Pages

Monday, July 31, 2017

तिब्‍बती शरणार्थीका सकस


किशोर दहाल

नेपालमा शरणार्थी शब्दले मूलतः भुटानी शरणार्थीलाई प्रतिबिम्बित गर्छ । तिनका सुखदुःख, विवशता, संघर्षका धेरै कथा छन् । तर, यो मुलुकमा उस्तै घटना, उस्तै संघर्ष (भाषा, धर्म, रहनसहन, भेषभुषा र परम्पराको फरकपनले अझै बढी) ले भरिएका तिब्बती शरणार्थी पनि थिए र छन् भन्ने कुरा धेरै कमलाई थाहा छ । तिब्बती शरणार्थी एउटा यस्तो मुद्दा हो, जसबारे स्वयं भुक्तभोगीहरू पनि बोल्न डराउँछन्, लेखकहरू लेख्न हच्किन्छन् । राष्ट्रियस्तरमा सचेततापूर्वक बहसमा नआएको यस मुद्दाको केही आयामलाई समेटेर श्रीभक्त खनालले पुस्तक लेखेका छन्, ‘अप्ठ्यारो बाटोः तिब्बती शरणार्थीको संघर्ष–कथा’ । पुस्तकमा तिब्बती शरणार्थीको राजनीतिक मुद्दालाई सकेसम्म कम छुने प्रयासमा उनीहरूको नेपाल बसाइको कठिन संघर्षहरूलाई अभिलेखीकरण गर्ने प्रयास गरिएको छ ।

कूटनीतिक अनुभवको दस्तावेज

किशोर दहाल
रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रमा चर्चित नाम हो । उनी आवश्यकताअनुसार जुनसुकै परिस्थितिमा पनि आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । कलिलो उमेरदेखि नै पत्रकारितामा सक्रिय पाण्डेले त्यसैबाट सिर्जित अवसरबाट कूटनीतिक र राजनीतिक सक्रियताको अभ्यास गरेका थिए । जिन्दगीका उकाली–ओरालीहरूमा धेरै थरी भूमिका निर्वाह गरेका पाण्डेले आफ्नो जीवन भोगाइको अनुभव लिपिबद्ध गरेका छन्, आफ्नो आत्मकथामा ।
पाण्डेको भोगाइ उनको जीवन उनैका लागि जस्तो भएता पनि आमपाठकका लागि भने निकै रोचक छ । उनले १६÷१७ वर्षको उमेरमा सक्रिय पत्रकार÷सम्पादकका रूपमा विश्व शक्ति सन्तुलनमा ठूलो प्रभाव राख्ने संसारका केही चर्चित नेता र राष्ट्रप्रमुखलाई प्रश्न सोध्ने आँट र अवसर पाएका थिए, जसलाई ती नेताले पनि ‘मार्क’ गरेका थिए । यस्तै, २० वर्षको उमेरदेखि नै राजा महेन्द्र र नजरबन्दमा रहेका बीपी कोइरालाबीच समझदारी गराउन कुशल सम्पर्कसूत्रका रूपमा काम गरेका थिए । उनको प्रयास सफल भने भएन ।
उनको परिपक्वता, रणनीति र कूटनीतिको विकास, परीक्षण र प्रयोग त्यही समयदेखि नै हुँदै आएको थियो भन्न सकिन्छ । जसले उनलाई पछि त्यही क्षेत्रमा परिचित गरायो । विभिन्न देशसँग सम्बन्ध स्थापित गर्न, सम्पर्क बढाउन र सहयोग आदानप्रदान गर्न, द्विदेशीय ‘कन्फ्युजन’ हटाउन उनले युवा उमेरदेखि नै सक्रिय भूमिका निभाएका थिए । जिम्मेवारीमा आइलागेका जस्तोसुकै काम पनि सहज र दृढताका साथ सम्पन्न गर्न लागिपर्ने उनको स्वभावले गर्दा नै हुनुपर्छ, फरक–फरक राजनीतिक व्यवस्था, राजा र प्रधानमन्त्रीहरूबीचमा पनि उनको सक्रियता कायम रह्यो । पुस्तकमा उनको त्यही सक्रिय जीवनलाई महशुस गर्न सकिन्छ ।

