Pages

Sunday, September 27, 2015

सम्पादकहरु कस्ता लेख चाहन्छन् ?

डेल किगर

           लेखन विधिको विवादमा म एउटा दृष्टिकोण थप्न चाहन्छु । २१ वर्षसम्म म व्यावसायिक लेखक भएँ । तीमध्ये ११ वर्ष मैले स्वतन्त्र लेखकका हैसियतमा टिप्पणी, रेस्टुराँ समीक्षा, लघु कथा, व्यक्ति परिचय, मासिक वक्तव्यसमेत लेखें । यसबीचमा मैले दि समाचारपत्रमा पनि सिकारुहरुको प्रशिक्षण र लेख दृष्टिले चर्चित पाँचमध्ये एक भनिएका राष्ट्रिय प्रकाशन ‘जोन्स हप्किन्स जर्नल’ मा विशिष्ट लेखक तथा सम्पादकका रुपमा कार्यरत छु ।
           यहाँ मैले लेख्न लागेको धेरैजसो कुरा साहित्यइतरका लेखकहरुप्रति लक्षित छन् । तर काल्पनिक लेखनधर्मीहरुलाई पनि म अधिकांश यिनै सल्लाह निवेदन गर्दछु । दुवै विधाका सम्पादकहरु के चाहन्छन् त ? सम्पादकहरु ती लेखक रुचाउँछन् जो व्याकरण र वाक्य रचना राम्ररी बुझ्छन्, सही सूचना कसरी संकलन गर्ने भन्ने जान्दछन् र आडम्बररहित र स्पष्ट ढंगले लेख्छन् । लेखनको तात्पर्य थाहा पाएका र त्यसलाई ग्रहण गरेका अनि आफ्नै कौशल, तीक्ष्ण बुद्धि र शैली प्रस्तुत गर्ने लेखक सहजै सम्पादकको रोजाइमा पर्छन् । सम्पादकहरु ती लेखक रुचाउँछन् जसले अनुरोध गरिएको आकारमा सम्झौता भएको विषयमा विल्कुलै समयमा आफ्नो लेख रचना पु¥याइदिन्छन् । सम्पादकहरु केवल कोरा कल्पनाबाट निःसृत विचार रुचाउँदैनन् । बरु उनीहरु तिनको कार्यकक्षभन्दा बाहिरको संसारको बुद्धिमत्तापूर्ण, सुसूचित तथा सन्देहपूर्ण विवेचना र अन्तर्दृष्टियुक्त अवलोकन चाहन्छन् । सम्पादकहरु कठोर परिश्रमी र व्यावसायिक सौजन्यप्रति आदरभाव भएका स्रष्टा चाहन्छन् ।
            दुःखपूर्वक भन्नुपर्छ हामीले जति रचनाहरु पाउँछौं तिनमा अधिकांश कुरा अनुपयोगी हुन्छन् । तिनका धेरैजसो लेखकले अझै ‘लेख्न’ सकेका हुँदैनन् न त कुनै नवीन कुरा उप्काएका हुन्छन् । कसैकसैले त खामको पछाडिपट्टि हातैले धस्क्याएर आफ्नो रचना पठाउँछन् (नहाँस्नुस्, केही समयपहिले एउटा सम्पादकले यस्तै पत्र पाएको मैले थाहा पाएको छु) । लेखकहरुले कतिसम्म आशा गरेर आफ्नो रचना पठाउँछन् भन्ने म जान्दछु । म अरुका सपना कुल्चन रुचाउन्न तर वास्तविकता के हो भने हामीले प्राप्त गर्ने अधिकांश रचनाले हाम्रो समय बर्बाद गरिदिन्छन् र कहिलेकाँही त स्थापित स्तम्भकारहरु छोडेर नवोदित लेखकहरुलाई स्थान दिने सोचाई बनाृउन प्रेरित गर्छन् । 


