Pages

Wednesday, July 26, 2023

कुनै बेला 'कम्पोसा'को नेतृत्व गर्ने कमरेडहरु 'भाजपा चिन्न' भारत यात्रामा

किशोर दहाल

आइतबार, साउन ७, २०८०  १८:२०

काठमाडौं- तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा दक्षिण एसियाका नौ वटा माओवादी संगठनहरुलाई एउटै कमिटीमा राख्न र औपचारिक सम्बन्ध बनाउनका लागि कम्पोसा (कोअर्डिनेटिङ कमिटी अफ माओइस्ट पार्टीज एन्ड अर्गनाइजेसन्स अफ साउथ एसिया) गठनको पहल गरेको थियो। समान विचारधारा र उद्देश्यमा आधारित यो कमिटीको नेतृत्वमा रहेर उसले सहभागी पार्टीहरुबीच अन्तर्क्रिया गर्न र सहयोगात्मक सम्बन्ध बढाउन भूमिका खेलेको थियो।

त्यस्तै लामो समय ऊ रिम (रिभोल्युसनरी इन्टरनेसनलिस्ट मुभमेन्ट)को पनि सदस्य रह्यो। माओवादीलाई जनयुद्धमा सामेल हुन उसले उत्प्रेरित गरेको पढ्न पाइन्छ। जनयुद्ध सुरु भएपछि त उसले 'एन्डिजदेखि हिमालयसम्म, मुक्तिको एक मात्र उपाय जनयुद्ध' भन्दै विज्ञप्ति नै निकालेर स्वागत गरेको थियो।

ती दिनहरु बितेर गए। अब माओवादी क्रान्तिकारी उद्देश्य र रोमाञ्चकताबाट अलग्गिसकेको प्रष्ट हुने कैयौँ सन्दर्भ छन्। त्यसैले अब उसलाई कम्पोसा र रिमसँग जोडिएका पार्टीसँगको सम्बन्धको आत्मियताभन्दा भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्ध विस्तारको आवश्यकताले उत्प्रेरित गरेको देखिन्छ। परिणामतः पछिल्लो समय भाजपासँग सम्बन्ध विस्तार गर्न उसले प्रयत्न गरिरहेको छ।

आइतबार बेलुका मात्रै माओवादी केन्द्रका पाँच जना नेताहरु भारत यात्रामा निस्किएका छन्। उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा प्रस्थान गरेको टोलीमा चन्द्रप्रकाश खनाल, सत्या पहाडी, रामेश्वर राय यादव र सुरेशकुमार राई पनि छन्। उनीहरु भाजपाका अध्यक्ष जेपी नड्डाको पहलमा हुन लागेको 'नो बीजेपी' (भाजपा चिन्नुहोस्) अन्तर्गतको एक अन्तर्क्रियामा सहभागी हुनेछन्। जुलाइ २८ (साउन १२) मा फर्किने तय भएको छ।

टोलीको एक जना सदस्य पहाडीले भारत प्रस्थान गर्नुअघि नेपाल लाइभसँग कुरा गर्दै आफूहरु भाजपाको कार्यक्रममा सहभागी हुन जान लागेको बताइन्। भाजपाको संगठन र विचारबारे जानकारी लिने उद्देश्य रहेको उनको भनाइ छ।

भाजपाद्वारा गत जुलाइ ५ मा जारी विज्ञप्ति अनुसार, अन्तर्क्रिया कार्यक्रम 'भाजपा चिन्नुहोस्' कार्यक्रमकै एक हिस्सा हो, जुन पार्टीको ४२औँ स्थापना दिवसको अवसरमा नड्डाले आयोजना गरेका हुन्। 'कार्यक्रममा नड्डाले राष्ट्र निर्माणमा भाजपा र भाजपा सरकारहरूको इतिहास, संघर्ष, सफलता, विचारधारा र योगदानको बारेमा विस्तृत रूपमा व्याख्या गर्नुहुनेछ', विज्ञप्तिमा भनिएको छ, 'यसका अतिरिक्त, ‘भाजपा चिन्नुहोस्’ कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र विश्वभरका सरोकारवालाहरूलाई आपसी समझदारीको लागि महत्त्वपूर्ण छलफलहरूमा संलग्न हुने अवसर प्रदान गर्नेछ।'

भारतीय जनता पार्टीले सरकारको नेतृत्वमा रहेर हिन्दुवादी राजनीति गरेको र अल्पसंख्यकको सुरक्षा गर्न नसकेको आरोप लाग्ने गरेको छ। धर्मनिरपेक्ष मुलुकमा सरकारको नेतृत्व गरिरहेको पार्टी, जसले अल्पसंख्यकको हितका लागि विगतमा संघर्ष नै गरेको थियो, उसले आफ्ना प्रतिनिधि पठाएर भाजपा चिन्न गरेको प्रयास अनौठो छ।

कुनै समय रिम र कम्पोसा जस्ता क्रान्तिकारी पार्टीसँग सम्बन्ध राख्ने माओवादी आजकाल भाजपाजस्तो पार्टीसँग निकट किन? भन्ने प्रश्नमा पहाडीले ती सम्बन्ध समान विचारधाराका आधारमा स्थापित भएको तर भाजपासँग भने मित्रवत् सम्बन्धको मात्रै विषय रहेको बताइन्। भाजपासँग भाइचारा सम्बन्ध समेत नभएको उनले दोहोर्‍याइन्।

