Pages

Saturday, May 7, 2016

सांसदको रिटायर्ड चिन्ता

-किशोर दहाल
     आजको संसद बैठकमा सांसद प्रेमकिशोरप्रसाद साहले भाषण ठोके- ‘हामी राजनीति गर्नेहरुले सम्पूर्ण करिअर पोलिटिक्समा लगाएको हुन्छ । सांसदहरु रिटायर्ड भएपछि हामीले चाहीँ के नुन चिनीको दोकान थाप्ने?, हामीलाई रिटायर पछिको प्लान सरकारले दिनु पर्यो।’
...
      यो देशमा डिग्री पास गर्नेहरू कतार एयरवेजको टिकट हातमा लिएर एयरपोर्ट पुग्ने हतारोमा छन् । नेपाली भाषामा सुन्दर कविता लेख्नेहरू जापानी र कोरियन भाषाका ब्याकरण रट्न विवश छन् । कलेज पढ्दै गरेका नौजवानहरू डिभीका फारमतिर हात र रिजल्टतिर आँखा तेर्स्याइरहेछन् । उनीहरूलाई कुनै सरकारी प्लानले आजसम्म छुन सकेन । बरू, 'युवा बिक्रि'को अघोषित प्लान अन्तर्गत उनीहरू दैनिक झण्डै दुई हजारका दरले यो देश छोडिररहेछन् ।
       तिनकै रगतसँग साटिएको रेमिट्यान्सको डकारले यता ढुङ्गा हानेर सांसद हुनेहरू आफ्नो मपाईंत्व जोगाउन सरकारी प्लानको चिन्ता गर्छ । यो दुर्भाग्यको कुरा हो । कुरा, साहको चिन्ताको मात्रै होइन, लगभग सबै सांसदहरूको हो । ढुङ्गा हानेर र जेल परेर नेता र सांसद भएकाहरूलाई सरकारले प्लान गरिदिनुपर्ने ? यो लाज पचाउनुको चरम सीमा होइन ? सामान्य मानिसले नाङ्ले पसल थापेर जीवन गुजारा गर्न हुने, सांसदले नहुने ? किन ? के सांसद आकाशबाट खसेका हुन् ?
       केही गर्ने आँट नभएका सांसदले यस्तो कुरा गर्छ । फेरि, केही गर्नको लागि सीप पनि त चाहिन्छ । सांसदसँग सीप के छ ? कमिसनको लागि कराउने वा चुप रहने, झुटा कुरा गर्ने, गुण्डागर्दी गर्ने,  पैसाकै निम्ति खुला चाकडी गर्ने र गराउने, सेतोलाई कालो र कालोलाई सेतो बनाउने, जनतालाई अनावश्यक दु:ख दिने वाहेक हाम्रा नेता र सांसदसँग सीप के छ ? यस्तै सीप प्रयोग गरेर नेता र सांसदले सम्पत्ति कमाएको कुरा आरोपभन्दा बढि यथार्थ होइन र ? अनि, यिनीहरूकै लागि विशेष प्लान ? के लुटपाट सेन्टर खोल्ने देशमा ?
       सांसदहरूले अथक मेहनत गरेर, आफ्नो भिजन प्रयोग गरेर यो देशलाई विकासको बाटोतिर लम्काएको भए सुबिधा नदिए पनि सदासयता राख्न सकिन्थ्यो । तर, देश साह र साहजस्तै नेता र सांसदका कारण झन पछि झन् ओरालो लागिरहेको छ । राजनीति सबैभन्दा भ्रष्ट क्षेत्र भनेर आलोचित छ । देशलाई रसातलमा पुर्याएर अझै विशेष सुविधाको आश गर्ने ? सरकारले प्लान गरिदेओस् भन्ने ?
      सांसदको जागिर गुमेपछि के गर्ने भन्ने प्लान नहुने सँग देशको बारेमा के प्लान होला खै ?