Pages

Friday, December 28, 2018

गगनले सोधे– सदनमा पटकपटक मेरो माइक किन काटिन्छ?

२o७५ पौष १३ शुक्रबार| प्रकाशित १६:४३:oo

काठमाडौं– प्रनितिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बोल्न दिइएको समयभन्दा अघि नै माइक काटिएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपत्ति प्रकट गरेका छन्।

‘मलाई पार्टीले ४ मिनेट छुट्याएको थियो। तर, सभामुखले ३ मिनेट समय दिएर बोलाउनु भयो। तर समयभन्दा अघि नै माइक काटियो, यसमा मेरो आपत्ति छ’, सांसद थापाले भने, ‘यसअघि पनि यस्तो भएको छ, यसपटक पनि भयो, यो के भइरहेको छ मैले बुझिरहेको छैन। पटकपटक माइक किन काटिन्छ?’

कांग्रेस नेता तथा सांसद थापाले आफूलाई बोल्न दिइएको समयअघि नै माइक काटिएको बताएपछि हामीले सदनको भिडियो रेकर्ड हेर्‍यौं।

शुक्रबारको संसद् बैठकमा थापा १ बजेर २४ मिनेट २० सेकेन्डदेखि बोल्न सुरु गरेका रहेछन्। १ बजेर २६ मिनेट ५३ सेकेन्ड हुँदा उनको माइक काटिएको रहेछ।

सभामुख महराले सांसद थापालाई दिएको समयभन्दा अघि माइक काटिएपछि थापाले आफ्नो दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई यसबारे जानकारी गराएका थिए। कांग्रेस सचेतक खाँडले सभामुखलाई समय घटाउने र बढाउने अधिकार नहुने भन्दै यसबारे सदनमै आपत्ति जनाएका छन्।

पत्रकारलाई खुवाइने खाजाको मूल्य कति? सञ्चारमन्त्रीको जवाफ– खुद्रे कुरा भयो

किशोर दहाल

२o७५ पौष १२ बिहीबार| प्रकाशित १७:२५:oo

काठमाडौं– लोकतन्त्रपछि मन्त्रिपरिषद्को निर्णयहरु संक्षेपमा सुनेर सम्प्रेषण गर्ने बानी लागेका पत्रकारहलाई गत कात्तिक २५ गते राति सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अचम्मित तुल्याइदिए।

सोही राति अबेर सकिएको मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका पत्रकारहरुलाई उनले भने– 'आवश्यक निर्णयहरु गरिएको छ र समय क्रममा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ।'

निर्णयहरु तत्काल नसुनाउनका लागि उनले खुलाएका कारण यस्तो थियो– 'पत्रकारहरुलाई चिया पनि खुवाउन नपाइने अवस्था भयो। स्थानको अभाव भयो। कहिले बालुवाटार, कहिले सिंहदरबार जुनसुकै अवस्थामा पनि बस्नुपर्ने। यहाँहरुका लागि सुविधा होस् भनेर सूचना सम्प्रेषणमा एकरुपता दिन नयाँ प्रयोग गर्ने तयारी गरेका हौं।'

आइतबार रातिको यो घटनापछि त्यही बिहीबार उनले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर निर्णयहरु सुनाए। त्यसयता हरेक बिहीबार पत्रकार सम्मेलन गरेर निर्णयहरु सुनाइने गरिएको छ।

बैठक टार्दै महन्थ ठाकुर


२o७५ पौष १० मंगलबार| प्रकाशित १८:३१:oo

काठमाडौं– मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको राष्ट्रिय जनता पार्टीको बैठक अन्तिम समयमा स्थगित भयो। बैठक अन्तिम समयमा स्थगित हुनुको कारण बताइयो, महन्थ ठाकुरको स्वास्थ्य। तर यसैगरी अन्तिम समयमा बैठक स्थगित भएको यो पहिलो पटक होइन। राजपामा संयोजक परिवर्तन भएपछि पटकपटक भइसकेको छ।