लेखकीय सफलताका सूत्र

  • आधारभूत कुरा सिक । मेरो भनाइको अर्थ के हो भने तिनलाई भित्रै गहिराईसम्म पुगेर सिक । सम्पादकलाई ‘प्रयोग’ अथवा ‘तर अन्तर्वस्तुको महत्त्व हुन्छ नि’ जस्ता अर्थहीन कुरा सुन्ने समय र धैर्य हुँदैन । यदि तिम्रो व्याकरण, वाक्य रचना र वर्णविन्यास कमजोर छ भने तिमी प्रयोगवादी होइनौं, तिमी बच्चै छौ । हो, रचनाको अन्तर्वस्तु वा सारको अर्थ हुन्छ तर जब तिमीले भाषालाई समुचित ढंगले खेलाउन सक्दैनौं भने हामीलाई तिमीप्रति कुनै चाख हुँदैन । 
  •  चतुर र अन्तर्दृष्टियुक्त अवलोकनकर्ता बन । साहित्यिक र गैरसाहित्यिक लेखन पनि विस्तारपूर्ण विवरणमा निर्भर हुन्छन् । यदि तिमी देख्न, सुन्न र सोच्न सक्दैनौं भने तिमीसँग व्यक्त गर्ने कुरा पनि केही हुँदैन । व्यक्त गर्नलाई केही छैन भने तिमीले यही कुरा भन्न कैयौं पृष्ठ तयार गर्नेछौ ।
  •  सोच । सम्पादकहरुले तिमीले कल्पना गर्न सक्ने भन्दा बढी मूर्खतापूर्ण तुलना, बङ्ग्याइएका रुपक, अनुपयुक्त उपमा र बेहोसीपूर्वक तथ्याङ्क भरिएका पत्र आफ्नो टेबलमा पाउँछन् । होसियारीपूर्वक मिमांसा गरिएका, मेहनतपूर्वक लेखिएका, गम्भीर रुपले अवलोकन गरिएका र आद्योपान्त सुविचारित रचनाहरुले मात्र सम्पादकको ध्यान तान्छन् । आफ्नो रचनाको शब्दैपिच्छै घोत्लेउ र आफ्नै मान्यता, निश्कर्ष र हरेक वाक्यांशमाथि प्रश्न गर । 
  • कठोर परिश्रम गर । तीन जनासँग वार्ता गरे पर्याप्त हुन्छ भन्ने तिमीलाई लाग्छ भने दस जनासँग वार्ता गर । त्यसपछि एघारौंसँग कुरा गर । यसोभन्दा म गम्भीर भएरै भनिरहेको छु । मैले हिसाबै राखिन कि कतिपटक अन्तिम फोनको घण्टीले, जुन म थकित भएको कारण उठाउन चाहन्नथें, काम गथ्र्यो । तिमीले मलाई एक जनाको मात्र उद्धरण गरिएको रचना पठाउन सक्छौ तर यदि तिमीले दसैजनासँग वार्ता गरेको भए म अवश्य थाहा पाइहाल्छु । रचना आफैं बोल्नेछ कि त्यो कति सुसूचित छ, कति विस्तारित र विश्वासिला विवरणहरुद्वारा सारगर्भित छ । आवश्यक अनुसन्धान बिना नै तयार पारिएका रचनाहरुमा यसको स्पष्ट अभाव देखिन्छ । यदि यो काल्पनिक लेखन हो र तिमीले उचित बनोट, पात्रहरु र संवादका निम्ति अत्यावश्यक सामाग्री आधा मात्रै संकलन गरेका छौं भने मैले त्यो तत्काल थाहा पाउनेछु, पाँच मिनेटभित्रै । 
  • व्यावसायिक बन । त्यसको अर्थ समयमै प्रुफ हेरिएको स्पष्ट पाण्डुलिपि पठाउ, सम्पादकले चाहेको र तिमीले बचनबद्धता व्यक्त गरेको बिषयमा लेख । हामीलाई आश्चर्यचकित बनाउने भए आफ्नो प्रतिभा र अभ्यासले बनाउ नकि कुरै नभएको बिषयमा लेखेर वा आवश्यकताभन्दा दोब्बर लामो रचना पठाएर । 
  • होसियारीपूर्वक आफ्नो क्षेत्र छनौट गर र प्रस्तुतिमा व्यावसायिक बन । छोटा, सूचनामूलक खोज र स्पष्ट पाण्डुलिपिले तान्छन् । तथ्यलाई दोहो¥याई–दोहो¥याई जाँच । यो नसोच कि सम्पादकले यस्तो गरिदिनेछ, यो तिम्रो काम हो । पर्याप्त ठोस कारण नभएसम्म विश्मयादिबोधक चिन्ह प्रयोग नगर । संवाद लेख्दा आफूलाई प्रख्यात भाषाविद् काम्र्याक म्याकर्थी नसम्झ । 
  • प्रयत्नशील बन । आफ्नो प्रिय प्रकाशनसँग निरन्तर सम्पर्कमा बस । छोटा लेख पठाइराख । स्थापित विचार र रचना प्रकाशनका लागि जताततै पठाऊ । अखबारमा प्रवेश पाएपछि बेजोड तवरले सशक्त रचनाहरुको बाढी लगाइदेऊ । सम्पादक मण्डलमा न बहिरा छन् न अन्धा, तर हामीहरु विकर्षित अवश्य छौं । हाम्रो ध्यान आकर्षण गर्न सक्नेहरु अस्वीकार हुँदैनन् । 
  • आलोचना स्वीकार गर चाहे त्यो जतिसुकै भद्दा र तिम्रा भावनामा चोट पु¥याउने किन नहोस् । लेखन हास्य वा मनोविनोदको विषय होइन । यो आक्रामक पौरुषभाव पनि होइन । वास्तवमा यो साधारण सत्य हो । लेखन कहिलेकाहीँ आवश्यकताभन्दा क्लिष्ट हुनसक्छ तर त्यही गुनासोका भरमा कुनै परिवर्तन गर्नुहुँदैन । सम्पादकहरुले तिमीलाई समावेश गर्नका निम्ति आधारभूत कुरामा केही परिवर्तन गर्ने छैनन् । रवर्टसन ड्यामिन्स भन्छन्– प्रजातन्त्रभन्दा कला अग्रगामी र सीमापारि हुन्छ ।
         यो स्वभाविकरुपले महान् हुन्छ । तसर्थ आफ्ना रचना परिश्रम र कौशलले कलापूर्ण बनाउ । हो केही अपवाद छन् तर तिनलाई बिर्स । तिमी आफूलाई अपवादमा नपार । जटिल कुरा झन् जटिल हुँदै जान्छन् । माथिका सबै सूत्र प्रयोग गर, सम्पादकहरुले तिम्रो रचना अवश्य प्रकाशन गर्नेछन् । यी सबै विधि अवलम्बन र मौलिक शैली एवं सौन्दर्य विकास ग¥यौ भने सम्पादकले तिमीलाई ओठमै चुम्नेछन् । अनि थप काम दिन तिमीलाई बोलाउनेछन् । 

