Pages

Tuesday, March 7, 2017

इटहरी, सप्तरी र दुर्गति

किशोर दहाल

१५ महिनाअघिको इटहरी घटना सम्झौं ।

२०७२ साल मंसिर ११ गते । आन्दाेलनरत संयुक्त मधेसी मोर्चाले सुनसरीको इटहरीमा आयोजना गर्ने भनिएको आमसभाको तयारी स्वरुप निर्माण गरएको मञ्चमा आगो लगाएर तोडफोड गरियो । र, त्यो तोडफोड स्थानीयबासीले गरेको भनिए पनि मञ्च बिथोल्नेमा अधिकांश एमाले, कांग्रेस र माओवादीका कार्यकर्ता प्रयोग भएका थिए । अझ, तत्कालिन सरकारको नेतृत्वकर्ता दल एमालेका कार्यकर्ता बिशेष सक्रियताका साथ सहभागी भएका थिए ।

र, त्यतिबेलै एउटा घोषणा पनि गरियो– नेपालको राष्ट्रिय अस्मितामाथि धावा बोलेर भारतको पक्षमा वकालत गरेकाले फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महत्तोलाई इटहरी प्रवेशमा रोक लगाइएको छ ।

मञ्चबाट अाफ्नाे कुरा भन्ने साहस जुटाएका मधेस केन्द्रित दलका नेताहरूलाई मञ्च प्रयाेग गर्न मात्रै नभइ इटहरी प्रवेशमै रोक लगाउने दुस्साहस गरियो ।

एमालेको ‘मेची–महाकाली राष्ट्रिय अभियान २०७३’ लागि मधेसी मोर्चाले उही इटहरी प्रवृत्तिलाई सप्तरीमा दोहो¥याउन खोज्यो । जुन घटनाक्रम केही दिनयता चर्चामा छ ।

...

समयक्रमसँगै मधेस केन्द्रित दलहरुले संघर्षका स्वरुप परिवर्तन गरे । ६ महिना लामो बन्द र आन्दोलन तथा ४ महिना लामो नाकाबन्दी अन्त्य भयो । तर, राजनीतिका अर्का खेलाडी खड्गप्रसाद ओलीका तीखा शब्दहरु अन्त्य भएनन् । उनले मधेसी नेतृत्वलाई नेपाली ठान्नै सकेनन् । बरु भनिरहे– छिमेकीले अह्राएका चार जनालाई मन परेन भन्दैमा संविधान संशोधन हुँदैन । एमालेका अन्य नेताका भनाइ पनि ओलीका भन्दा कम छैनन् । समस्याको आगोमा एमाले नेताहरु निरन्तर घिउ थपिरहेका छन् । र, घिउ थप्ने सिलसिलाकै पछिल्लो अभियान हो, मेची–महाकाली अभियान ।

यहींनेर भनिहाल्नुपर्ने कुरा के छ भने एमाले, बीमाले, सीमाले जोसुकै होस्, नेपालका राजनीतिक दलहरुले नेपालकै जुनसुकै भूभागमा आफ्ना कार्यक्रमहरु गर्न पाउँछन् । त्यसमा पनि चुनाव नजिकिँदै गएको समय छ र एमाले हौसिएको बेला पनि छ । त्यसकारण मोर्चाले ‘इटहरी स्टाइल’मा जसरी एमालेको सभालाई बिथोल्ने नीति अख्तियार ग¥यो, त्यो गलत थियो । जसरी एमालेलगायतले मञ्चन गरेको इटहरी घटना गलत थियो । 

एमालेले आफ्ना भद्र भाषणहरुबाट मधेसकै पनि मन जितेर चुनाव जित्छ भने सबैले स्वीकार गर्नुपर्छ । (यद्यपि भद्र भाषण अहिलेलाई कोरा कल्पना जस्तै हो ।)

तर, एमालेको अभियानले केही प्रश्न जन्माउँछन् । 

आन्दोलनको मुडमा नरहेको अहिलेको मधेसलाई वार्ता र सहमतिमार्फत चुनावमा लैजान पहल गर्न जिम्मेवार बन्नुपर्ने बेलामा एमालेको अहिलेको अभियान केका लागि थियो ? तर्कका आधारमा एमालेको अभियान गलत भन्न मिल्दैन, तर त्यो सही समयमा भइरहेको थियो त ? भन्ने प्रश्न भने उब्जिन्छ । आन्दोलनको मनस्थितमा नरहेको शान्तप्रायः देखिएको र संविधान संशोधनतिर आशातित नजर लगाइरहेको मधेसलाई मधेसमै पुगेर कुनै हालतमा संशोधन हुन दिन्नौं भन्ने खालका आशय सुनाउनुको अभिप्राय के हो त ? 