यसरी बैठक बस्नै नसक्ने स्थिति आउनुलाई महतो पक्षका नेताहरु भने ठाकुरको असन्तुष्टिलाई जोडेर प्रतिक्रिया दिने गरेका छन्। ठाकुर र उनी पक्षका नेताहरुले संयोजक परिवर्तनलाई स्भाविक रुपमा लिन नसक्दा पार्टीमा गम्भीर बैठक नै हुन नसकेको महतो पक्षका नेताहरुले तर्क छ। 'खासमा ठाकुरलाई संयोजकबाट हट्नुपरेकोमा निकै ठूलो पीडा छ', एक नेता भन्छन्, 'उहाँले सहज रुपमा लिनै सक्नुभएको छैन।'

पार्टी बैठकको 'लाइभ कास्ट' सम्भव छ?

एमालेमै छलफल भएको विषय

किशोर दहाल

२o७५ पौष ९ सोमबार| प्रकाशित १९:३१:oo

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा 'लाइभ कास्ट'को विषयले प्रवेश पाएको छ।

पुस ६ गतेको बैठकमा लिलामणि पोखरेलले बैठकको 'लाइभ कास्ट'को कुरा उठाएका थिए। भोलिपल्टको बैठकमा अर्का नेता विष्णु पौडेलले उनको कुरामा समर्थन जनाएका थिए। लिखित प्रतिवेदनमा 'बैठकमा मिडिया प्रवेशको अनुमति' अन्तर्गत उनले लाइभ कास्ट गरौं भन्ने कमरेड लिलामणि पोखरेलको भनाइप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्।

केन्द्रीय सदस्य विष्णु रिजालले पनि पौडेलको प्रस्ताव तत्काल कार्यान्वयनको माग गरेका छन्। फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्– 'नेकपा स्थायी समिति बैठकमा महासचिव विष्णु पौडेलले भन्नुभएछ, ‘पार्टीका बैठकमा मिडियालाई प्रवेशको अनुमति दिऔं। त्यसो गर्दा वक्ता जिम्मेवार भएर बोल्छ र बोलेका कुरा पनि तोडमरोड नभएर सार्वजनिक हुन्छन्।’ यो प्रस्ताव शीघ्र कार्यान्वयन होस्।'

'बैठकमा को कता फर्केर बोल्यो, कुन औंला कता ठड्यायो र कोतिर आँखा तर्‍यो भन्ने रिठ्ठो नबिराई बाहिर आउँछ भने मिडियाकर्मीलाई सीधै पहुँच किन नदिने', प्रश्न गर्दै उनले भनेका छन्, 'बहस गरौं।'
व्यवहारिक रुपमै 'लाइभ कास्ट' सम्भव छ त?

पार्टी महासचिव समेत रहेका पौडेल भन्छन्– सम्भव छ।

स्थायी समितिमा झलनाथको टिप्पणी– जनताको जनवादको युग सकियो

२o७५ पौष ७ शनिबार| प्रकाशित १३:४८:oo

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जनताको जनवादलाई न्युनतम कार्यक्रम बनाउनुको औचित्य नभएको बताएका छन्।

पार्टीको जारी स्थायी समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै नेता खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको आलोचना गरेका हुन्।

'प्रतिवेदनले वैज्ञानिक समाजवादलाई अधिकतम कार्यक्रम भनेको छ। समाजवाद र साम्यवाद दुवै हो, एउटा मात्रै हो भन्न मिल्दैन', खनालको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'प्रतिवेदनले न्युनतम कार्यक्रम जनताको जनवाद भनेको छ। जनताको जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, जनताको बहुदलीय जनवादको युग सकियो। फेरि जनताको जनवादलाई न्युनतम कार्यक्रम बनाउनुको औचित्य छैन।'


Saturday, December 22, 2018

स्थायी समितिले सचिवालयलाई सिकाउला सबक?