         कान्तिपुर दैनिक, बिहिबार, ७ साउन, २०६१

Monday, September 21, 2015

सडकमा असोज ३

किशोर दहाल / २०७२ असोज ३

        संविधान जारी हुने असोज ३ गते दिउँसोतिर नयाँ बानेश्वर पुग्दा त्यहाँको रौनक बेग्लै थियो । यो ठाउँमा आज केही हुँदैछ भन्ने कुरा जोसुकैले पनि थाहा पाउन सक्थ्यो । त्यसो त, यो कुरा थाहा नपाउने नेपाली नै को थियो होला र ?
        नयाँ बानेश्वर सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । संविधान जारी हुने दिनको लागि भनेर देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको थियो । झन्, नयाँ बानेश्वरमा स्वभाविक रुपमा सुरक्षा व्यवस्था कडा हुने नै भयो । ठाउँठाउँमा कुकुरहरुबाट निरिक्षण गराईएको थियो ।
संविधानसभा भवनमा झण्डैझण्डा टाँगिएको थियो । सडकका वरिपरि पनि झण्डा देख्न सकिन्थ्यो । कतिपय मानिस सडकमा पनि झण्डा बोकेर हिँडिरहेका देखिन्थे । झण्डैझण्डाको यो रौनकताले मानिसमा एकप्रकारको मित्रता बढाइरहेको स्पष्ट देखिन्थ्यो । सडकमा जात थिएन, भाषा थिएन, सम्प्रदाय थिएन, पार्टी थिएन, केबल नेपालीपन थियो । राष्ट्रप्रेम थियो । नजानिदो ढंगले एकता र ‘हामी एक हौं’ भन्ने भावना प्रवाहित भईरहेजस्तो लाग्थ्यो ।
       सडकमा मानिसको घुइँचो थियो । यद्यपि मानिसहरु हिँडिरहेका कम, झुण्डझुण्ड भएर गफ गरिरहेका धेरै थिए । पत्रकारहरुको पनि बाक्लै उपस्थिति देखिन्थ्यो । सडक किनारामा पहेँला आउटर लगाएकाहरुको चहलपहलले त्यो बाक्लोपन अनुमान गर्न सकिन्थ्यो । साधारण मानिसहरु संविधानसभा भवनलाई पृष्ठभूमि बनाएर सेल्फी खिचिरहेका देखिन्थें । त्यो भवनप्रति मानिसमा ह्वात्तै मोह बढेको थियो । कतिले गर्ब महसुस पनि गरे होलान् । यो त्यही भवन हो, जसलाई मैले नै कैयौं पटक सपनाको हत्यारा भनेर बुझेको थिएँ । ममात्रै होइन । यो भवनको दायाँबायाँ हिड्ने धेरैले यस भवनप्रति रोष उकेलेका छन् । धेरैले मुख बिगारेका छन् । खर्चको बोझ र देश बर्बादीको कारण भनेर भवनमा बस्नेहरुलाई धारे हात लगाएका छन् । कैयौंले त दिक्क मान्दै घृणाबश पिच्च धुके पनि होलान् । असन्तुष्टि त त्यस भवनमा पहुँच राख्ने हाम्रै मत जितेका सभासद्प्रति मात्रै होइन, प्रतीकात्मक रुपमा त्यो सेतो भवनप्रति मान्छेले आ–आफ्नै शब्दमा गाली गरिरहे । तर, संविधान जारी हुने निश्चित भएसँगै केही दिनयता मानिसमा त्यो भवनप्रति भरोसा बढ्दै गएको थियो । संविधान घोषणा गर्ने दिन भने त्यस भवन लगभग आस्थापुञ्ज बन्दै गएको थियो । मानिसमा त्यस भवनप्रति अपार श्रद्धा महसुस भइरहेको थियो । त्यही भरोसा र श्रद्धा नै सेल्फी बनेर प्रकट हुँदै गएको बुझ्न सकिन्छ ।
         मनिसहरुमा तीब्र जिज्ञासा थियो । संविधानसभा, सभासद्, नेताहरु तथा सम्पूर्ण राजनीतिप्रति नै मानिसमा सकारात्मक भावना विकास भइरहेको थियो । पुरानो दृष्टिकोण पनि परिवर्तन हुँदै थियो । संविधानसभाको मात्रै होइन, समग्र राजनीतिकै चमक बढेको जस्तो लाग्थ्यो । मानिसहरु एक्काशी आशावादी भएरहेका थिए । धेरैमा यो देश अब विकास हुन्छ भन्ने बिश्वास बढेको थियो ।
          केही बेर नयाँ बानेश्वर घुमेपछि म कोठातिर फर्किएँ । धरहरा, खिचापोखरी, हनुमानढोका हुँदै आगाडि बढिरहँदा ठाउँठाउँमा संविधानको स्वागतको तयारी देखिन्थ्यो । नेपालको नक्सा बनाउँदै त्यसमा प्रदेशको नक्सा खिच्ने, रङ भर्ने, लेख्नेजस्ता अनेक तयारी गरिँदै थियो । मानिसहरुमा खुसी छताछुल्ल पोखिएको थियो । युवायुवतीहरु सकेसम्म आफ्नो कला प्रस्तुत गरिरहेका थिए ।
साँझ पर्दै गर्दा राष्ट्रपतिबाट नेपालको संविधान २०७२ को जारी भएको घोषणा भयो । संविधान जारी भएसँगै सडकमा अतासबाजी सुरु भए । मैनबत्ति बालिए । राष्ट्रगान गाईए । लड्डु बाँडिए । सडकले सकेसम्म बढि खुसी बाँड्यो ।
        यो ऐतिहासिक क्षणमा देश भने स्पष्ट रुपमा दुईटा भावना विभाजित भयो । देशको एउटा भुगोलको मानिसले सेल्फीदेखि लड्डु सम्ममा खुसी मनाइरहँदा मधेसका सडकमा भने अँध्यारो छाइरह्यो । ‘ब्ल्याक आउट’ गरियो । कारण जे सुकै होस्, जायज होस् या नाजायज, मन परेर होस् वा मन नपराएर होस् । मधेसले अँध्यारो मुख लगायो । झण्डै डेढ महिनादेखि ऊ काठमाण्डौंलाई आफ्नो आवाज सुनाउन बल गरिहेछ । काठमाण्डौ बन्दुकको कुन्दाले उसको आवाजमाथि नियन्त्रण गरिरहेछ । मधेस केही बोल्न खोजिरहेछ । तर, आवाजमाथि दमन भइरहेछ । मधेसको मुहारमा यो ऐतिहासिक खुसी महसुस भएन । कतिपयले चाहेर पनि खुसी साट्न सकेनन् । आन्दोलनरत दलको चेतावनीको कारण पनि मधेस पूर्णत अध्याँरो भयो । मन नपर्नेले संविधान नस्वीकार्दा हुन्थ्यो, तर मन पर्नेहरुलाई खुसी साट्न दिनुपथ्र्यो । खुला छाडिदिएको भए संविधानको वास्तविक प्रभाव पनि देखिन्थ्यो ।
       त्यसो त, मधेसबाट प्रशस्तै मत जितेका कांग्रेस, एमाले वा माओवादीका स्थानीय नेताले पनि खासै पहल गरेनन् जस्तो लाग्छ । उनीहरुको बहुमत आएको ठाउँमा उनीहरुको आवाज बहुमत मानिसले सुन्न सक्थे नि । ति दलका भातृ संगठनले कुनै रचनात्मक काम गरेनन् । सम्बन्धित दलले आफ्ना भातृसंगठनलाई कुनै प्र्र्रभावकारी आदेश दिएको सुनिएन ।
       म सोचिरहेछु, बाँकी देशले जस्तै मधेसले पनि सँगसँगै दिपावली गरेर खुसी साट्न पाएको भए कत्ति राम्रो हुने थियो ।

Saturday, September 19, 2015

‘हुलासको पिठो’ जस्तो संविधान

किशोर दहाल
असोज ३ गते काठमाडौंका धेरै  ठाउँमा अनेक प्रकारले संविधानलाई स्वागत गरिएको थियो। बेलुका बत्ती बालेर खुसियाली मनाइएको थियो।

पहिले पहिले हुलास कम्पनीको नाममा एउटा प्रचार खुबै सुनिन्थ्यो । त्यसको सम्पूर्ण विषय त याद छैन । तर, एउटा स्लोगन भने अद्यापि चर्चित छः 'हुलास भए अरु किन खोज्ने ?'

