Pages

Friday, June 10, 2022

नीति तथा कार्यक्रम जेठ ७ मा : अप्ठ्यारोमा राष्ट्रपति र एमाले

नेपाल लाइभ

बिहीबार, वैशाख २९, २०७९, १९:३१

काठमाडौं-  राष्ट्रपतिले संघीय संसद्को वर्षे अधिवेशन यही जेठ ३ गतेका लागि आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को जेठ २५ को सिफारिस अनुसार राष्ट्रपतिले जेठ ३ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। यो अधिवेशन मूलतः नीति तथा कार्यक्रम र बजेट प्रस्तुतमा केन्द्रित हुनेछ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को बैठकमा राष्ट्रपतिले पेश गर्ने व्यवस्था छ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्‌मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनको भनाइ छ। 

एमालेले विगतका दुई वटा संसद् अधिवेशनभर गरेको विरोधका कारण नीति तथा कार्यक्रम पेश गर्ने दिन संसद् भवनको दृश्य कस्तो होला भन्ने अन्याेल छ। किनकि, नेकपा एमालेले गत भदौ-कात्तिक र मंसिर-चैतमा प्रतिनिधि सभामा सक्रिय अवरोध गरेको थियो। राष्ट्रिय सभामा भने विरोधमात्रै जनाएको थियो। आगामी अधिवेशनको सन्दर्भमा एमालेको रणनीतिबारे नयाँ धारणा सार्वजनिक भएको छैन।

Tuesday, May 10, 2022

ओली अभिव्यक्ति : 'भौतिकवादी' स्कुलिङको 'अलच्छिन' अवतार

किशोर दहाल

सोमबार, वैशाख २६, २०७९, २०:३२

काठमाडौं- 'नेकपा एमाले सरकारमा गएपछि पैसा छैन कहिल्यै भनेन। बाटो चौडा गर्न कहिल्यै पैसा छैन भनेन। मेडिकल कलेजका लागि पैसा छैन भनेन। सभागृहका लागि पैसा छैन भनेन। बाटोहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन। देशभरि नै कहीँ पनि विकास निर्माणका कामहरुमा पैसा छैन भनेन। तर यो गठबन्धन आयो, पैसा छैन। कस्तो अलच्छिन पस्यो देशमा? देशमै अलच्छिन पस्यो। अबको ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर, जरासमेत टक्टक्याएर फ्याँकिदिनेछ। फ्याँक्ने कामको सुरुवात कमसेकम यो वैशाख ३० गतेको निर्वाचनले गर्नुपर्छ।'

यो अभिव्यक्ति पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको हो। उनले आइतबार बुटवलामा आयोजित एमालेको चुनावी सभामा सत्ता गठबन्धनलाई आलोचना गर्नका लागि 'अलच्छिन' जस्ता शब्द प्रयोग गरेका हुन्। तर सरकारको आलोचना गर्न उनले यस किसिमको शब्द प्रयोग गरेको यो पहिलो पटक होइन। केही समययता उनले गरेका हरेकजसो सम्बोधनमा सरकारलाई उनले सिधै अलच्छिन वा सोही भाव जनाउने अन्य शब्द प्रयोग गर्ने गरेका छन्।

कतिसम्म भने, सरकार अलच्छिन भएकाले गाडी दुर्घटना भएको भन्न समेत भ्याएका छन्। एमालेको तत्कालीन मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा २०७३ फागुन २९ गते भैरहवा पुगेका उनले भनेका थिए- 'यो सरकार बनेका दिनदेखि गाडी नपल्टिएको कहिल्यै छैन। उधुमै अलच्छिन।'

उनले सरकार र सत्ता गठबन्धनका दलहरुलाई 'अलच्छिन' करार गर्न हाप्सिलो र गिद्धसँग दाँज्ने गरेका छन्।

'दुर्घटनामा देश' : प्रचण्डको हताश मनस्थितिको अभिव्यक्ति

किशोर दहाल

शुक्रबार, वैशाख २३, २०७९, १८:२०

काठमाडौं- बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको आमसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति यतिबेला चर्चामा छ। चुनावको बेलामा गठबन्धनका उम्मेदवारलाई मत माग्न पुगेको भए पनि धम्कीको भाषा प्रयोग गरेपछि उनको आलोचना भइरहेको छ।

'तपाईंहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देश र जनताको समृद्धि र विकासको आवश्यकता भन्ने नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,' कांग्रेसका नेता तथा कार्यकर्ता लक्षित प्रचण्डको अभिव्यक्ति थियो।

प्रचण्डले भरतपुरमा हँसिया हथौडा (मूलत: मेयर उम्मेदवार रेनु दाहाल) को जितलाई सर्वस्व ठानेको देखिन्छ। पछिल्लो समय कमै मात्र उत्तेजनात्मक भाषण गर्ने गरेका, बरु विगतका गल्तीहरुप्रति पश्चाताप गर्दै हिँडेका उनले मत माग्ने कार्यक्रममै अव्यावहारिक शैली अपनाएका छन्।

'प्रचण्डको अभिव्यक्ति नै यति तल्लो स्तरको छ कि नेपालको लोकतन्त्र, लोकतन्त्रको संस्थागत चरित्र र अहिलेको निर्वाचन आचारसंहितालाई पनि यसले गम्भीर ढंगले उल्लंघन गरेको छ,' राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्।

चुनावको मुखमा देउवाको फेरि उपद्रव

नेपाल लाइभ

आइतबार, वैशाख १८, २०७९, २१:४७

काठमाडौं-मन्त्रिपरिषद्को आइतबारको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजी) मा बढुवा गरेको छ। सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई पन्छाएर मन्त्रिपरिषद्ले उनलाई आईजी बनाउने निर्णय गरेको हो।

आईजी कसलाई बनाइएला भन्ने विषयमा पहिल्यैदेखि चर्चा हुँदै आएको थियो। सत्ता गठबन्धनमा अन्य प्रभावशाली नेताहरु, सत्ताको नेतृत्व गरेको दल कांग्रेसभित्रका प्रभावशाली नेताहरु नै आईजी बनाउँदा वरियता मिच्न नहुने पक्षमा हुँदाहुँदै पनि प्रधानमन्त्री देउवा वरियता मिचेर सिंहको पक्षमा उभिएका थिए। परिणामतः दोस्रो 'आईजी काण्ड' हुनसक्ने आँकलन हुँदै आएको थियो।

यो निर्णयको विरोध पनि सुरु भएको छ। मन्त्रिपरिषद्को निर्णय बाहिरिएको केही बेरमै कांग्रेस नेता शेखर कोइरालाले ट्विटरमार्फत् प्रतिक्रिया व्यक्त गरेका थिए। 'वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ। सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ', उनको भनाइ छ।

के गभर्नर हटाउने निर्णय सर्वोच्चले उल्टाइदिएपछि महेश आचार्यले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्?

किशोर दहाल

बुधबार, वैशाख ७, २०७९, ११:१३

काठमाडौं- मन्त्रिपरिषद्को २०७८ चैत २४ गते बसेको बैठकले छानबिन समिति गठन गरेपछि निलम्बन भएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनर्बहाली भएका छन्। सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेशसँगै उनको पुनर्बहाली भएको हो।

मंगलबारको आदेशमा भनिएको छ- 'नेपाल सरकारको मिति २०७८।१२।२४ को निर्णय तथा अर्थ मन्त्रालयको मिति २०७८।१२।२५ को निवेदकको नाममा जारी गरिएको पत्राचार तत्काल कार्यान्वयन नगर्नू नगराउनू र निवेदनकलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ।'

अर्थमन्त्री जनार्दन शर्मासँग असझदारी भएपछि उनीमाथि छानबिन गर्न समिति गठन गर्दै निलम्बनको बाटो अपनाइएको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा गठन गरिएको छानबिन समितिले काम सुरु गरिसकेको अवस्थामा सर्वोच्चको अन्तरिम आदेश आएको हो।

मन्त्री शर्माको जोडबल र प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा निलम्बन गरिएका गभर्नर अधिकारी पुनर्बहाली भएपछि सरकारमाथि नैतिक प्रश्न उठेको छ। खासगरी अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने माग सामाजिक सञ्जालमा उठेको पाइन्छ। त्यसको माग गर्नेहरुले दुई दशक अगाडिको एउटा यस्तै सन्दर्भलाई चर्चामा ल्याएका छन्। त्यो हो तत्कालीन मन्त्री महेश आचार्य र गभर्नर तिलक रावलबीचको विवाद।

के भएको थियो त त्यतिबेला?

जनतामा जानुपर्ने बेलामा बालुवाटारमा किचलो गर्दै सत्ता गठबन्धन

किशोर दहाल

मंगलबार, वैशाख ६, २०७९, १५:०६

काठमाडौं– वैशाख ४ गते बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा गगन थापाले सहभागी नेता तथा कार्यकर्तालाई भने- 'मैले यहाँ वडा नम्बर १ को उम्मेदवार साथीहरु देखिरहेको छु। चुनावमा जम्मा २०/२२ दिन बाँकी रहेको बेलामा कांग्रेसले गरेको कार्यालय उद्घाटनमा आएर आफ्नो समय खेर नफाल्न म आग्रह गर्छु।'

चुनाव नजिएको बेलामा प्रत्येक दिनको कति महत्त्वपूर्ण छ र नेता तथा कार्यकर्ताले त्यसको कसरी सदुपयोग गर्नुपर्छ भन्ने सन्देश थापाको अभिव्यक्तिले दिन्छ। त्यसैले उनले भनेका थिए, 'यो बेलामा दुई चारवटा भए पनि त्यहाँको मतदाता भेट्ने हो, उहाँहरुसँग कुराकानी गर्ने हो।'

तर थापा समेतले नेतृत्व गर्ने दल नेपाली कांग्रेसको समग्र समय भने उनले अपेक्षा गरे जसरी बितिरहेको छैन। नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्ता गठबन्धनका दलहरु दैनिक जसो बालुवाटारमा जम्मा भएर किचलो गरिरहेका छन्। बैठकको मुख्य विषय छ, गठबन्धनका दलहरुको तर्फबाट साझा रुपमा प्रतिस्पर्धी बनाइने महानगरपालिका/उपमहानगरपालिकाको मेयरको उम्मेदवार कुन दलको हुने?

ओली : भाषणमा क्विन्टलको आत्मविश्वास, यथार्थमा छटाकको खोजी

किशोर दहाल

आइतबार, वैशाख ४, २०७९, २०:३२

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीका केही अभिव्यक्ति हेरौँ:

-एमालेलाई पाँच दल, सात दल चाहिँदैन। एउटै दल एमाले काफी छ। ... सूर्यलाई मोर्चाबन्दी गरिरहन आवश्यक छैन। ... संसार ढाक्नेगरी उज्यालो सूर्य आफैंसँग छ। (चैत ५ / इलाम)

-पाँच वटा होइन, जति दर्ता भएका पार्टीहरु छन्, सबै एकमुस्ट आउँछन् भने पनि केही फरक पर्दैन। नेकपा एमाले एक्लै चुनाव लड्न सक्छ र जित्न सक्छ। (चैत १२ / काठमाडौं)

-यदि एउटा तराजुमा एक-एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ, नेकपा एमाले क्विन्टलको ढक जस्तो हो, गठबन्धन भनेका एक-एक किलोका ढक जस्तो हो। त्यो पाँच वटाको गठबन्धनले के गर्छ? एक्लै एमालेसँग लड्न आउने अब नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ। (चैत १६/ भक्तपुर) 

ओलीका यी अभिव्यक्तिहरुले दिने एउटै सन्देश हो- स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि एमाले बलियो शक्ति हो। एमाले बलियो त छँदैछ, अन्य सबै पार्टीको शक्ति र एमालेको शक्ति तुलना गर्दै एमालेकै पल्ला भारी हुने उनको आत्मविश्वास देखिन्छ।

२०७८ मा राजनीति : अस्थिरता र दलीय द्वन्द्वको वर्ष

किशोर दहाल

बुधबार, चैत ३०, २०७८, १५:३९

काठमाडौं– २०७८ साल राजनीतिक हलचलको वर्ष रह्यो। २०७८ को सुरुवाती दिनतिरै नेकपा एमाले चरम विवादबाट गुज्रिरहेको थियो। जनता समाजवादी पार्टी (जसपा)मा पनि आन्तरिक विवाद तीव्र थियो। त्यसको उचित व्यवस्थापन हुन नसक्दा ती दुवै दल विभाजित भए।

सत्ता परिवर्तनको वर्ष पनि रह्यो, २०७८ साल। २०७४ सालमा सम्पन्न चुनावमा स्थायी सरकारको नारा अनुमोदन भएको भए पनि दलभित्रको संघर्षले उग्र रुप लिँदा २०७८ मै सत्ता परिवर्तन हुन पुग्यो। केन्द्रीय सत्ता परिवर्तनको असर प्रदेशहरुमा पनि पर्‍यो। प्रमुख दल नेकपा एमाले  केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षी बन्न पुग्यो।

अघिल्लो वर्षदेखि सुरु गरिएको संसद्लाई पंगु बनाउने प्रयत्नले यस वर्ष पनि निरन्तरता पायो। दोस्रोपटक प्रतिनिधि सभा विघटन होस् वा लगातार दुई वटा अधिवेशन अवरुद्ध गरिएको घटना होस्; त्यसले संसद् सार्वभौम हो भन्ने मान्यतालाई अस्वीकार गरेको देखिन्थ्यो। 

अर्कोतिर, यो वर्ष दलहरुको महाधिवेशनको वर्ष पनि रह्यो। यही वर्ष नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपादेखि मालेसम्मले महाधिवेशन गरे। तर, नेतृत्व परिवर्तन भने राप्रपामा मात्रै सम्भव भयो।

यी र यस्तै सन्दर्भलाई बुँदागत रुपमा उल्लेख गर्दै नेपाल लाइभले २०७८ सालका मुख्य घटनालाई उल्लेख गरेको छः

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

२०७७ पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने अपेक्षा धेरैको थियो। तर, उनले राजीनामा दिएनन्। अन्य दलले पनि उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएनन्। तिक्तताका बीच पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन जारी नै राखेको थियो। ओली पनि अविश्वासको प्रस्ताव ल्याइए असफल बनाउने रणनीति अख्तियार गरिरहेका थिए।

राजनीतिक  'डेडलक'  चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले नै विश्वासको मत लिने निधो गरे। सोही प्रयोजनका लागि वैशाख २७ गते विशेष अधिवेशन बोलाइयो। ओलीले विश्वासको मत लिने प्रस्ताव २६ गते संसद् सचिवालयमा दर्ता गराएका थिए। ओली नै विश्वासको मत लिन अघि बढिसकेपछि माओवादीले पनि वैशाख २२ गते स्थायी कमिटी बैठक बसेर समर्थन फिर्ता गर्ने निर्णय गर्‍यो। जसअनुसार, २३ गते संसद् सचिवालयलाई जानकारी पनि गरायो।

२०७७ फागुन २३ गतेको एमाले-माओवादी केन्द्र ब्युँत्याइदिने फैसलापछि एमालेभित्र उत्पन्न असमझदारी कायमै थियो। त्यसैले माधव नेपाल र झलनाथ खनालले नेतृत्व गरेको एक समूह असन्तुष्ट नै थियो। विश्वासको मत लिने विषयमा ओलीले असन्तुष्ट पक्षका नेताहरुसँग कुनै संवाद गरेनन्। बरु कांग्रेस सभापति शेरबहादुर देउवाकै निवासमा पुगेर छलफल गरे। त्यतिबेला ओलीलाई विश्वासको मत पुर्‍याउन नदिन माधव नेपाल पक्षले विभिन्न 'मोडल'माथि छलफल गरिरहेको थियो। त्यसै मध्येको एक थियो- सामूहिक राजीनामा। सो पक्षले ओलीलाई गलाउन (पार्टीलाई २०७५ जेठ २ को सांगठनिक संरचनामा फर्काउन) दबाब पनि दिइरहेको थियो।