किशोर दहाल

२o७५ मङ्सिर २९ शनिबार| प्रकाशित ११:oo:oo

काठमाडौं– लामो समयदेखि स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठक शनिबार दिउँसो बस्दैछ। विधानमा तीन महिनामा एक पटक बस्नुपर्ने भनिएको बैठक सचिवालयको बेवास्ताका कारण बस्न सकिरहेको थिएन।

गत २२ गते चार सचिवालय सदस्यहरुले बैठक नै बहिस्कार गरेपछि बाँकी पाँच सदस्यले २९ गतेका लागि बैठक बोलाएका थिए। यद्यपि, यो बैठक पनि स्वभाविक चाहनाभन्दा पनि बैठक बहिस्कार गर्ने नेताहरुले आफू निकटका स्थायी समिति सदस्यहरुको छुट्टै बैठक बोलाउने तयारीको संकेत पाएपछि यो बैठक बोलाइएको समाचारहरु सार्वजनिक भइसकेका छन्।

लामो समयपछि बस्न थालेको बैठक महत्त्वपूर्ण होला भन्ने अपेक्षा लिएको स्थायी समिति सदस्य भीम रावल बताउँछन्। 'स्थायी समिति बैठक बस्नुपर्छ भनेर स्थायी समितिका अधिकांश सदस्यले माग गर्दै आएका र छलफलका विविध विषयहरु सतहमा आएकाले स्थायी समिति बैठक महत्त्वपूर्ण हुनसक्ने अपेक्षा छ', उनले भने।

Friday, December 14, 2018

डा कुमुद, जो 'मृत मुटु' झिकेर नयाँ जीवन दिन्छन्

किशोर दहाल

२o७५ मङ्सिर २६ बुधबार| प्रकाशित १३:५७:oo

काठमाडौं– ‘सबै कुरा ठिक भएपछि मात्रै कुनै काम गर्छु भनेर बस्यो भने त कहिल्यै सफल भइँदैन।’

डाक्टर कुमुद धिताल चार वर्षअघि ‘सर्कुलेटरी डेथ’ (धड्किन छाडेको) मुटुलाई पुनः चलाएर अर्को व्यक्तिमा प्रत्यारोपण गर्दैगर्दा आफ्नो मनमा खेलेको कुरा सुनाउँदै थिए। यसअघि ब्रेनमात्रै मृत्यु भएका व्यक्तिको चलिरहेको जिउँदो मुटु प्रत्यारोपण गरिएको भए पनि यसपटक भने उनको टिमले नयाँ प्रयोग गर्दै थियो। ठूलो सफलताको मुखमा उभिएको थियो, डा धिताल र उनको समूह।

‘प्रत्यारोपण गर्ने भनिएको मुटु हेरेँ, खासै राम्रो छैन। बिरामीलाई प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने भइरह्यो। मनमा डर र आँट दुवै खेलिरहेका थिए,’ चिकित्सकीय प्रयोगको त्यो अद्भूत क्षणबारे उनलाई अझै सम्झना छ, ‘सफल भइएन भने मेरो करिअरलाई नै नोक्सान पुर्‍याउँछ भन्ने पनि लाग्यो। फेरि सोचेँ– यत्रा मुटु हेरिसकेको छु, यो त ठिकै होला। दस वर्षपछि यही विधिबाटै मुटु प्रत्यारोपण गर्न सकिने रहेछ भन्ने पत्ता लाग्यो भने मलाई अहिले त्यही काम नगरेकोमा कति विस्मात होला? दुई घन्टासम्म यस्तै सोचिरहेँ। अनि आँट गरेँ।’

सबै चिज तयार नै थियो। उनीहरुको टिम अघि बढ्यो। सफल पनि भयो। त्यसपछि उनले खुट्टा बजारे। साथीसँग खुसी साटे।

