Pages

Tuesday, July 25, 2023

‘ठूली एकादशी’का कारण चुनावै सरेको थियो, ‘उत्पत्तिका एकादशी’ मा के होला?

किशोर दहाल

बिहीबार, साउन १९, २०७९  १७:३५

काठमाडौं– २०५१ असार १७ गते राजा वीरेन्द्रले तत्कालीन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे। त्यसका लागि राजालाई धन्यवाद चढाउन असार २६ गते प्रतिनिधि सभामा सरकारको तर्फबाट प्रस्तुत धन्यवाद प्रस्ताव पारित हुन सकेन। परिणामतः सरकारको नीति तथा कार्यक्रम विफल भयो। त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यही दिन राजासमक्ष राजीनामा दिए। उनको राजीनामा त्यही दिन स्वीकृत भयो।

राजीनामा सँगसँगै प्रधानमन्त्री कोइरालाले नयाँ जनादेश लिने उद्देश्यले २०५१ कात्तिक २७ गते आइतबार निर्वाचन हुने गरी प्रतिनिधि सभा विघटन पनि गरेका थिए। विघटन गर्नुको कारणबारे उनले दरबारमा पठाएको सिफारिसमा भनिएको थियो- 'संसद्‌मा बहुमत प्राप्त नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा विधिवत् मेरो नेतृत्वमा गठन भएको सरकारको नीति र कार्यक्रमलाई अवान्छित राजनीतिक समीकरणद्वारा विफल पार्ने अवस्था सिर्जना भएपछि अर्को स्थिर सरकार गठन हुनसक्ने सम्भावना देख्दिनँ, त्यसैले मुलुकमा राजनीतिक अन्योल र दिशाहीनतालाई कायम राख्नु अथवा जनताको अभिमत विरुद्धको राजनीतिक समीकरणको भरमा सरकार चल्नु र चलाउनु भन्दा बहुदलीय प्रजातन्त्रलाई सुदृढ गर्ने उद्देश्यले जनतासमक्ष गइ नयाँ जनादेश लिनु बाहेक अर्को विकल्प छैन।'

राजीनामा तत्कालै स्वीकृत भएको भए पनि प्रतिनिधि सभा विघटनचाहिँ राजाबाट तत्कालै स्वीकृत भएन। राजाले परामर्श सुरु गरे। असार २६ गते राजदरबारको सूचनामा भनिएको थियो, ‘प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले नयाँ जनादेश उद्देश्यले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ५३ को उपधारा (४) बमोजिम प्रतिनिधि सभा विघटन गरिबक्सन र प्रतिनिधि सभाका लागि निर्वाचन हुने मिति तोकिबक्सन मौसुफमा चढाउनु भएको सिफारिसको सम्बन्धमा मौसुफबाट विभिन्न संवैधानिक पदाधिकारी तथा राजनीतिक नेताहरुसँग परामर्श लिइबक्सने प्रक्रिया चालू छ।’

परामर्शपछि असार २७ गते नै राजाले प्रतिनिधि सभा विघटनलाई अनुमोदन गरे।

विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। जसमाथि भदौ २७ गते फैसला भयो। विघटन सदर भयो। उसले विघटनलाई असंवैधानिक भन्न नमिल्ने निष्कर्ष सुनायो। फैसलासँगै मुलुक निर्वाचनतिर होमियो।

तर मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले निर्वाचन दुई दिन पछि सार्न राजासमक्ष सिफारिस गर्‍यो। त्यसको कारण थियो, पहिले निर्धारित भएको निर्वाचनको मिति अर्थात् २०५१ कात्तिक २७ गते हरिबोधनी एकादशी (ठूली एकादशी) पर्नु। हिन्दू बाहुल्य नेपाली समाजमा ठूलो संख्याका नेपालीहरुले एकादशी पर्व मनाउने प्रष्टै थियो। यस दिन व्रत बस्ने तथा तुलसीको विवाह गर्ने प्रचलन छ। व्रतका कारण भोको भएको पेट लिएर मतदानका लागि लाइनमा बस्नु व्यवहारिक पनि हुन्थेन। पहिल्यै तोकिएको निर्वाचनको मितिलाई लिएर सोही कारण विरोध हुँदै आएपछि र भदौ २७ को फैसला आफू अनुकूल आएपछि मन्त्रिपरिषद्को बैठकले कात्तिक २९ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्‌बाट सिफारिस आएपछि राजाले पनि सर्वोच्च अदालतसँग राय मागे। त्यसका लागि उनले भदौ ३१ मै विवरण पठाए।