त्यसैसँग जोडिएको एउटा चुट्किला पनि सुनिन्थ्यो, साथीहरुका माझमा ।

केही कमिलाहरु मिठाइ पसलमा छिरेछन् । मिठाइ पसलमा कतै चिनी छरिएको, कतै मिठाइकै टुक्रा छरिएको, कतै पिठो छरिएको थियो । कमिलाहरु कोही चिनीतिर लागे । कोही मिठाइतिर लागे । तर, एउटाचाहिँ पिठो खान थालेछ । साथी कमिलाहरुले उसलाई सोधे, 'चिनी, मिठाइ छोडेर किन पिठो खान थालेको ?'

पिठो खानेले प्रतिप्रश्न गरेछ, 'हुलास भए अरु किन खोज्ने ?'

हुलासको पिठोको उत्कृष्टताको स्वीकारोक्तिसँगै एउटा व्यङ्ग्य पनि हो, यो । अझ उत्कृष्ट प्राप्त गर्नसक्ने अबस्था हुँदाहुँदै थोरैमा रमाउने बानीमाथिको व्यङ्ग्य । आज जारी हुन लागेको संविधान त्यही हुलास पिठोमा अल्झिँदा छुटेको मिठाइजस्तै भएको छ ।

सरकारका नाममा

किरण दहाल 
 

बसेर नयाँ आलीको डिलमा
चोबलेर एउटा खुट्टा
पानी भरिएको खेतमा
हेरिरहेछु
भर्खरै जोतेका आफ्नै गोरूका
थकित मुहार
, आफैले कोरेका हलोका धमिला धर्साहरू
फलाउनुछ यसपालि अलि बढि धान
देशमा फल्नै आँटेको संबिधानजस्तै

पुरानो रेडियो
बढि गनगनाउँछ अचेल
केके जाति अनौठा शब्दहरु
 संघीयता
 शासकीय स्वरुप
 बहुलवाद
 धर्म निरपेक्षता
पोहोर गाउँमा आएको
कुइरेले बोल्ने भाषाजस्तो

Thursday, September 17, 2015

संबिधान जलाउनु सामान्य हो : उज्ज्वल प्रसाईं


उज्ज्वल प्रसाईं सीमान्तकृत वर्गको पक्षमा निरन्तर कलम चलाईरहेका एक जुझारु लेखक हुन् । पछिल्लो समय उनी ‘रेकर्ड नेपाल’को सम्पादक छन् । प्रसाईंसँग आज दिउँसो फेसबुकमा गरिएको कुराकानी:
संबिधान जारी हुँदै गरेको स्थितिलाई कसरी मूल्याङ्कन गरिनु उचित होला ?
यो संविधानले कम्तिमा बहिस्करणलाई राम्रोसँग सम्बोधन गर्नुपथ्र्यो । त्यो भएन । कुनै सीमान्तकृत समूहको पनि बहिस्करण कम हुन सकेन । केही गरेजस्तो गरेर केही गरेनन् । सतहमा सीमाङ्कनको मात्रै मुद्दा पेचिलो देखिन्छ । तर, निर्वाचन क्षेत्रदेखि अनेक समस्या जस्ताको तस्तै छन् । 


यो संविधानमा के-के मुद्दा संबोधन भएनन्,  बुँदागत रुपमा भनिदिनुस् न !
१) धर्म निरपेक्षताः यसको परिभाषामा समस्या छ । सनातन धर्मको रक्षा गर्ने भनेको हिन्दु धर्मको रक्षा गर्ने नै भनेको हो । यसो गर्दा अरु धर्मलाई राज्यले पाखा पारेको ठहर्छ । र, राज्य हिन्दु धर्मको मात्रै हुन्छ ।
२) सीमाङ्कनः थारुको उचित प्रतिनिधित्व, त्यो जातीको बाहुल्य हुने प्रदेशमा मात्रै सम्भव छ । त्यसैले उनीहरुको बाहुल्य हुने गरी पहाड नमिसाई थारुलाई पश्चिममा एउटा प्रदेश दिनुपर्ने थियो । त्यो भएन । अनि, मधेसीको माग पूरा गर्न पूर्वका मधेसी बाहुल्य क्षेत्र जस्तो बिराटनगर, इनर्वा र झुम्का लगायतका ठाउँ प्रदेश २ मा जोड्ने ।
३) निर्वाचन क्षेत्रः निर्वाचन क्षेत्र जम्मा १६५ वटा छन् । त्यसमा भूगोललाई प्राथमिकता दिइएको छ । हरेक जिल्लामा एउटा–एउटा गरेर निर्वाचन क्षेत्रमा बाड्ने भनिएको छ । त्यसो गर्दा ७५ वटा भयो । बाँकी ९० वटा रह्यो । ९० वटालाई जनसङ्ख्याको आधारमा बाड्ने भनिएको छ । त्यसो गर्दा ४५ वटा सिट मधेसलाई पर्ने भयो । भूगोलबाट २० र जनसङ्ख्याको आधारमा ४५ वटा गरी जम्मा ६५ वटा सिट मधेसमा हुने भयो । तर, मधेसको जति नै जनसङख्या भएको पहाडमा भने १०० सिट हुने भयो । यसो गर्दा संसदमा मधेसको उचित प्रतिनिधित्व हुँदैन । त्यसैले बहिस्करणको समस्या हल हुँदैन ।
४) शासकीय स्वरुपः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति नहुँदा स्थीरता हुँदैन । यस बिषयमा व्यापक छलफल भइसकेको छ ।
५) नागरिकताः अहिले ‘वा’ लेखेर आएको भनिए पनि त्यसलाई काट्ने अर्को धारा राखेर फेरि आमाको नामबाट नागरिकता दिने बिषयलाई पन्छाउने कोशिस गरिएको छ । साथै, केही प्रावधान यस्ता छन्, जसले खासगरी मधेसीलाई राज्यका ठूला पदमा पुग्न बञ्चित गर्छ ।
६) दलितः यस बिषयमा यति नै समस्या हो भनेर बताउन सक्ने स्थिति छैन । यसभित्रका बहुआयामिक तथ्य र समस्या बुझ्नुपर्ने हुन्छ । त्यसका लागि आहुतीका लेखहरु पढ्न सुझाब छ । अहिलेलाई यत्ति भनौं, संविधानले जसरी अधिकार सुनिश्चित गर्नुपर्ने थियो, त्यो हुन सकेन ।
७) २०६३ सालमा भएको मधेस विद्रोहलाई स्वीकार गरिएको छैन, प्रस्तावनामा । माओवादी जनयुद्धलाई शसस्त्र विद्रोह भनेर सम्बोधन गरिएको ठाउँमा मधेसको विद्रोहलाई विद्रोह नमानेकै कारण कतै उल्लेख नगरिएको स्पष्ट हुन्छ ।
८) समानुपातीक समाबेशीः यो शब्दवलीलाई उचित ढङ्गले प्रयोग गर्नुपर्नेमा, समाबेशीमात्रै भनेर केही प्रावधान ल्याईएको छ । जसले समानुपातीक भन्ने मर्मलाई नै अंगीकार नगरेको देखिन्छ । यहाँ खस आर्य राख्नु भनेको यो मुद्दालाई कमजोर पार्नु हो । समानुपातीक प्रतिनिधित्व हुन नसक्दा बहिस्करण कम हुँदैन । त्यसकारण संविधानका धेरै प्रावधानमा यसरी गडबड गरिएको छ । दलितको हकमा पनि यो कुरा लागु हुन्छ ।
अन्त्यमा, संघीयता र समानुपातिक प्रतिनिधित्वको मर्मलाई निस्तेज गर्ने हिसाबकिताब गरेर नै यो संविधान ल्याईएको छ । खासगरी, यो दुई धारणा जसले राज्य पूनर्संरचनामा निकै ठूलो भूमिका खेल्छन्, यिनको सिद्धान्तलाई आधार नबनाई संबिधान ल्याउनु नै समस्या हो । 