वैशाख २६ गते साँझ बसेको सो पक्षको बैठकले ओलीलाई २७ गते बिहान ९ बजेसम्मको अल्टिमेटम दियो। ओली सहमत नभए सामूहिक राजीनामा दिने कतिपय नेताहरुको प्रतिक्रिया थियो। तर, सो पक्षमा सहमति जुट्न नसक्दा विश्वासको प्रस्तावमाथि हुने मतदानमा सहभागी नै नहुने उपाय खोजियो। जसअनुसार, सो पक्षका २८ जना सांसद्हरु झलनाथ खनाल, माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, भवानी खापुङ, पवित्रा निरौला खरेल, गणेश पहाडी, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, दीपक प्रकाश भट्ट, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, सरला यादव, नीरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, मुकुन्द न्यौपाने, जयकुमार राई, विरोध खतिवडा अनुपस्थित भएका थिए।

२७ गतेको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावको साथमा वक्तव्य दिए। ओलीको प्रस्तावमाथि सामान्य छलफल भयो। एमालेभित्रै विभाजन रहेको बेलामा प्रधानमन्त्री ओलीको प्रस्तावले बहुमत पाउन सकेन। २३२ जनाको मत खसेकोमा उनको प्रस्तावको पक्षमा ९३ मत मात्रै पर्‍यो। विपक्षमा १२४ मत पर्‍यो। ‘मत दिन्न’ भन्ने विकल्पमा १५ मत पर्‍यो। प्रधानमन्त्री ओली स्वतः पदमुक्त भए।

ओली पुनः प्रधानमन्त्री

२०७८ वैशाख २७ गते भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन्। तर, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच चलिरहेको सहयोग सम्बन्धका कारण राष्ट्रपतिले पुनः संविधानको धारा ७६ (३) को प्रावधानअनुसार (प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त) को प्रक्रिया अघि बढाउँछिन् कि भन्ने आशंका थियो। त्यसैले पनि २७ गतेको बैठक सकिएको केही बेरमै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै भने- ‘...नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आह्वान गर्दछौं।’








तर, राष्ट्रपतिले सोही दिन राति धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिन्। उनले वैशाख ३० गते बेलुका ९ बजेसम्मको समयसीमा पनि तोकिन्। तर त्यस अवधिमा कसैको पनि दाबी पेस भएन। परिणामतः राष्ट्रपति भण्डारीले वैशाख ३० गते संविधानको धारा ७६ (३) अनुसार ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गरिन्।


ओलीले सोही दिन प्रधानमन्त्रीका रुपमा शपथ लिए। ओलीको यो शपथ भने विवादमा परेको थियो। उनले राष्ट्रपतिले उच्चारण गरेका केही वाक्य उच्चारण नगरेको र राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भन्दै सिकाउन खोजेपछि यसलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ नै बनाइयो।


ओलीले आफ्नो मन्त्रिपरिषद्‌मा ओलीले मौजुदा सदस्य (मन्त्री)हरुलाई नै निरन्तरता दिए। तर केही दिनमै उनले एउटा दुर्घटना बेहोर्नुपर्‍यो। नेकपाको विभाजनपछि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका मन्त्रीहरुलाई ओलीले पहिल्यै गैरसांसद् मन्त्री बनाइसकेका थिए। अन्य केही गैरसांसद् पनि दोस्रोपटक त्यसैगरी मन्त्री बने। वैशाख ३० मा उनीहरुलाई पुनः गैरसांसद् मन्त्री बनाइएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। जसमाथि जेठ ६ गते अन्तरिम आदेश सुनाउँदै सर्वोच्च अदालतले सो नियुक्तिलाई गैरसंवैधानिक ठहर गरिदियो। परिणामतःउनीहरु पदमुक्त भए। पदमुक्त हुनेहरुमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, रामबहादुर थापा बादल, मणि थापा र दावा लामा थिए।


1140x725


प्रतिनिधि सभा पुनः विघटन र ओलीको बहिर्गमन

पहिलो पटकको प्रतिनिधि सभा विघटनमा असफल भए पनि प्रधानमन्त्री ओली पुनः प्रतिनिधि सभा विघटनको पक्षमा थिए। यो प्रतिनिधि सभाले काम गर्न नसक्ने भएकाले चुनावमा जानुपर्ने भनेर उनले आफ्ना भाषणहरुमा भनिरहेका थिए। त्यो त्यतिबेला सम्भव हुन्थ्यो, जतिबेला सरकार गठनका लागि अरु कसैको बहुमत नपुग्ने सुनिश्चित हुन सकोस्। त्यसैले उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई विश्वासमा लिएका थिए।


परिस्थिति आफूले सोचेको ठाउँमै आइपुगेको महसुस गरेर हुनसक्छ, ओलीले नयाँ सरकारको लागि मार्गप्रशस्त गरेको सूचना राष्ट्रपतिलाई दिए। राष्ट्रपति कार्यालयले जेठ ६ गते सूचना निकालेर प्रधानमन्त्री ओलीले सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको वैकल्पिक सरकार गठनको लागि मार्गप्रशस्त गरेकाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रकृया आरम्भ गरेको बतायो। प्रधानमन्त्रीमा दाबी गर्नका लागि २१ घण्टाको समय दिइयो।


तर, ओलीले नसोचेको भयो। जेठ ७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी पार्टीहरुका (एमालेको माधव नेपाल पक्षसहित) १४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे। यता देउवाले बहुमत जुटाएको सुइको पाएका ओलीले पनि हतारहतार राष्ट्रपतिलाई दाबी पेस गरे। आफूले बहुमत नपाउने सुनिश्चित गर्दै नयाँ प्रक्रिया अगाडि बढाउन भनेका उनले पुनः दाबी गरे। उनले पार्टीगत हस्ताक्षर बुझाएका थिए। एमालेको आफैंले र जसपाको एक पक्ष (ठाकुर-महतो)को हस्ताक्षर बुझाएका थिए।


तर, राष्ट्रपति कार्यालयले सोही दिन राति ११:३९ मा विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीमा गरिएका दुवै दाबी अस्वीकार गरिएको जानकारी गरायो। ओलीले सोही दिन राति मन्त्रिपरिषद् बैठक राखेर प्रतिनिधि सभा विघटनको सिफारिस गरिदिए। जसलाई राष्ट्रपतिले पनि मध्यरातमै अनुमोदन गरिदिइन्। राष्ट्रपति कार्यालयले ७ गते राति (८ गते बिहान १:४९)  मा विज्ञप्ति जारी गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकिएको जानकारी गरायो।


यसका विरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। देउवालाई समर्थन गर्ने १४९ मध्येका १४६ जनाले सर्वोच्चमा लाइन लागेर रिट दायर गरेका थिए। सर्वोच्चले असार २८ गते फैसला सुनायो। फैसलामा प्रतिनिधिसभा विघटनलाई बदर गरिदियो र शेरबहादुर देउवालाई असार २९ गते बेलुका ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गरिसक्न परमादेश भयो। त्यसपछि सत्तामा रहने ओलीको कुनै बाटो बाँकी रहेन। अदालतले आदेश सुनाएको भोलिपल्ट ओलीको अनिवार्य बहिर्गमन भयो।


1140x725


देउवा नयाँ प्रधानमन्त्री

असार २८ गतेको बहुचर्चित फैसलामा भनिएको थियो- ‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) मा प्रतिनिधि सभाका कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा भन्ने वाक्यांश रहेको र सो प्रयोजनका लागि प्रतिनिधि सभाका १४९ जना सदस्यहरु (बहुमत सदस्यहरु) ले समर्थन जनाएको कुरालाई विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेको भनी मान्नुपर्ने पर्याप्त र मनासिव आधार देखिएको हुँदा सोही बमोजिम आजका मितिले २ (दुई) दिनभित्र अर्थात २०७८ साल असार २९ गते मंगलबार अपराह्न ५ बजेभित्र उपरोक्तअनुसार संविधानसम्मत रुपमा  मिति २०७८/२/७ गते सम्माननीय राष्ट्रपति समक्ष दाबी पेस गरेका प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रकृया पूरा गर्नु गराउनु भनी प्रत्यर्थी मध्येका राष्ट्रपतिको कार्यालय तथा संघीय संसदको पुनर्स्थापित प्रतिनिधि सभाका नाउँमा परमादेश जारी हुने ठहर्छ।’


सर्वोच्चबाटै परमादेश पाइसकेपछि देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने कोही थिएनन्। राष्ट्रपतिले नचाहे पनि उनलाई प्रधानमन्त्री नियुक्त गर्नै पर्थ्यो। यद्यपि, राष्ट्रपतिको असन्तुष्टि भने देउवालाई प्रधानमन्त्री नियुक्ति सम्बन्धमा जानकारी दिन जारी गरिएको विज्ञप्तिमा देखियो। विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ को फैसला बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरियो। विज्ञप्तिको भाषा सच्याइएपछि मात्रै देउवाले सपथ लिएका थिए।


देउवाले साउन ३ गते विश्वासको मत लिए। त्यसदिन भएको मतदानमा उनले १६५ मत पाए। उनलाई कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जनता समाजवादी पार्टीका ३२, एमाले (माधव नेपाल पक्ष) का २२, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद् (छक्कबहादुर लामा) १ जनाले मत दिएका थिए। प्रस्तावको विपक्षमा ८३ मत परेको थियो भने एक जना तटस्थ (राजेन्द्र लिंदेन/राप्रपा) बसेका थिए।


यसअघि माधव नेपालको पक्षमा रहेका कैयौँ सांसद्हरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। तर मत भने दिएनन्। उनीहरु प्रतिनिधि सभाको बैठक चल्दै गर्दा बाहिरिएका थिए। यसरी बाहिरिनेहरुमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दीपक प्रकाश भट्ट, सोमप्रसाद पाण्डे, यज्ञराज सुनार, झपट रावल, राजबहादुर बुढा र नारायण खतिवडा थिए। तर उनीहरु बाहिरिए पनि यसअघि ओली पक्षमा रहेका केही सांसद्हरुले देउवालाई मत दिए। ओली पक्षका भनिएका ८ जना सांसद्हरु पार्वती बिशुंखे, विना बुढाथोकी, समिना हुसेन, कृष्ण श्रेष्ठ (किसन), प्रेमबहादुर आले, धनबहादुर बुढा, हिराचन्द्र केसी र गोपाल बमले देउवालाई मत दिए।


त्यस्तै माधव नेपाल पक्ष भनेर चिनिएका उनीसहित १४ जना सांसद्हरु जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरीले देउवालाई मत दिए।


1140x725


जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा जसपाले एक ढिक्का भएर विरोध गरेको थियो। विभिन्न कार्यक्रम गरेर त्यसका विरुद्ध उभिएको पनि थियो। तर, सो विघटनलाई सर्वोच्चले संवैधानिक करार गरिदिएपछि ओलीले जसपाको एक पक्ष (महन्थ ठाकुर- राजेन्द्र महतो पक्ष) लाई आफ्नो विश्वासमा लिए। जसले जसपाभित्र विवाद सुरु भयो। किनकि, सोही पार्टीको अर्को पक्ष (उपेन्द्र यादव-बाबुराम भट्टराई) भने तत्काल ओलीलाई हटाउन चाहन्थे। यो पक्ष कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षसँग निकट थियो।


आन्तरिक रुपमा फरक–फरक मत र पक्षधरता भए पनि त्यसको बाह्य प्रस्फुटन भएको थिएन। तर, जब लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेसहित ४ जनालाई मन्त्री बनाइयो, विवाद प्रस्फुटन भयो। मन्त्री बन्नेहरुलाई यादव पक्षले कारबाही प्रक्रिया अगाडि बढायो, ठाकुर पक्षले बधाई दियो।


विवादको अर्को स्वरुप प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा पनि देखियो। एकीकृत धारणा बनाउन नसक्दा मतदानका सन्दर्भमा ह्विप नलगाउने निर्णय गरियो। विश्वासको प्रस्तावमाथि यादव पक्षले विपक्षमा मत दिए। ठाकुर पक्षले तटस्थ बस्ने निर्णय गरे। संसद्‌मा सम्बोधन गरेका दुवै नेताले सोही किसिमको अभिव्यक्ति दिएका थिए। विश्वासको मत नपाएका कारण ओली पदमुक्त भए। यादवले तत्कालै शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर वक्तव्य जारी गरे। ठाकुरले त्यसको खण्डन गर्दै अर्को वक्तव्य जारी गरे। ‘कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत’ भएको ठाकुरले बताए।


त्यसपछि ठाकुर पक्षले आफ्नो पक्षको भेला गर्न थाल्यो। त्यस्तै भेलाबाट संसदीय दलको विधान पारित गरियो, राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरियो। जसलाई यादव पक्षले खण्डन गर्‍यो। यादवले त्यसलाई मान्यता नदिन संसद् सचिवालयलाई पनि पत्र लेखे। पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले नयाँ तरिका अपनाए। उनले जेठ ३ गते यादव पक्षका २० जनालाई कार्यकारिणी समितिबाट हटाई आफू पक्षका २० जनालाई नियुक्त गरिदिए।


ठाकुर र यादवले जेठ ४ गते संयुक्त वक्तव्य जारी गरे। गुटबन्दी नगरी पार्टीलाई एकताबद्ध राख्नुपर्नेमा जोड दिइयो। दुवैको अर्को वक्तव्यमार्फत् जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाइयो। तर, केहीबेरमै ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको भन्दै संसद् सचिवालयलाई जानकारीपत्र पठाए। ६ गते नै ठाकुर पक्षले आफू पक्षका कार्यकारिणी समितिको बैठक राख्यो।


यसै बीच जेठ ७ गते ओलीले प्रधानमन्त्रीमा दाबी गरे। उनले दाबी गर्दा ओलीलाई पार्टीको तर्फबाट ठाकुर र महतोले समर्थन गरेका थिए। प्रधानमन्त्रीमै दाबी गरेका शेरबहादुर देउवालाई यादव पक्षका १२ सांसद्ले हस्ताक्षरसहित समर्थन गरेका थिए।


त्यसपछि भने जसपामा स्पष्टीकरण श्रृंखला सुरु भयो। परिणामतः जेठ १७ मा यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरिदियो। प्रतिवाद स्वरुप ठाकुर पक्षले पनि जेठ १८ मा यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिदियो।


निष्कासनपछि विवाद निर्वाचन आयोगमा पुग्यो। दुवै पक्षले आफूले गरेको कारबाहीको जानकारी गराउँदै दलको दर्ता किताब अद्यावधिक गर्न अनुरोध गरे। तर, आयोगले जेठ ३१ मा दुवै पक्षको दाबीलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी यथावत् रहने भन्यो।


विवाद जारी रहेकै बेलामा ठाकुर पक्ष ओली सरकारमा सहभागी भयो। जेठ २१ र जेठ २७ मा गरी सो पक्षबाट ११ जना मन्त्री बने। यादव पक्षले सरकारमा सहभागी हुनेहरुलाई जेठ २९ मा स्पष्टीकरण सोध्यो र असार ३ गते पार्टीबाट निष्कासन गरिदियो। साथै निर्वाचन आयोगमा आधिकारिता दाबी गर्ने निर्णय पनि गर्‍यो र ४ गते आयोगमा आधिकारिताको लागि पत्र दर्ता गरायो।


यसैबीच महन्थ ठाकुरले २०७७ पुस ७ को बैठकबाट ‘कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार पार्टीका पहिलो वरियताका अध्यक्ष श्री महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय’ गरिएको भन्ने विवादास्पद कागज पत्र आयोगमा बुझायो। त्यसको प्रमाणिताको विषयमा प्रश्न उठेको थियो। यादव पक्षले त्यसलाई कीर्ते कागजपत्र भएको बतायो।


आधिकारिकताको दाबी आएपछि आयोगले दुवै पक्षलाई मिलेर अघि बढ्न सकिने सम्भावना खोजेको थियो। तर, दुवै पक्षले मिलेर जान सकिँदैन, कानुन अनुसार गर्न भनेपछि आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेर सुनुवाइ गर्‍यो। उसले साउन ७ गतेको सुनुवाइपछि सनाखतका लागि साउन ११ बजे नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित आउन भन्यो।


सनाखतका क्रममा ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले अध्यक्ष उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए। १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एकजना (रेशम चौधरी) तटस्थ बसेका थिए।


1140x725


एमालेदेखि जसपासम्म विभाजन

२०७८ साउन ३२ गते मध्यरातमा संसद्को चालु अधिवेशन अन्त्य भयो। भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गर्‍यो। जसमा राजनीतिक दल विभाजनका लागि निकै खुकुलो प्रावधान राखियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य पुगे हुने व्यवस्था मूलतः एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई लक्षित थियो। उनीहरुलाई सजिलो होस् भनेर निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्यले २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यको दल त्याग नहुने व्यवस्था गरियो। उनीहरुले त्यसै दिन पार्टी विभाजनको प्रक्रिया पनि सुरु गरिहाले।


भदौ २ गते राष्ट्रपतिले अध्यादेश जारी गरिन्। त्यसको केही बेरमै निर्वाचन आयोग पुगेर नेपाल पक्षले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि निवेदन दियो। त्यस्तै, जसपाको महन्थ ठाकुरले पनि जसपा लोकतान्त्रिक नाम राख्दै दल दर्ताका लागि निवेदन दियो। तर आयोगले मिल्दोजुल्दो नाम भएकाले नयाँ नाम ल्याउन दुवैलाई आग्रह गर्‍यो। जसअनुसार भदौ ४ मा माधव नेपाल पक्षले नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नाम प्रस्ताव गरे। त्यसैदिन आयोगले भदौ ९ गते सनाखतका लागि बोलायो।


माधव नेपाल पक्षका नेताहरु ७ गते चन्द्रागिरि उक्लिए। दुई दिनसम्म छलफलमा जुटेका उनीहरुले राजनीतिक प्रतिवेदन, विधान तथा नियमावली टुंग्याए। उनीहरु सनाखतका लागि सिधै चन्द्रागिरिबाट निर्वाचन आयोगको कार्यालय आएका थिए।


९ गते एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि माधव नेपाल सहित एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसद्ले सनाखत गरे। त्यतिबेला उपचारका लागि भारतमा रहेका झलनाथ खनालले आयोगलाई दिल्लीस्थित नेपाली राजदूतावासबाटै सनाखतको व्यवस्था मिलाउन पत्र पठाएका थिए। जसअनुसार उनले दिल्लीबाटै सनाखत गरेका थिए। भदौ २ गतेको निवेदनमा नाम नभए पनि प्रतिनिधिसभा सदस्यद्वय सोमप्रसाद पाण्डे र माया ज्ञवाली, राष्ट्रिय सभा सदस्यद्वय शारदा देवी भट्ट र राजन राईले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न पाउनुपर्ने निवेदन दिएका थिए। उनीहरु आयोगको कार्यालय पनि पुगेका थिए। तर सनाखतका लागि आयोगले अस्वीकार गर्‍यो। सोही दिन आयोगले दल दर्ता गर्ने निर्णय गर्दै पार्टी दर्ताको प्रमाणपत्र दियो।


त्यस्तै, लोसपाको पक्षमा १४ जना संघीय सांसद् (एक राष्ट्रिय सभा सदस्य सहित)ले सनाखत गरे। कार्यकारिणी सदस्यतर्फ १७ जनाले लोसपाको पक्षमा सनाखत गरे। सो पार्टीलाई पनि आयोगले त्यसै दिन दर्ता गर्ने निर्णय गर्‍यो र दल दर्ताको प्रमाणपत्र दियो।


यसै वर्ष लोसपा पनि विभाजन भएर बृषेशचन्द्र लालको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी, सन्तबहादुर नेपाली र कृष्णराज पौडेल लगायतका समूहले नेकपा मसाल (राजमो) विभाजन गर्‍यो। विवेकशील साझा पार्टीले पनि मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरेपछि पार्टी विभाजनको अवस्थामा पुगेको छ।


प्रदेशमा हलचल

केन्द्रीय सत्तामा उत्पन्न संघर्षको प्रभाव प्रदेशहरुमा पनि पर्‍यो। परिणामतः सातमध्ये पाँच वटा प्रदेश सरकारहरु परिवर्तन भइसकेका छन्। 


एमाले विभाजन भएकै भोलिपल्ट अर्थात् भदौ १० गते प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले भीम आचार्यलाई सत्ता सुम्पिए।  तर उनको कार्यकाल लामो चल्न सकेन। उनलाई कात्तिक १६ गते नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले विस्थापन गरिदिए। मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत यथावत् छन्। तर उनका सत्ता सहयात्री भने परिवर्तन भइरहे। जसपाकै महन्थ ठाकुर पक्ष बाहिरिएपछि प्रदेश सरकारमा अहिले एकीकृत समाजवादी, कांग्रेस तथा माओवादी भित्रिएका छन्।


बागमती प्रदेशमा पनि यसै वर्ष दुई जना नयाँ मुख्यमन्त्री बने। सुरुवाती मुख्यमन्त्री डोरमणि पोखरेलले भदौ २ गते अष्टलक्ष्मी शाक्यलाई सत्ता सुम्पिए। तर, एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले उनलाई विस्थापन गरिदिए। पाण्डे कात्तिक ११ मा मुख्यमन्त्री बनेका थिए। गण्डकी प्रदेशमा पनि सत्ता संकटमा परेपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएर पुनः प्रधनमन्त्री नियुक्त भए। तर उनले विश्वासको मत पाउन सकेनन्। उनलाई कांग्रेसका कृष्णचन्द्र पोखरेलले जेठ २९ मा प्रतिस्थापन गरिदिए।


लुम्बिनी प्रदेशमा पनि किचलो उत्पन्न भयो। अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री शंकर पोखरेलले वैशाख १९ मा राजीनामा मात्रै दिएनन्, त्यसै दिन विवादास्पद तरिकाले नियुक्त भएर पुनः सत्ता सम्हाले। तर साउन २८ गते माओवादी केन्द्रका कुलप्रसाद केसीले विस्थापन गरिदिए। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा त्यतिबेला एमालेमै रहेका माधव नेपाल पक्षका सांसद्हरुले फ्लोर क्रस गरी जोगाइदिएका थिए। त्यतिबेला कांग्रेससँग भएको सहमती अनुसार उनले सत्ता छाडे। जसअनुसार कात्तिक १६ मा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भए।


सुदूरपश्चिम प्रदेशमा एमालेले आन्तरिक किचलोकै बीच सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिए। माधव नेपाल पक्षका सांसद्को सहयोगमा उनको पद यथावत् रह्यो। सो सरकारमा अहिले एकीकृत समाजवादी र कांग्रेस पनि सहभागी भएका छन्।


प्रदेशका सरकार मात्रै होइन, प्रदेश प्रमुखहरु पनि फेरिए। संघमा देउवा नेतृत्वको सरकार बनेपछि सात वटै प्रदेशका प्रमुखहरु फेरिएका छन्। जसअनुसार प्रदेश १ मा अहिले परशुराम खापुङ, मधेस प्रदेशमा हरिशंकर मिश्र, बागमती प्रदेशमा यादवचन्द्र शर्मा, गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशमा अमिक शेरचन, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशी प्रदेश प्रमुख नियुक्त भएका छन्।


1140x725


राष्ट्रिय सभाका निर्वाचनहरु

राष्ट्रिय सभाका लागि मात्रै २०७८ सालमा तीन पटक निर्वाचन भयो। माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि कारबाहीमा परेका रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्काको स्थानमा जेठमा दुई पटक निर्वाचन भएको थियो। साथै, रिक्त एक तिहाइको पदपूर्तिको लागि माघमा तेस्रो पटक निर्वाचन भएको हो।


बादलको स्थानमा बागमती प्रदेशमा जेठ ६ गते भएको निर्वाचनमा एमालेबाट उनी नै उम्मेदवार भएका थिए। त्यस्तै, तत्कालीन विपक्षी गठबन्धनको तर्फबाट खिमलाल देवकोटा उम्मेदवार भनेका थिए। उनी एमालेको एक पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपाल निकट हुन्। त्यस्तै, नेमकिपाका तर्फबाट कृष्ण तामाङ उम्मेदवार भए। देवकोटा विजयी भए। जेठ १७ मै लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा एमालेबाट चन्द्रबहादुर खड्का स्वयं उम्मेदवार भए। उनलाई गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय उम्मेदवार भए। पाण्डेय विजयी भए।


यसै वर्ष फागुन २० पछि रिक्त हुँदै गएको २० मध्ये १९ पदका लागि माघ १२ गते निर्वाचन भयो। जसमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएका थिए। त्यस्तै, मधेस प्रदेशमा एमाले र लोसपाबीच तालमेल भएको थियो। जसमा गठबन्धनका उम्मेदवारहरुले १८ स्थानमा र एमाले उम्मेदवारले एक स्थानमा जित हासिल गरे।


राष्ट्रपतिबाट मनोनित गरिनुपर्ने एक जनामा पनि चैत २५ गते मनोनयन भएको छ। रामनारायण बिडारीको स्थानमा नारायणप्रसाद दाहाललाई मनोनित गरिएको हो।


अहिले राष्ट्रिय सभामा एमालेका १७, नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपाका १, राजमोका १, स्वतन्त्र १ जना छन्। त्यसबाहेक ३ जना राष्ट्रपतिबाट मनोनित छन्। 


1140x725


महाधिवेशन वर्ष

२०७८ साललाई महाधिवेशनकै वर्ष मान्न सकिन्छ। किनकि, यस थुप्रै प्रमुख पार्टीहरुले महाधिवेशन गरे। नेकपा माले, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा राप्रपाले समेत महाधिवेशन गर्न भ्याए।


यस वर्ष एमालेले दुइटा महाधिवेशन गर्‍यो। असोजमा विधान महाधिवेशन र मंसिरमा राष्ट्रिय महाधिवेशन। असोज १५ देखि १७ सम्म चलेको प्रथम विधान महाधिवेशनमा एमालेले ६ हजार ३४७ प्रतिनिधिको उपस्थिति रहेको बताइएको थियो। महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन, ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। १० समूह गठन गरेर गरिएको छलफलको निष्कर्षपछि प्रस्तावहरु केही संशोधनसहित पास भएका थिए। यस महाधिवेशनबाट पारित भएको सांगठनिक संरचनाको स्वरुपलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशनको क्रममा संशोधन गरिएको थियो।


मंसिर १० गतेदेखि एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्‍यो। चितवनको नारायणी किनारमा उद्घाटन सत्र र सौराहमा बाँकी कार्यक्रम आयोजना गरिएको थियो। महाधिवेशनबाट केपी ओलीलाई नै पुनः अध्यक्ष निर्वाचित गरिएको थियो। उनीसँग भीम रावलले प्रतिस्पर्धा गरेका थिए।


नेपाली कांग्रेसले पनि यसै वर्ष मंसिरमा महाधिवेशन गर्‍यो। मंसिर २४ गते काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशन मूलतः नेतृत्व चयनमा केन्द्रित भयो। उसले नीति महाधिवेशन बेग्लै गर्ने गरी मंसिर २४ देखि २६ सम्मका लागि तोकिएको चौधौं महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै केन्द्रित गरेको थियो। यस महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा नै पुनः निर्वाचित भएका थिए। पहिलो चरणको निर्वाचनमा देउवा, शेखर कोइराला, प्रकाशमान सिह, विमलेन्द्र निधि तथा कल्याण गुरुङ प्रतिस्पर्धी भएका थिए। तर, पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भयो। र देउवा सभापतिमा निर्वाचित भए।


नेकपा माओवादी केन्द्रले पनि पुस ११ गतेदेखि महाधिवेशन आयोजना गर्‍यो। सुरुमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने भनिए पनि पुस १० गते बसेको उसको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरित गर्ने निर्णय गरेको थियो। त्यसपछि रातारात राष्ट्रिय सम्मेलन राष्ट्रिय महाधिवेशनमा परिणत भएको थियो। यो महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले '२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो' नामको राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए। त्यसमाथि २५ वटा समूह बनाएर छलफल गरिएको थियो। प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीले पुरक प्रतिवेदन र लेखनाथ न्यौपानेले फरक मत राखेका थिए। महाधिवेशनले केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्ने भए पनि प्रचण्डले नाम पढेर प्रस्ताव गरेका थिए। उनले प्रस्तुत गरेको अपूर्ण कमिटीलाई अनुमोदन गर्दै महाधिवेशन सकिएको थियो। सोही कमिटीको पुस १९ को बैठकबाट प्रचण्ड पुनः अध्यक्षमा निर्वाचित भएका थिए। पार्टीमा अन्य पदाधिकारी भने अझै चयन भएका छैनन्।


नेकपा मालेको आठौं महाधिवेशन कात्तिक २७ देखि २९ सम्म चलेको थियो। माले महासचिव सीपी मैनालीले चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र पनि सोही ठाउमा भएको थियो। महाधिवेशनले विभिन्न दस्तावेजहरु पारित गर्नुका साथै मैनालीलाई नै महासचिवमा निरन्तरता दियो। माले महाधिवेशनले अहिलेको संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अजेण्डा पारित गर्‍यो। केन्द्र, जिल्ला र पालिका कार्यकारी रहेको आधारभूत संघीयता बनाउने र धर्मनिरपेक्षता हटाउने अजेन्डा पनि पारित गर्‍यो।


राप्रपाको महाधिवेशन पनि मंसिर १५ गतेदेखि सुरु भयो। १८ गते भएको निर्वाचनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार बनेका थिए। जसमा लिङ्देन विजयी भए। कमल थापाले निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्रको चलखेल भएको बताए। त्यसको छानबिन गर्नुपर्ने उनको माग थियो। तर लिङ्देनले बेवास्ता गरिदिए। राप्रपाबाट थापाको बहिर्गमनको एउटा कारण यही भयो।


1140x725


संसद् अवरोधमा एमालेको रेकर्ड!

एमालेको नाममा एउटा रेकर्ड थियो- २०५७ सालमा एउटा अधिवेशनभर अवरोध। २०५७ फागुन २६ गतेदेखि सुरु भएको १९औँ अधिवेशन चैत २३ गतेसम्म चल्यो। त्यसबीचमा २४ दिन बैठक बोलाइएको थियो। २४ दिनमा २५ वटा बैठक बसेका थिए। २१ वर्षपछि एमालेले आफ्नो त्यो रेकर्ड पनि तोड्यो। उसले लगातार दुई वटा अधिवेशन अवरोध गरिदियो। त्यो पनि सक्रिय विरोध र नाराबाजीका साथ।


संसद् अवरोध गर्ने कारणचाहिँ माधव नेपालसहित १४ सांसद्लाई कारबाही गरिएको प्रसंगबाट सुरु हुन्छ। नेपाल पक्षले पार्टी विभाजन गर्ने निश्चित भइसकेपछि र सरकारले पनि सजिलो प्रावधान सहितको अध्यादेश सिफारिस गरेपछि एमालेले भदौ १ गते संसद् सचिवालयमा जानकारी पत्र दर्ता गरायो। माधव नेपाल सहित १४ सांसद्लाई पार्टीबाट निष्काशन गरिएको भन्दै उनीहरुलाई सांसद् पदबाट मुक्त गर्नका लागि सूचना टाँस गर्नका लागि सो पत्र दर्ता गराइएको थियो। पत्रमा ती सांसद्हरुलाई साउन २५ गते नै पदमुक्त गरिएको उल्लेख थियो। तर सभामुखले तत्कालै सूचना टाँस गरिदिएनन्। भदौ २ गते जारी भएको अध्यादेश अनुसार माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्न भ्यायो। भदौ ९ गते त सो पक्षले दल दर्ताको प्रमाणपत्र नै पायो। 


आफ्नो पार्टी विभाजनको विरुद्धमा एमालेले सर्वोच्च अदालतमा मुद्दा पनि दायर गर्‍यो। अर्कोतिर, सभामुखलाई एमाले विभाजनको मतियार भन्दै संसद् अवरोध गर्न थाल्यो। उसको यही आक्रोशको सिकार भएका थिए दुई वटा अधिवेशन। भदौ २३ गते देखि सुरु भएको संघीय संसद्को अधिवेशन कात्तिक १२ मा अन्त्य भएको अधिवेशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका १३/१३ बैठक बसेका थिए। त्यस्तै मंसिर २८ बाट सुरु भएको अर्को अधिवेशनमा प्रतिनिधि सभाको बैठक ११ पटक बसेको थियो। राष्ट्रिय सभाको बैठक भने जम्मा दुई वटा बस्यो। 


भदौ २३ गते देखि चलेको प्रतिनिधि सभाको नवौं र राष्ट्रिय सभाको दशौँ अधिवेशन कात्तिक १२ गते सम्म कायम भएको थियो। त्यो अवधि ५२ दिनको थियो। तर सरकारले कात्तिक ११ गते नै निर्णय गरेको हुनाले ५१ दिनसम्म एमालेको अवरोध रहेको मान्न सकिन्छ। मंसिर २८ देखि चैत १ गतेसम्मको अवधि ९२ दिनको रह्यो। यसरी अघिल्लो अधिवेशनका ५१ र यस अधिवेशनका ९२ गरी एमालेले १४३ दिनसम्म संसद् अवरोध गरेको थियो।


दुवै अधिवेशनमा एमालेका सांसद्हरुले सक्रियतापूर्वक अवरोध गरेका थिए। प्रतिनिधि सभाका सबै बैठकमा रोस्ट्रम घेरेका थिए, राष्ट्रिय सभामा भने यथास्थानमा उठेर सांसदहरुले विरोध जनाएका थिए। तर, उनीहरुको अवरोधले कुनै परिणाम ल्याएन। न सभामुखलाई पदमुक्त गराउन सके, न त राजनीतिक निकासको अन्य कुनै बाटो पत्ता लाग्यो। बरु अवरोधकै बीच सरकारले कतिपय बिजनेस अगाडि बढायो।


कमल थापाको राप्रपा परित्याग

राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएदेखि असन्तुष्ट रहेका कमल थापाले माघ २५ गते एक विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको जानकारी गराए। ‘अत्यन्त भारि तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अगल हुने निर्णय गरेको छु। पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको छु’, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।


महाधिवेशनको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षप गरेर आफूलाई पराजित गरिदिएको भन्दै थापाले सो घटनाको पार्टीले छानबिन गर्नुपर्ने बताउँदै आएका थिए। तर पार्टीले भने त्यसलाई वास्ता गरिरहेको थिएन। साथै, उनले नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनको पार्टी सञ्चालन शैलीप्रति पनि प्रश्न उठाउँदै आएका थिए।


माघ २४ गते थापाले आफू पक्षीय नेताहरुको काठमाडौंको सुकेधारामा भेला गरेर स्थानीयतहको निर्वाचनको मिति घोषणा हुनुअघि नै आफूले उठाएका मागहरु पूरा गर्न अल्टिमेटम दिएका थिए। माग पूरा नभए नयाँ यात्राको थालनी गर्ने उनको भनाइ थियो।


माघ २४ गते नै बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिदियो। भोलिपल्टै थापाले पार्टीबाट अलग भएको सार्वजनिक गरे।


तर थापाले लामो समय पार्टीविहीन भएर बस्नुपरेन। थापाले एकीकरणका नाममा पहिल्यै आफू नेतृत्वको राप्रपा नेपाललाई पनि राप्रपा बनाएका थिए। त्यतिबेला राप्रपा नेपालमै रहेर त्यसको अध्यक्षता गरिरहेका लाक्पा तामाङले उनैलाई अध्यक्षता सुम्पिए। ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यकता पर्ने छ मेरो सोचाइ अहिले प्रमाणित भएको छ’, लामा द्वारा फागुन १ मा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज कमल थापाज्यूलाई उहाँको विरासतको रुपमा रहेको राप्रपा नेपालको नेतृत्व सुम्पन पाउँदा म अत्यन्त हर्षित छु।’


थापाले पनि सोही दिन राप्रपा नेपालको अध्यक्षको रुपमा विज्ञप्ति जारी गर्दै भने, ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपालाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौँ।’


1140x725


प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव

फागुन १ गते सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे। माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको सो प्रस्ताव बिहान ११:१० मा संघीय संसद् सचिवालयमा दर्ता गरिएको थियो। प्रस्तावमा हस्ताक्षर नगरे तापनि राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले आफू पनि महाभियोगको पक्षमा रहेको भन्दै विज्ञप्ति जारी गरेकी थिइन्।


प्रस्तावमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्ने २१ वटा आधार र कारणहरु उल्लेख गरिएको थियो। संसद् सचिवालयका महासचिव भरतराज गौतमले फागुन १ गते दिउँसो नै राष्ट्रपतिको कार्यालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाईजानकारी पत्र पठाएका थिए। पत्र प्राप्त भएपछि राणा दिउँसै सर्वोच्चबाट बाहिरिएका थिए।


सत्तारुढ दलका नेताहरुले दिनभर महाभियोग प्रस्ताव दर्ता गर्ने कदमको बचाउ गरिरहे। प्रधानन्यायाधीश राणालाई पटकपटक अनौपचारिक रुपमा निकास दिन आग्रह गरेको तर उनी तयार नभएपछि अगाडि बढ्नुपरेको उनीहरुको अभिव्यक्ति थियो।


केपी ओली निवास बालकोटमा त्यसैदिन साँझ बसेको नेकपा एमालेको सचिवालय बैठकले महाभियोग प्रस्तावलाई गम्भीर षडयन्त्र भन्दै संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय लियो। अर्कोतिर एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै राणाविरुद्धको महाभियोग प्रस्तावलाई एमाले विरुद्ध भएको भन्न भ्याए। फागुन १४ गते एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने- 'यो (राणाविरुद्धको महाभियोग) किन ल्याएको भन्दा एमाले विरुद्ध ल्याएको हो, एमालेका विरुद्ध।'


फागुन २२ गतेको प्रतिनिधि सभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्‍यो। जसमा एमालेले पनि सहभागिता जनाएको थियो। समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल; कांग्रेसबाट मिन बहादुर विक र रामबहादुर विष्ट; माओवादीबाट यसोदा सुवेदी र रेखाशर्मा; नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का; जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मियाँ सदस्य रहे।


महाभियोग प्रस्ताव फागुन २९ गतेको प्रतिनिधि सभा बैठकमा पेस भयो। प्रस्तावक मध्येका एक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्ताव पेस गर्दै भनेका थिए- 'त्यो प्रस्ताव यो सदनबाट स्वीकृत होस्। र महाभियोगमार्फत कार्यक्षमताको अभाव देखिएको, न्यायिक आचरणको अभाव देखिएको र सर्वोच्च अदालतको नेतृत्व गर्न नसक्ने प्रधानन्यायाधीशलाई पदमुक्त गरियोस् भन्ने आशा अपेक्षाका साथ यो प्रस्ताव प्रस्तुत गरेका छौँ।'


सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्तावमाथि सभाको आगामी बैठकमा छलफल हुने जानकारी गराएका थिए। र चैत १ गतेका लागि बैठक स्थगित गरेका थिए। तर, चैत १ गतेको बैठक बस्नुअघि नै सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरिदियो। महाभियोग प्रस्ताव त्यत्तिकै रोकियो।


1140x725


एमसीसी!

२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको एमसीसीका सन्दर्भमा त्यसयता विवाद रहँदै आएको थियो। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिनिधिसभामा टेबल गरेर पारित गर्न खोजे पनि नसकेको सो सम्झौता २०७८ फागुन ८ गते प्रतिनिधि सभामा टेबल भयो। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्झौतालाई टेबल गरेका थिए।


सत्ता गठबन्धनका दलहरुभित्रै सहमति नरहेको सो सम्झौता टेबल गर्नको लागि फागुन ८ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सहमति जुटाएको थियो। त्यसै दिनको कार्यव्यवस्था परामर्श समितिको बैठकमामा ओवादी केन्द्रका तीन सांसद्ले लिखित असहमतिपत्र बुझाएको भए पनि सभामुख अग्निप्रसाद सापकोटाले सम्झौतालाई टेबल गर्न समय दिएका थिए।


मन्त्री कार्कीले एमसीसी टेबल गरिरहँदा नयाँ बानेश्वर क्षेत्रमा व्यापक प्रदर्शन भएको थियो। प्रहरीले निरन्तर अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। सदनभित्रै पनि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेमकिपा, राजमोका सांसद्हरुले आफ्नै सिटमा उठेर विरोध जनाएका थिए। एमालेका सांसद्हरुले सधैंझैँ वेल घेराउ गरेर नाराबाजी गरिरहेका थिए। एमालेका सांसद भीम रावलले भने सिटमै उभिएर विरोध जनाएका थिए।


त्यसपछिका केही दिन प्रमुख राजनीतिक दलहरुबीच निकै संवादहरु भए। सत्ता गठबन्धनका दलहरुबीच संवाद हुनु स्वभाविक नै हो। तर, गठबन्धनमा आबद्ध दलहरुमा एमसीसीलाई अनुमोदन गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस मात्रै थियो। त्यसका लागि उसले एमालेसँग तारन्तर छलफल गर्‍यो। एमाले र माओवादीबीच पनि संवाद भयो।


कांग्रेस र एमालेबीच एमसीसी पारित गर्ने सहमति जुटेमा सत्ता गठबन्धन भत्किने मात्रै होइन, सभामुख लगायतका पद माओवादीले गुमाउनुपर्थ्यो। एकीकृत समाजवादीले पनि सत्ताबाट बाहिरिनुपर्दा पार्टी निर्माणमा असर पर्थ्यो। आफ्नै प्रतिस्पर्धी एमालेसँग सत्ता गठबन्धन गर्दा कांग्रेसलाई कठिनाइ थियो। नजिकिँदै गरेको चुनावमा प्रमुख प्रतिस्पर्धा गर्नुपर्ने दलसँग सत्ता सहयात्रा गर्नुपर्दा अन्य दलसँगकै गठबन्धन उचित थियो। तर, एमसीसी पास गर्नैपर्ने दबाबमा रहेको ऊ जस्तोसुकै विकल्पमा अघि बढ्न तयार देखिन्थ्यो।


अन्ततः सत्ता गठबन्धनका दलहरुबीच एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सहमति बन्यो। सत्ता गठबन्धनका दलहरुबीच सहमति भएपछि १५ गतेको बैठकले सम्झौतालाई बहुमतले अनुमोदन गर्‍यो। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई नेपालको संविधानको धारा २७९ तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम २३० बमोजिम एमसीसी सम्झौता र प्रतिनिधिसभाबाट जारी गरिने उक्त सम्झौतामाथिको प्रस्तावित 'व्याख्यात्मक घोषणा' लाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए। सोही अनुसारको प्रस्ताव प्रतिनिधि सभाको ध्वनि मतले पारित गरेको हो। प्रतिनिधि सभाबाट पारित गर्नका लागि मन्त्रिपरिषद्ले १२ बुँदे 'व्याख्यात्मक घोषणा' पारित गरेको थियो।


अर्थमन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजी जारी थियो। सभामुखले प्रस्तावको पक्षमा हुन्छ र हुन्न भनेर निर्णयार्थ प्रस्तुत गर्दा पनि नेमकिपाका सांसद् प्रेम सुवाल, राजमोकी सांसद् दुर्गा पौडेल तथा एमालेका सांसद भीम रावलले सिटबाट उठेर विपक्षमा मत दर्ज गराएका थिए। तर, हुन्छ भन्नेमा बहुमत रहेकाले सो प्रस्ताव पारित भएको थियो।


फागुन ८ गते प्रतिनिधि सभामा एमसीसी टेबल भएदेखि सडक संघर्ष पनि चर्किएको थियो। विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए। जसको कारण नयाँ बानेश्वर क्षेत्र दैनिक जसो रणमैदान बनेको थियो।

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/277876 

आफ्नो कमजोरी छोप्न गभर्नरमाथि 'हतियार' प्रहार

नेपाल लाइभ

शुक्रबार, चैत २५, २०७८, २३:००

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो। शुक्रबार उनलाई निलम्बन पत्र पठाइएको छ। यो छानबिन गर्ने भन्ने विषय पदमुक्त गर्नुअघिको औपचारिक प्रक्रिया मात्रै हो।

गभर्नर पदमुक्त हुने केही अवस्थाहरु राष्ट्र बैंक ऐन २०५८ को दफा २२ मा छन्। राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तिय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, बैंकको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा जस्ता विषयहरु ऐनमा छन्।

विस्तृत विवरण त सार्वजनिक भएको छैन। तर, अधिकारीमाथि महत्त्वपूर्ण सूचना चुहाएकोदेखि पूर्वप्रधानमन्त्री केपी ओलीको निर्देशन मानेर सरकारलाई असफल बनाउन काम गरेको सम्मका आरोप रहेको बताइएको छ। यसका विविध पक्ष कालान्तरमा खुल्दै जालान्।

अध्यादेश चक्र: संसदीय प्रक्रियालाई सक्रिय बनाउन बेवास्ता, डेढ वर्षमा एउटै अध्यादेश चार पटकसम्म जारी

किशोर दहाल

बुधबार, चैत २३, २०७८, २२:००

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ पाँच वटा अध्यादेश जारी गरिन्। ती कुनै नयाँ शीर्षकका अध्यादेश भने होइनन्, पछिल्लो डेढ वर्षको अन्तरालमा उनले ती पाँचवटा अध्यादेशलाई चार/चार पटक जारी गरिसकेकी छन्। मुलुक कसरी अध्यादेश चक्रबाट अघि बढिरहेको छ भन्ने थाहा पाउन यिनै अध्यादेश राम्रा सन्दर्भ हुन्।

सदन चालु नरहेको अवस्थामा मुलुकको कुनै आवश्यकता वा समस्यालाई कानुनी रुपमा सम्बोधन गर्नुपर्ने भयो भने अध्यादेश ल्याउने गरिन्छ। संविधानले नै त्यो अधिकार दिएको छ। तर, पछिल्ला दुई वर्ष ल्याइएका कैयौं अध्यादेश त्यस्तो आवश्यकताको कारण वा 'स्वच्छ भावना'ले जारी गरेको पाइँदैन। त्यसको उदाहरण हो, राजनीतिक दलसम्बन्धी अध्यादेश।

२०७७ वैशाख ८ गते जारी भएको राजनीतिक दल सम्बन्धी केपी ओली नेतृत्वको तत्कालीन सरकारले निश्चित दल विभाजनको आशय राखेर ल्याएको थियो। विरोध भएपछि तत्कालै फिर्ता पनि लियो। त्यतिबेला प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले संस्थागत रुपमै आलोचना गर्‍यो। सरकार चलाइरहेको नेकपाकै पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले पनि विरोध गरेका थिए।

तर, २०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो। त्यतिञ्जेल नेकपा विभाजित भइसकेको थियो। नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)मा विभाजन अवश्यम्भावी भइसकेको थियो। सरकारले २०७७ वैशाखमा जारी भएको अध्यादेशमा भन्दा पनि खुकुलो प्रावधान राखेर २०७८ भदौमाअध्यादेश जारी गरिदियो। परिणामतः एमाले र जसपा विभाजित भएर नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भए।

निर्वाचन आयोगप्रति किन खनिँदैछ एमाले?

किशोर दहाल

सोमबार, चैत ७, २०७८, २१:४७

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका निर्णयलाई लिएर केही समययता लगातार आशंका व्यक्त गरिरहेका छन्। सार्वजनिक सम्बोधन र पार्टीका बैठकमा उनले तीन सन्दर्भलाई लिएर आशंका व्यक्त गरिरहेका छन्। पहिलो, निर्वाचन चिह्न हरियो बनाउने निर्णय। दोस्रो, उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि दिइएको दुई दिनको समय। तेस्रो, उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै (जनप्रतिनिधि भएमा) स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था।

निर्वाचन आयोगले फागुन २३ गते विज्ञप्ति निकालेर निर्वाचन चिह्नको रङ हरियो हुने निर्णय सार्वजनिक गरेको थियो। त्यसपछिका आफ्नो सम्बोधनमा ओलीले लगातार असन्तुष्टि जनाइरहेका छन्। निर्वाचन चिह्नको रङ हरियो गर्ने निर्णय कांग्रेसलाई सहयोग पुर्‍याउने उद्देश्यबाट प्रेरित छ भन्ने उनको भनाइ पाइन्छ। सोमबारकै एमाले पोलिटब्युरो बैठकमा उनले यो विषयमा आयोग र गठबन्धनका दलहरुबीच साँठगाँठ भएको ठोकुवा गरेका छन्।

उम्मेदवारको मनोनयनका लागि दिइएको दुई दिनको समय (वैशाख ११ र १२) प्रति पनि ओलीको आपत्ति छ। आइतबार इलाममा सम्बोधन गर्दै उनले भनेका थिए- 'दुई दिन किन चाहियो? पाँच दलीय गठबन्धनमा खटपट गरेर एक दिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ। भोलिपल्ट पनि राखिदियो। पहिले पहिले तपाईंहरुले थाहा पाउनुभएको छ, सुन्नुभएको छ, देख्नुभएको छ दुई दिन मनोनयनका लागि दिएको? मनोनयन एकै दिन हुन्छ, जहाँ पनि। विश्वभरि मनोनयन एकै दिन हुन्छ। नेपालमा दुई दिन मनोनयन। पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो?'

एमालेको नयाँ रेकर्ड : लगातार दुईटा संसद् अधिवेशन अवरोध, नाराबाजीमा बित्यो १४३ दिन

किशोर दहाल

मंगलबार, चैत १, २०७८, २२:१२

काठमाडौं– संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। मंसिर २८ गते सुरु भएको यो अधिवेशन प्रतिनिधि सभाका लागि दशौँ र राष्ट्रिय सभाका लागि एघारौँ थिए।

९२ दिन चलेको यो अधिवेशनमा प्रतिनिधि सभाको बैठक ११ पटक बसेको थियो। कूल ७ घण्टा ५० मिनेट बैठक बसेको थियो। प्रतिनिधि सभाका बैठकहरु मंसिर २८गते, पुस ६ गते, पुस ७ गते, फागुन ४ गते, फागुन ६ गते, फागुन ८ गते, फागुन १५ गते (पहिलो), फागुन १५ गते (दोस्रो), फागुन १८ गते, फागुन २२ गते र फागुन २९ गते बसेका थिए। राष्ट्रिय सभाका बैठक भने जम्मा २ वटा बस्यो। गत मंसिर २८ र पुस ५ गते मात्रै बैठक बसेको हो।

मूलतः यो अधिवेशन अन्त्यसँगै नेकपा एमालेले संसद् अवरोधको नयाँ रेकर्ड पनि राखेको छ। २०५७ सालमा एउटा अधिवेशनभर पूरा अवरोध गरेको उसले २१ वर्षपछि लगातार दुई वटा अधिवेशनभर अवरोधको नयाँ रेकर्ड राखेको हो। गत भदौ २३ गतेदेखि चलेको प्रतिनिधि सभाको नवौं र राष्ट्रिय सभाको दशौँ अधिवेशन कात्तिक १२ गतेसम्म कायम भएको थियो। त्यो अवधि ५२ दिनको थियो। तर सरकारले कात्तिक ११ गते नै निर्णय गरेको हुनाले ५१ दिनसम्म एमालेको अवरोध रहेको मान्न सकिन्छ।

आजै रातिबाट अन्त्य हुँदै गरेको अधिवेशन ९२ दिनसम्म चल्यो। अघिल्लो अधिवेशनका ५१ र यस अधिवेशनका ९२ गरी एमालेले १४३ दिनसम्म संसद् अवरोध गरेको हो। एमालेका कतिपय सांसदहरु निरन्तर संसद् अवरोध गर्ने कामप्रति सहमत नभए पनि पार्टी नेतृत्वको अगाडि मौन बस्ने गरेका छन्, बरु सदनमा नाराबाजी गर्न विवश हुने गरेका छन्। त्यसैले आगामी अधिवेशन पनि यसैगरी बित्ने सम्भावना ज्यादा छ।

मतपत्रमा हरियो रङको चुनाव चिह्न : तुकबिनाको तर्कबाट सिर्जित तरंग

किशोर दहाल

बिहीबार, फागुन २६, २०७८, २०:१९

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि घोषित मिति आइपुग्न अब ६४ दिन बाँकी छ। निर्वाचन आयोगदेखि निर्वाचनमा भाग लिने दलहरु आ-आफ्नो तयारीमा जुटेका छन्। तर, ती विषयले भन्दा मतपत्रमा रहने चुनाव चिह्नको रङको विषयले यतिबेला अतिरिक्त चर्चा पाइरहेको छ।

चर्चाको सुरुवात पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिएको अभिव्यक्तिबाट भएको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा राखिने चुनाव चिह्नहरु हरियो रङको हुने निर्णय गरेपछि ओलीले त्यसप्रति ठूलै आशंका प्रकट गर्दै अभिव्यक्ति दिएका थिए।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) को कार्यक्रममा सम्बोधन गर्दै ओलीले भनेका थिए- 'चुनाव चिह्नको रङ हरियो कुन हिसाबले राख्ने? धार्मिक हिसाबले राख्ने हो? अथवा, कसैको हरियो देखिने चिह्न छ, त्यसकारण राख्ने? कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो?'

संसद् अवरोध गरिरहेको एमालेले किन दियो महाभियोग समितिमा नाम?

किशोर दहाल

आइतबार, फागुन २२, २०७८, १९:०५

काठमाडौं- गत भदौदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले आइतबार पनि त्यसलाई निरन्तरता दियो। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छानबिनका लागि गठन गरिएको 'महाभियोग सिफारिस समिति'मा भने नाम दियो। ११ सदस्यीय समितिमा एमालेका चार सांसद् छन्।

एमालेले नाम दिएर महाभियोग सिफारिस समितिलाई पूर्णता दिन भूमिका खेलेपछि सत्ता पक्षले भने त्यसलाई एमाले पनि प्रक्रियामा सामेल भएको अर्थमा बुझेको छ। कानुनमन्त्री दिलेन्द्र बडू भन्छन्, 'एमाले संसदीय प्रक्रियामा आएको मानौँ न। यसलाई सकारात्मक रुपमा लिनुपर्छ। आएको मान्नुपर्छ भन्छु म।

एमालेले लामो समयदेखि संसद् अवरोधलाई जारी राखेको थियो नै, राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावको पनि आलोचना गर्दै आएको छ। तर, समितिमा नाम दिएर उसले यो प्रक्रियामा सभामुखलाई सघाएको छ। सभामुखले प्रस्तावित गरेको ११ सदस्यीय सो समितिलाई प्रतिनिधि सभाको आइतबारको बैठकले अनुमोदन पनि गरिसकेको छ। समिति गठन भएसँगै निलम्बित अवस्थामा रहेका राणामाथिको छानबिन प्रक्रिया अघि बढ्ने छ। 

आखिर महाभियोगमाथि छानबिन गर्न गठित समितिमा एमालेले किन आफ्ना प्रतिनिधि पठायो त? केही एमाले नेताहरुले दिएको प्रतिक्रियाको आधारमा यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ :

गठबन्धनका शीर्ष नेतालाई व्याख्यात्मक घोषणा सुन्न बाध्य बनाउने त्यो रणनीतिक ‘मूभ’

​​​​​​​दुर्गा दुलाल/किशोर दहाल/डिबी खड्का

मंगलबार, फागुन १७, २०७८, १५:२६

काठमाडौं- एमसीसीलाई लिएर सत्ता गठबन्धनमा ध्रुवीकरण बढिरहेको थियो। दुई साताअघि भएको गठबन्धनको एउटा बैठकमा महामन्त्री नेपाली कांग्रेसका गगन थापाले प्रस्‍ताव राखेका थिए- 'संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणामार्फत् एमसीसी पास गर्न सकिन्छ।' संकल्प प्रस्ताव थापाको आफ्नै आइडिया थियो, व्याख्यात्मक घोषणा कानुनविद्को सुझाव।

कांग्रेस सभापति शेरबहादुर देउवालाई एमसीसी जस्ताको तस्तै अनुमोदन गराउनु थियो। एमसीसी अनुमोदन गर्ने कुरामा कांग्रेस एकमत भएकाले देउवा अरुलाई त्यसैमा ल्याइपुर्‍याउन चाहन्थे। त्यसैले संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणा जस्ता कुरामा उनको खासै रुचि थिएन। वास्ता पनि गरेनन्।

सत्ता गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिक्रिया थियो- 'परिस्थिति धेरै अघि बढिसक्यो।' अर्का नेता नारायणकाजी श्रेष्ठले त झन् ठाडै खारेज गरिदिए।

गठबन्‍धनका नेताहरुले रुचि नदेखाएपछि थापाले सञ्चारमाध्यममा यो विषय बोल्न थाले। गठबन्धन एमसीसीका कारण मक्किदै जान थाल्यो। गठबन्धन टुट्दा बालुवाटारबाट बालकोट पुर्‍याइएका एमाले अध्यक्ष केपी शर्मा ओली फर्किने त्रास थियो। सभामुखको कार्यक्षमता र एकीकृत समाजवादीका १४ सांसदको वैधानिकतामाथि प्रश्न उठाइरहेको एमाले शक्तिमा फर्किँदा आउने नतिजा उनीहरुका लागि सोच्दै कहालीलाग्दो थियो। गत शनिबार पनि प्रचण्ड भन्दै थिए- एमसीसीकै कारण गठबन्धन टुटेर प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति देखापरेको छ।

एमसीसी अनुमोदन : आइतबार दिनभर के-के भयो?

किशोर दहाल

आइतबार, फागुन १५, २०७८, २१:५३

काठमाडौं– नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम च्यालेन्ज कम्प्याक्ट-एमसीसी) अन्ततः प्रतिनिधि सभाबाट अनुमोदन भएको छ।

प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकले सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई नेपालको संविधानको धारा २७९ तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम २३० बमोजिम एमसीसी सम्झौता र प्रतिनिधि सभाबाट जारी गरिने उक्त सम्झौतामाथिको प्रस्तावित 'व्याख्यात्मक घोषणा' लाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए। 

सोही अनुसारको प्रस्ताव प्रतिनिधि सभाको ध्वनि मतले पारित गरेको हो। प्रतिनिधि सभाबाट पारित गर्नका लागि मन्त्रिपरिषद्ले १२ बुँदे 'व्याख्यात्मक घोषणा' पारित गरेको थियो।

अर्थमन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजी जारी थियो। सभामुखले प्रस्तावको पक्षमा हुन्छ र हुन्न भनेर निर्णयार्थ प्रस्तुत गर्दा पनि नेमकिपाका सांसद् प्रेम सुवाल, राजमोकी सांसद् दुर्गा पौडेल तथा एमालेका सांसद् भीम रावलले सिटबाट उठेर विपक्षमा मत दर्ज गराएका थिए। तर, हुन्छ भन्नेमा बहुमत रहेकाले सो प्रस्ताव पारित भएको थियो।

एमसीसी बल्ल ठिक ठाउँमा, विवेक परीक्षणमा सांसदहरु

किशोर दहाल

आइतबार, फागुन ८, २०७८, २१:०९

काठमाडौं– २०७६ असार ३० गते नै प्रतिनिधि सभामा दर्ता भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) ३२ महिनापछि बल्ल सदनमा टेबल भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा टेबल भएपछि ५०० मिलियन अमेरिकी डलरको यो अनुदान सम्झौता एक पाइला अघि बढेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सम्झौतालाई प्रतिनिधि सभामा टेबल गर्ने निर्णय गरेको थियो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारकै प्रतिनिधि सभा बैठकमा सम्झौता टेबल हुने बताएका थिए। लगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्ने 'सहमति' बनेको हो। कार्यव्यवस्थामा माओवादी केन्द्रका तीन सांसद्हरु देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले भने लिखित असहमति पत्र राखेका थिए।

'राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद् अवरुद्ध नै रहेकोले एमसीसी सम्झौता सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर अहसमति रहेको व्यहोरा अनुरोध गर्दछौँ', पत्रमा भनिएको छ।

Saturday, March 26, 2022

दोहोरो भूमिकाको भुमरीमा प्रचण्ड

किशोर दहाल

बिहीबार, फागुन ५, २०७८, १६:१४

काठमाडौं- अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतामा दोहोरो भूमिका अपनाउँदा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अप्ठ्यारोमा पर्दै गएका छन्। एमसीसी बोर्डका अध्यक्षलाई पत्र लेखेर संसद्‌बाट सम्झौता अनुमोदन गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेका उनले आफ्नो पार्टीभित्र भने सो सम्झौता विरोधी भूमिका खेलिरहेका थिए। गत माघ २५ गते उनको पत्र-व्यवहारको गोप्यता भंग भएपछि अप्ठ्यारो थपिँदै गएको हो।

व्यक्तिगत रुपमा प्रचण्ड एमसीसीलाई प्रतिनिधि सभाबाट पारित गराउन चाहन्छन् भन्ने नै देखिन्छ। तर, एमसीसीका सम्बन्धमा पार्टीभित्रका 'हार्डलाइनर'हरु मात्रै मुखर भइरहेको र त्यसैबाट पार्टी पंक्ति डोरिएको अवस्थामा प्रचण्ड एकल निर्णय गर्न सक्ने अवस्थामा छैनन्। मूलतः तत्कालीन नेकपामै रहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारोमा पार्न सिर्जना गरेका जालोहरुमा यतिबेला उनी आफैं फसेका छन्।

एमसीसीलाई अनुमोदन गर्ने दिशातिर लाग्दा उनको पार्टी विभाजन हुनसक्छ। पार्टी विभाजनबाट आफ्नो शक्ति कसरी संकुचित हुँदै आयो र अहिले पार्टी र आफू स्वयंको कुन हबिगत छ भन्नेमा उनी राम्रै जानकार छन्। त्यसैले संगठित रुपमै हुनसक्ने पार्टी विभाजनलाई सहन सक्ने अवस्थामा प्रचण्ड छैनन्। बरु आगामी सत्ता राजनीतिमा पनि सान्दर्भिक भइराख्न अहिलेको पार्टीलाई जोगाइराख्नुपर्ने बाध्यतामा उनी छन्।

एमसीसी: सडकमा छताछुल्ल, सदनमा 'प्रवेश निषेध'

किशोर दहाल

बुधबार, फागुन ४, २०७८, १९:३९

काठमाडौं– बुधबारको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता टेबल हुने चर्चा थियो। त्यसैले यसका विपक्षमा रहेकाहरुले विरोध प्रदर्शन आयोजना गरे। सोही क्रममा नयाँ बानेश्वर क्षेत्र रणमैदान जस्तै भयो।

एमसीसीको विपक्षमा विभिन्न माध्यममार्फत् व्यक्त भइरहेका धारणाकै विस्तारित रुप आज सडकमा पोखिएको थियो। यसअघि पनि सामान्य विरोध प्रदर्शन नभएका होइनन्, आजको प्रदर्शन भने केही सशक्त थियो। जसको कारण निषेधित क्षेत्र समेत तोडियो। प्रहरीले पनि बल प्रयोग गर्‍यो।

यसरी एमसीसीका सन्दर्भमा मूलधारका सञ्चारमाध्यम, युट्युबदेखि सामाजिक सञ्जालमै विरोध गरिरहेको समूह सडकमै ओर्लिसक्दा पनि जनताका प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधि सभा भने अझै मौन छ। २०७६ असार ३० गते अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता भएको सो सम्झौतामाथि सांसद्हरुले सदनभित्र उभिएर आफ्नो र पार्टीको धारणा राख्न पाएका छैनन्।

प्रतिनिधि सभाको बुधबारकै बैठकमा सम्झौता टेबल गर्ने सरकारको प्रयास पनि अन्तिम समयमा रोकियो। माओवादीको संसदीय दलको बैठकले टेबल गरे गठबन्धन नै टुट्ने र सरकारबाट पनि बाहिरिने आशयको निर्णय गरेको थियो। सोही सन्देश बोकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटे। बरु, बिहीबार बस्ने तय भएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यसबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। त्यसैकारण प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गतेका लागि बोलाइएको छ।

यस्तो छ प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव [पूर्णपाठ]

किशोर दहाल

आइतबार, फागुन १, २०७८, १२:५८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ।

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

महाभियोग प्रस्तावमा २१ बुँदा उल्लेख गरिएको छ। जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ। 

यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको लगायतका विषय महाभियोग प्रस्तावमा उल्लेख छ।

राणाका विरुद्ध सर्वोच्च अदालतमा लामो समयदेखि आन्दोलन भइरहेको थियो। नेपाल बार एसोसिएसनले आन्दोलनका क्रममा दलहरुलाई राणा विरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो। तर, दलहरुले बेवास्ता गर्दै आएका थिए। तर, सर्वोच्चको आन्दोलनले निकास नपाउने आकलन गर्न थालिएको बेलामा सत्तारुढ दलहरुले 'छापामार' शैलीमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्। 

Saturday, March 19, 2022

प्रचण्ड अर्थात् कूटनीति गिजोलिरहने ‘कच्चा खेलाडी’

किशोर दहाल

सोमबार, माघ २४, २०७८, २०:४०

काठमाडौं- आइतबार सार्वजनिक भएका दुई पत्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आलोचनाको केन्द्रमा छन्। गत सेप्टेम्बर २९ (असोज १३) मा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले संयुक्त रुपमा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्डका अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको थियो। लगत्तै एमसीसीका तर्फबाट एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले देउवा र प्रचण्डलाई फेब्रुअरी ३ (माघ २०) मा लेखेको पत्र पनि सार्वजनिक भयो।

देउवा र प्रचण्डले लेखेको पत्रमा विभिन्न ६ वटा प्रतिबद्धताहरु व्यक्त गरिएका छन्। जसमा नेपाल सरकारको साधनस्रोत प्रयोग गरी नेपाली जनतालाई नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताबारे सूचित गर्ने र यसको कार्यान्वयनमा रहेका आशंकाहरु हटाउने, सरकारी सञ्चार माध्यममार्फत यथार्थ सूचना सम्प्रेषण गर्ने, सभामुखलाई संयुक्त रुपमै छिटो सम्झौता टेबल गर्न अनुरोध गर्ने लगायतका प्रतिबद्धता छन्। साथै, उनीहरुले कम्प्याक्ट (सम्झौता) अनुमोदनको लागि सहज वातावरण बनाउन आगामी चार-पाँच महिना लाग्ने विश्वास पनि व्यक्त गरेका छन्।

उनीहरुले नै जनाएको प्रतिबद्धता अनुसार एमसीसीले पनि सम्झौता अनुमोदनको लागि आग्रह गरेको छ। बाहले पठाएको पत्रमा देउवा र प्रचण्डले मागेको समय अनुसार फेब्रुअरी २८ (फागुन १६) भन्दा ढिलो नगरी सम्झौतालाई अनुमोदन गर्न आग्रह गरेको हो। त्यतिञ्जेलसम्म अनुमोदन नभए मार्चमा बस्ने एमसीसी बोर्डको बैठकले सम्झौतालाई निरन्तरता नदिनेबारे निर्णय गर्नसक्ने पनि पत्रमा उल्लेख छ।

देउवाको ‘ट्र्याक रेकर्ड’ : चुनाव गर्न सधैं आनाकानी!

किशोर दहाल/लिलु डुम्रे

शुक्रबार, माघ १४, २०७८, १९:०१

काठमाडौं- लोकतन्त्र र संविधानको सामान्य अपेक्षा हो, पाँच वर्षमा आवधिक निर्वाचन। स्थानीय तहका पदाधिकारी, प्रदेश सभा सदस्य, प्रदेश मन्त्रिपरिषद्, प्रतिनिधि सभा, संघीय सरकारदेखि पार्टीभित्रका नेतृत्व पनि पाँच वर्षमा परिवर्तन हुने व्यवस्था छ। तर, यतिबेला पाँच वर्षमा स्थानीय तहको निर्वाचन हुने वा नहुने अन्योल व्याप्त छ। सत्ता गठबन्धनले वैशाखमा गर्नुपर्ने निर्वाचन पछि धकेल्न अनेक छिद्रको खोजी गरिरहेको छ।

गठबन्धनमा लगभग सहमति गरिसकेका गठबन्धन आबद्ध दलहरुलाई निर्वाचन आयोगको ताकेताले पनि खासै छोएको छैन। प्रधानमन्त्री शेरबहादुर देउवालाई त राष्ट्रपति विद्यादेवी भण्डारीले समेत ध्यानाकर्षण गराइसकेकी छन्। तैपनि, वैशाखमै निर्वाचन हुने सम्भावना भने टर्दै गइरहेको छ।

कांग्रेसका कतिपय नेताहरु प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्न तयार भए पनि गठबन्धनका अन्य नेताहरु तयार नभएको बताउने गरेका छन्। गठबन्धन नटुटोस् भन्ने अभिप्रायले देउवा चुनाव पछि धकेल्न तयार भएको उनीहरुको भनाइ पाइन्छ। प्रधानमन्त्री र गठबन्धनको सबैभन्दा ठूलो दलको प्रमुख नेता हुनुको कारण समयमै चुनाव गर्दाको जस र पछि धकेल्दाको अपजस देउवाकै भागमा पर्छ। त्यसैले पनि वैशाखमै स्थानीय तहको निर्वाचन गराएर आफ्नो र पार्टीको छवि जोगाउनुपर्ने नेताहरुको सुझाव छ।

तर, एक कार्यकाल नेविसंघ सभापति, दुई कार्यकाल नेपाली कांग्रेसको सभापति (कांग्रेस प्रजातान्त्रिकको सभापति पनि) र पाँच कार्यकाल प्रधानमन्त्री बनेका देउवाको चुनावसँग सम्बन्धित ‘ट्र्याक रेकर्ड’ भने गतिलो छैन। त्यसैले पनि यसपटक उनी गठबन्धनको बन्दी बनेका हुन् वा उनको नियतमै कमजोरी छ? प्रश्न उठिरहेका छन्।

दलहरूको दायरा खुच्याउने निर्वाचन आयोगको कसरत!

किशोर दहाल

आइतबार, माघ ९, २०७८, २०:३०

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विधानबाट पनि विभिन्न शब्द हटाएर विधान सच्याउन पत्राचार गरेपछि त्यसले कुनै न कुनै हिसाबले राष्ट्रिय राजनीतिलाई नै तरंगित पारेको छ। आयोगले माघ २ गते नै पठाएको पत्र सो पार्टीका नेता, निवर्तमान अध्यक्ष कमल थापाले ट्विटरमार्फत् सार्वजनिक गरेपछि यो विषय बाहिर आएको हो। थापाले पत्र सार्वजनिक गर्ने क्रममा आयोगको पत्र संविधान र प्रजातान्त्रिक मान्यताविपरीत भएको बताएका छन्। आयोगको निर्देशन अस्वीकार्य रहेको भन्दै उनले विगतको यस्तै निर्णयलाई आफूहरुले संघर्षबाट उल्ट्याएको समेत उल्लेख गरेका छन्।

राप्रपालाई पठाइएको आयोगको पत्रमा भनिएको छ- ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुनेगरी उल्लेख गर्नु हुन।’

त्यस्तै, राप्रपाको विधानको धारा ४ (क) मा उल्लेखित ‘झण्डा को मध्य भागमा गाई चिह्न भएको’ भन्ने वाक्यांश हटाइ सोहीबमोजिम अनुसूचीमा उल्लेख गर्न पनि आयोगले भनेको छ। उसले विधानको धारा ५ (२) मा रहेको ‘सम्वर्द्धनवाद’ लाई पनि परिभाषित गर्न भनेको छ।

आयोगको पत्रपछि आइतबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले आयोगका निर्देशनहरुलाई संविधानको भावना र मर्मविपरीत तथा पूर्वाग्रही ठहर गरेको छ। आयोगले पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय पनि बैठकले गरेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको निर्देशनअनुसार आफ्नो मूल सिद्धान्तलाई संशोधन नगर्ने बताएका छन्।

सातै प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरु सहज स्थितिमा [मतदाता संख्या, मत र सम्भावित नतिजासहित]

किशोर दहाल

शनिबार, माघ ८, २०७८, १८:५१

काठमाडौं- अबको चार दिनपछि, माघ १२ गते हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनमा ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभाका १९ सदस्यका लागि हुँदै गरेको निर्वाचनमा दुई पक्षीय गठबन्धन बनेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा (राजमो)ले देशैभर गठबन्धन गरेर साझा उम्मेदवार तयार गरेका छन्। त्यस्तै, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भने मधेस प्रदेशका लागि मात्रै गठबन्धन गरेका छन्।

राष्ट्रिय सभामा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। सम्बन्धित प्रदेशका ती पदाधिकारीले सोही प्रदेशबाट उम्मेदवार भएकाहरुलाई मत दिनेछन्। स्थानीय तहका प्रत्येकको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ। त्यसैले प्रत्येक प्रदेशमा सम्बन्धित दलका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य कति छन्, सोही अनुसार मत खस्ने भएकाले राष्ट्रिय सभाको चुनावी नतिजा लगभग प्रष्ट नै हुने गर्छ।

सातवटै प्रदेशमा स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्यहरुको संख्या हेर्दा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो)का उम्मेदवारहरुलाई नतिजा निकाल्न सहज हुने देखिन्छ। प्रदेश १ मा बाहेक सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ।

मधेश प्रदेश : ‘फागुन १६’ को प्रस्थानविन्दु ओलीको बहिर्गमनले यसरी बन्यो सहज

किशोर दहाल

मंगलबार, माघ ४, २०७८, १९:०६

काठमाडौं- २०६३ माघ १ गते भर्खरै विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीसहितको सहमतिमा जारी भएको अन्तरिम संविधानले संघीयताको प्रत्याभूति नगरेपछि भोलिपल्ट उपेन्द्र यादव नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा अन्तरिम संविधान जलायो। संविधान जलाएपछि यादवसहितका व्यक्तिहरु पक्राउ परे। उनीहरुको रिहाइको माग गर्दै भएको प्रदर्शन अन्ततः कठोर आन्दोलनको रुपमा स्थापित भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेपछि केही थामिएको भए पनि आन्दोलन जारी नै रह्यो। अन्ततः यादव र तत्कालीन सरकारी वार्ता टोलीका संयोजक, शान्तिमन्त्री रामचन्द्र पौडेलबीच २०६४ भदौ १३ गते २२ बुँदे सहमतिमा हस्ताक्षर भएपछि पहिलो मधेश आन्दोलनले विश्राम पाएको थियो।

सहमति कार्यान्वयन नगरी संविधानसभाको निर्वाचन गराइहाल्ने राज्यपक्षको हतारोका बीच सोही वर्ष फागुन १ गतेदेखि दोस्रो मधेश आन्दोलन सुरु भयो। मधेश केन्द्रित तीन दल मधेशी जनअधिकार फोरम, सद्‍भावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको सो आन्दोलन फागुन १६ गतेसम्म चल्यो। मोर्चा ‘समग्र मधेश एक प्रदेश’को सुनिश्चितताको खोजीमा थियो, सरकार संविधानसभाको निर्वाचनको। सहमतिका लागि भारतीय दूतावास पनि सक्रिय थियो। भारतीय दूतावासमै आठ बुँदे सहमतिको खेस्रा पनि बनाइएको थियो। र, सामान्य संशोधन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा हस्ताक्षर गरिएको थियो।

यो सहमतिको घोषणा हुँदा बालुवाटारमा प्रधानमन्त्री कोइरालाले हिन्दीमा सम्बोधन गरेको विषय अहिले पनि बेलाबखत चर्चा हुने गर्छ। आठ बुँदे सो सहमतिको दोस्रो बुँदामा भनिएको थियो- मधेशी जनताको स्वायत्त प्रदेशको चाहनालगायत अन्य क्षेत्रको जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ।

कति गिजोल्ने हो एमसीसी : संसद्‍‌मै बहस गरेर टुंगोमा पुगे हुँदैन?

किशोर दहाल

बुधबार, पुस २८, २०७८, १९:१५

काठमाडौं- नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान सम्झौता (एमसीसी सम्झौता)का विषयमा सडकदेखि सञ्चार माध्यममा छलफल हुन बाँकी सम्भवतः कुनै पनि कोण छैनन्। विषयलाई गहिरोसँग बुझेका/नबुझेका, युट्युबका मुख्य/सामान्य सेटिब्रेटी, पत्रिकाका स्तम्भकार, विज्ञ, अध्यता, चासो राख्ने सबैले आफ्नो हिस्साको तर्क राखिसकेका छन्, राखिरहेका छन्। पार्टीहरुका आन्तरिक छलफलमा पनि यो विषय अटाइसकेको छ। त्यसैले कहिलेकाहीँ अलि चर्को गरी र कहिलेकाहीँ अलि हल्का रुपमा यो विषय विगत अढाइ वर्षदेखि मुख्य चासोको विषय बनिरहेको छ।

पछिल्लो समय त यसले राजनीति र समाजलाई पनि ध्रुवीकृत गरेको छ। एमसीसी सम्झौताको सन्दर्भमा भूराजनीतिक चासो जति छ, भूइँमान्छेको चासो पनि कम देखिँदैन। यसका विषयमा चर्चा हुनासाथ आममानिसबाट आउने 'नो एमसीसी' जस्ता प्रतिक्रियाबाट यसप्रति रहेको नकारात्मक छवि आकलन गर्न सकिन्छ। त्यसैले पनि कतिपय दलहरुले दोहोरो शैली अपनाउने गरेका छन्। अमेरिकासँग कूटनीतिक सम्बन्ध नबिग्रियोस् भन्ने चाहनाले यो अनुदान चाहिँदैन भन्न सक्दैनन्, चुनावमा भोट नबिथोलियोस् भनेर सम्झौता संसद्‍‌बाट अनुमोदन भएर कार्यान्वयन होस् भन्न पनि सक्दैनन्। तैपनि, एमसीसी सम्झौताको सन्दर्भमा प्रमुख दलहरुको धारणा लगभग प्रस्ट नै छ।

विभिन्न माध्यममा विभिन्न कोणबाट बहस भइरहँदा नागरिकको सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभा र प्रबुद्ध व्यक्तिहरुको प्रतिनिधित्व रहने भनिएको राष्ट्रिय सभामा संगठित बहस हुन सकेको छैन। सुरुआतमा शून्य समय र विशेष समयमा केही सांसदहरुले यो विषयमा फाट्टफुट्ट र पछिपछि प्रेम सुवालजस्ता सांसदले अन्य सन्दर्भमा पनि एमसीसीको चर्चा गरेका छन्। तर, यो विषय संसद्‍‌मा पेस भएर छलफल नहुँदा यही विषयमा केन्द्रित भएर औपचारिक बहस हुन नसकेको हो। जनमतलाई नै विभाजित गरिरहेको महत्त्वपूर्ण विषयमा सांसदहरुले आफ्नो थलोमा उभिएर धारणा राख्ने काम भएको छैन।

देउवा शैली : पौडेल र सिटौलाको साथ लिने, पदाधिकारीलाई बेवास्ता गर्ने

किशोर दहाल/लिलु डुम्रे

बुधबार, पुस २८, २०७८, ०८:४५

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पुस १७ गते रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा तथा पुस १८ गते जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमित सदस्यमा मनोनयन गरे।

यसरी मनोनीत गरिएकामध्ये रामचन्द्र पौडेलले चौधौं महाधिवेशनमा आफूलाई निर्वाचन प्रक्रियाबाट अलग राखेका थिए। सिंह र निधिले सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए। सिटौलाले देउवासँग गठबन्धन नै गरेका थिए। महत उनकै प्यानलबाट महामन्त्रीमा र शाही सहमहामन्त्रीमा प्रतिस्पर्धी थिए। खड्का, रेग्मी र विश्वकर्मा पहिल्यैदेखि उनी निकटकै नेता हुन्। कोइराला, प्रदीप पौडेल र गुरुङ पनि देउवाको विजयमा सहयोगी भएका थिए।

सभापतिमा पराजित शेखर कोइरालाले ती सदस्य नियुक्ति गर्दाको मापदण्ड जान्न चाहेका छन्। 'पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्य नियुक्त गर्नुभएको छ। नियुक्ति पाउनुभएका भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर, के 'मापदण्ड' अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो, हामी जान्न चाहन्छौं', पुस २१ गते आफू पक्षको भेलामा कोइरालाले भनेका थिए, 'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।' 

Friday, March 18, 2022

प्रमुख दलहरुका केन्द्रीय समिति : आरक्षणमा पनि ‘प्रभावशाली’हरुकै हालीमुहाली

किशोर दहाल

बुधबार, पुस २१, २०७८, २०:०९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको अन्तिम दिन पुस १८ गते अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय सदस्यको नामावली पढेर सुनाए। अघिल्लै दिन निर्वाचन गर्ने भनिएको र कार्यतालिका समेत सार्वजनिक भइसकेको अवस्थामा प्रचण्डले त्यस प्रक्रियालाई रोकेर भोलिपल्ट केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए।

प्रचण्डले सुरुमा केन्द्रीय सदस्यमा प्रस्तावित समानुपातिकतर्फको सूची पढेका थिए। त्यसमा पनि पहिलो नाम पढे- नारायणप्रसाद दाहाल। खसआर्य (पुरुष) तर्फबाट केन्द्रीय सदस्यमा प्रस्तावित भएका नारायणप्रसाद, प्रचण्डका सहोदर भाइ हुन्। केही बेरमै प्रचण्डले खसआर्य (महिला)तर्फको सूची पनि पढे। जसमा उनले आफ्नै छोरी रेणु दाहालको नाम पढे। जनजातिमा बुहारी बिना मगरको नाम पनि पढे।

पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धालाई छलेका प्रचण्डले केन्द्रीय सदस्यमा प्रस्तावित २३६ जनाको नाम पढेका थिए। जसअन्तर्गत आरक्षणको सूचीमा नारायण र रेणु मात्रै होइन, यसअघि सभामुख भइसकेकी ओनसरी घर्तीदेखि सांसद भएका र रहेका कैयौं नेताहरु अटाए। यसो गर्दा पार्टीका कैयौं आकांक्षीले केन्द्रीय सदस्यको लागि चुनाव लड्न पाएनन्। अर्कोतिर, प्रभावशालीहरु पनि आरक्षणको टेकोबाट सहजै केन्द्रीय सदस्य बने। उनीहरुले आफू खुलातर्फ प्रतिस्पर्धी बन्छु भन्न सकेनन्। जसोजसो प्रचण्ड, उसैउसै महाधिवेशन भयो।

आफ्नो यसखालको शैलीलाई प्रचण्डले 'बुर्जुवा अराजकतालाई रोक्ने प्रयास'को रुपमा अर्थ्याएका छन्। 'प्रदेशका साथीहरुले आपसमा अन्तर्क्रिया गरेर दिएको नामलाई नै आयोजक समितिले प्रस्तुत गरेका हौं। यसरी हेर्दा जनवादी र लोकतान्त्रिक विधिद्वारा यो केन्द्रीय समितिको निर्वाचन भएको हो। पूरै बुर्जुवा अराजकतातिर जाने खतरा थियो। हामीले त्यसो हुन दिएनौं। कुनै खालको निरंकुशता या कुनै एक व्यक्तिको आदेश अनुसार चल्ने पनि हुन दिएनौं', सोमबार पुनः अध्यक्षमा निर्वाचित भएपछि उनले भने।

कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]

नेपाल लाइभ

शुक्रबार, पुस २, २०७८, १९:३४

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक भएको मतपरिणाममा उनले महामन्त्रीका लागि प्रतिस्पर्धीहरुमध्ये सर्वाधिक ६५ प्रतिशत मत प्राप्त गरे। उनले प्राप्त गरेको मतले पार्टीभित्र उनको लोकप्रियतालाई पुष्टि गर्छ। अर्कोतिर कांग्रेससँग नजोडिएको ठूलो पंक्तिले पनि उनको विजयलाई रुचिपूर्वक हेर्‍यो र खुशी मनायो। त्यसलाई आफूले ठूलो पुँजी मानेको थापाको भनाइ छ।

सभापतिका उम्मेदवार शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्थी बनेका थिए, थापा। कोइरालाको पराजयसँगै  थापाले फरक समूहका सभापतिसँग काम गर्नुपर्ने भएको छ। सभापति शेरबहादुर देउवालाई उनकै प्यानलको उम्मेदवारले महामन्त्रीमा जित्दा जति मद्दत गर्थ्यो, आफूले पनि त्यति नै मद्दत गर्ने बताउँछन्, थापा। तर, सभापति देउवासँग आफ्नो सहयोग र संघर्षको सम्बन्ध रहने भन्न चुक्दैनन् उनी। फरक समूहबाट आएका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग पनि परिपुरकको भूमिकामा रहेर पार्टीलाई राम्रोसँग अगाडि बढाउने उनको भनाइ छ। प्रस्तुत छ, थापासँग नेपाल लाइभका लागि किशोर दहालप्रवीण ढकालले गरेको कुराकानीः

महामन्त्रीका लागि भएको प्रतिस्पर्धामा तपाईंले लगभग दुई तिहाइ मत पाउनुभयो। यसप्रति तपाईंको विश्लेषण के छ?

नेपाली कांग्रेसमा विभिन्न तहमा निर्वाचित भएर आउँदै गर्दा गुटगत आबद्धता एकदमै धेरै बलियो भएको हुन्छ। त्यसैले महाधिवेशन प्रतिनिधिहरुले आफ्नो उम्मेदवार छान्दाखेरि गुटगत रुझानको प्रभाव पर्छ। बाह्रौं महाधिवेशनमा पनि मलाई धेरै साथीहरुले त्यस्तो रुझानबाट मुक्त भएर मत दिनुभएको थियो। मैले त्यो अनुभव गरेर आएको हुँ। यसपटक पनि त्यस्तै भयो। मलाई मत दिने साथीहरुले यो वा त्यो गुट नभनी मत दिनुभएको छ। त्यसबारेमा मलाई मतगणनामा बस्ने साथीहरुले पनि सुनाउनुभएको छ। त्यसैले पार्टीभित्रका सबै खालका साथीहरुले मलाई विश्वास गर्नुभएको छ।

त्यस्तै, यो पार्टीको सदस्य नै नभएकाहरुले पनि मप्रति चासो राख्नुभएको छ। आम चुनावमा जस्तै यो महाधिवेशनमा मेरो परिणाम के होला भनेर चासो राख्नुभएको छ। मैले महामन्त्रीमा जित्दै गर्दा पनि आफैंले जितेको अनुभूति गर्नुभएको छ। मेरो लागि त्यो पनि ठूलो पुँजी हो। तर, हिजोको मतपरिणाम आउँदै गर्दा म डराएको पनि छु। त्यो कुन अर्थमा भने त्यति धेरै विश्वास र जिम्मेवारी दिएपछि प्रत्येक पाइलामा ध्यान पुर्‍याउनुपर्ने छ। सचेत रहनुपर्ने छ। मिहिनेत पनि गर्नुपर्ने छ। आफूलाई प्रमाणित पनि गर्नुपर्ने छ। मेरो अगाडिको यात्रा चुनौतीपूर्ण छ भन्नेमा म सचेत छु।

चौधौं महाधिवेशनसँगै औचित्य गुमाएका दुई पात्र- पौडेल र सिटौला

किशोर दहाल

बिहीबार, पुस १, २०७८, २०:०५

काठमाडौं- पार्टीको महाधिवेशनले कसैलाई स्थापित गर्ने मात्रै होइन, कसैको औचित्य पनि अन्त्य गरिदिँदोरहेछ। कांग्रेस महाधिवेशनमा भएको चुनावी प्रतिस्पर्धाबाट केही नयाँ पात्रको जबर्जस्त उदय भएको छ। जबर्जस्त यसकारण कि, उनीहरु जुन समूहमा बसेर प्रतिस्पर्धा गरेका थिए, सो समूहका सभापतिका उम्मेदवारहरुले पाएको मतभन्दा उनीहरुले पाएको मत बढी हुन आयो। यसले उनीहरुको लोकप्रियता र उनीहरुप्रतिको अपेक्षा पनि दर्शाउँछ।

महामन्त्रीका लागि भएको चुनावको बिहीबार सार्वजनिक अन्तिम मतपरिणाममा आशाका नजरले हेरिएका दुई नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। उनीहरुको जितलाई धेरैले कांग्रेसको आगामी नेतृत्वमा काँध थाप्ने भरपर्दो नेताको उदयको रुपमा बुझेका छन्। उत्साहित कार्यकर्ताले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा नारा नै लगाए- 'कांग्रेसभित्र क्रान्ति, गगन-विश्व महामन्त्री।' गगनलाई त उनीहरुले आगामी प्रधानमन्त्रीको रुपमा समेत चर्चा गरे- नेपाली कांग्रेसको महामन्त्री, अब देशको प्रधानमन्त्री।

पछिल्ला दिनमा कांग्रेसभित्र उठिरहेको पुस्तान्तरण र रुपान्तरणको नाराले ठूलो अंशमा सफलता पाएको छ। सभापतिमा शेरबहादुर देउवा नै निर्वाचित भएको भए पनि यो २०७२ सालको तेह्रौं महाधिवेशनपछिको कांग्रेस होइन भन्नेचाहिँ प्रष्टै बुझ्न सकिन्छ। धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताको भइसकेको विजय र अन्य यस्तै नेता विजय हुने सम्भावनालाई आकलन गरेर त्यति भन्न सकिन्छ।

नयाँ पालुवा पलाएसँगै पुराना पातहरु पहेँलिनु र झर्दै जानु स्वाभाविक हो। त्यहीमाथि चुनाव चिह्न नै 'रुख' भएको कांग्रेसका सन्दर्भमा यो विषय उत्ति नै प्राकृतिक पनि हो। यसपटक कांग्रेसको टुप्पामा दुई पातहरु भने पहेँलिएको प्रष्टै देखिएको छ, उनीहरु हुन्- रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला।

पौडेल समूहको अवसान, शेखर समूहको उदय

किशोर दहाल/लिलु डुम्रे

बुधबार, मंसिर २९, २०७८, २१:३०

काठमाडौं- कांग्रेस महाधिवेशन सुरु भएसँगै सबैतिरबाट एक्ल्याइएका शेखर कोइरालाले जित्ने सम्भावना त्यसै पनि कम थियो। दुई चरणको निर्वाचनले त्यसैलाई पुष्टि गरिदियो।

कांग्रेसमा नेतृत्व परिवर्तनको आकांक्षा राख्नेहरुलाई उनको हारले केही खिन्न बनाएको पाइन्छ। तर, चुनाव भनेको आखिर रणनीतिको प्रयोग र बहुमतको जोरजाम पनि हो। यसमा शेरबहादुर देउवा सफल भए, शेखर असफल। तैपनि शेखर समूहले आफूहरुले राजनीतिक विजय प्राप्त गरेको आत्मानुभूति गरेको छ।

शेखरले चुनाव जितेका भए कांग्रेसको आगामी दिनका बारेमा धेरै प्रक्षेपण भइरहेको हुन्थ्यो। जुन सामान्य उपक्रम पनि हो। तर, चुनावमै हार बेहोरेको नतिजा नै तात्तातो रहेको अवस्थामा जितेको भए यस्तो हुन्थ्यो भन्नुको औचित्य रहेन। चुनावका बेला शेखरका निम्ति जस्तो परिस्थिति बन्यो र उनले जुन अन्तरमा हार बेहोरे, त्यसले निर्माण गर्ने कांग्रेसभित्रको नयाँ परिस्थितिको चर्चाचाहिँ बरु बढी सान्दर्भिक हुनसक्छ।

शेखर कोइराला : मुस्किलले उम्मेदवार बने, ‘रणनीति’ बनाउन चुके

किशोर दहाल/लिलु डुम्रे

मंगलबार, मंसिर २८, २०७८, २१:१९

काठमाडौं- नेपाली कांग्रेसका नयाँ सभापति चयनका लागि सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले विजयी हुने सीमा, ५० प्रतिशत मत कटाउन सकेनन्। त्यही कारण सभापति चयन गर्न फेरि दोस्रो चरणमा मतदान हुने भयो। दोस्रो चरणमा भने पहिलो चरणमा पहिलो र दोस्रो चरणमा आएका उम्मेदवारहरु शेरबहादुर देउवा र डा शेखर कोइराला प्रतिस्पर्धामा छन्।

तर, दोस्रो चरणको मतदान हुनुअघि नै आफूसहित सभापतिका चारजना प्रत्यासी एकतिर उभिँदा देउवालाई बल पुगेको छ। पहिलो चरणका पाँचजना प्रत्यासीमध्ये शेखर दोस्रो चरणमा एकातिर छन् भने देउवासहित चारैजना अर्कोतिर छन्। पहिलो चरणको निर्वाचनबाट सफल नभए पनि देउवाले दोस्रो चरणमा आफू अनुकूल समीकरण बनाएका छन्।

गठबन्धन गरेर आफ्नो पक्षमा नतिजा निकाल्ने मामिलाका चतुर खेलाडी देउवाले पार्टी सभापतिमा दोहोरिन आफ्नो सोही क्षमता प्रयोग गरेको घटनाक्रमले देखाउँछन्।

नेपाली कांग्रेस निर्वाचन समितिको आधिकारिक जानकारीअनुसार पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेको थियो। जसमा ७६ मत बदर भएको थियो। देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत ल्याएका छन्। चुनावमा होमिइसकेपछि कोइराला पक्षले अपेक्षाकृत नै मत ल्याएको देखिन्छ। तर, कांग्रेसलाई नेतृत्व गर्ने अवसरबाट भने कोइराला चुक्ने स्पष्ट जस्तै भइसकेको छ।

कोइराला पक्षको अहिले अवस्था अनपेक्षित भने होइन। त्यसका लागि लामो समयदेखि गर्दै आएको कमजोरीको प्रतिफल निर्वाचन परिणाममा देखिन पुगेको हो।

कांग्रेसका महाधिवेशनहरु : सभापतिदेखि केन्द्रीय सदस्यसम्म कसले कति मत ल्याएर निर्वाचित भए?

किशोर दहाल

आइतबार, मंसिर २६, २०७८, १४:०२

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ। शुक्रबार उद्घाटन समारोह र बन्दसत्र पनि भइसकेकाले महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो। शनिबार उम्मेदवारको मनोनयन भइसकेको छ। सोमबार मतदान हुने कार्यक्रम छ।

कांग्रेसले १४ वटा महाधिवेशन गरिरहँदा फरकफरक निर्वाचन प्रक्रिया अपनाएको छ। आठौं महाधिवेशनसम्म सभापतिमात्रै निर्वाचित गरिन्थ्यो। पछि आवश्यक पदहरुमा सभापतिले नै मनोनित गर्थे। नवौं महाधिवेशनमा पहिलोपटक पाँच जना केन्द्रीय कार्यसमिति सदस्य पनि निर्वाचित गरियो। ती पाँच जना पाँच विकास क्षेत्रको आधारमा निर्वाचित गरिएको थियो।

दशौं महाधिवेशनमा आइपुग्दा सभापतिसहित केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्यहरुको निर्वाचन भयो। त्यो व्यवस्था एघारौं महाधिवेशनमा पनि कायमै रह्यो। बाँकी सभापतिले मनोनित गर्ने व्यवस्था थियो।

बाह्रौं र तेह्रौं महाधिवेशनमा सभापति-१, महामन्त्री-१ र कोषाध्यक्ष-१को लागि निर्वाचन भएको थियो। त्यस्तै, केन्द्रीय कार्यसमितिका ६१ पदका लागि निर्वाचन भएको थियो। बाह्रौंमा १४ प्रदेशबाट एकएक जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने तेह्रौंमा आइपुग्दा सात प्रदेशबाट दुईदुई जना निर्वाचित भएका थिए। अन्य सबै प्रावधान उस्तै थिए। उपसभापति-१, महामन्त्री-१, सहमहामन्त्री-२ लगायत केन्द्रीय कार्यसमितिका बाँकी सदस्यहरु सभापतिले मनोनित गर्ने व्यवस्था थियो।

चौधौं महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार मात्रै बढाइएको छैन। प्रत्यक्ष निर्वाचित हुने दायरा बढाइएको छ, मनोनित गर्ने संख्या घटाइएको छ। त्यसैले सभापति-१, उपसभापति-२, महामन्त्री-२, सहमहामन्त्री-८ सहित १३४ केन्द्रीय कार्यसमिति सदस्यको लागि निर्वाचन हुँदैछ। त्यस्तै, कोषाध्यक्ष-१ र केन्द्रीय कार्यसमिति-३३ जना मनोनित गरिनेछ।

कांग्रेस महाधिवेशन : आरक्षण सिट सीमित नेताको कब्जामा

किशोर दहाल

आइतबार, मंसिर २६, २०७८, ११:१४

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल २०६७ असोजमा सम्पन्न बाह्रौं महाधिवेशनमा महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। २०७२ सालमा सम्पन्न तेह्रौं महाधिवेशनमा उनी फेरि सोही आरक्षणतर्फ उम्मेदवार बनिन् र केन्द्रीय सदस्यमा निर्वाचित भइन्। जारी चौधौं महाधिवेशनमा पनि उनले सोही आरक्षणतर्फ आफ्नो उम्मेदवारी दिएकी छन्।

पार्टीका नयाँ वा क्षमतावान् नेताहरुलाई नेतृत्वसम्म पुग्नको लागि सिढीको रुपमा राखिएको आरक्षण सिटहरु कसरी पुरानै वा औसत नेताहरुको कब्जामा छ भन्ने बुझ्न कांग्रेसका पछिल्ला तीनवटा महाधिवेशन (जहाँ केन्द्रीय सदस्यका लागि आरक्षणको व्यवस्था गरिएको छ) राम्रो उदाहरण हो। जसलाई भुसाल वा भुसाल जस्तै सीमित नेताहरुले उपभोग गरिरहेका छन् र पार्टीको केन्द्रीय सदस्यमा दोहोरिरहेका छन्।

बाह्रौं र तेह्रौं महाधिवेशनमा महिला आरक्षण (खुला) तर्फ ६ सिट छुट्याइएको थियो। बाह्रौं महाधिवेशनमा निर्वाचित भएका पुष्पा भुसाल, कमला पन्त, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने तेह्रौं महाधिवेशनमा सोही अधिकारबाट निर्वाचित भए। भुसाल, बस्नेत र न्यौपाने चौधौं महाधिवेशनमा पनि अधिकार उपभोग गर्न खोजिरहेका छन्। उनीहरुसँगै थपिएका छन्, महिला आरक्षण (खुला) तर्फबाट तेह्रौं महाधिवेशनमा जितेका डिला संग्रौला र सरिता प्रसाईं। चौधौं महाधिवेशनमा महिला आरक्षण (खुला) तर्फ ९ सिट छुट्याइएको छ।

कांग्रेसका ‘बामदेव’ बन्लान् त सिटौला?

किशोर दहाल/लिलु डुम्रे

बिहीबार, मंसिर २३, २०७८, ०९:३४

काठमाडौं- भर्खरै सम्पन्न नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा दुई स्थानको नतिजा बढी चर्चायोग्य छ, प्रदेश १ र बागमती प्रदेश। प्रदेश १ मा कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा र बागमतीमा शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ विजयी भए। देउवा र सिटौला पक्षको गठबन्धनका कारण ती दुई प्रदेशको नतिजा यस किसिमको आएको हो।

प्रदेश १ मा देउवा पक्षको सहयोगमा थापा दुई मतको अन्तरले विजयी भएका थिए। बागमतीमा भने निर्वाचन दोस्रो चरणसम्म धकेलिएको थियो। पहिलो चरणमा तेस्रा हुन पुगेका सिटौला पक्षका उम्मेदवार भीमसेन दास प्रधानले देउवा पक्षका उम्मेदवार बानियाँलाई सघाएका थिए। यसरी प्रदेश अधिवेशन सिटौलाका लागि आफ्नो शक्ति परीक्षण र चौधौं महाधिवेशनमा गठबन्धनको सम्भावना नियाल्ने अवसर बनेको छ।

सिटौला समूह त्यही हो, जसले आफूलाई वैचारिक समूहको रुपमा दाबी गर्छ। तर, व्यावहारिक रुपमा भने आफूलाई अवसरवादी गुटको रुपमा स्थापित गर्दै लगेको छ। त्यही प्रवृत्तिमा पोख्त हुँदा यो समूह देउवालाई नै सभापतिमा दोहोर्‍याउन सहयोगी हुने आकलन गर्न थालिएको छ।

एमालेको अनुहारमा दशौं महाधिवेशनको ‘धब्बा’

किशोर दहाल

मंगलबार, मंसिर १४, २०७८, १०:२९

काठमाडौं- आफ्ना भाषणमा लोकतन्त्रमा अनेक उपसर्ग र प्रत्यय जोडिरहन्छन् एमाले नेता केपी शर्मा ओली। राज्यसत्तामा होस् वा पार्टीसत्तामा, उनले त्यसको अभ्यास गर्न भने चाहेको देखिँदैन। चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनमा उनको ‘मुखले लोकतन्त्र र व्यवहारमा अलोकतान्त्रिक छवि’ प्रष्ट भएको छ।

महाधिवेशनको पहिलो दिन नै उनले अलोकतान्त्रिक कामका लागि पदीय शक्तिको प्रयोग गर्न थाले। स्पष्ट छ, पार्टीमा ओलीको बहुमत छ। उनले चाहेकै हुन्छ। तर, ओलीले १० गते राति सौराहामा बसेको केन्द्रीय कमिटीको बैठकबाट विधान संशोधन गराए।

विधान संशोधनका दुई पक्ष छन्। पहिलो, असोज १५ देखि १७ सम्म आयोजित विधान महाधिवशेनले बनाएको विधान दुई सय हाराहारीको केन्द्रीय कमिटीले परिवर्तन गरिदिनु आफैंमा बलमिच्याइँ हो। किनकि, ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी विधान महाधिवेशन, जसको मुख्य काम नै विधान बनाउनु हो, उसले बनाएको विधानलाई दुई महिनामै केन्द्रीय कमिटीले परिवर्तन गरेको थियो। संशोधित विधानलाई महाधिवशेनको बन्दसत्रबाट अनुमोदन गरियो। महाधिवेशनको बन्दसत्र पनि दुई हजार हाराहारीको जमघट हो।

दोस्रो पक्ष, विधानमा ओलीका निम्ति निहित स्वार्थ राखिएको छ। एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाउने विधानको व्यवस्था हटाइयो। विधान महाधिवेशनबाट पारित विधान नै कार्यान्वयन गरिएको भए ओली अध्यक्षकै उम्मेदवार हुन पाउने थिएनन्। किनकि, उनी २०६५ र २०७१ मै अध्यक्षको उम्मेदवार भइसकेका थिए। तर, एमालेले प्रतिनिधिबाट बनाएको विधान औपचारिक प्रयोगमा नआउँदै ओलीकै निम्ति संशोधन गरिदियो।

नेम्वाङलाई पन्छाएर ईश्वर पोखरेलले हत्याए ‘आफ्नै लागि’ सिर्जना गरिएको पद

किशोर दहाल

मंगलबार, मंसिर १४, २०७८, ०५:५३

काठमाडौं- असोज १५ देखि १७ सम्म आयोजित एमालेको प्रथम विधान महाधिवेशनले सिर्जना गरेको पद थियो, वरिष्ठ उपाध्यक्ष। नेताहरुको भनाइ थियो- त्यो ईश्वर पोखरेललाई सिर्जना गरिएको पद हो। नेताहरुको ठोकुवा र स्वयं पोखरेलको अपेक्षालाई केन्द्रित गरेर नेपाल लाइभमा प्रकाशित भएको थियो- वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

सोमबार पोखरेल सोही पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार मध्यरातमा सुरु भएको बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्तुत गरेको सूचीमा अपेक्षाकृत रुपमै पोखरेलको नाम वरिष्ठ उपाध्यक्षको छेउमै उभिएको थियो। ओलीलाई शनिबार रातिको बन्दसत्रले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नामावली पेश गर्ने अधिकार दिएको थियो। वरिष्ठ उपाध्यक्षमा अरु कसैको दाबी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

पोखरेलले सो पद सहजै पाएका भने होइनन्। कुन पदमा को नेताले बाजी मार्लान् भन्ने केही महिनायताको खेलोफड्कोमा मौनप्रायः देखिएका सुवास नेम्वाङले महाधिवेशनको सरगर्मी उच्च बिन्दुमा पुगेसँगै वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी खुलाएका थिए। सुरुवातमा आफूलाई ‘साथीभाइले वरिष्ठ उपाध्यक्षमा लड्नू भनेका छन्‘ भन्दै कूटनीतिक भाषामा आफ्नो आकांक्षा स्पष्ट पारेका थिए।

एमाले महासचिवमा शंकर पोखरेलले कसरी मारे बाजी?

किशोर दहाल/डिबी खड्का

सोमबार, मंसिर १३, २०७८, २०:४२

काठमाडौं- नेकपा एमालेमा महासचिवका बलिया दाबेदार मानिएका विष्णु पौडेललाई उपाध्यक्षतर्फ धकेल्दै महासचिव हासिल गर्न सफल भएका छन् शंकर पोखरेल। धेरैको मनमा एउटा प्रश्नले डेरा जमाएको हुनुपर्छ- एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा समेत महासचिव बनेका पौडेल एमालेकै महासचिव किन बन्न सकेनन्? अर्का प्रत्यासी सुरेन्द्र पाण्डे भने महाधिवेशन सुरु हुनु केही दिनअघि नै महासचिवको रिङबाट बाहिर परिसकेका थिए।

तीन दिन लामो घम्साघम्सीपछि पोखरेलले आइतबार राति पौने ९ बजेतिर महासचिवमा बाजी मारेका हुन्। त्यो समयसम्म केन्द्रीय कमिटीकै 'व्यवस्थापकीय' काममा सक्रिय पौडेलले अन्तिम समयमा आफूले उपाध्यक्षमा उक्लिनुपर्ने सुइँको पाएका हुन्। 

अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताका अनुसार आइतबार राति साढे ८ बजे लगभग सबै पदमा प्रस्ताव गरिने नामको टुंगो लाग्यो। बाँकी थियो, उपाध्यक्ष एक पद र महासचिव। कसलाई बनाउने भनेर ओली समूहका शीर्ष नेताहरुबीच छलफल सुरु भयो। छलफलकै क्रममा ओलीले नेताहरुलाई भने, ‘महासचिव मलाई नै रोज्न दिनुहोस्।’

केन्द्रीय सदस्यसहित अन्य पदाधिकारीको सूची हातमा बोकेका महासचिवका प्रत्यासी पौडेलले त्यो डकुमेन्ट ओलीलाई बुझाए। ओलीको रोजाइमा परे, पोखरेल। पौडेलको नाम उपाध्यक्षमा लेखियो।

Friday, March 4, 2022

नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

किशोर दहाल/डिबी खड्का

बुधबार, मंसिर १, २०७८, २१:०४

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भंग भएपछि २०७७ फागुन अन्तिमदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नै ढंगबाट अघि बढाए। त्यसै क्रममा उनले एमालेको महाधिवेशनको मिति तोके। अध्यक्ष र महासचिव पद राखेर महाधिवेशन आयोजक कमिटी बनाए।

त्यस कमिटीको बैठकको रोचक दृश्य कतिले ख्याल गरेका होलान्? ख्याल गर्नेहरुले बैठकको अग्रभागमा अध्यक्ष ओली, उनको दायाँ संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र बायाँ महासचिव ईश्वर पोखरेल देखेको हुनुपर्छ। 

बैठक बस्दा ओहदाअनुसार कुर्सी मिलाएर बस्ने प्रचलन एमालेमा पनि छ। एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग भइसकेको अवस्थामा पदाधिकारीमा अध्यक्ष र महासचिव मात्रै कायम थिए। बाँकीको रोलक्रम मिलाउँदा ओली पछिका वरिष्ठ नेताका रुपमा महासचिव पोखरेल (बायाँ) सँगै नेम्वाङ (दायाँ) थिए। 

दुईपटक संविधानसभा अध्यक्ष हुँदा पार्टीको महत्त्वपूर्ण पदमा प्रतिस्पर्धा गर्न नपाएका नेम्वाङ एमालेको पदाधिकारी नभए पनि हैसियत ‘वरिष्ठ’मध्येमै रहेको सन्देश त्यो ‘सिट प्लानिङ’ले दिइरहेको थियो। समयक्रममा एमाले फेरि पुरानै अर्थात् २०७५ जेठ २ को अवस्थामा फर्कियो। त्यसरी फर्किंदा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी पुनःस्थापित भए, पार्टी बैठकमा नेम्वाङको कुर्सी अध्यक्ष ओलीको आडबाट अलि पर सर्‍यो। तर, संसदीय दलको उपनेताको रुपमा संसद्‌मा उनी दोस्रो हैसियतमा कायम नै छन्।