Pages

Tuesday, May 25, 2021

शीतल निवासको छेउबाट प्रतिगमनलाई नागरिक चेतावनी

किशोर दहाल

शुक्रबार, माघ २३, २०७७, २१:३२

तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म

तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म

म कहाँ छैन ? म सर्वत्र छु ।

मलाई तिमी कसरी अछूत बनाउन सक्छौ ‘छूत’ मान्छे ?

कि इतिहासको कठघरामा उभिने आँट गर

कि आफूलाई बदल्ने साहस गर

आँखा जुधाउने आँट गर पुजारी !

म बीसौं शताब्दीको ‘अछूत’ हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

म अपमानित इतिहासको हिसाब चाहन्छु

म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !

(आहुति/ गहुँगोरो अफ्रिका)

000

बृहत् नागरिक आन्दोलनको शुक्रबारको प्रदर्शनको सुरुवात गर्दै अभियन्ता प्रणिका कोयूले आहुतिको कविता ‘गहुँगोरो अफ्रिका’लाई अंशअंशमा वाचन गरिन्। उपस्थित अन्यले सपथ शैलीमा दोहोर्‍याए।

विभिन्न संवैधानिक निकायमा नियुक्त भएकाहरूले गत बुधबार सखारै राष्ट्रपति कार्यालय शीलत निवासमा सपथ खाएका थिए। विवादास्पद अध्यादेशका आधारमा विवादास्पद सिफारिस भएको भन्दै विरोध भइरहेको भएपनि सरकार एकपक्षीय ढंगले अघि बढेको थियो। ‘संवैधानिक अंगहरूमा असंवैधानिक नियुक्तिको प्रतिरोधमा’ बृहत् नागरिक आन्दोलने शुक्रबार ‘शीतल निवास मार्च’को आयोजना गरेको हो।

मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निवास परिसर लैनचौरबाट सुरु भएको सो मार्चमा सहभागीहरूले आहुतिको त्यही कविता वाचन गर्दै हिँडेका थिए। साथमा ‘असंवैधानिक नियुक्ति मान्दैनौं’, ‘राष्ट्रपतिज्यू, संविधान कहाँ छ?’, ‘सत्ता कब्जा मुर्दावाद’, ‘संवैधानिक पदाधिकारीहरूको नियुक्ति हैन राज्यसत्ता कब्जा हो’लगायतका नारा लेखिएको 'प्ले-कार्ड' पनि प्रदर्शन गरेका थिए।

000

अघि बढ्न नपाएपछि प्रदर्शनकारी महाराजगञ्ज, पानीपोखरीमा रोकिएका थिए। त्यसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक कृष्ण खनालले संविधानलाई एउटा शिष्ट र सभ्य पहिरनको रूपमा बिम्बित गर्दै त्यो च्यातिएको बताए। ‘हामी सबैलाई थाह छ, पहिरनबिना हामी कस्ता छौं भनेर। राज्य कहिलेकाहीं जंगली अवस्थामा पुग्दछ। त्यसलाई पनि पहिरनको आवश्यकता पर्दछ भनेर हामीले संविधान निर्माण गरेका हौं। आज त्यो पहिरन च्यातिएको छ। राष्ट्रपतिलाई पनि लज्जाबोध हुनुपर्थ्यो,' उनले भने, ‘आज त्यो पहिरन च्यातिएको जानकारी गराउन पनि हामी आएका हौं। हामीलाई यो दिन पनि आउनु नपरोस् कि, त्यो च्यातिएको पहिरन हामी आफैंले फेरिदिनुपरोस्।‘

खनालले संसद् पुन:स्थापना हुँदैमा फोहोर नबढारिने बताए। बरु राजनीति नै सुधार्नु जरुरी रहेको उनको भनाइ थियो। ‘हामीलाई २०६२/६३ कै आन्दोलनको बेलामा दिक्क लागिसकेको थियो। यिनीहरूबाट सुधार हुँदैन भनेर। हामी त्यसमा सचेत थियौं। तर पनि हामीले सुध्रिउन् भनेर एउटा मौका दियौं। अब त्यो मौका नागरिकहरू दिनेवाला छैनन्,' उनले भने।

खनालले नागरिक आन्दोलन अदालतको निर्णयमा गएर नटुंगिने बताए। विद्यमान असमानता, अन्याय सबैलाई तोड्दै नागरिक चेतनालाई अविछिन्न राख्दै, नागरिक विवेकलाई अविछिन्न राख्न नागरिक आन्दोलन अगाडि बढ्ने उनको भनाइ थियो।

‘संवैधानिक अंगहरूमा असंवैधानिक नियुक्तिको प्रतिरोधमा’ बृहत् नागरिक आन्दोलने शुक्रबार ‘शीतल निवास मार्च’को आयोजना गरेको हो।

त्यस्तै, राजनीतिक विश्लेषक श्याम श्रेष्ठले संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत हो भनिएपनि अहिले केपी ओली भएको कुरा मञ्चन भइरहेको बताए। ओलीले जे बोल्यो त्यही संविधान हुने, जे गर्‍यो त्यही संविधान हुने स्थिति सिर्जना भएको बताए।

उनले कुनै दलको नेतालाई ल्याप्चे लगाउन नागरिक आन्दोलन नआएको बताए। ‘लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र हो। त्यहाँ पहिलेका दोषहरू हटेको हुनुपर्छ। पहिलेका गल्तीहरू सुधारिएको हुनुपर्छ। त्यो गल्ती सुधार्ने कसरी, दोष हटाउने कसरी भन्ने सोचाइसहित नागरिका आन्दोलन आएको हो,' उनले भने, ‘त्यसैले यो नागरिक आन्दोलन कुनै दलको नेतालाई ल्याप्चे लगाउन आएको होइन। हामी यो कुरामा प्रष्ट हुनुपर्छ।’

नेपालमा दलित, जनजाति, मधेसी कसैको पनि शासन हुन नसकेको र सबै पाखा परेको बताए। ‘माथि को छ? केपी ओली। जंगबहादुर बन्ने सपना बोकेका केपी ओलीले बुझ्नुपर्छ कि जंगबहादुरको मृत्यु कथित सेतो बाघले खाएर भएको थियो। यहाँ हामी रातो बाघ आएका छौं। रातो बाघले त्यो (ओली) जंगबहादुरलाई खाई छाड्ने छ,' उनले भने, ‘जंगबहादुरको शासन अन्त्य भइछाड्ने छ।’

अभियन्ता रवीन्द्र श्रेष्ठले केही झोलेहरूको बथान बोकेर केही झुन्डको साथ देशै कब्जा गर्ने खोज्ने भन्दै प्रश्न गरे। 

‘म हरेक प्रतिगमनको प्रतिरोध गर्नेछु। दमनको प्रतिकार गर्नेछु’, उनले भने, ‘किनभने, म नागरिक हुँ। नागरिकलाई दिएको हरेक मौलिक हक मलाई चाहियो। अधिकार मिच्ने प्रयत्न गर्नुभयो भने जसरी ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन जानुपर्‍यो, केपी ओली पनि बालुवाटारबाट बालकोट जानुपर्छ। यो नागरिकले दिएको चेतावनी हो।’

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/238071 

No comments:

Post a Comment