संबिधान त आउने नै भयो । तर, यसलाई जलाउँदै हिड्नु पनि उचित नहोला । बरु, संघर्षका नयाँ शैली अपनाउनु नै ठीक होला । त्यो नयाँ शैली के हुन सक्छ ?
जलाउनु सामान्य हो । यो जलाउने कर्मको बिरोध गर्नेहरुले यही अबस्थाको संविधानलाई स्वागत गरेका हुन् । त्यस्तो बिरोध जरुरी
पनि   छैन । अब लडाईं कसरी अगाडि बढाउने भन्ने बिषयमा सोच्नुपर्ने देखिन्छ । सधैं सडकको झडप र त्यस्तो खाले क्रान्ति सम्भव छैन । यो संविधान लागु हुन्छ नै जस्तो देखिन्छ । लागु भएपछि यसका कमी कमजोरी पनि उजागर गर्दै जानु पर्छ । रिसर्च र लेखनबाट उजागर गर्दै गएर त्यसैलाई पछि राजनीतिक मुद्दा बनाउँदै जानुपर्छ जस्तो लाग्छ ।
 

भनिन्छ नि, राजनीतिमा चाहेजस्तो हुबहु र तत्कालै प्राप्त हुँदैन । यो कति सान्दर्भिक धारणा हुन सक्छ अहिलेको परिस्थितिमा ?
नहुने रहेछ भन्ने त देखियो । नेतृत्व कमजोर र अयोग्य भएपछि सहजै र समयमा नै प्राप्त गर्न सकिने उपलब्धी पनि प्राप्त हुँदैनन् । मधेस र माओवादीका त्यस्तै नेताको कारण अहिले मधेसको हालत बिग्रिएको छ । मधेसी र माओवादी नेतृत्वका कमजोरीमै टेकेर परिवर्तन नचाहनेले यो बेहाल सिर्जना गरेका हुन् । अहिले आएर माओवादी त कांग्रेस र एमालेको भ्रष्ट र पतीत संस्करणमा परिणत भएका छन् ।
 

एकथरि छन्, जो सगरमाथा चढिसकेको जस्तो खुसी मनाउँदैछन् । तिनीहरु अब भोलि यो देशमा कुनै समस्या नआउने जस्तो गर्दैछन् । अर्कोथरि छन्, जो नाम्चेबजार मै छुटेजस्तो गर्दैछन् । मिलन बिन्दु के हुन सक्ला तत्कालको राजनीतिमा ?
अब संविधान संसोधन गरेर जाने भन्छन् । त्यो सम्भव देखिदैन । बरु, यो प्रक्रियालाई अन्त्य हुन दिएर यो संविधानलाई नस्वीकार्ने शक्ति/समूहले संविधानको व्यवहारिक/सैद्धान्तिक कमजोरीलाई उजागर गर्ने नै हो । संविधानलाई हेर्ने, अध्ययन गर्ने र बिस्तारै यसको असंगती महसुस गराउने हो । यती हुन समय लाग्छ तर नयाँ चित्र बन्न सक्छ । 


मधेसको असन्तुष्टि इगोमा परिणत भइसकेको छ । केही पाएजस्तो, जितेजस्तो नभई ‘काठमाण्डौ’ फर्किन नेताहरुलाई अप्ठ्यारो छ । उनीहरुलाई तत्काल दिन सकिने कुरा के हुन सक्छ ?

तत्काल दिन सकिने भनेको, तिमीहरुको यति कुराचाहीँ अहिले पूरा गर्छौ । पुरानो सहमतिबाट यी कुराचाहीँ तत्कालै पूरा गर्ने प्रण गर्छौ भनेर टेबलसम्म ल्याउनु एउटा सेफ ल्याण्डिङ हुन सक्छ । त्यसो नगरी झारा टार्ने र एकदमै हेपेको जस्तो गरेर एक/दुइ दिनको समय दिएर बोलाउँदा झनै दुरी बढ्छ । 


उनीहरु भन्दैछन् कि, पुरानो सहमति कार्यान्वयन गर्ने हो भने नयाँ सहमति जरुरी नै छैन । पुरानो सहमतिको पूर्ण कार्यान्वयन पनि सम्भव छैन । यो स्थिति त लम्बिने देखियो नि !
राज्यले पूरै नजरअन्दाज गरेर पेल्ने नीति लिएपछि त्यस्तो त हुन्छ नै । अझै पनि बेवास्ता गरेर मधेसलाई एकदमै हेपेको सन्देश गयो भने बिखण्डनकारी हर्कतले बल पाउँछ । त्यसले कहीँ पु¥याउँदैन, तर झन्–झन् अराजकता बढाउँदै लैजान्छ । अहिले मधेसका नेताको अनुहार हेरेर मधेसलाई नजरअन्दाज गर्न बन्द नगर्दासम्म स्थीति विकराल बन्छ । 


