Pages

Saturday, June 24, 2017

राजपाले गुमाएको अवसर

- किशोर दहाल
 
दोस्रो चरणको स्थानीय चुनावमा उत्साहसाथ भएको उम्मेदवारीले दिएको एउटा सन्देश हो– मधेसकै परिस्थिति एकतर्फी रूपमा राजपापक्षीय छैन । झन् राजपाकै नेताहरू पनि स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रेको र अन्य चुनावपक्षीय दलमा प्रवेश गरेको समाचारले मधेसको चुनावी चाहनालाई थप प्रस्ट पारिदिएको छ । यसले राजपालाई आहत बनाएको बुझ्न सकिन्छ । त्यसैले राजपाका नेताहरू सरकार र उपेन्द्र यादवप्रति कडा सुनिन थालेका छन् । जे होस्, पछिल्लो घटनाक्रमले मधेसमा चुनावको वैधता र सहज सम्पन्नतामाथि थोरै शंका र बढी हौसला प्रवाह गरेको छ ।

असन्तुष्टिको अर्थ
 
मधेसमा चलेको आन्दोलनको मुख्य माग संविधान संशोधन थियो । किनभने संविधानले दोस्रो जनआन्दोलन, मधेस आन्दोलन लगायतका अन्य आन्दोलनका म्यान्डेटलाई सही रूपमा दस्तावेजीकरण गर्न सकेन । र ‘नयाँ नेपाल’ले जुन खालको आशा र चित्र वितरण गरेको थियो, त्यसप्रति न्याय गर्न सकेन । अन्य मुद्दामा जस्तै मधेसको सवालमा पनि नयाँ संविधान अन्तरिम संविधानभन्दा पछि हटेको देखियो । अघिल्लो राज्यव्यवस्थामा जुन वर्ग सुरक्षित थिए, निर्णय प्रक्रियामा प्रभाव राख्थे र जसको वरपर सम्पूर्ण राज्यव्यवस्था घुम्थ्यो, नयाँ संविधान पनि रङ्गीचङ्गी भाषामा उस्तै भएर आयो । मधेसको असन्तुष्टिले नै संविधानका कमजोरीलाई सबैले बुझ्ने भाषामा सडकमा ल्याइदिएको हो । यो कमजोरीलाई स्वयं ठूला दलका ठूला नेताले पनि स्वीकार गरिसकेको तथ्य हो । र त्यसलाई आगामी दिनमा संशोधनमार्फत सच्याउन उनीहरूले सार्वजनिक रूपमै प्रतिबद्धता गरेका हुन् । उनीहरूको त्यो प्रतिबद्धता आन्दोलनरत मोर्चा र आफ्नै दलभित्रका मधेसी नेताहरूप्रति लक्षित थियो । यसरी थामथुम नगरिएको भए अहिलेको नब्बे प्रतिशतवाला रटान पनि सम्भव हुने थिएन । त्यसैले संविधानप्रति असन्तुष्टि र असहमति खास सङ्ख्याको मात्रै सवाल नभएर एउटा क्षेत्र र समुदायको असन्तुष्टि हो ।

Wednesday, June 21, 2017

समस्या पन्छाउन सिपालु हामी


किशोर दहाल
असार २ गते सामाजिक सञ्जाललाई तताउने मूख्य खबर थियोरिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी । यस समाचारबारेका रोचक व्यङ्ग्य र आक्रोशसँगसँगै अरु दुईवटा खबरले सञ्जालमा राम्रै स्थान लिएको थियो । ती थिएएसईईको नतिजा सार्बजनिक र राजपाले असार १४ को चुनाव पनि बिधोल्ने निर्णय गरेको समाचार ।


ती तीनवटै खबर फरक फरक क्षेत्रका हुन् तर एउटा अनौठौ समानताको शिकार भएका पाइन्छ । जुन हाम्रो समस्या पन्छाउने बानीसँग सम्बन्धित छ । त्यो कसरी त ? त्यसैबारे छलफल गरौ ।


मोटरसाइकलबारे


यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको रिङरोडमा मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउनका लागि छलफल थालेको र यसको मुख्य कारणचाहिँ सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदुषण कम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा स्वच्छ सहर बनाउन भन्ने समाचारमा उल्लेख छ ।


Tuesday, June 20, 2017

'गाईकाे निबन्ध' लेख्नेहरू


किशोर दहाल

खगेन्द्र संग्रौलाको निबन्ध सङ्ग्रह ‘सम्झनाका कुइनेटाहरू’को पाँचौं संस्करणको बाहिरी पातोमा ‘युवा नेता’ गगन थापाको भनाइ छ (अघिल्ला संस्करणमा पनि हुनसक्छ, तर मसँग उपलब्ध छैन), जहाँ उनले भनेका छन्–