बिरामी व्यक्ति, जसको मृत्यु भइसकेको थियो। उसको शरीरमा चल्न छाडिसकेको मुटुलाई निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको खबरबारे सन् २०१४ को अक्टोबर महिनाको अन्तिमतिर मात्रै संसारले थाहा पायो। डाक्टर धितालसहित उनको टिमले अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा यो सफलता दर्ज गराएको थियो। नयाँ प्रयोगमा अस्पताल नै सशंकित थियो। जसले गर्दा पहिलो सफलता हासिल गरेको तीन महिनापछि र तेस्रो सफलता पनि हासिल गरेपछि मात्रै बाहिर यो कुरा भन्यो, पत्रकार सम्मेलनमार्फत। नेपाली मूलका व्यक्तिको नेतृत्वमा यो सफलतालाई कतिपयले चमत्कार नै भएको बताए।

Thursday, December 6, 2018

बुद्धिजीवीप्रति ओलीको निरन्तर आक्रोश : मुसाको संज्ञादेखि थला पार्ने चेतावनीसम्म

'सो कल्ड' बुद्धिजीवी अरुले खुवाइदिएको ट्याब्लेटले बोल्ने हुन्'

किशोर दहाल

२o७५ मङ्सिर २० बिहीबार| प्रकाशित १३:३८:oo

काठमाडौं– अहिले तातो बहसको विषय बनेको छ– विकास र समृद्धि। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बाहकको रुपमा प्रस्तुत गर्न थालेको पनि धेरै भयो। तर, उनले सोचेको वा बुझेको विषयमा अन्यले प्रश्न उठाउनेबित्तिकै क्षुब्ध हुने गरेका छन्। सामान्यदेखि विशिष्ट कार्यक्रममा समेत व्यक्ति-व्यक्तिको प्रश्न र आलोचनाको टिप्पणी गर्छन्। आफ्नो जवाफ फर्काउँछन्। त्यसका लागि उनी उखान, टुक्का, चुट्किला तथा छोटा कथाहरुको समेत सहायता लिन्छन्।

संसारका अन्य देशमा प्रधानमन्त्रीले सायदै बुद्धिजीवीहरुलाई सिधासिधा चेतावनी दिन्छन्। तर, नेपालमा यो सम्भव छ।

यहाँका प्रधानमन्त्री नै भन्न सक्छन्, 'म जवाफ दिएर थला पार्न चाहन्नँ।'

इसाइवादी सम्मेलनले सिर्जना गर्‍यो नेकपाभित्र कम्पन

किशोर दहाल

२o७५ मङ्सिर १८ मंगलबार| प्रकाशित १८:o३:oo

सरकारले निकै प्राथमिकता दिएको 'एशिया प्यासिफिक समिट' सकिए पनि त्यसका चर्चा सेलाइसकेको छैन। धर्म परिवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रममा व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी ओली, सरकार र पार्टीको भूमिकालाई लिएर आलोचना भइरहेको छ। आलोचनाका केन्द्रमा भने प्रधानमन्त्री ओली नै छन्।

प्रधानमन्त्रीको आलोचना अस्वभाविक थिएन। खासमा उनका पछिल्ला कदमहरुले नै उनलाई अलोकप्रिय बनाउँदै लगेका थिए। सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रमका अवसरमा गरिएको तामझाम तथा निर्मलाका निम्ति न्याय माग्दै टाँसिएका पोस्टरहरु च्यात्ने कदमहरुले पछिल्लो समय सरकारको आलोचना बढिरहेको थियो।

यस्तै अवस्थाबीच सुरु भएको थियो, समिट।

महतो नेतृत्वको राजपाको प्राथमिकता कता?

