Pages

Friday, November 13, 2020

बालुवाटारका काला जुँगा संखुवासभामा सेतो!

नेकपामा विवाद बढ्दै गएको थियो। पार्टी सचिवालयको बैठक बस्नुपर्ने माग पनि बढ्दै थियो। केपी ओलीले बेवास्ता गरिरहेका थिए। बैठकका लागि उनले रुची देखाएका थिएनन्। दबाबका लागि सचिवालयका बहुमत सदस्यहरु  प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले कात्तिक २१, २०७७ मा पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक राखे। बहुमत सदस्यको सो बैठकले सचिवालयको बैठकका लागि ओलीलाई भेटेरै आग्रह गर्ने निर्णय गर्‍यो।

भोलिपल्ट (कात्तिक २२ गते) सचिवालयका ती सदस्यहरुले बिहानै धुम्बाराहीमा भेटे। छलफल गरे। र, ओलीलाई बुझाउने पत्र तयार पारेर बालुवाटार पुगे। पत्र बुझाएपछि दुई पक्षले मनमुटाव पनि गरे।

आफू अल्पमतमा परेपछि ओलीले बहुमतको गठबन्धन भत्काउने  प्रयास गर्नु अनौठो होइन। सोही रणनीतिका साथ उनले कात्तिक २३ गते माधव नेपाललाई बालुवाटार बोलाए। नेपाल भने आफू पक्षका नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्तलाई लिएर पालुवाटार पुगे। त्यहाँ ओलीले नेपाललाई पार्टी एकता बचाउनुपर्ने, पूर्व एमाले मिल्नुपर्ने जस्ता कुरा गरे। महाधिवेशनपछि अध्यक्ष वा चुनावपछि प्रधानमन्त्री  जस्ता लोभ पनि देखाए।

यी त भए सामान्य कुरा।

Saturday, November 7, 2020

प्रधानमन्त्रीको सदाबहार सूत्र-अप्ठ्यारोमा परेपछि राजीनामाको फन्डा

किशोर दहाल

बिहीबार, कात्तिक २०, २०७७, ११:२२

काठमाडौं- 'तपाईंहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो।'

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भनेका कुरा हो, यो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जबजब विवाद बढ्छ, प्रधानमन्त्री ओलीको आलोचना सुरु हुन्छ, उनको निर्णय र कार्यशैलीमाथि प्रश्न उठ्छ, तबतब उनीबाट यस्तै अभिव्यक्ति सार्वजनिक हुने गरेको छ। आफ्नो संकटलाई उनले पटकपटक राजीनामा मागिएको विषयसँग जोड्ने र विवादलाई विषयान्तर गर्ने गरेका छन्। त्यसका लागि उनले पार्टीका सहयात्रीदेखि छिमेकी मुलुकसम्मलाई जोड्ने गरेका छन्।

डा गोविन्द केसी : एक अटुट शृंखला

किशोर दहाल

बिहीबार, कात्तिक १३, २०७७, ०७:१५

गत असोज २४ गते राति (२५ गते बिहान) ८ बुँदे सहमति भएसँगै डा गोविन्द केसीले आफ्नो ४ हप्ते लामो अनसन अन्त्य गरे। उनी भदौ २९ गतेदेखि अनसनरत थिए। ८ वर्षयता १९ पटक अनसन बसेका डा केसीको पछिल्लो अनसन सबैभन्दा लामो २८ दिनको रह्यो। त्यसअघि २०७५ असार–साउनको १५औं अनसन २७ दिनसम्म चलेको थियो।

२०६९ असार २१ बाट अनसन सुरु गरेका डा केसीले अनसनमै २५७ दिन बिताइसकेका छन्। यो भनेको एकमुष्टमा साढे ८ महिना हो। त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहँदा उनले चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग चाहिँ २०६६ देखि नै उठाउन थालेका हुन्। सुरुवातमा उनले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका विकृति र विसंगति रोक्न ज्ञापनपत्र बुझाउने, सरकारका पदाधिकारीसँग छलफल गर्ने लगायतका काम गरे। तर यस्ता प्रयासले सफलता नपाएपछि उनले अनसनको उपाय रोजेका हुन्।

आफ्नो सादगीपूर्ण जीवनशैलीबाट प्राप्त नैतिक बल, आम मानिससँग जोडिएको तर विकृतिले भरिपूर्ण क्षेत्रमा सुधारको चाहना र प्रतिष्ठित व्यक्तिहरुको समर्थनले गर्दा डा केसीको अनसन सधैं चर्चामा रहिरह्यो। कतिपय अनसन उनले बीचमै स्थगित गर्नुपरे तापनि बाँकी अनसनमा उनले जीत हासिल गरे। सरकारलाई झुकाए।

डा केसी सधैं आफ्ना मागहरुप्रति प्रतिबद्ध रहे। सुधारको चाहनाबाहेक अरु स्वार्थ राखेनन्। त्यसैले उनले आफ्ना अनसनका बेला सरकारको नेतृत्वमा को छ र कुन पार्टीको व्यक्ति छ भन्ने विषयलाई महत्व दिएनन्। उनले आफ्नो माग राखे, त्यसमै केन्द्रित भए। यदाकदा उनलाई अमुक पार्टीसँग जोड्ने प्रयास गरिन्छ। तर ती पार्टीहरु डा केसीको अनसन खोज्दै गएका हुन्, डा केसी आफैं पार्टी खोज्दै गएका होइनन्। यसबीचमा उनी माओवादी, एमाले, कांग्रेस र नेकपा नेतृत्वको सरकार हुँदा मात्रै होइन, प्रधानन्यायाधीशले मन्त्रिपरिषद्को नेतृत्व गर्दा समेत अनसन बसेका छन्।

ओली–गोयल भेट नेकपाले पाएको मतको अपमान हो : डा उद्धव प्याकुरेल [अन्तर्वार्ता]

किशोर दहाल

शुक्रबार, कात्तिक ७, २०७७, २२:२२

भारतीय गुप्तचर संस्था 'रिसर्च एण्ड एनालाइसिस विङ' का प्रमुख सामन्तकुमार गोयल केही दिनअघि नेपाल आएर फर्किए। उनका अन्य भेटबारे प्रष्ट नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट भने पुष्टि भएको छ। बुधबार भएको भेटबारे प्रधानमन्त्रीको सचिवालयको तर्फबाट प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्- 'भेटका क्रममा उहाँ (गोयल) ले नेपाल-भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो।'

तर यो भेटलाई लिएर नेपालमा निकै चर्चा भएको छ। विभिन्न पार्टीका नेतादेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मले प्रधानमन्त्रीको आलोचना गरेका छन्। कतिपयले प्रधानमन्त्रीको बचाउ गरेता पनि त्यो आवाज व्यक्त गर्ने समूह सानो छ। आलोचना गर्नेहरूले प्रधानमन्त्रीले प्रोटोकल ख्याल नगरेको, प्रधानमन्त्री निवास बालुवाटारमै विदेशी गुप्तचर निकायका प्रमुखलाई प्रवेश दिएको, गोप्य छलफल गरेको, राष्ट्रवादी देखिएर भोट पाए पनि अन्ततः आफ्नो असली रूप देखाएको लगायतका आरोप लगाएका छन्।

यसै सन्दर्भमा नेपाल-भारत सम्बन्धका जानकार उद्धव प्याकुरेलसँग नेपाल लाइभका लागि किशोर दहालले कुराकानी गरेका छन्: