Pages

Saturday, October 6, 2018

गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन [भिडियो]

किशोर दहाल

असोज १८, २०७५| प्रकाशित १२:१७

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको निम्ति न्याय माग गर्दै आज सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरिएको छ।

घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्।  प्रदर्शनकारीले गृहमन्त्री र आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै उनीहरु विरुद्ध नारा लगाएका थिए।

नेकपा सूत्रपातको एक वर्ष : विवाददेखि विवादसम्म

किशोर दहाल

असोज १७, २०७५| प्रकाशित २२:०७

अघिल्लो वर्षको ठिक यसै समयताका आम जनता दशैं मनाउन व्यस्त भइरहेको बेलामा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरु गहन छलफलमा थिए। उनीहरु नजिकिएको चुनावलाई केन्द्रमा राखेर दुई कम्युनिस्ट पार्टीको एकीकरणको रणनीति बनाइरहेका थिए। नेताहरु आफ्नो प्रयत्नलाई भत्काउने प्रयास कतैबाट नहोस् भन्नेमा सचेत थिए, त्यसैले सामान्य सुइँकोसम्म पनि बाहिर दिइरहेका थिएनन्। दशैंको उल्लास सकिएपछि धेरैले यो प्रयत्नबारे जानकारी पाएका थिए।

दशैं समाप्तिको केही दिनपछि अर्थात् असोज १७ गते राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी उनीहरुले ‘एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं’ भन्ने जानकारी गराए। अन्तिम दिनमा डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पनि यो प्रक्रियामा जोडिन आइपुग्यो। त्यसदिन ६ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै एमाले, माओवादी र नयाँ शक्तिले भने– ‘हाम्रो पृष्ठभूमिर जनताको चाहना एवम् राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन्।’

एक हप्ताअघिसम्म पनि कसैले सामान्य अनुमान पनि नगरेको घटना भयो, कारण, एमाले र माओवादी त्यतिबेला तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका थिए। अर्कोतिर, माओवादी उही एमालेको सरकार ढलाएर कांग्रेससँग सहकार्य गर्दै थियो। ऊ कांग्रेसप्रति इमानदारीको भावमा आलोपालो सरकार चलाइरहेको थियो। तत्कालीन समयको केही महिनाअघि मात्रै प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेका थिए। सम्बन्धमा कुनै दरार देखिएको थिएन। तर, त्यतिबेला जे भयो, धेरैका निम्ति अचम्म भयो।

म जे गर्दैछु, केपी ओलीले कुनै बेला सिकाएको कुरा नै गर्दैछु : योगेश भट्टराई [भिडियो वार्ता]

किशोर दहाल

असोज १७, २०७५| प्रकाशित १८:१३

केही दिनअघिको संसद बैठकमा सत्ताधारी दलकै नेता माधव नेपालले सरकारको कार्यशैलीको चर्को आलोचना गरे, स्थायी समिति सदस्यलाई चिया खुवाए। अहिले पार्टी विधि र प्रक्रियाबाट नचलेको र नेतृत्व तहमै विश्वासको संकट देखिएको नेकपाभित्रका नेताहरुले बताउन थालेका छन्। ट्विटरदेखि पत्रपत्रिकासम्ममा यस किसिमको बहस तन्किएको छ। हामीले नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईलाई सोधेका छौं- वाम विमानमा निरन्तर किन गडबडीहरु देखिइरहेका छन्?

मंगलबार नेपाल लाइभका किशोर दहालले भट्टराईसँग गरेको लामो कुराकानीको केही अंश यहाँ प्रस्तुत छ। विस्तृत कुराकानीका लागि तपाईंले भिडियो हेर्न सक्नुहुनेछ।

पार्टी एकीकरण भएकै दिनदेखि वरियतालाई लिएर झलनाथ खनाल असन्तुष्ट। गोविन्द केसीलाई भेटेपछि नारायणकाजी श्रेष्ठले प्रवक्ताबाटै राजीनामा दिनुपर्‍यो। विधि प्रक्रिया मिचियो भनेर अहिले माधव नेपाल असन्तुष्ट। वाम विमानका चक्का, ढोका तथा पखेटा सबैतिर यसरी क्रमश गडबडी देखिँदै गएको छ। किन यस्तो भइरहेछ?

महाधिवेशनपछि पनि राजपा अध्यक्ष मण्डल कायमै रहने

किशोर दहाल

असोज १७, २०७५| प्रकाशित १४:२१

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा)ले परिमार्जित विधान निर्वाचन आयोगमा पठाएको छ। महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै रहने व्यवस्था गरिएको परिमार्जित विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने उल्लेख गरेको छ।

सोमबार राजपाले निर्वाचन आयोगमा 'राष्ट्रिय जनता पार्टी नेपालको विधानः २०७४ (संशोधन र परिमार्जितः २०७५)' पठाएको छ। केही अघि बसेको अध्यक्ष मण्डलले परिमार्जित विधान पारित गरेको हो।

विधान पारित भएसँगै राजपाका नेताहरुमा भने असन्तुष्टि देखिएको छ। अध्यक्ष मण्डलको बैठकले मात्रै विधान पारित गरेको र कतिपय प्रावधानका विषयमा पर्याप्त छलफल नै नभएको  नेताहरुले टीप्पणी गरेका छन्। ' परिमार्जित विधान राजनीतिक समिति वा केन्द्रीय समितिबाट अनुमोदन गर्न आवश्यक समेत ठानिएन', एक जना राजनीतिक समिति सदस्यले भने।

ट्विटरमा छताछुल्ल नेकपा आन्तरिक विवाद, रिमाल र भट्टराईबीच फेरि घोचपेच

किशोर दहाल

असोज १४, २०७५| प्रकाशित ०९:२८

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता विष्णु रिमाल र योगेश भट्टराईबीच सामाजिक सञ्जालमा पुनः घोचपेच सुरु भएको छ। सरकार सञ्चालनको शैलीमा पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला दुई नेताले भने सामाजिक सञ्जालमै एकअर्काप्रति लक्षित ट्विट लेखेका छन्। उनीहरु दुई बीचको यो घोचपेच दोस्रोपटक हो।

दोस्रो घोचपेचको सन्दर्भ केलाउनुअघि पछिल्लो समय विकसित घटनाक्रमलाई छोटोमा पुनःस्मरण गरौं।

सरकारले सोचजस्तो काम गर्न नसकेको, भाषणमात्रै गरेको, मंहगी बढेको, कामभन्दा बढी हल्ला गरेको, काम गर्न नसकेपछि कार्यकर्तालाई अरिंगाल र मौरी बनेर विपक्षीमाथि खनिन उक्साएको भनेर प्रधानमन्त्री केपी ओलीमाथि आरोप लागिरहेको छ। यसैबीचमा, पार्टीको एकता प्रक्रियामा पनि विवाद बढ्दै गएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफूहरुलाई दबाएर अघि बढ्न खोजेको आरोप लगाइरहेको छ।

गत बिहीबार चालू अधिवेशन अन्त्य हुनुअघि संसदमा बोल्दै पूर्व प्रधानमन्त्री तथा एमाले सचिवालय सदस्य माधवकुमार नेपालले सरकारको चर्को आलोचना गरेका थिए। उनले देश डुब्नै लागेको भन्दै ‘माझी’ खोजेका थिए। साथै, शुक्रबार पार्टीको स्थायी समिति बैठक डाकी सरकारकै आलोचना गरेका थिए।

पार्टीका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सिंगापुरमा छन्। सरकारको समीक्षा हुनुपर्ने बताउँदै आएका उनी यसअघि भारत र चीन भ्रमणमा गएका थिए। सरकारको कामकारबाही मात्रै होइन, कार्यशैलीप्रति असन्तुष्ट प्रचण्डले पनि बेलाबेलामा आफू निकट नेता र पत्रकारहरु डाकी सरकारको आलोचना गर्दै आएका छन्। छिमेकी देशहरुको भ्रमणलाई फेरि प्रधानमन्त्री बन्ने उनको चाहनाको दौडथुपको रुपमा पनि अर्थ्याउने गरिन्छ।