राजनीतिक पुनर्गठनको प्रस्ताव

किशोर दहाल
सीमान्तकृतलाई सपना र उच्च वर्गलाई सुविधा वितरण गर्ने चल्तीको राजनीतिप्रति आम मानिसको गुनासो निरन्तर छ । र, निरन्तर नै छ, समृद्धिको सपना पनि । नयाँ संविधान जारी भएपछि त्यो सपना झनै मुखरित भइरहेको छ । त्यसो त, अहिलेकै नेतृत्व र शैलीले त्यो सपना पूरा हुन सक्दैन भनेर ठोकुवा गर्नेहरू पनि छन् । तिनैमध्येका एक हुन्, केशव दाहाल ।
भर्खरै प्रकाशित पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’मार्फत दाहालले नयाँ ढंगले अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । पुस्तकले अबको नेपाली राजनीतिको स्वरूप कस्तो रहने ? सैद्धान्तिक ढाँचा कस्तो हुने ? र, प्रत्यक्ष लोकतन्त्रलाई कसरी व्यवहारमा उतार्ने ? जस्ता सवालमा बहसको सिर्जना गर्ने प्रयास गरेको छ ।
नेपाली राजनीतिको अबको लक्ष्य समृद्धितिर बढ्नुपर्ने र त्यसका लागि सर्वप्रथम राजनीतिको अहिलेको ढाँचा फेरिनुपर्छ अन्यथा त्यसले चाहेजस्तो प्रतिफल दिन सक्दैन भन्ने पुस्तकको मूल आशय छ । त्यसका लागि उनले मूलधारका पार्टीका कार्यपद्धति र सैद्धान्तिक आवरणलाई पनि राम्रैसँग शल्यक्रिया गरेका छन् । चिरफारको सकारात्मक पक्ष के छ भने उनले त्यसमा आफ्ना आग्रह मिसाएका छैनन् ।
विचार र सिद्धान्तलाई सोही आधारमा केलाएका छन् । खँदिलो र सहज भाषामा आफ्ना तर्क राखेका छन् । उनको तार्किक शैली प्रशंसनीय छ । आफ्ना हरेक तर्कमा ऐतिहासिक, राष्ट्रिय/अन्तर्राष्ट्रिय तथ्यहरू, वर्तमान परिस्थितिसमेत विश्लेषण गरिएको छ । उनको तर्कलाई मन पराउन वा नपराउन सकिन्छ तर बेवास्ता गर्न भने सकिँदैन ।

अनलाइनको क्लिककारिता

किशोर दहाल
मिडियाको डिजिटलाइज हुँदै गर्दा अनलाइन पत्रकारिताले पनि मूलधारको स्वरूप ग्रहण गर्न थालेको छ । स्मार्टफोनको बढ्दो प्रयोगसँगै अनलाइन पत्रिकाका ग्राहक वृद्धि भइरहेका छन् । कतिपयले त अब प्रिन्ट मिडियाको सान्दर्भिकता सकिने र अनलाइन पत्रकारिता निर्विकल्प हुने पनि बताउने गरेका छन् । समय र विषयवस्तुको नियन्त्रण नरहने भएकाले अनलाइन पत्रकारिताको आफ्नै अवसर र चुनौती छन् । बढ्दो प्रतिस्पर्धीका कारण यसको मुख्य ध्यान नै समाचारको पहिलो प्रस्तुतकर्ता बन्नमा केन्द्रित रहन्छ, यसले नै अनलाइन पत्रकारिताको सम्पूर्ण जटिलता सिर्जना गर्छ । अर्थात्, ‘हतारको काम लतार’ भनेजस्तो छिटो समाचार प्रकाशित गर्ने बाध्यताले बाँकी धेरै गडबडीलाई निम्त्याउँछ ।
कतिपय अवस्थामा त प्रकाशित समाचार अपूर्ण र अप्रमाणित तथ्यको शिकार हुने गर्छन् । सकेसम्म छिटो समाचार सामग्री प्रकाशित गर्नुपर्ने बाध्यता छँदैछ । सँगसँगै, पाठकको ध्यान आकृष्ट गराउनुपर्ने अर्को चुनौती पनि छ । जब पाठकले समाचारको शीर्षकमा क्लिक गर्छ, तब मात्र प्रकाशित समाचारको सान्दर्भिकता पूरा हुन्छ । त्यसैले पनि, प्रकाशित सामग्री पाठकको रुचिअनुसारको बनाउनु वा समाचार शीर्षकमा क्लिक गराउनु नितान्त आवश्यक छ । यही क्लिककारिताको बाध्यताले कैयौं अनलाइनको नाम र बदनाम दुवै भइरहेको छ ।

