाँचौं दलको रुपमा उपस्थित भएको छ। अन्यत्र यो दलको उपस्थिति देखिँदैन।

दलीय शक्ति र गठबन्धनको कारण प्रदेश १ र बागमती प्रदेशका सरकार तत्कालै अल्पमतमा पर्ने देखिन्छ। प्रदेश १ मा अहिले बहुमतका लागि ४७ जना आवश्यक पर्छ। तर मुख्यमन्त्री भीम आचार्यको दल नेकपा एमालेसँग ४१ सांसद मात्रै छन्। गठबन्धनमा आबद्ध बाकेकका सबैले साथ दिए पनि उनले बहुमत पुर्याउन सक्दैनन्। त्यस्तै, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि अल्पमतमा परेकी छन्। सो प्रदेशमा बहुमतको लागि ५५ जना आवश्यक पर्छ। तर उनको दल एमालेसँग ४३ सांसद मात्रै छन्।

गठबन्धनका लागि अन्य प्रदेशका सरकार भने सुरक्षित देखिन्छन्। तर एकल बहुमत भने कुनै प्रदेशमा कुनै दलको पनि छैन।

देउवा सरकारको 'शैली' : गर्ने काम नगर्ने, नागरिकलाई धम्की दिने!

किशोर दहाल

आइतबार, भदौ २०, २०७८, १८:०१

काठमाडौं– गृह मन्त्रालयले पछिल्लो दुई दिनको अन्तरालमा दुई वटा विज्ञप्ति जारी गरेको छ। भदौ १८ र २० मा जारी दुई विज्ञप्तिको सार उस्तै किसिमको छ। अर्थात्, सरकारले नागरिकलाई औपचारिक रुपमै ‘धम्की’ दिएको छ। त्यसको कारण पनि उस्तै छ– ‘मित्रराष्ट्र’का प्रति नेपाली नागरिकबाट व्यक्त आक्रोश।

कूटनीति र भूराजनीति जोडिएका दुई विषय अहिले चर्चामा छन्– अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता र दार्चुलाको सीमावर्ती क्षेत्रमा भएको तुइन प्रकरण। यिनै सन्दर्भमा नागरिकमा आक्रोश बढ्दै गएको छ। त्यसको परिणाम सडकमा पोखिन थालेका छन्। जसप्रति लक्षित गर्दै सरकारले धम्कीको भाषामा विज्ञप्ति जारी गरेको हो। यद्यपि, विज्ञप्तिमा यी विषय प्रष्टसँग इंगित गरिएको छैन।

'विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ। त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाहीसमेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ', भदौ १८ गते जारी विज्ञप्तिमा भनिएको छ।

Saturday, September 4, 2021

संसद् सचिवालयलाई कार्यालय व्यवस्थापन गर्न सकस, सरकारलाई पत्र- स्थान उपलब्ध गराइ पाऊँ

किशोर दहाल

बुधबार, भदौ १६, २०७८, १३:२०

काठमाडौं- हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको कार्यालयका लागि संसद् सचिवालयले दुई वटा कोठा उपलब्ध गरायो। सिंहदरबारस्थित संसद् सचिवालयको भवन नम्बर १ मा उपलब्ध दुई वटा कोठामध्ये एउटामा माधवकुमार नेपालको नेमप्लेट छ, अर्कोमा वेदुराम भुसालको। नेपाल एकीकृत समाजवादीका संसदीय दलका नेता हुन् भने भुसाल सोही पार्टीको राष्ट्रिय सभा दलका नेता हुन्।

संसदीय दलमा चार जना त पदाधिकारी नै हुन्छन्। उनीहरुका लागि कम्तीमा चार वटा कोठा चाहिन्छ। त्यस्तै कार्यक्रम गर्ने हल, संसद् सचिवालयका कर्मचारी बस्ने कोठा पनि चाहिन्छ। यसरी सामान्यतयाः एउटा संसदीय दलका लागि ६ वटा कोठा आवश्यक पर्छ। तर, एकीकृत समाजवादीले जम्मा दुई वटा कोठा पायो।

