किशोर दहाल
मंगलबार, चैत ३, २०७७, २०:४५
काठमाडौं- 'अब अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संविधान छ, संसद् नियमावली छ, दलसम्बन्धी कानुन छ। यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहन्छु', मंगलबार बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीपूर्ण यस्तो भाषा बोले। उनले एमालेमा समानान्तर गतिविधितिर अग्रसर माधवकुमार नेपाल पक्षलाई कारबाहीको धम्की दिए।
ओलीको सम्बोधन सकिएको केही बेरमै एमालेका सचिव योगेश भट्टराईले ललितपुरको हेरिटेज गार्डेनबाट प्रतिवाद गरे। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने- 'हामी एकपछि अर्को कारबाही खानका निम्ति लामबद्ध छौं, तयार छौं। त्यसमा हामीलाई कुनै पश्चताप हुने छैन। किनभने हामी मुलुकका लागि, संविधानका लागि, हामीले प्राप्त गरेको जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौं। हामीलाई त्यसमा कुनै हिनताबोध छैन।'
यही हेरिटेज गार्डेनमा माधवकुमार नेपाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
विरासतमै प्राप्त 'विभाजन'
फागुन २३ गते सर्वोच्च अदालतको एक फैसलाबाट ब्युँतिएको एमालेलाई विरासतमा विभाजित मानसिकता प्राप्त भएको थियो। परिणामतः ब्युँतिएको एमालेका शक्तिशाली अध्यक्ष ओलीले सुरुवातमै नेकपाकालीन प्रतिशोध साँध्ने प्रयत्न गरे। उनले फागुन २८ गते आफू पक्षीय केही केन्द्रीय कमिटी सदस्यहरुलाई बालुवाटारमा सुटुक्क बोलाएर केही निर्णयहरु गरिदिए। ती निर्णय मूलतः नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीविहीन बनाउने र आगामी शक्ति संघर्षमा आफूलाई बलियो पार्ने समीकरण तयार पार्ने उद्देश्यबाट निर्देशित देखिन्छन्।
यता बलदिँदो र सकसपूर्ण अवस्थामा अध्यक्ष ओलीले फराकिलो छाती प्रदर्शित गर्लान् भन्ने अपेक्षामा रहेको नेपाल पक्षलाई सो 'गुट भेला'ले अचम्मित मात्रै पारेन, निराश पनि पारिदियो। अदालतले ब्युँत्याइदिएको नेकपा एमाले आफ्नो पनि हो भन्नै नपाई ओली पक्षका नेताहरुले 'सुध्रिएर आए स्वागत गरिन्छ' भन्न थालेपछि ओलीले आफ्नो पक्ष बिनाको एमालेको परिकल्पना गरेको बुझाइमा उनीहरु छन्। जसले गर्दा नेपाल पक्षको शब्दमा 'एमाले पुनर्गठन' र आम बुझाइमा 'एमाले विभाजन'का दिनहरु नजिकिन थालेका छन्। जसको औपचारिक सुरुवात यही भेला बन्न सक्छ।
भेलाले पार्टीलाई विभाजनतिर लैजान्छ भन्ने बुझेरै ओलीले बालुवाटारबाट आक्रोश व्यक्त गरेको बुझ्न कठिन छैन। त्यसैले उनले भेलामा सहभागी नहुन चेतावनी दिएका छन्। 'नेकपा एमालेसँग आबद्ध सम्बद्ध नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन, त्यस्ता भेलामा सरिक नहुन सजग र सचेत गर्न चाहन्छु। पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु', उनले भनेका थिए।
भेलामा सहभागिता जनाउन तम्तयार कार्यकर्तालाई अलमल्याउन वा भेलालाई नै रोक्न सकिन्छ कि भन्नका लागि ओलीले सोमबार नेपाल पक्षसँग पनि धुम्बाराहीमा छलफल गरेका थिए। तर, त्यो सकारात्मक निष्कर्षमा पुगेन।
भेलामा माधवकुमार नेपाल पक्षले दस्तावेज प्रस्तुत र पारित गर्ने तय भएको छ। 'भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणा-पत्र प्रस्तुत गरिनेछ र टोली विभाजन गरी सबै सहभागीहरुले आफ्ना मतहरु राख्न पाउने गरी छलफल र पारित गरिनेछ', मंगलबार भट्टराईद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ।
कार्यकर्तामाझ प्रस्तुत गरिने दस्तावेजमा केपी ओलीका पछिल्ला कदमहरुको आलोचना गरिने कुरा बुझ्न कठिन छैन। पार्टीका एक पक्षका नेताहरु सोही दस्तावेज पारित गर्ने मात्रै होइन, त्यसलाई बोकेर आफ्नो गाउँगाउँसम्म पुग्नेछन्। अरुलाई पनि दीक्षित गर्नेछन्। यसले एमाले विभाजनलाई तल्ला तहसम्म पुर्याउनेछ।
यसअघिका कैयौं पार्टी विभाजनका बेलामा पनि यस्तै भेला आयोजना हुने, समानान्तर कमिटीहरु बन्ने, कारबाही हुने र नयाँ पार्टी घोषणा हुने गरेका देखिन्छन्। बुधबार र बिहीबारको भेलालाई पनि त्यति नै गम्भीरताका साथ लिन आवश्यक नभए पनि आगामी बाटो त्यही भएको बुझ्न सकिन्छ। ओली पक्षले फागुन २८ गते निर्णय गरेपछि नेपाल पक्षले भोलिपल्टै केही समानान्तर जिम्मेवारी तोकिसकेको छ। भेलापछि आगामी दिनमा त्यसखालका कामले थप तीव्रता पाउन सक्छ।
भेलामार्फत नेपाल पक्षले आफ्ना अहिलेसम्मको गतिविधिलाई अनौपचारिक अनुमोदन गर्नेछन्। र, आगामी कदमप्रति अग्रिम समर्थन पनि लिनेछन्। जुन कुरा एकताभन्दा पनि विभाजन प्रेरित हुनेछन्।
मुख्यतः एमालेमा बढ्दो तिक्तता र विभाजित मानसिकताका बीच हुन लागेको भेलामा उपस्थित हुनेहरु माधवकुमार नेपालले उठाएका पछिल्ला मुद्दासँग सहमत नेता तथा कार्यकर्ता नै हुनेछन्। भेलापछि उनीहरु ती विषयमा झनै ढृढ बन्नेछन्। र परिणामतः विभाजन रेखा झनै गाढा बन्ने देखिन्छ।
नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/241123
No comments:
Post a Comment