Monday, July 24, 2017

बालबालिकालाई पनि सुनौं

किशोर दहाल

हाम्रो समाज बालबालिकाको बारेमा गम्भीरतापूर्वक सोच्ने तहसम्म पुगिसकेको छैन। उनीहरुको पनि मत बुझ्ने संस्कार त झनै छ्रैन। आवश्यक पनि ठानिँदैन। ‘केटाकेटी कुरा’, ‘ठूला मान्छे बोलिरहेको ठाउँमा केटाकेटी बोल्नुहुँदैन’ भन्नेजस्ता उखान, टुक्का वा संस्कार बलियो छ। यसले बालबालिकाको सरोकारमा परिवार र समाज उदासिन छ, नजरअन्दाज व्याप्त छ भन्ने स्पष्ट पार्छ। धेरैले गम्भीरतापूर्वक नलिएको बालबालिकाको सोचाइ, भोगाइ र अप्ठ्याराहरुका विषयलाई समेटिएको बालकथा प्रकाशित भएको छ– हाम्रो कुरा पनि सुन्नुस्।

आन्विका गिरीले लेखेको यस कथा संग्रहमा सातवटा बालकथाहरु छन्। कथाहरु बालबालिकाको दैनिक सरोकारका विषयमा लेखिएका छन्। उनीरुको पनि आफ्नै भोगाइ हुन्छन्। आफ्नै किसिमको बुझाइ हुन्छ। वस्तु र व्यवहारप्रति आफ्नै क्षमता अनुसारको धारणा हुन्छ। यस्तै कुरालाई विशेषतः अभिभावकहरुले ख्याल राख्नुपर्छ र उनीहरुलाई पनि छलफलहरुमा मुख्य सदस्यका रुपमा स्वीकार गर्नुपर्छ भन्ने आशय संग्रहका हरेक कथाहरुमा पाइन्छ।

ठूला मान्छेले ख्याल नै नगरेको घटना, व्यवहार, विषयमा बालबालिकाले कसरी धारणा बनाउने रहेछन् भन्ने बुझ्न पुस्तकले सघाउँछ। पुस्तक पढ्दा गर्दा साना नानीबाबुहरु हाम्रै अघिल्तिर नाचिरहेका, खेलिरहेका, उफ्रिरहेका प्रतीत हुन्छ। उनीहरुका अनन्त जिज्ञासा, चकचक, उपद्रव सबै महसुस हुन्छ।

Saturday, July 22, 2017

वन्दना ढकालको चर्चित ब्लग

(सम्भवतः) यो ब्लग लेखिनुमा, विवादित हुनुमा र नेपाल खबरको साइटबाट हटाइनुमा सरला गौतम (जसलाई यो ब्लगमा सम्बोधन गरिएको छ)का विगतका दुईवटा ब्लग पनि जोडिन्छन्। सामाजिक सञ्जालमा पनि त्यसै कोणबाट चर्चा भएका छन्।  त्यसैले पनि ढकालको ब्लग पढ्नुअघि गौतमका यी दुई ब्लग पढ्न अनुरोध छः 

मिल्काइदेऊ नाथे डर

मिल्काइदेऊ नाथे ढोंग-२

......................................................
एक नाथे सरला, दुई नाथे वन्दना
वन्दना ढकाल

प्रिये सरली!

यो सम्बोधन मेरो होइन, नारायण अमृत दाइको हो। यो पनि त्यही जमघटमा सुनेको हो। साँझको पहिलो भेटको केही घण्टे बसाइँमा सरली भनुँ, सरले भनुँ वा सरलाजी भनुँ? धत्, सम्बोधन नै औपचारिकतामा चेपिन थाल्यो। खैर छोडौँ, प्रिये नै ठोकिदिएँ, तिमी नै भनेँ र नाथे औपचारिकता मिल्काइदिएँ, लजा!

आधाभन्दा बढी सहभागी हिँडिसकेपछि घर जान मैले पटकपटक घडी हेरिरहँदा तिमीले नै भन्यौः मरेपछि खरानी– के चिन्ता लिने, बसम्, खाम्, रमाइलो गरम्।

हुन त रमाइलोको त्यसदिनको मुख्य चरण सकेर सुस्ताउँदा मात्रै मेरा नजर घडीतिर नजर हुन्। रातको साढे दश भइसकेको थियो। मलाई पनि अझ रमाइलो गर्ने मन थियो तर छ वर्ष ननाघेको छोराले आँखा मिच्न थालिसकेको थियो। मस्तीको एक डोज पुगेर ज्यान सोफातिर पसारिएको थियो। मन चंख नै भए’नि ज्यान असिनपसिन भइसकेको थियो। धेरै सहभागी बाटो लाइसकेका थिए। तिमी भने आभास दाइसँग भनिरहेकै थियौ– मरेपछि खरानी!