मैले अक्षर नचिनेकाहरूको पीडा कस्तो हुँदोरहेछ भन्ने कुरा खगेन्द्र संग्रौलाका लेखबाट चिन्ने र जान्ने मौका पाएँ।

जमिनदार हजुरबुबाको जमिनदार नाति बन्ने मेरो रहरलाई खगेन्द्र संग्रौलाका कुराले ध्वस्त पारिदिए। उहाँको लेखले मलाई कहिले संरचनाको पिँधमा पारिएका महिलाहरूसँग हिमचिम गरायो, कहिले दलित, मधेसी, कमैया, ठेलिएका जाति त कहिले पेलिएका अल्पसंख्यक भाषी बन्न सिकायो। मेरा निम्ति मेरो परिवारले, मेरा गुरूकुलले निर्माण गरिदिएका परिचयहरू पनि उहाँका लेखले पालैपालो ध्वस्त गरिदिए, मेरो परिचयलाई म आफैभित्र बिलिन गराइदिए र मैले आफैभित्र आफ्नो परिचय खोज्न थालेँ।
...
‘खगेन्द्र संग्रौलाको काँध’ शीर्षकको कवितामा विनोदविक्रम केसीको एक अंश यस्तो छः

तिमीसँग एक झिल्को मात्र भए पनि
एजेन्डा छ भने उज्यालोको
तम्तयार छ बोक्न तिमीलाई
खगेन्द्र संग्रौलको एक थान काँध।
...
खासमा खगेन्द्र संग्रौला को हुन् भनेर बुझ्न यी दुई उद्धरण उपयोगी छन्। यद्यपि, उनको लेखनलाई सकारात्मक मूल्याङ्कन मात्रै गरिनुपर्छ भन्ने होइन, तर उनको लेखन क्षमतालाई थापाको प्रतिक्रिया र उनको विचारको निरन्तरतालाई केसीको कविताले धेरै हदसम्म पुष्टि गर्छ।

Tuesday, June 13, 2017

झिंगे दाउमा अल्झिएका प्रचण्ड

किशोर दहाल

जिन्दगीमा सानातिना उद्देश्यमा अल्झिनुहुँदैन भन्ने उदाहरण दिनका लागि प्रचण्ड एउटा उपयुक्त पात्र हुन् । छबिलालदेखि प्रचण्डसम्मको यात्रा, जनयुद्धको नेतृत्वकर्ता र पछिल्ला राजनीतिक उपलब्धीहरु तथा दुईदुई पटकको प्रधानमन्त्रीको जिम्मेबारीले उनको व्यापक उद्देश्यलाई पछ्याउने स्वभावलाई पुष्टि गर्छ । सानातिना उद्देश्यमा नअल्झने उनको स्वभावले नै उनलाई अहिलेको राजनीतिक उथलपुथलको नेतृत्वकर्ताको रुपमा उभ्याइदियो ।

केही कमजोरीका बाबजुद पनि प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले धेरै सकारात्मक सन्देश नै प्रवाह गरेको छ । त्यसले माओवादी र प्रचण्डका अघिल्ला दिनका भूमिकालाई सहज तुल्याउने मार्ग खोलिदिएको छ । टुक्रिएर गएका दलहरुले आफ्नो प्रभाव देखाउन नसकिरहेको बेलामा माओवादीको यस किसिमको जब्बर उपस्थितिले प्रचण्डलाई नेपाली राजनीतिले अरु केही वर्ष किङमेकरको रुपमा स्वीकार गरिरहनेछ भन्ने स्वीकार्न उनका विरोधीहरु पनि बाध्य छन् ।

गौरवपूर्ण इतिहास र एउटा ‘सफल’ सरकारको नेतृत्व गरेका तथा आगामी दिनमा पनि राजनीतिको केन्द्रमा रहने उनै प्रचण्ड भरतपुर महानगरपालिकाको मेयर पदको चुनावमा भने लज्जास्पद रुपमा मुछिए । माओवादी पार्टीका नाममा भरतपुरमा जे जे भए, ती सबैले प्रचण्डलाई थप बदनामीको खुड्किला चढाइरहेका छन् । पुत्री रेणुको जबर्जस्त ‘विजय’का लागि उनले घोषित वा अघोषित, बोलेर वा नबोलेर र चाहना राखेर वा दबाब दिएर जस्तो वातावरणको सहजीकरण गर्न खोजे त्यसले उनलाई घाटा नै पुगेको छ । उनको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा पुनः शंका गर्न थालिएको छ ।

