Pages

Tuesday, May 25, 2021

सत्तादेखि सडकसम्म : ज्ञानेन्द्रको झल्को दिने ओली अग्रसरता

किशोर दहाल

शुक्रबार, माघ २३, २०७७, ००:१६

२०६१ मा राजा ज्ञानेन्द्र शाहले 'कू' गरेपछि समर्थकले निकालेको जुलुस। तस्बिर: कशिशदास श्रेष्ठ (बायाँ) र २०७७ माघ २१ मा प्रधानमन्त्री ओली पक्ष‍को जुलुस। तस्बिर: रोजन श्रेष्ठ/पहिलोपोस्ट (दायाँ)

काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा ‘कू’ गरेपछि सत्तामा पनि उनी नै, सडकमा पनि उनी नै देखिन थाले। उनी उपस्थित हुने कार्यक्रममा सत्ताका आसेपासेहरूले शाहको जयजयकार र चाकडीका लागि भद्दा शैली अपनाउँथे। सडक किनारामा ज्ञानेन्द्रका तस्बिर भएको पोस्टर टाँसिन्थे र भित्तामा नारा लेखिन्थे। छातीमा, गाडीमा, कार्यक्रम स्थल वरिपरि ज्ञानेन्द्रका तस्बिरको व्यापक प्रयोग हुन्थे।

अहिले उस्तै प्रवृत्ति देखिन थालेको छ। माघ २३ गते घोषित केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभा अघि त्यसको तयारी स्वरुप बुधबार बृहत् मोटरसाइकल र्‍यालीको आयोजना गरियो। र्‍यालीमा सहभागीहरूले ओलीको पक्षमा नारा लगाउनु त स्वाभाविक भइहाल्यो। ओलीका थरीथरीका तस्बिर समेत उनीहरूले प्रदर्शन गरेका थिए। बिहीबार पनि ओली निकटका युवाहरूले ‘मार्च पास’ गरेका थिए। ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा गरिएको मार्चपासमा ओलीको पक्षमा विभिन्न नारा लगाइएको थियो। ‘अघि बढ केपी बा, साथ दिन तयार छौं’, ‘केपी ओली आई लभ यू’ जस्ता नारा उनीहरूले लगाएका थिए।

यसरी पुस ५ यता देशमा ज्ञानेन्द्र शैलीको झल्को दिने भद्दा नक्कल हुन थालेको छ। जसरी त्यतिबेला ज्ञानेन्द्रले कसैप्रति जवाफदेही हुनु नपर्ने शासनको अभ्यास गरेका थिए, अहिले ओली त्यही गरिरहेका छन्। जसरी ज्ञानेन्द्र सडकमा उत्रिएर ‘मैले बुझें’ भन्थे, ओली ‘मैले मात्रै बुझेको छु’ भनिरहेका छन्। अर्कोतिर, आसेपासेले उनीहरू दुवैका विषयमा गर्ने प्रचार उस्तै छ। आम जनतामाझ उनीहरूको छवि स्थापित गराउने शैली पनि उस्तै छ। 

२०६१ मा राजा ज्ञानेन्द्र शाहले 'कू' गरेपछि उनका समर्थकले निकालेको जुलुस। तस्बिर: कशिशदास श्रेष्ठ

राजनीतिक समापनको बेला

समकालीन नेताहरूमध्ये प्रधानमन्त्री ओलीको स्वभाव केही फरक छ। उनी आफूबाट कहिल्यै गल्ती होला भन्ने सोच्दैनन्। उनी आफ्नोभन्दा अरुको समीक्षा गर्न माहिर छन्। प्रतिनिधि सभा विघटनको घटनामा पनि उनमा गल्ती गरें कि भन्ने महसुस भएको देखिँदैन। बरु अरुलाई दोषी देखाउने उनको प्रचार शैली छ।