पहाडीले आफूहरु भाजपाको कार्यक्रममा सहभागी हुँदैमा माओवादीले पनि भाजपाका नीति नअँगाल्ने र भाजपाका कार्यशैलीलाई पनि नअपनाउने तर्क गरिन्। 'भाजपाबाट सिकेर हामीले उसको विचार र कार्यशैली यहाँ अपनाउने होइन', उनको भनाइ छ, 'हामी त्यस्तो उद्देश्यका लागि जान लागेका होइनौँ।'

माओवादीले भाजपालाई चिन्दै आफूलाई चिनाउन खोजेको यो पहिलो सन्दर्भ होइन। २०७९ असार ३१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा गएका थिए। उनले सो पार्टीको मुख्यालयमै नड्डालाई भेटेका थिए। नड्डासँगको भेटले आफू उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

'भाजपा दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित छ', नड्डासँगको भेटपछि प्रचण्डले पत्रकारहरुलाई भनेका थिए, 'आज भाजपाको मुख्यालयमा आएर यो कसरी चलेको छ, व्यवस्थापन कस्तो छ भनेर बुझ्दा म धेरै उत्साहित भएको छु।'

'दुई पार्टीको सम्बन्धलाई दुई देशसँगको सम्बन्ध राम्रो बनाउनका लागि बढाउनु पर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले सर्मथन गरेको छु', उनको थप भनाइ थियो, 'कहिले भाजपाको निमन्त्रणामा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रम संयुक्तरुपमा गर्ने समझदारी पनि भएको छ।' 

त्यतिबेला प्रचण्डले भाजपाको सन्दर्भमा जे जस्ता प्रतिक्रिया र अपेक्षा व्यक्त गरेका थिए, आइतबार भारत जाने टोलीको पनि त्यस्तै प्रतिक्रिया र अपेक्षा छ। पहाडीले भनिन्, 'सरकारको नेतृत्व गरिरहेको दुई पार्टीबीच सम्बन्ध राम्रो बनाउँदा फाइदा नै हुन्छ।'

गत जेठमा प्रधानमन्त्रीका रुपमा प्रचण्ड भारत भ्रमणका गएका बेलामा मध्यप्रदेशको इन्दौर-उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेका थिए। त्यहाँ उनले गेरुवा वस्त्रले बेरिएर तीन धर्के तेर्सो चन्दन लगाउँदै गर्भगृहमा फूल र दूध चढाएका थिए। भौतिकवादी पृष्ठभूमिका प्रचण्डको त्यस खालको गतिविधिलाई भाजपासँग निकट सम्बन्ध बनाउने अभिप्रायसँग जोडेर चर्चा भएको थियो।

भाजपासँगको सम्बन्ध विस्तार गर्न उत्प्रेरित हुनुमा यहाँ सरकार सञ्चालनमा सहजता सिर्जना गर्ने र आगामी निर्वाचनमा सद्भाव बटुल्ने उद्देश्य राखिएको आकलन हुने गरेको छ। भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट यही उद्देश्यलाई संकेत गर्दै भन्छन्, 'भाजपा नौ वर्ष भयो सत्तामा रहेको। २०२४ को निर्वाचनपछि पनि भाजपाकै निरन्तरता हुने सम्भावना छ। त्यही भएर नेपाल लगायत यी क्षेत्रका राजनीतिक दलहरुले ऊसँग अन्तरक्रिया बढाउनैपर्ने छ।'

भट्ट भाजपा र माओवादी केन्द्र फरकफरक विचारधारा बोक्ने पार्टीहरु भएता पनि अन्तरक्रिया बढ्दै जाँदा असहजता कम हुने बताउँछन्। 'त्यसो हुँदा भाजपाको पनि नेपालका दलहरुसँग एक किसिमको सम्बन्ध विस्तार हुन्छ र माओवादीलाई पनि भारतको मूलधारको पार्टीसँगको निकटता रहिरहन्छ।'

अन्तरक्रियाले माओवादी केन्द्र र भाजपाबीच एकअर्कालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुनसक्ने सम्भावना देख्छन् भट्ट। 'माओवादीले भाजपालाई हिन्दू पार्टीको रुपमा मात्र हेर्ने, भाजपाले माओवादीलाई कम्युनिस्ट पार्टीको रुपमा मात्र हेर्ने धारणालाई अन्तरक्रियाले कम गर्छ। जुन प्रचण्डको गेरुवावस्त्रले अलि कम गरिसकेकै छ', नेपाल लाइभसँग कुरा गर्दै भट्टले भने, 'हिजो माओवादीहरु जुन वैचारिक मान्यताका आधारमा भाजपालाई बुझ्थे। अब विस्तारै व्यवहारवादी हुँदै गएका हुन् कि भन्ने देखिन्छ।'

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:२०

https://nepallive.com/story/311714 

No comments:

Post a Comment