किशोर दहाल

२o७५ मङ्सिर ९ आइतबार| प्रकाशित o४:२७:o७

काठमाडौं- नेतृत्व परिवर्तनसँगै राजपाको रणनीति पनि परिवर्तन हुने आशंका अस्वभाविक होइन। नयाँ संयोजक बनाइएका राजेन्द्र महतोले नाकाबन्दीका बेला दिएका कडा अभिव्यक्तिका कारण काठमाडौंमा आलोचित थिए। उनै महतोलाई संयोजक चुनेपछि राजपाले नयाँ बाटो हिँड्न लागेको हो कि भन्ने धेरैलाई लागेको छ।

त्यसो त राजपामा संयोजक परिवर्तन कुनै अनौठो कुरा थिएन। कारण, ०७४ बैशाखमै ६ पार्टी मिलाएर राजपा बनाउँदा नै दुईदुई महिनामा संयोजक परिवर्तन हुने गरी चक्रिय प्रणाली अपनाउने सहमति भएको थियो। तर महन्थ ठाकुरलाई नै निरन्तरता दिइयो। उनी डेढ वर्ष संयोजक भए।

त्यसैले पनि अहिलेको संयोजक परिवर्तन पूर्व सहमति अनुसार नै भएको राजपाको नेताहरुको अभिव्यक्ति छ। उनीहरु विगतमा अभ्यासमा नरहेको तर स्वभाविक परिवर्तन मान्छन्।

जनयुद्धका नेतृत्वमा त्रास यथावत्

किशोर दहाल

२o७५ मङ्सिर ५ बुधबार| प्रकाशित १६:५५:११

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित युद्ध समाप्त भएको १२ वर्ष पुगिसकेको छ। रोल्पामा समातेको बन्दुक छाडेर सिंहदरबारको हिस्सा उपभोग गरिरहेका त्यस युद्धका नेतृत्वकर्तालाई भने विगतको प्रतिच्छायाले सताउन छाडेको छैन।

युद्धका नेतृत्वकर्तामा रहेको डर बेलाबेलामा उनीहरुकै मुखबाट अभिव्यक्त भइरहेको पाइन्छ। फरकफरक समूहमा सक्रिय भएको किन नहोस्, त्रास भने साझा छ– विगतको युद्धको बदलामा कुनै अदालतबाट दोषी ठहर त हुनुपर्ने हो कि!

निरन्तर त्रास
त्यसो त त्रासको श्रृंखला नयाँ होइन। विस्तृत शान्ति सम्झौता नहुँदैदेखि युद्धका नेतृत्वकर्ता प्रचण्डले आफूलाई असुरक्षा रहेको संकेत गर्न थालेका हुन्। उनले भनेका पनि थिए– मदन भण्डारी नबनाइदेलान् भन्ने के ग्यारेन्टी?

शान्ति प्रक्रियाको उकालो ओरालोमा प्रचण्डले आफूलाई सुरक्षा खतरा रहेको बताउन छाडेका छैनन्। खतराको स्रोत कहिले बाह्य शक्ति त कहिले पूर्व सहयात्रीसम्मलाई औंल्याउने गरेका छन्। दुनियाँको नजर परेको संघर्षबाट आएको नेतालाई सुरक्षा खतरा हुनु स्वभाविक पनि हो। त्यो विगतमा पनि थियो। भविष्यमा पनि रहन्छ।

नेपाल कम्युनिस्ट पार्टी (भद्रगोलवादी)

किशोर दहाल

२o७५ मङ्सिर ४ मंगलबार| प्रकाशित १२:४३:१४

काठमाडौं- एकतापछि कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक र बाह्य चरित्र कस्तो बन्दैछ? सांगठनिक र नेतृत्वगत कोणबाट मात्र नभएर सरकार तथा पार्टीको सम्बन्ध कुन दिशामा गइरहेको छ भन्ने प्रश्न तल्लो तहका कार्यकर्तासम्म चासो र चर्चाको विषय बनिरहेको छ।