यतिबेला ठूला दलका मधेसी नेता किन निरिह भएका होलान् ?
मान्छेले पहिला आफूलाई हेर्छ । आफ्नो भबिष्य, सुबिधा, सन्तान... सबैले मान्छेलाई कमजोर बनाउँछ । यो बिस्मयकारी जञ्जालबाट निस्कन गाह्रो पो हुन्छ । यही सबले लट्टिएका छन्, ठूला दलका मधेसी नेता । केही सुरेन्द्र चौधरीजस्ताले कोशिस सम्म गरे तर सकेनन् । अनेक धम्की, लोभलालचले पनि काम ग¥यो होला । 


तर, राजनीति भनेको त यस्तै होइन र ?
खासमा राजनीति भनेको यस्तो होइन । जब मान्छे राजनीति सकिएर अराजनीतिक भुलभुलैयामा फस्छ, तब यो सब सुरु हुन्छ । 


त्यसो भए हाम्रो राजनीतिले कहिलेदेखि रङ फेर्न थाल्यो त ? कि, हाम्रोमा राजनीतिले वास्तविक रङ नै ग्रहण गर्न पाएन ?
होइन, हाम्रोमा राजनीति नै भएको हो । सारा मुद्दा र डिस्कोर्स राजनीतिले नै ल्याएको हो । तर, जब राजनीति गर्नेहरुले त्यसमा पनि बर्चस्वमा भएकाहरुले आफ्नो जात, वर्ग र लिङ्गको साँघुरो घेरामा फस्न पुगे, त्यहीँबाट यो अराजनीतिक गडबडी सुरु भएको हो । 


हाम्रोजस्तो मुलुकमा व्यक्तिगत स्वार्थ र स्वार्थगत बाहिरी समूहलाई किनारा लगाउँदै शुद्ध राजनीति अघि बढ्न सक्छ र ?
त्यस्तो पुरै आदर्शवादी अबस्थामा मान्छेलाई लिन सकिदैन । तर, बञ्चितहरुको आन्दोलन र आवाज शसक्त भयो भने बर्चस्वमा भएकाहरु आफ्नो साँघुरो घेराबाट बाहिर आउन बाध्य हुन्छन् । अनि, सँगै शिक्षा तथा गम्भीर राजनीतिक छलफलहरुले पनि मान्छेलाई त्यो साँघुरो घेराबाट बाहिर आउन सहयोग गर्छ । 


हामीकहाँ राजनीति नाम दिएर अरु नै खेल खेलिन्छ कि क्या हो ?

राजनीतिलाई बुझ्ने र परिभाषीत गर्ने आ–आफ्नै तरिकाहरु होलान् । तर, महत्वपूर्णचाहीँ के हो भने पात्र/प्रवृत्ति र घटनालाई राजनीतिक ढङ्गले बुझ्न जरुरी छ । यो राजनीतिक बुझाईले नै भइरहेका अराजनीतिक कृत्य र घोषित मान्यतालाई उजागर गर्छ । 


केही मान्छेहरु अहिले खुबै तटस्थ बन्न खोजिरहेका छन् नि !
सबैभन्दा पहिले के बुझ्नुपर्छ भने त्यो तटस्थता भ्रम हो । तटस्थता बर्चस्ववादको नजिक हुन्छ । पक्षधरता नहुनु भनेको जे शक्तिशाली छ, जे मुलधार हो, जो प्रचारित छ त्यसैलाई स्वीकार्नु र पत्याउनु हो ।


संविधान घोषणापछि शान्ति आउँछ भन्ने एकथरिको बुझाई छ । यो कत्तिको सतही धारणा हो ?
शान्तिको परिभाषा गर्ने । शान्ति आफैमा तटस्थ हुँदैन । सबैलाई एकैपटक शान्ति हुँदैन । कसलाई शान्ति हुने हो ? को अशान्त हुने हो ? दलितलाई शान्ति हुन्छ ? काठमाण्डौको एउटा धनी पहाडेको घरमा बसेको मधेसीलाई शान्ति हुन्छ ? यस्ता प्रश्नको खोजी गरियो भने उत्तर आफैंले पाइन्छ ।

