Pages

Tuesday, May 25, 2021

न्यायका लागि कविता : शासकप्रति आक्रोश

किशोर दहाल

मंगलबार, माघ २७, २०७७, २२:१०

म ब्युँझन्छ, उठ्छु, जुट्छु

उसैगरी मुठी कस्छु

र प्रहार गर्छु, तिम्रो निरंकुश सत्तालाई

मंगलबार काठमाडौंको बसन्तपुरमा कवि पवन ढुंगानाले वाचन गरेको कविताको अंश हो, यो। ‘बृहत् नागरिक आयोजन’द्वारा आयोजित ‘न्यायका लागि कविता’ कार्यक्रम अन्तर्गत झन्डै उनीजस्तै दुई दर्जन कविहरुले सत्ता र शासकप्रति आक्रोश व्यक्त गरे।

कवितामा अधिकांश कविहरुले तानाशाही र निरंकुश शासकको चरित्र चित्रण गरे। साथै, त्यसका निम्ति संघर्षको आह्वान गरे। त्यस्तो शासनको अन्त्य सुनिश्चितता पनि गरे। बच्चु हिमांशुको कविताको अंश थियो-

अब म उठाउँछु चेतनाको कलम

त्यसको निबले घोच्छु म शासकको मुटुमा

निकालेर रगत तानाशाहको

कोर्छु भूइँमान्छेले गाउने गीतको धुन

यसपटक मेरो हात लरबराउने छैन

कवि लक्ष्मी रुम्बाले ‘तानाशाही एक्प्रेस’ दुर्घटनाउन्मुख भएको ठोकुवा गर्दै सुनाइन्-

इतिहास त तिम्रो पनि छ, मेरो पनि छ

अब तिमी आफ्नो इतिहास लेख

यो ऐतिहासिक अवशानसँगै 

दुर्घटित हुने छ छिट्टै नै

तिम्रो तानाशाह एक्प्रेस

लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष गर्नेहरु, एउटै मोर्चामा रहेर समानताका गीत गाउनेहरु, जनताको मुक्तिको सपना बाँड्नेहरुमध्ये केही सत्तामा पुगे, केही अझै संघर्षमै छन्। सत्तामा पुग्नेहरुले हिजोका निरंकुश शासककै चरित्र वरण गरेको भन्ने धेरैको बुझाइ पाइन्छ। प्रधानमन्त्री केपी ओलीले नै कम्युनिस्ट आचरण नदेखाएको र सामन्तवादी व्यवहार प्रदर्शनमा रमाउने गरेको आरोप लाग्दै आएको छ। कवि कपिल चौलागाईंले त्यसैप्रति आक्रोश व्यक्त गरेः

मलाई याद छ

कुनै बेला हामी सँगै लडेका थियौं

जुन निरंकुशता ढाल्न लडेका थियौं हामी

अपसोच आज म तिमीलाई त्यहीँ देखिरहेको छु

कवि समर्पण श्रीले निरंकुशता ढाल्ने उद्घोष गरेः

ब त केवल ढाल्नु नै छ, ढाल्नु नै छ

ए तानाशाही शासक

बुझ्नु कि

तिम्रो अन्त्य नै

हाम्रो जीवनको सुरूवात हो

लोकतान्त्रिक व्यवस्था अपनाइए पनि त्यसका अपूर्णतामाथि बेलाबखत चर्चा हुन्छ। बृहत नागरिक आन्दोलनद्वारा आयोजित कैयौं कार्यक्रमका वक्ताहरुले यो विषयलाई उठाइरहेका पनि छन्।  अहिलेको आन्दोलनको उद्देश्य प्रधानमन्त्री हेरफेर मात्रै नभएर नेपालमा लोकतन्त्रको अभ्यासका क्रममा रहेका कतिपय त्रुटि र कमजोरीलाई न्यूनीकरण गर्दै लैजानुपर्ने र त्यसका लागि निरन्तर आवाज उठाइरहनुपर्ने र खबरदारी गरिरहनुपर्ने उनीहरु बताउँछन्। कवि प्रज्वल अधिकारीको कविताले नेपाली लोकतान्त्रिक अभ्यासको त्यही अपूर्णताको यथार्थ भन्छः

जात व्यवस्था सम्बन्धी कानुनले 

मलाई सम्बोधन गरेको भए

खानुपर्ने थिएन

आफैंले लडेर ल्याएको व्यवस्थाको हातबाट विष

कवि सविन बटौलेले त लोकतन्त्रको ढोका नै होचो भएको बताएः

यहाँ जहाँ लोकतन्त्रको ढोका नै होचो भइसक्यो

मान्छे आफूलाई पनि होचै मान्न थालिसके

तर मेरो भने निधारमा टुटुल्को उठिसक्यो

कवि राजु स्याङ्तानको कविताले यो देशको इतिहास दर्ज गराउने प्रक्रियामै रहेको त्रुटिको फेहरिस्त प्रस्तुत गर्‍योः

यसरी 

बिलाइरहेछन् यो धर्तिका कयौं ताराहरु 

अस्ताइरहेछन् यो धर्तीका कयौं जूनहरु

को हो यो 

किताबको पानामा सदाबहार बाँचिरहने मान्छे? 

अनि कस्को हो यो

इतिहासको मूलसडकमा 

बाटो छेकि बसेको शालिक?

कवि महावीर विश्वकर्माले लोकतन्त्रका कमजोरीलाई र बालुवाटारको सत्ता-शक्तिप्रति सडकका आन्दोलनकारीको सम्मोहनलाई पनि एकैसाथ दर्साएः

यो साल मादलचाहिँ गज्जबले घन्कियो बालुवाटारमा

घिन्ताङ घिन्ताङ घन्कियो

लय टिपेर घन्कियो

अनि जुलुसमा लम्किँदा लम्किँदै केही थान कम्मरहरु

पुगिहाले बालुवाटार

मर्किँदै मर्किँदै नाँच्न

प्रधानमन्त्री केपी शर्मा ओलीका जस्तासुकै कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएको भन्दै आलोचना हुने गरेको छ। नेकपाभित्रको आन्तरिक शक्ति संघर्षमा मुछिने गरेकी र कतिपय अध्यादेशलाई तत्कालै जारी गरिदिएका कारण उनीप्रति प्रश्न उठेकै थियो। पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयलाई तत्कालै सदर गरिदिएपछि त आलोचनाको केन्द्रमै छिन्।

कवि निर्भिकजंग रायमाझीको कविताले शीतल निवासको त्यही स्वभावको चित्रण गर्छः

ढोके, बैठके र छाता ओढाउनेहरु छन्

स्वयंसेवक, अर्दली र वैद्यहरु छन्

एसी, पंखा र वातानुकूलन छन्

तैपनि शीतल निवास उष्ण छ !

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/238290 

No comments:

Post a Comment