संसद् सचिवालयलाई कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि स्थानको अभाव हुँदै आएको अवस्थामा नयाँ दल थपिएपछि झनै सकस थपियो। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, 'एकीकृत समाजवादी पार्टीलाई कोठा दिँदा पनि हाम्रा सहसचिव साथीहरुलाई हटाएर दिएको हो। उहाँहरुलाई व्यवस्थापन गर्न सकिरहेका छैनौं। अप्ठ्यारो स्थिति छ।'

माधव नेपाल दोहोर्‍याइरहेछन्, आखिर के भएको थियो नेकपाको दोस्रो महाधिवेशनमा?

किशोर दहाल

मंगलबार, भदौ १५, २०७८, २१:१५

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दुईवटा महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने तर, नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्तिलाई चयन गर्ने काम भयो। ती दुवै निर्णयले नेपाली कम्युनिस्ट आन्दोलनको एकतामा गम्भीर क्षति पुर्‍याएका छन्। पार्टीको दोस्रो महाधिवेशनले गणतन्त्रात्मक नीति पारित गरेको थियो भने नेतृत्वमा गणतन्त्रात्मक नीतिका विरोधीहरुको टिमलाई छानेको थियो, जसले महाधिवेशनबाट पारित नीति कार्यान्वयन नगरी पार्टीलाई दक्षिणपन्थी दिशामा लगेको थियो र अन्ततः पार्टी विभाजित भएको थियो। नवौं महाधिवेशनमा पनि त्यस्तै भयो। मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनले पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन गर्‍यो, जसले महाधिवेशनको निर्णयलाई बोक्दै बोकेनन्। -नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को घोषणापत्र- २०७८

घोषणा-पत्रमा उल्लिखित यो सन्दर्भ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पछिल्ला सम्बोधनहरुमा धेरथोर चर्चा गर्ने गरेका छन्। पार्टीको नीति एकातिर र नेतृत्व अर्कोतिर हुँदा पार्टीमा विद्रोह हुने र विभाजन हुने कुरालाई  नेकपाको इतिहासबाटै सान्दर्भिक तुल्याउने प्रयत्न उनको छ। 'जसरी दोस्रो महाधिवेशनमा केशरजंग रायमाझी हुँदाहुँदै त्यो पार्टी रुपान्तरण हुन सक्दैनथ्यो। पुष्पलालले पार्टीबाट विद्रोह गर्नुभयो। र, बेग्लै पार्टीको निर्माण गर्नुभएको थियो', भदौ ८ गते चन्द्रागिरिमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भनेका थिए।

सोमबार मात्रै भारतमा उपचार गरेर फर्किएका आफ्नो पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेका नेपालले अझ विस्तृतमा यो विषयलाई दोहोर्‍याए। आफ्नो सम्बोधनमा उनले भने- 'नेपालको कम्युनिस्ट आन्दोलनमा समय-समयमा यस्ता समस्याहरु देखापर्ने गरेका छन्। यो पहिलोपटक देखिएको समस्या होइन। २०१४ सालमा पनि समस्या देखिएका थिए। तत्कालीन महासचिवले पार्टीलाई दक्षिणपन्थी भासमा पुर्‍याएका थिए। पार्टीको क्रान्तिकारी धारलाई भुत्ते बनाउने काम गरेका थिए। फलस्वरुप पार्टी गतिहीन हुँदै गयो। शिथिल हुँदै गयो। दक्षिणपन्थी भासमा भासिँदै गयो। त्यसले जनताको विश्वास गुमाउँदै गयो। विस्तारै त्यो पार्टी निरंकुश र निर्दलीय पञ्चायती व्यवस्थाको समर्थक भएर त्यसको पक्षपोषक भएर देखापरिसकेपछि नेकपाका संस्थापक महासचिव पुष्पलालले विद्रोह गर्ने संकल्प गर्नुभयो।'