त्यसका लागि एकता अघिको  पृष्ठभूमि चर्चा हुनु बान्छनीय छ। 

माओवादी केन्द्रसँग एकता हुनुअघि एमालेको संगठन अन्य पार्टीभन्दा निकै चुस्त मानिन्थ्यो। बेलाबेलामा बैठक बसिरहन्थ्यो, नेताहरु बढी अन्तर्क्रियात्मक थिए।  निर्णयहरु सार्वजनिक भइरहन्थे। समसामयिक विषयमा पार्टीको धारणाको अभाव हुँदैनथ्यो। प्राय नेताहरुले जिम्मेवारी पाएका थिए। ती व्यस्त रहन्थे।

अर्कोतर्फ माओवादी केन्द्रमा भने बैठक र बहस अपवाद जस्तो थियो। कमैमात्र बैठक बस्ने सो पार्टीमा अध्यक्ष प्रचण्ड नै हाबी थिए। उनको धारणा नै पार्टीको धारणा हुने गरेको थियो। एकप्रकारले नेतृत्व निर्देशितको अवस्था सो पार्टीमा थियो।

एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व माओवादीको कार्यशैली पछ्यायो। बैठकमा विचार मन्थन भएर खोजी गरिएको बाटो भन्दा पनि अध्यक्षद्वयले आफ्नो सुविधा अनुसार देखाएको बाटोमा अहिले नेकपा हिँडिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बेलाबखतमा भन्ने गरेको ‘अर्का अध्यक्ष केपी ओलीसँग कुराकानी यस विषयमा भइसकेको छ’ भन्ने वाक्यले पार्टी कुन पद्धतिबाट चलिरहेको छ भन्ने प्रष्ट पार्छ।

पुराना कमिटी, जिम्मेवारी, उत्तरदायित्व, छलफल पद्धति आदिजस्ता कुराहरु विघटित भइसकेको र नयाँ पद्धितको सुरुवात नभइसकेको संक्रमणकालीन अवस्थामा रहेको नेकपाभित्र अनेक किसिमका भद्रगोल देखिन थालेका छन्।

प्रकाश नहुँदा प्रचण्ड परिवारको एक वर्ष

किशोर दहाल

२o७५ मङ्सिर ३ सोमबार| प्रकाशित ११:१५:५o

काठमाडौं– ‘मलाई छोराभन्दा पनि एउटा सहयोगी र एउटा साथी गुमेको जस्तो लागिरहन्छ। प्रकाशले मलाई राम्ररी बुझेको थियो’, प्रकाश पिता तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकटहरुको जमघटमा पटक पटक भन्ने गरेका छन्, ‘कतिपय कुरामा ऊ परिपक्व हुँदै थियो। तर छोडेर गयो।’

पुत्र प्रकाशका प्रसङ्गहरुमा प्रचण्ड भावुक हुन्छन् र सम्हालिन्छन्। सार्वजनिक कार्यक्रमहरुमा पनि उनको भाव भंगीमा देखिएकै हो। खासगरी प्रचण्ड पत्नी सीता दाहालको अनियन्त्रित उद्वेलनका कारण कार्यक्रमहरुमा प्रचण्ड अरु बढी नियन्त्रित जस्तो देखिन्छन्। उनलाई थाहा छ, उनी पुत्र गुमाएका पिता मात्र होइनन्, यो देशका नेता पनि हुन्।

अघिल्लो वर्ष सम्पूर्ण देश चुनावी संघारमा रहेका बेला प्रचण्डलाई पुत्र शोक परेको थियो। उनी चुनावी अभियानमा झापामा रहेका बेला काठमाडौंमा प्रकाशको निधन भएको थियो। उनको निधनले परिवारलाई परेको असरबारे दिदी गंगा दाहालले सोमबार बिहान फेसबुमा लेखिन्– तिमी बिनाको यो एक बर्ष हाम्रो लागि कहालीलाग्दो पलपल तिम्रो सम्झनामा बिते। तिमी बिनाको परिवार अधुरो छ भाइ।