निर्वाचन सार्ने मन्त्रिपरिषद्को निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने विरोध जनायो। कात्तिक २७ मै चुनाव हुनुपर्ने र राजाबाट घोषित मितिमा चुनाव गराउन नसक्ने प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने माग गर्‍यो। तर, त्यसको प्रभाव भने परेन।

राय सल्लाहपछि राजाले असोज २४ गते निर्वाचनको मिति दुई दिन पछि सारिदिए। राजाको प्रमुख सचिवालयबाट त्यस दिन जारी सूचनामा भनिएको छ- ' श्री ५ महाराजधिराजका हजुरमा यही २०५१ साल कात्तिक २७ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिन ठूलो (ठूली) एकादशीको पर्व परेकोले सो दिनको सट्टा २०५१ साल कात्तिक २९ गते मंगलबारको दिन प्रतिनिधि सभाको निर्वाचन हुने गरी मिति सारिबक्सन मन्त्रिपरिषद्‌बाट जाहेर हुन आएको र यस विषयमा मौसुफबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा (५) अनुसार सर्वोच्च अदालतको राय बुझिबक्सँदा सर्वोच्च अदालतबाट संविधानको धारा १३२ र नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २१ अनुसार एक पटक मौसुफबाट तोकिबक्सेको सो मिति सौसुफबाटै बदल्न सकिबक्सन्छ भन्ने राय जाहेर हुन आएको बेहोरा समेत जाहेर हुँदा मन्त्रिपरिषद्‌बाट जाहेर गरे बमोजिम २०५१ साल कात्तिक २९ गते मंगलबारका दिन प्रतिनिधि सभाको लागि हुने निर्वाचनको मिति तोकिबक्सेको छ।'

सो मितिमा भएको निर्वाचनमा कुनै दलले पनि बहुमत ल्याएनन्। तर, नेकपा एमाले सबैभन्दा ठूलो दल बन्यो। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री बने।

के होला ‘उत्पत्तिका एकादशी’ को चुनाव?

नेपालमा चुनावका लागि २ समय व्यवहारिक मानिन्छ। पहिलो, कात्तिक मध्यदेखि मंसिर मध्यसम्म। दोस्रो, चैत-वैशाख। त्यसैले विगतमा निर्वाचन यिनै मितिका लागि तोकिएका र भएका पाइन्छन्। अन्य समयमा चाडपर्व पर्ने, झरी पर्ने, हिउँ पर्ने जस्ता कारणले निर्वाचनको मिति तोक्नु व्यवहारिक मानिँदैन।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७९ मंसिर ४ गतेका लागि तोकेको छ। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मंसिर २ गतेका लागि प्रस्ताव गरेको थियो। तर, प्रस्तावित मितिभन्दा दुई दिनपछि हुने गरेर निर्वाचनको मिति घोषणा भएको हो।

मंसिर ४ गते ‘उत्पत्तिका एकादशी’ पर्छ। धार्मिक मान्यता अनुसार, सबै एकादशीको उत्पत्ति यसै तिथिमा भएको मानिन्छ। एकादशीको व्रत सुरु गर्नेहरुले यसै दिनबाट गर्ने प्रचलन छ। अन्य एकादशीमा व्रत बस्ते जस्ता आधारभूत धार्मिक गतिविधि यस दिनमा पनि अपनाइन्छ।

देउवाले यसै दिनमा निर्वाचन गराउने मनस्थिति बनाउनुभन्दा पहिले ज्योतिषिसँग सल्लाह गरेको एक कांग्रेस नेता बताउँछन्। निर्वाचन मिति तोकिनुभन्दा केही दिनअघि नै, जब मंसिर ४ गतेका लागि मिति तोकिने निश्चितप्रायः भइसकेको थियो, त्यतिबेलै उनले भनेका थिए, ‘मंसिर ४ मा उत्पत्तिका एकादशी पर्छ। धार्मिक मान्यताअनुसार त्यो खराबविरुद्ध असलको जितको दिन हो। त्यसैले मंसिर ४ मा चुनाव गर्ने कुरामा सभापतिज्यूले जोड दिनुभएको होला।’

देउवाले आफ्ना लागि शुभ देखेकैले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकिएको प्रष्ट छ। २८ वर्ष पहिले निर्वाचनका लागि तोकिएको दिनमा ठूली एकादशी पर्नाले चुनाव नै सरेको थियो। अहिले उत्पत्तिका एकादशी परेको छ। यसपटक पक्कै निर्वाचन नसर्ला कि?

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:३५

https://nepallive.com/story/288048 

No comments:

Post a Comment