हो त मरेपछि खरानी नै हो। तर ‘मरेपछि खरानी’ भन्ने जान्दाजान्दै पनि रमाइलो गर्न खोज्ने हाम्रा महिला दिदीबहिनीहरू हामी जस्तै स्वतन्त्र होलान् त! तिम्रै ‘खरानी’ शब्दले बारम्बार कोट्याइरह्यो। हामी मुड्स रेस्टुराँमा केटाहरूसँग उफ्रीउफ्री नाचिरहँदा कति दिदीबहिनीहरू घरमा जुठा भाँडा धस्काउँदै हुँदा हुन्, बच्चाका थाङ्ना स्याहार्दै हुँदा हुन्, वा लोग्नेको बिस्तारामा समर्पणको नाटक गर्दै हुँदा हुन् वा दिनभरिको हिसाबकिताबमा व्यस्त हुँदा हुन्! कति दिदीबहिनी भोलि कुन चाहिँ साहुको घर ढलानमा जाने वा कुन कामको ठेक्कावाललाई पकड्ने भनेर योजना बनाउँदै हुँदा हुन्। अरब, इजरायल वा युरोप पुगेका कति दिदीबहिनी नेपालतिर लोग्ने र छोराछोरीसँग कुरा गर्न म्यासेन्जर र भाइबरमा हरियो बत्तीको पर्खाइमा पनि हुँदा हुन्। असारको महिना, गाउँघरतिरका कति आमा–दिदीबहिनीहरू दिनभरि ढाड कुप्रने गरी रोपाइँमा निहुरेर फेरि साँझ चुलोमा आगो आफै ठोस्दै हुँदा हुन्!

Friday, July 14, 2017

गणतन्त्रको अनुहारमा जनताको प्रतिबिम्ब

किशोर दहाल

राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि भन्दै सरकारसँग १६ करोड रुपैयाँ मागेको खबरले यो हप्ताभर बहसको सिर्जना गर्‍यो। यद्यपि, समाचारमा आएजस्तो घटना एकपक्षीय मात्रै नरहेको तथ्य पनि सार्वजनिक भइसकेको छ। तर, यसले विशिष्ट पदाधिकारीहरुको नाममा हुनसक्ने अनियन्त्रित खर्चबारे भने सचेत बनाउन सघाएको छ। १६ करोडको प्रसङ्ग असान्दर्भिक भए पनि सोही प्रवृत्तिमा हाम्रो विगत उत्साहजनक भने छैन। गणतन्त्र आगमनको खुसी साट्न नपाउँदै नेपालजस्तो आर्थिक रुपले गरिब मुलुकका प्रमुखहरुको प्राथमिकतामा किन जनताको प्रतिबिम्ब भेटिन्न ? यहाँ यसैबारे चर्चा गरिनेछ ।

राष्ट्रपति वा सो कार्यालयले देखाएको असुहाउँदा महत्वाकांक्षा बेलाबखत सार्वजनिक हुने गरेका छन् । विरोध पनि हुने गरेको छ । तर, जनताको विरोधलाई गम्भीरतापूर्वक लिने, सच्याउने र नदोहोर्‍याउने पुरानो बानी गणतन्त्रमा पनि जिवितै छ ।

विलासिताको साधन प्रयोगमा मात्रै होइन; संवैधानिक मर्म विपरित कार्यकारी बन्ने महत्वाकांक्षा पनि सार्वजनिक भएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवको पालामा यो चाहना अलि बढी मुखरित भएको थियो । २०६६ बैशाख १४ गते नागरिक आन्दोलनका अगुवाहरु देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी लगायतका १६ जनाको टोलीसँगको भेटघाटमा राष्ट्रपति यादवले सोधेका थिए, ‘म सेरेमोनियल हुँ भन्ने संविधानमा कहाँ लेख्या छ ?’ यादवको यो प्रश्नलाई ती अगुवाहरुले सार्वजनिक गरिदिएका थिए । यादवको अभिव्यक्तिले नै शीतल निवासले श्रीपेच खोजिरहेको शंका पहिलोपटक सघन बनेको थियो । त्यसपछि पनि राष्ट्रपति यादवमाथि पटकपटक ‘गेम चेन्जर’ हुन खोजेको आरोप लागिरह्यो । कार्यकालभरी उनलाई फरकफरक पार्टीले ‘सक्रिय हुन नखोज्न’ सचेत गराइरहे ।