भाँडियो पूर्व पञ्चहरुको एकता, सिद्धान्त मिलाउनभन्दा नेता व्यवस्थापन गर्न कठिन

किशोर दहाल

२o७५ कार्तिक २५ आइतबार| प्रकाशित १३:५१:३३

काठमाडौं– पूर्व पञ्चहरुको पार्टी राप्रपा, राप्रपा प्रजातान्त्रिक तथा एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रक्रिया तत्काललाई रोकिएको नेताहरुले बताएका छन्।

यी तीन पार्टी, एकताको अन्तिम चरणमा रहेको बताइए पनि त्यसमा लामो समयसम्मका लागि शंशय पैदा भएको उनीहरुको तर्क छ।

आइतबार राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई भेटेका थिए। त्यसपछि उनले आफ्नो पार्टीका केन्द्रीय सदस्यलाई भेटबारे ब्रिफिङ गरेका थिए। ‘अध्यक्ष कमल थापाले मिलिसकेको विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो’, बैठकमा सहभागी एक नेताले भने, ‘बैठककै बीचमा पनि थापा पशुपति शमशेरसँग टेलिफोनमा कुराकानी गरिरहनुभएको थियो।’

थापाले बैठकमा ब्रिफिङ गरेअनुसार राप्रपा प्रजातान्त्रिकको अनावश्यक अस्पष्टताले एकता प्रक्रिया तत्काललाई रोकिएको छ। ‘सैद्धान्तिक विषय मिलिसकेको थियो। महाधिवेशनको डकुमेन्टलाई आधार मानेर एकता गर्ने सहमति भइसकेको थियो’, एकता भाँडिनुअघिसम्मको अवस्थाबारे ती नेताले बताए।

सेनाको सूचीका ‘भारतीय एजेन्ट’

सरोजराज अधिकारी

काठमाडौं– नेपाली सेनाले तयार पारेको नेपाली ‘भारतीय एजेन्ट’मा पूर्वप्रधानमन्त्रीदेखि कवि र गायकसम्मका नाम समेटिएका छन्।

नेपाल लाइभले प्राप्त गरेको उक्त दस्ताबेजमा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, सूर्यबहादुर थापासम्मलाई ‘भारतीय एजेन्ट’का रुपमा औंल्याइएको छ। बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको भने सूचीमा नाम छैन।

सूचीमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, रामवरण यादव, विमलेन्द्र निधि, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रदीप गिरी, मोहनबहादुर बस्नेत, अर्जुननरसिंह केसी, रमेश लेखक, मोहमद अफताव आलम लगायतको नाम समावेश छ।

त्यसैगरी, एमालेबाट वामदेव गौतम, सुवास नेम्वाङ, भरतमोहन अधिकारी, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, शंकर पोखरेल, रवीन्द्र अधिकारी, राजेन्द्र पाण्डेलगायत नेताको नाम छ। पञ्चायत पृष्ठभूमिका कमल थापा, दिपक बोहोरा लगायतको पनि नाम समेटिएको छ।

तराई मधेसका नेताहरु विजयकुमार गच्छदार, बद्रीप्रसाद मण्डल, जयप्रकाशप्रसाद गुप्ता, मृगेन्द्रप्रसाद सिंह, पदमनारायण चौधरी, राजेन्द्र महत्तो, रामेश्वर राय यादव, महेन्द्र यादव, विमल श्रीवास्तव, सर्वेन्द्रनाथ शुक्ला, हृदयेश त्रिपाठी, रामजनम चौधरीलगायतको नाम छ।

सैनिक सूचीमा विभिन्न पेशाकर्मीको नाम पनि उल्लेख छ। पत्रकारमा चन्द्र भण्डारी झापा, हरिभक्त शर्मा संखुवासभा, रेवतीरमण सुवेदी भोजपुर, केदार सुवेदी भोजपुर, हरि घिमिरे धनकुटा, शशीशरण झा धनुषा, हरिहर विरही, शम्भु श्रेष्ठ, गोपाल थपलिया, चन्द्रलाल झालगायतको नाम छ।

