Pages

Sunday, February 4, 2018

कांग्रेस बैठक : सभापतिको जोड राष्ट्रियसभा निर्वाचनमा, सदस्य भन्छन्- चुनावी समीक्षा गरौं

नेतृत्व हरेक कुरामा स्वच्छेचारी भयो : चन्द्र भण्डारी

किशोर दहाल

२o७४ माघ ४ बिहीबार| प्रकाशित १७:५२:oo

काठमाडौं– कांग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी अधिकांश सदस्यले चुनावी हारका विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरुले चुनावी समीक्षा गरेर सभापतिले त्यसको जिम्मेवारी लिनुपर्ने माग गरेका हुन्। साथै, विधानअनुसार पार्टी चल्नुपर्ने माग पनि उठिरहेको छ।

बालुवाटारमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले भने अर्को बैठक बसेर चुनावी हारको विषयमा लामो छलफल र बहस गरिने भएकाले यसपटक भने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी चयन र तयारीमा केन्द्रित हुन सदस्यहरुलाई आग्रह गरेका थिए।

तर, पार्टीका युवा नेताहरुले चुनावी समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। बैठकमा नवीन्द्रराज जोशीले चुनावका नाममा भएका तमाम कमजोरीलाई समीक्षा नगरी अगाडि बढ्न नसक्ने बताएका थिए। सडकबाट टिपेर ल्याएर भागबण्डा गरिएकाले अहिलेको अवस्था आएको उनले आरोप लगाए। 'अब पनि विधान विपरीत काम भए पार्टी टिकाउन सकिन्न,' जोशीले भने।


बैठक राष्ट्रियसभा निर्वाचनको विषयमा छलफलका लागि बोलाइए पनि चुनावी समीक्षा भइरहेको नेता प्रदीप पौडेलले बताए।

नेताहरुको सहमतिमा कार्य सम्पादन समिति र संसदीय समितिमा विधान विपरीत बढी सदस्य राखिएकोमा पनि केन्द्रीय सदस्यहरुले आलोचना गरेका थिए। उनीहरुले त्यस्ता समिति भंग गर्न सभापति देउवालाई आग्रह गरेका थिए। 'नेताहरु मिल्दैमा मनपरी गर्न नपाइने कुरा हामीहरुले उठाइरहेका छौं', नेता धनराज गुरुङले भने।

संसदीय समितिमा रहेका अर्जुननरसिंह केसीले टिकट वितरणमा नै गल्ती भएको बताएका थिए। 'प्रत्यक्ष तर्फको टिकट वितरणमा म आफू पनि सहभागी छु', केसीले बैठकमा भने, 'समानुपातिकतर्फ मलाई केही थाहा छैन, निर्णयको म्याइन्युट दिनुस्, नोट अफ डिसेन्ट लेख्छु भनेको थिएँ मानिएन।'

चुनावबारे समग्र समीक्षाको आवश्यकता भएको नेता केसीले बताए। 'एकले अर्कोलाई दोष थुपारेर मात्रै हामीले मुक्ति पाउँदैनौं, सबैभन्दा ठूलो दोष सभापतिको हो', बैठकमा केसीले भने, 'यसलाई निर्मम मिमांशा गरेर नयाँ बाटो निकालौं।'

केसीले पार्टी गिरोहले चलाएको आरोप समेत लगाए। 'पार्टी गुटबाट मात्रै होइन, गिरोहबाट सञ्चालन भयो', केसीले भने। उनले पार्टीलाई विधिसंगत र पारदर्शी ढंगले अगाडि लैजानुपर्नेमा जोड दिए।

चुनावी हारका विषयमा गम्भीर छलफल हुनै बाँकी भएको गुरुङले बताए। 'राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने भनिए पनि साथीहरुले चुनावी समीक्षाका विषयमा बोलिरहनुभएको छ', उनले भने।

केही नेताले चुनावमा अन्तर्घात पनि पराजयको कारण भएकाले त्यसप्रति छलफल र विश्लेषण गर्नुपर्ने बताएका थिए।

अर्का सदस्य चन्द्र भण्डारीले पार्टी विधिविधान अनुसार नचलेर राजनीतिक भ्रष्टाचार गरिएको आरोप लगाए। उनले कार्यसम्पादन समिति र संसदीय समिति असफल भएको धारणा राखे। समितिमा रहेका नेताहरुको नीति र टिकट वितरण दुवै असफल भएको उनले आरोप लगाए। 'त्यसैले उहाँहरुले चलाउन सक्नुहुन्न', भण्डारीले बैठकमा आफूले राखेका धारणा नेपाल लाइभलाई बताए।

नेतृत्व हरेक कुरामा स्वच्छेचारी भएको भण्डारीको आरोप छ। 'पदहरुलाई कमोडिटी बनाइएको छ', उनले भने।

चुनावी हारको विषय बैठकमा उठ्ने अनुमानका साथ सभापति देउवाले सुरुमै चुनावी विषयलाई पन्छाउने प्रयास गरेका थिए।

चुनावको कुरा उठाउन थालेपछि देउवाले कल्याण गुरुङलाई रोकेका थिए।

देउवापछि बोल्ने सदस्यहरुले भने पार्टी विधान विपरित चलेको, आन्तरिक लोकतन्त्र नभएको, टिकट वितरणमा मनपरी भएको र फलस्वरुप चुनावी हार व्यहोर्नुपरेको भन्दै सभापतिको कार्यशैलीको आलोचना गरेका थिए।

'पार्टी सभापतिको राजीनामा चाहिँ मागिएन, बाँकी सबै कुरा भएका छन्', बैठकमा सहभागी एक नेताले भने।

देउवा पक्षीय नेताहरुले भने पार्टी नेतृत्व भनेको व्यक्ति मात्रै नभए केन्द्रीय समितिसमेत भएकाले चुनावी हारमा सबैले सामूहिक जिम्मेवारी लिनुपर्ने बताएका थिए।

केन्द्रीय सदस्य दीपक गिरीले बुधबार सरकारले घोषणा गरेको प्रदेशको अस्थायी राजधानीको विषयमा असन्तुष्टि पोखेका थिए। प्रदेश ३ को अस्थायी राजधानी हेटौंडालाई तोकिएमा कांग्रेसभित्र असन्तुष्टि देखिएको छ।

सुरुमै बोलेका सभापति देउवाले संविधान निर्माणमा नेतृत्व गरेको कांग्रेसकै नेतृत्वमा चुनाव पनि भएकाले सबैलाई बधाइ दिएका थिए। उनले निकट समयमा महासमिति बैठक बस्ने जानकारी गराए।

कांग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। चुनावपछि पहिलोपटक कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको हो।

http://nepallive.com/news-details/11896/2018-01-18 

No comments:

Post a Comment