मधेस केन्द्रित दलहरु पनि चुनावमा जाने वातावरण बनाएपछि सबैले आआफ्नो कार्यक्रम लिएर जनतामा जाँदा पक्कै ढिला हुने थिएन । दोस्रो ठूलो दलको यो जिम्मेवारी पनि हो । भुसभित्रको आगो सल्किएजस्तै देशभित्र अनेकथरि आगो सल्किरहेछ, देश भित्रभित्रै जलिरहेछ, एमाले बेपरवाह बाँसुरी बजाएर हिँड्न सुहाउँछ ?

एमालेको बाँसुरी बजाइले के भयो त ? शान्त मधेसमा फेरि उही दुष्चक्रहरु सुरु भए । निहुँ खोजिरहेकाहरुलाई निहुँ भयो । द्वन्द्व चाहनेलाई द्वन्द्व, बन्द चाहनेलाई बन्द । सुरक्षित अवतरण खोजिरहेको मधेसी मोर्चालाई फेरि उही पुरानै बाटोमा हिँडाउने अप्रत्यक्ष प्रयत्न भयो । चुनाव झनै बढी अनिश्चित भयो । के कसैले जित्यो ?

काठमाडौंमा मधेसका खबरहरु बाङ्गीएर आउँछन् । त्यसकारण, मूलधारका मिडियामा प्रकाशित, प्रशारित समाचारमा निर्भर रहेर धारणा बनाउनु आत्मघाती हुन्छ । तर, टाउको र छातीमा गोली लागेपछि, त्यसको जस्टिफाई गर्न सकिन्न, गर्नु हुँदैन पनि । त्यो अतिवाद हो । र, अतिवादले अर्को अतिवादकै खोजी गर्छ । बुझ्न जरुरी छ– ‘आँप झारेर’ शान्तिको गीत गाउँछु भन्नु दिवास्वप्न मात्रै हो । 

मधेसमा गोलीहरु किन संयमित हुँदैनन् ? काठमाडौंमा पानीको फोहोरा र अश्रु ग्यासले नियन्त्रण गरिने भीडहरु मधेसका निम्ति यो विधि किन प्रयोग गरिँदैनन् ? सुर्खेतमा मान्छे नमारीकन सुनुवाही हुने माग मधेसका हकमा किन सुनुवाही हुँदैन ? त्यसभित्रका अन्तर्य कहाँकहाँ जोडिएका छन् । त्यसको खोजी हुँदै गर्ला । अहिले अनुमान गरौं । चिन्तन गरौं ।

सर्बप्रथम ओलीले बुझ्नुपर्छ– मधेस समस्या ‘माखेसाङ्लो’ होइन, समाधानउन्मुख खुला हृदयले समस्या समाधान सम्भव छ । र, मोर्चाले पनि बुझ्नुपर्छ– पहिलो प्राथमिकताको मुद्दा सम्बोधन गराएर बाँकीका निम्ति निरन्तर संघर्ष गरिरहनुपर्छ । त्यसको लागि वार्ता र बार्गेनिङ नै सुरक्षित बाटो हो ।

...

अन्त्यमा, फेसबुक साथी राकेश यादवको फेसबुक स्टाटसलाई जोडौं । उनले लेखेका छन्– अब उप्रान्त म सीके राउतको बिरोध गर्दिनँ ! 

अचम्म के छ भने, यादवका त्यो स्टाटसमा कमेन्ट गर्नेहरु सबैले उनलाई धन्यवाद दिएका छन् । 

सीके राउतको लाइन गलत हो । त्यसले निरन्तर अशान्ति र हिंसाको मार्ग खोल्छ । तर, सप्तरी र समग्र मधेसको जनतालाई सीके राउतको लाइनमा जानबाट रोक्ने शासकसँग कुनै अस्त्र छ ? 

twitter: @kishu_gb123

यो पनि पढ्नुहाेस्ः  सम्बन्ध विच्छेद भयो भने...

No comments:

Post a Comment