रेणु दाहाललाई प्रचण्डबाट अलग्याएर हेर्दा भरतपुर महानगरपालिकाको मेयर पदमा उनको उम्मेदवारी अस्वभाविक थिएन । उनी पहिलो संविधानसभाको सदस्य, दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ कि उम्मेदवार र पार्टीमा २०५३ सालदेखि सक्रिय रहेकी उनी हल्ला गरिएजस्तो एकैपटक राजनीतिमा उदाएकी थिइनन् । तर, उनको उम्मेदवारीलाई प्रचण्डबाट अलग्याएर हेर्न नसकिने बाध्यता हामीसामू छ ।

Sunday, June 11, 2017

मिडिया उपयोगको सुशीला संस्करण

किशाेर दहाल /

एकजना युवा थिए– दिल निशानी मगर । पूर्वमाओवादी कार्यकर्ता । सेतोपाटीमा नियमित आर्टिकल लेख्थे । र, उनको लेखनको मूल केन्द्र हुन्थ्यो– प्रचण्ड र उनी नेतृत्वको माओवादी पार्टीको आलोचना । आन्तरिक कारण जे होला; तर हामी पाठकले बुझेका कुरा– जब उनीसँग माओवादी नेतृत्वलाई खुइल्याउन सघाउ पु¥याउने सूचना सकिए, गालीहरु र आरोपहरु पुनरावृत हुन थाले, त्यसपछि सेतोपाटीका ढोका उनका लागि बन्द भयो । जनयुद्धमा लडेका र माओवादीको पछिल्लो स्थितिप्रति असन्तुष्ट पूर्व छापामारको उपयोग सेतोपाटीले मज्जैले गर्यो‍ ।

अर्का लेखक थिए– पुस्कर गौतम । उनी हिमाल खबरमा लेख्थे । माओवादीलाई खुइल्याउँनु उनको पनि लेखकीय विशेषता थियो । तर, जब उनी पनि रित्तो हुँदै गए, उनका पनि दिन सुखद रहेन । प्रहरीले उनलाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोग (जुन मुद्दाकै कारण बालकृष्ण ढुङ्गेल फरार छन्) पक्राउ गर्दा उज्यालो ९० नेटवर्कमा प्रकाशित समाचार यहाँ जोडौं– युद्धकालमै असहमति राखेर ... पार्टी  छोडेपछि हिमाल खबर पत्रिकालगायतका पत्रपत्रिकामा लेख लेखेर चर्चा कमाएका गौतम तीन वर्ष बेलायत बसेर फर्किएका थिए ।

व्यक्तिप्रति, पार्टीप्रति, आन्दोलनप्रति सीमित सूचना र बढी आक्रोश भएका पात्रलाई निश्चित समयसम्म उपयोग गर्न सहज हुन्छ मिडियालाई । ती ‘लेखक’ आफ्नो निरन्तरको लेखन क्षमता वा विचार निर्माणबारे बोध हुँदैन । परन्तु केही सूचना र बढी आवेग हुन्छ । पाठकको ध्यान तान्न त्यस्ता सूचना उपयोगी पनि हुन्छन् । त्यसो त, कडा शब्दमा गाली गर्नु हाम्रो समाजमा आँट र साहसको बिम्ब बन्दै गएको पनि छ । अर्कोतिर प्रतिष्ठित मिडिया हाउसले त्यस्ता लेखकलाई उपयोगको समयसम्म सुरक्षा र लेखकीय प्रभावको भ्रम पनि सिर्जना गरिदिन्छन् । जसले व्यक्तिलाई आफ्नो नक्कली हैसियतको टाकुरामा पु¥याइदिन्छ । त्यसो त, मिडियाको गलत नियतको बारेमा कमैले मात्रै थाहा पाउँछन् । र , झन् कमैले असन्तुष्टि पोख्छन् वा त्यसबारे सचेत बन्छन् । त्यसैले त उपयोगको रणनीतिमा फरकफरक पात्रहरु फरकफरक समयमा ‘मुर्गा’ बनिरहन्छन् ।