यस्तो थियो मन्त्री छँदा पद्मरत्न तुलाधरले दिएको गाईबारे विवादित अभिव्यक्ति

किशोर दहाल

२o७५ कार्तिक १८ आइतबार| प्रकाशित १६:४o:२२
काठमाडौं– मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको आइतबार अपराह्न नर्भिक अस्पतालमा निधन भयो।

उनी केही दिन अघिदेखि अस्पताल भर्ना भएका थिए। सुरुमा माइतीघरमा अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका तुलाधरलाई पछि नर्भिकमा रिफर गरिएको थियो।

भाषा आन्दोलनबाट उदाएका मानवअधिकारवादी नेता तुलाधर ०५१ मंसिरमा गठन भएको तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री भएका थिए।

मन्त्री भएकै बेला उनी एउटा अभिव्यक्तिलाई लिएर चर्को आलोचनामा फसे। गाईबारे उनले बाराको कलैयामा २०५१ फागुनमा अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिप्रति व्यापक मतमतान्तर भए। उनका पुत्ला जलाइए। राजीनामा मागिए। विरोधमा बन्द घोषणा पनि गरिए। तर, जसरी प्रचारित भइरहेको छ, आफूले त्यस्तो नबोलेको तुलाधरले बताइरहे।

सिपले होइन, आँटले गाडी कुदाइन्छ उपल्लो मुस्ताङमा

किशोर दहाल

२o७५ कार्तिक १७ शनिबार| प्रकाशित ११:२७:४१

साँझको साढे ६ बजे निकै अध्याँरो भइसकेको थियो। दिनभरजसो देखिएका मुस्ताङका सेता हिमाल ओझेल परिसकेका थिए। पाखो खोस्रेर बनाइएको मुक्तिनाथ-कागबेनी सडकमा बहने चिसो सिरेटोले मुटु नै कमाउँथ्यो। चिसैले हुनुपर्छ, स्थानीयवासी घरबाहिर खासै देखिँदैनथे।

गत कात्तिक ५ गते मुक्तिनाथको चहलपहलाई उतै बिसाएर हामी यो सडक खण्डको ११ किलोमिटर दुरी हिँडेरै पार गर्दै थियौं। बाटो पिच भएकाले हिँड्न गाह्रो थिएन। तर, साँझको समय त्यो लामो लामै दुरी हो। करिब दुई किलोमिटर ओरालो झरेपछि हामीले स्थानीय हिँड्ने गोरेटो बाटो छोटो हुन सक्ने महसुस गर्‍यौं। र, सडकछेउकै एउटा घरअघि उभिएका एक अधबैंसे पुरुषलाई त्यसबारे सोध्यौं।

उनले उत्तर दिएनन्। बरु प्रश्नै सोधे, 'घर कहाँ?'

हामी मुस्ताङ घुम्न आएको र अहिलेचाहिँ यो सडकखण्ड हिँडेरै पार गर्न आँटेको थाहा पाएपछि उनी झनै कडा सुनिए, 'रात परिसक्यो। अर्काको देशमा जे पनि हुन सक्छ। बाटामा कसैले लुटपाट गर्‍यो भने के हुन्छ? मारेर फालिदियो भने के हुन्छ? दिमाग छैन?'

उनी रिसाउनु वा खुसाउनुले हाम्रो बाध्यता कम हुँदैनथ्यो। कागबेनीसम्मको दुरी छोटिने कुरै थिएन।

हामी उनलाई छाडेर अघि बढ्यौं। तर उनी पनि हामीसँगै केहीबेर ‌ओरालो झरे। रिसाए पनि बाटो देखाइदिन आए होलान् भन्ने लाग्यो। हामीले स्थानीय सम्झिएका उनी त टुरिस्ट गाइड पो रहेछन्। उनका भरियाहरु तोकिएको समयमा आइनपुगेकाले अघि सडक छेउमा बसेर कुरिरहेका रहेछन्।