Monday, September 14, 2015

मिलाप खोज्दै अमलेखगञ्ज

 किशोर दहाल 
          अघिल्लो आइतबार प्रदर्शनी मार्गमा हिँडिरहेको थिएँ । मोबाइल काम्न थाल्यो । उपेन्द्र दाइ (उपेन्द्र लामिछाने, नागरिक दैनिक)को कल रहेछ । सामान्य कुराकानीपछि उहाँले भन्नुभयो, "हेटौंडा जाने हो ?" 
         सोमबार बिहानै हेटौंडातर्फ लाग्यौं । उहाँसँग यात्रा गर्दा बेग्लै किसिमको रमाइलो हुन्छ । कतै रिपोर्टिङको लागि जानू छ भने पनि 'घुम्न जाने' वा 'मुड फ्रेस गर्न जाने' भन्ने उहाँको पुरानो बानी यथावत् छ । सिमरा, बारामा मैले केही समय पत्रकारिता गर्दा उहाँसँगको सम्बन्ध घनिष्ट भएको थियो । सामान्य ठानिएका र वास्ता नगरिएका सामाजिक बिषयहरूमा रोचक फिचर लेख्न सक्ने उहाँको शैलीको म सदाबहार प्रशंसक हुँ । सिमरामा बस्दा हामी बाइकमा निकै घुम्थ्यौं । त्यो काठमाडौंमा पनि जारी छ ।
        जे होस्, रमाइलो गर्दै हामी अमलेखगञ्जसम्म पुग्यौं । हरहिसाबले तराईमा 'गर्मी' छ, आजकाल ।
 * * *
         अमलेखगञ्जमा हाम्रो पहिलो योजना थियो, भरत घलेलाई भेट्ने । उनी घरमै भेटिए । आराम गरिरहेका रहेछन् । पुरानो भेटघाट स्मरण गराईयो । घले राजनीतिक व्यक्ति भएकोले गफगाफको सुरूमै मधेसमा चलिरहेको आन्दोलनले प्राथमिकता पाइहाल्यो । र, सामाजिक सद्भाव गुम्ने हो कि भन्ने सामूहिक चिन्ता पनि व्यक्त गरियो । गफ गरिरहँदा भरतकी श्रीमती गीता छेउमै बसेर सुनिरहेकी थिइन् । उनी साह परिवारकि छोरी हुन्, अर्थात् मधेसी समुदायकी चेली । वास्तवमा, घले र साह बीचको मिलन सुन्न नै हामी यो घरसम्म तानिएका थियौं । 
            गफको बिषय उहाँहरूको विवाहमा केन्द्रित हुन थालेको थियो । चार दशक अघिको प्रेम सम्बन्ध सम्झिदा यो उमेरमा पनि लज्जा महसुस भइरहेथ्यो दुबैलाई । जिन्दगीको टेप रेकर्डर रिवाइण्ड भएर प्ले हुन थाल्यो । यद्यपि त्यो प्रेम र विवाहलाई दुवैले एकसाथ सम्झिए । विवाहपछि भागेर एक बर्ष काठमाडौं बसेको सम्झिए । दश बर्षसम्म गीताको माइतीले अस्वीकार गरेको सम्झिए । ३० को दशक आँखाभरि झलझली नाच्न थाल्यो । त्यो सम्बन्ध एक जोडीको स्वभाविक मिलन मात्रै थिएन, अन्तर्जातिय र अन्तर्समुदाय बीचको मिलनको सुरूवात पनि थियो । 
           पारिवारिक स्वीकारको सम्बन्धमा भरत भाग्यमानी रहेछन् । उनका बाबुले समेत अन्तर्जातीय विवाह गरेका कारण उनलाई अप्ठ्यारो थिएन । ढिलै सही, गीताको परिवारले पनि स्वीकार गरेपछि अब सम्बन्धहरू फरक समुदायसम्म विकसित भयो । उहाँहरूको खुसी झन् बढि प्रशारित भयो ।
          गीता साहलाई प्रश्न गरियो, “एउटा पहाडीयासँग विवाह गर्दा अप्ठ्यारो लागेन ?” उहाँले भन्नुभयो, “मैले पहाडीयासँग विवाह गरेकै होइन, असल मान्छेसँग विवाह गरेको हुँ ।” असल मान्छेहरु खास सम्प्रदायभन्दा माथि हुने उहाँको माथिल्लो बिचार सुनेपछि हामी सबैमा हाँसो प्रशारित भयो ।
     संयोग कस्तो परेछ भने त्यसदिन भरतका आमाको श्राद्ध पनि परेको रहेछ । कुराकानीकै क्रममा गीताले श्राद्धको प्रसाद लिएर आइन् । सांस्कृतिक अन्तर्घुलनको प्रभाव प्रसादमा पनि देखिन्थ्यो । केही पहाडीया समुदायमा प्रचलित प्रसाद र केही मधेसी समुदायमा प्रचलित प्रसाद प्लेटमा थिए । प्रसाद मीठो मात्रै होइन, बिबिधतापूर्ण पनि थियो ।
       घले दम्पतीको कोठाका भित्ताभरी फोटोहरु टाँसिएका छन् । आफ्नो लगायत छोरोछोरीको । छोराछोरीको रङमा, ढाँचामा जैबिक अन्तर्घुलन देखिन्छ । आमालाई हेरेर फोटो हे¥यो भने सन्तान मधेसी जस्तो लाग्थ्यो । बाबुलाई हेरेर फोटो हे¥यो भने पहाडीयाजस्तो लाग्थ्यो । फोटो हेर्दा पनि होलोग्राम हेरेजस्तो लाग्थ्यो ।
      घले परिवारको अन्तर्जातीय विवाहको यो श्रृङ्खला भरतका बाबुदेखि उनका सन्तानसम्म फैलिएको छ । भरतका एउटा छोराबाहेक परिवारका सबैले अन्तर्जातीय विवाह नै गरेका गरेछन् । भरतका छिमेकीहरुमा पनि धेरैजसो अन्तर्जातीय विवाह गरेकाहरु नै रहेछन् ।
       हामी अमलेखगञ्जको गाविस कार्यालय पुग्यौं । गाविसमा कोही पनि सेवाग्राही थिएनन् । सचिब र एकजना कार्यालय सहयोगी बाहेक अफिसमा अरु कोही पनि देखिएनन् । सचिबले अमलेखगञ्ज गाविसमा अन्तर्जातीय विवाहको केही अनुमानित तथ्याङ्कहरु प्रस्तुत गरे । त्यस्ता विवाहका केही रोचक प्रसङ्गहरु पनि सुनाए । सामाजिक सद्भावका केही प्रभावका बिषयमा पनि धारणा राखे ।
      कार्यालय परिसरमै एउटी महिला आइपुगिन् । उनले पनि अन्तर्जातीय विवाह गरेकी रहिछन् । उनलाई देख्ने बित्तिकै सचिबले भने, “यिनको पनि अन्तर्जातीय विवाह भएको त हो नि !”