Thursday, June 1, 2017

नयाँ 'कोतपर्व' लाई मान्यता दिनु हुँदैन

बाबुराम भट्टरा

०५८ जेठ १९ गते नेपाली इतिहासमा अर्को एउटा “कोतपर्व” घट्यो । राजा वीरेन्द्र सहित राजपरिवारका प्राय: सबै सदस्यहरुको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य–तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका–उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । “पाप धुरीबाट कराउँछ” भनेझैं त्यस घटनबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ । तर यतिबेला सरकारी सूत्रहरु र तिनका विदेशी मालिकहरुबाट जुन कुराहरु प्रचारमा ल्याइएको छ, त्यसलाई पत्याउन नेपाली जनता पटक्कै तयार छैनन् । खासगरी जुन ढंगले “प्रेम प्रसङग” र “दुर्घटना” को प्रायोजित सिद्धान्त प्रचारमा ल्याएर त्यसभित्रको गम्भीर राजनीतिक षडयन्त्रलाई ढाकछोप गर्ने प्रयास सत्तापक्षबाट भइरहेछ, त्यसले नै शङकाको सुई उनीहरुतिरै फर्काइरहेको छ र नेपाली जनताको सत्य–तथ्य बुझ्ने अधिकारलाई अरु बल पुर्‍याइरहेको छ । त्यसैले घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ “कोतपर्व” का खलनायकहरुलाई बेनकाव गर्न यतिवेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरुले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ ।

किन रोजियो ‘लास्टमा मःम’ ?

किशोर दहाल 

साझा पार्टी गठन गरेपछि चैतको अन्तिमतिर पोखरामा आयोजित एउटा कार्यक्रममा आफ्नो साथीको फेसबुक स्टाटसलाई जोड्दै रवीन्द्र मिश्रले भनेका थिए‘नेपाली मतदाताको बानी के छ भने रेस्टुरामा गएर मेनु हेर्यो, हेर्यो, हेर्यो र लास्टमा मःम मगाएजस्तै सबै पार्टीहरू हेर्यो, हेर्यो, हेर्यो अनि मेरा बाजेबराजुले, मेरा बुबाले कसलाई भोट खसालेका थिए भन्दै उसैलाई भोट खसाल्यो । अब त्यसै गर्नुभयो भने यो देशमा राजनीतिज्ञहरू खराब होइनन्, मतदान गर्ने जनता खराब हुन् भन्नुपर्ने हुन्छ ।’

मिश्रले भनेजस्तै अन्ततः अधिकांश मतदाताले ‘मःम’मै स्वस्तिक छाप लगाइदिए र आफू ‘खराब’ नै भएको सूचना दिए । र, मिश्रलाई एउटा नयाँ सन्देश सुनाए— मःमलाई खराब भन्नुबाहेक नयाँ खाजाको विशिष्ट पहिचान खुलेन । यसलाई यसरी पनि भन्न सकिन्छ, वैकल्पिक र नयाँ भनिने पार्टीहरूले पनि आफ्नो विशिष्ट पहिचान प्रस्तुत गर्न सकेनन् । त्यसैले पुराना पार्टी नै रोजाइमा परे । यद्यपि, उनीहरूले प्राप्त गरेको सम्मानजनक मतले गर्ने संकेतलाई भुल्नु भने हुँदैन ।

पुराना पार्टीको जितको आधार

मतदाताले नयाँ पार्टीलाई झ्याप्पै विश्वास गर्न अथवा परीक्षण गर्नका लागि ठूलै उथलपुथल आवश्यक हुन्छ । कि जोडतोडसाथ नयाँ मुद्दा र फरक मुद्दाको उठान भएको हुनुपर्छ । जस्तै, पहिलो संविधानसभामा माओवादी र मधेसकेन्द्रित दलहरूको उदय । कारण, यी दुईमध्ये पहिलो युद्ध र दोस्रो आन्दोलनबाट उदाएका थिए । थप बलियो पक्ष यिनीहरूसँग आफ्नो विशिष्ट मुद्दा थियो, जुन अहिलेको नयाँ दलको उदयको आशासँग मेल खाँदैन ।
तर, यसबाहेक निर्वाचन जित्नका लागि स्थायी जनमत चाहिन्छ । त्यो दलीय संगठनका रूपमा क्रियाशील भइरहेको हुन्छ । स्थापित पार्टीको संगठन निर्माण र निरन्तरताको केही फरक–फरक अनुभव भए पनि तिनको समानताचाहिँ स्थानीय स्थायी संगठन नै हो । केन्द्रमा जतिसुकै गडबडी वा अलोकप्रियता छाएको अवस्थामा पनि स्थानीयस्तरमा संगठनले पार्टीलाई जिउँदो बनाइराख्छ । चलायमान बनाइराख्छ।