पछिल्ला हप्ता उनी दैनिक जसो दुई-तीन वटा कार्यक्रममा समेत सहभागी भइरहेका छन्। त्यहाँ अरुले पत्याए पनि वा नपत्याए पनि उही विषय-प्रसंग दोहोर्‍याउने गरेका छन्। प्रतिनिधि सभा विघटनपछि सो विषयमा भइरहेका बहसदेखि अदालतबाट हुने आदेशको प्रक्षेपणसम्मलाई उनले आफ्ना भाषण र त्यहाँ प्रयोग गर्ने गालीहरूका माध्यमबाट ओझेलमा पार्ने प्रयत्न गरिरहेका छन्।

आफूबाट गल्ती होला भन्ने ओली कहिल्यै सोच्दैनन्। उनी आफ्नोभन्दा अरुको समीक्षा गर्न माहिर छन्।

अन्य कार्यक्रममा गर्ने सम्बोधनले नपुगेर अब सडकमै उत्रिएर आफ्ना कुरा भन्ने उनको प्रयत्न छ। त्यसका लागि उनले सडक भनेको सत्ताको नेतृत्व गरिरहेको शक्तिइतरको हो भन्ने मान्यतालाई भुलेका छन्। संसद् विघटन गरेर सडक पनि कब्जा गर्ने अनौठो र बलमिच्याइपूर्ण स्वभाव यसबाट प्रष्ट हुन्छ।

ओलीको 'मसँग पनि पनि जनता छ, मसँग पनि जनमत छ, म पनि एउटा शक्ति हुँ' भनेर देखाउने सोचले सभाको आयोजना गरिएको राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल बताउँछन्। तर, यो सोचले राजनीतिक निकास भने ननिस्किने उनको बुझाइ छ।

अहिले अदालतमा सुनुवाइको क्रममा रहेको प्रतिनिधि सभा विघटनको मुद्दामा जस्तोसुकै निर्णय आएपनि आगामी राजनीतिक परिदृश्य ओलीका निम्ति प्रतिकूल हुने छ। प्रतिनिधि सभा पुनःस्थापित भयो भने ओलीको राजनीतिक औचित्य बाँकी नरहन सक्छ। विघटन नै सदर भयो भने ओलीको वैधानिक शक्ति केही महिनाका लागि हो। यसरी आफू राजनीतिक समापनतिर जाँदै गरेको ओलीले नबुझेका होइन्। त्यही बुझेर बालुवाटारदेखि नारायणहिटीको आँगनसम्म आफ्नो शक्ति अभ्यास गर्नुपरेको हो।

२०७७ माघ २१ मा प्रधानमन्त्री ओली पक्षधरले निकालेको जुलुस। तस्बिर: रोजन श्रेष्ठ/पहिलोपोस्ट

शासक असफल हुन थालेपछि उसले आफूलाई बढी देखाउनुपर्ने स्वभाव हुने बताउँछन्, विश्लेषक हरि रोका। अहिले ओलीले अहंकार देखाएको भन्दै उनले त्यो ओलीको असफलता ढाकछोप गर्ने प्रयत्न भएको बताए। ‘ज्ञानेन्द्र खासमा व्यापारी थिए। राजनीतिमा आएपनि यसका धेरै विषयमा उनलाई ज्ञान थिएन। त्यसैले असफल भए। त्यसलाई ढाकछोप गर्न उनले त्यस्ता खालका भद्दा प्रचार गर्नुपर्थ्यो। अहिले ओलीको कुरा पनि त्यही हो’, रोकाले भने, ‘ओली अहिले सत्ताको माथि पुगे। तर त्यसलाई भयंकर दुरुपयोग गर्न पुगे। अब ज्ञानेन्द्रको जस्तै ओलीको पनि राजनीतिक समापनको बेला आयो।’

‘पञ्च र्‍याली’

माघ २३ गतेको आमसभालाई ओलीले ‘म पनि लोकप्रिय छु’ भनेर देखाउनका लागि उपयोग गर्न खोजेको देखिन्छ। जसरी उनले आमसभाको प्रचार गरिरहेका छन्, त्यसलाई इखको रुपमा लिएको बुझ्न सकिन्छ।