     कार्यालय परिसरमा हामी पाँचजना कुरा गरिरहेका थियौं । उनीहरु हामीलाई अन्तर्जातीय विवाहका बिभिन्न दम्पतीहरुको बारेमा सुनाउँथे । उनीहरुको कुरा सुन्दा यस्तो लाग्थ्यो कि अमलेखगञ्जमा सजातीय भन्दा अन्तर्जातीय विवाह धेरै हुन्छ । यहाँका लागि अन्तर्जातीय विवाहमा कुनै नयाँपन छैन । यो कुनै समाचारको बिषय नै होइन । तर, बाँकी देशलाई यो नयाँ खबर हुन सक्छ । अनौठो खबर हुन सक्छ । अमलेखगञ्जबासीलाई समाचार नै नबन्ने बिषय हामी बाँकी देशका निम्ति समाचार बनाउन गइरहेका थियौं ।
      हामीले धेरै अन्तर्जातीय जोडीका बारेमा जानकारी पाएका थियौं । तर, हामी सबैलाई भेट्न सक्दैन थियौं । त्यो सम्भव र आवश्यकता दुबै थिएन । तर, हामी अजिज शेखलाई भेट्न गयौं । जो अजिजउल्लाहबाट प्रेमसाथ अजिज बनेका थिए ।
      मुल सडकबाट थोरै भित्रपट्टि उनको टेलर्स रहेछ । बाहिरपट्टि भित्तामा चकले ‘अजिज टेलर्स’ लेखेको देखेपछि हामी भित्र छि¥यौं । एउटा युवा मेसिनको अगाडि बसेर कपडा सिलाउँदै थिए । अजिज सुतेका रहेछन् । तिनै युवाले ब्युझाइँदिए ।
      झण्डै एक दशक भन्दा अगाडि गरेको बिहे आजको समाजमा उदाहरणीय कदम बन्ला भनेर अजिजले सायद कहिल्यै सोचेका थिएनन् होला । हामीले आफ्नो उद्देश्य बताउने बित्तिकै उनी अकमक्क परे । केही बेरको कुराकानीपश्चात उनी सहज बन्न थाले ।
       अजिजले बिस्तारै पुरानो टेलर्स सम्झिए । टेलर्सका मेसिनका चक्काजस्तै उनको दिमाग घुम्न थाल्यो । त्यो पुरानो टेलर्स तिनै ताराको घरमा थियो, जोसँग उनले विवाह गरेका थिए । ताराको घरमा बसेर उनले कपडामात्रै सिएनन्, प्रेम पनि सिए । प्रेम झाँगियो । मागी विवाह सम्भव थिएन । अजिजले तारालाई भगाएर आफ्नो घर पु¥याए । केही समयपश्चात उनी एक्लै ताराको घरमा आए । अलिकति डर र अलिकति लाज बोकेर । असन्तुष्ट र आक्रोशित त सबै थिए, सासुआमा अलि बढि नै रिसाएकी रहिछिन् । उनले अजिजको टेलर्स मेसिन नै फ्याँकिदिइन्छिन् ।
        प्रेमको अगाडि आक्रोश कति समय टिक्थ्यो र ? अन्ततः सबै शान्त भए । प्रेम विस्तारित भयो ।
       अजिजले अन्तर्जातीय मात्रै नभइ अन्तर्धार्मिक विवाह पनि गरेका थिए ।
       टेलर्समा बसेर एकसरो प्रेमकहानी सुने पछि अजिजकै साथ लागेर हामी उनको घरसम्म पुग्यौं । एउटा सामान्य गेटबाट भित्र पस्ने बित्तिकै थाहा भयो, अजिजको ‘परिवार’ ठूलो रहेछ । ती सबै बाहिर बसेर केही खाइरहेका थिए । थरिथरिका अनुहार देखिन्थे । कोही सेता, कोही काला । गहुँ र फापर मिसाइएझैं लाग्थ्यो । अजिजले श्रीमती तारासँग हाम्रो परिचय गराए र हामी आउनुको कारण बताए । हामीले उनीसँग पनि केही जिज्ञासा राख्यौं । फरक भाषा र धर्मका मानिससँग विवाह गर्दा ब्यहोर्नुपरेका सजिला अप्ठ्याराबारे सोध्यौं । उनले ‘नमस्ते’ र ‘सलाम वाकेलुम’ दुबै संस्कृतिप्रति अपनत्व देखाइन् । घर र माइती दुबै तिरका चाडपर्वका बखान गरिन् । दुबैतिरका चाडपर्वमा समान सहभागिताका साथ मनाउन पाउनु आफ्नो भाग्य सम्झिइन् ।
             हामी अजिजको घरबाट फर्कियौं र मालती साहको घरतिर लाग्यौं । मालती तिनै सासुआमा हुन्, जसले एउटी पहाडीया बुहारीलाई छोराको मृत्युपश्चात पनि दिएको मायाको कारण छिमेकभर चर्चित छिन् । मधेसी समुदायमा दाइजोको कारण सासु र बुहारीको झगडा परेको समाचारमा बाक्लै सुनिन्छ । पहाडीया समुदायमा त तिज पर्व नै मनाइन्छ, जसमा सासुले दिएका दुःख माइती पुगेर गाइन्छ । तर, मालतीको व्यवहार फरक थियो । त्यसैकारण हुनसक्छ, उनको बारेमा सुन्ने बित्तिकै हामी उनलाई भेट्न उत्साहित भएका थियौं ।
            गीताको साथ लागेर हामी मालतीको घरमा पुग्दा बच्चाहरु बाहिर पढिरहेका थिए । हामी आएको थाहा पाउनासाथ उनी बाहिर निस्किए । परिवारका अन्य सदस्य पनि निस्किए । केही काला अनुहारको साथ लागेर एउटी गोरी महिला पनि निस्किइन् । उनी तिनै बुहारी थिइन्, जसले पाएको माया छिमेकमा उदाहरणीय बनिरहेको छ । गीताले मालतीसँग कुरा गगरेपछि उनीहरु हामीसँग गफ गर्न थाले । मालती सबैलाई छोरी भन्थिन् । गीतालाई पनि छोरी नै भन्थिन् । मायाप्रेम त्यत्तिकै महसुस भइरहेको थियो । लक्ष्मीको पतीको मृत्यु भएपछि पनि परिवारले उनलाई सक्दो माया दिइरहेको छ । देवर देउरानी सबैको माया प्राप्त भइरहेको छ । देवर त भन्दैथे, “हामी सानै छँदा आमाले जत्तिकै माया गर्नुहुन्थ्यो । अहिले पनि आमाजस्तै लाग्छ ।”
* * *
           समुदायको विकासको लागि जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक अन्तर्घुलन निकै आवश्यक छ । यसले एक अर्काको संस्कृति र भाषाको बारेमा जानकारी दिन्छ । प्रशारित गर्छ । र, अपनत्वको महसुस गराउँछ । अर्कोतिर यसले समाजमा फरक समुदायको सहअस्तित्व स्वीकार गर्न र सम्मान गर्न मद्दत पु¥याउँछ । फरक भाषा, जात र समुदायको मानिसमा पनि नातेदारीको विकास गर्छ । यसले समाजमा मिलाप बढाउँछ । यो अन्तर्घुलनको एउटा माध्यम अन्तर्जातीय विवाह हो । जुन अमलेखगञ्जमा देख्न पाइन्छ । 


*उपेन्द्र लामिछानेले यस बिषयमा नागरिक दैनिकमा लेख्नुभएको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।