‘आमसभा कस्तो हुन्छ भन्ने कुरा, २३ गते हेर्नुहोला काठमाडौंमा, म उहाँहरूलाई भनिदिन चाहन्छु। आमसभा कस्तो हुन्छ, आमसभा केलाई भनिन्छ, जनपरिचालन केलाई भनिन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा। हामी २३ गते अलिकति झलक दिन्छौं, जनपरिचालनको, 'कास्टिङ' गर्छौं, हामी,' माघ ९ गते ओलीले कार्की ब्यांक्वेटमा पेशागत विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै भनेका थिए।

ओलीको 'मसँग पनि पनि जनता छ, मसँग पनि जनमत छ, म पनि एउटा शक्ति हुँ' भनेर देखाउने सोचले सभाको आयोजना गरिएको राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल बताउँछन्। तर, यो सोचले राजनीतिक निकास भने ननिस्किने उनको बुझाइ छ।

राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल ओलीलाई सडकमा मान्छे उतार्न गाह्रो नभएको बताउँछन्। ‘प्रदर्शनमा मान्छे आउँदैनन् भन्ने होइन। सरकार छ, साधन स्रोत छ, प्रदेश सरकारहरू छन्। त्यसैले बसका बस, ट्रकका ट्रक मान्छे काठमाडौं उतारेर ठूलो र्‍याली गर्न सक्ने क्षमता सरकारसँग छ। तर त्यसले सरकारलाई कहीँ पुर्‍याउँदैन। त्यो ‘देखाइदिन्छु’ भन्ने कुरा मात्रै हो’, उनले भने।

ओलीले सम्बोधन गर्ने यो सभालाई नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष तथा विश्लेषकहरूले ‘पञ्च र्‍याली’को संज्ञा दिएका छन्। 

‘यस्तो बेलामा सरकार आफैंले जुलुस निकाल्नु पञ्च र्‍याली हो। पञ्चायतको बेलामा भएभरका व्युरोक्रेसीका मान्छे ल्याएर, मान्छेहरू खरिद गरेर, ओसारेर निकै मानिस जम्मा गर्थे। २०४६ साल अघि ठूल्ठूला पञ्च र्‍याली हुन्थे, लाख, डेढ लाख, दुई लाखका। तर त्यो पञ्च र्‍याली थियो। निभ्ने बेलाको बत्ति थियो। आफैं संविधान मिच्ने, आफैंले लोकतन्त्रमाथि प्रहार गर्ने अनि आफैंले मान्छे बटुलेर र्‍याली गर्नु पञ्च र्‍याली बाहेक केही होइन’, बिहीबार आमहडताल सफल बनाउन सडकमा निस्केका प्रचण्डले भने।

अर्कोतिर, ओलीले सम्बोधन गर्ने कार्यक्रमको आयोजना नारायणहिटी संग्रहालयको अघिल्तिर हुन लागेको छ। पछिल्ला उपलब्धिहरू जनताले राजा ज्ञानेन्द्रसँग खोसेर लिएका थिए। तर, उनले नै शासनको केन्द्र बनाएको दरबारको आँगनलाई कार्यक्रम स्थल चयन गर्नुलाई धेरैले शंकास्पद् संकेतको रुपमा लिएको पाइन्छ।

‘ओली महेन्द्रवादी हुन खोजेका, धर्मको कुरा गर्न खोजेका पनि हुन सक्छन्। उनलाई आक्षेप लागेका छन्, उनले संघीयता सक्छन्। अहिले धर्म निरपेक्षतालाई समापन गर्न सक्छन्। पहिले धर्म निरपेक्षता त महेन्द्रले तोडेका हुन्। एकल जाति र भाषाको कुरा उनैले गरेका थिए। अहिले महेन्द्रको शालिक अगाडि उभिएर त्यही कुरालाई दोहोर्‍याउन खोजेका हुन् कि! त्यसका लागि शुक्रबारसम्म पर्खौं न!,' रोका भन्छन्।

नेपाल लाइभ । https://nepallive.com/story/238015 

No comments:

Post a Comment