Pages

Tuesday, May 25, 2021

संविधान निर्माण गर्दा संघर्ष गरेको शक्ति 'असंवैधानिक' कदमको विपक्षमा किन?

किशोर दहाल

आइतबार, पुस १२, २०७७, १७:५२

काठमाडौं- मन्त्रिपरिषद्को पुस ५ गतेको बैठकले प्रतिनिधिसभाको सिफारिस गरेपछि छिटो प्रतिक्रिया व्यक्त गर्नेमा जनता समाजवादी पार्टी थियो। सिफारिसको खबर सार्वजनिक भएको केही बेरैमै पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एक भिडिओ सन्देशमार्फत् सो कदम लोकतन्त्र र संविधानको मर्म विपरीत भएको बताए।

'यो कदमको विरुद्धमा सहकार्य गर्न नेपाली कांग्रेस, नेकपाभित्रका लोकतान्त्रिक शक्तिहरु, सम्पूर्ण राजनीतिक दल र वैकल्पिक राजनीतिक शक्तिहरुलाई सहकार्य गर्न म हार्दिक अनुरोध गर्दछु,' उनले भनेका थिए।

उनकै पार्टीका कतिपय नेताले अझ कडा शब्दमा संविधानमाथि 'कू' भएको प्रतिक्रिया व्यक्त गरे। ‘यो विल्कुल संविधानविपरीत कदम हो। संविधानमाथि कू हो। संवैधानिक व्यवस्थाको विपरीत, संवैधानिक मूल्यमान्यताको विपरीत काम भयो’, सोही दिन राजेन्द्र महतोले नेपाल लाइभसँग भनेका थिए।

सोही दिन नै जसपाले एक विज्ञप्तिमार्फत् संस्थागत रूपमै प्रतिक्रिया व्यक्त गर्‍यो। 'प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो। यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ,' महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'त्यसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं।'

जसपा त्यही पार्टी र नेताहरूको एकीकृत स्वरुप हो, जसले संविधान निर्माण प्रक्रिया र संविधानका कैयौं प्रावधानप्रति असन्तुष्टि जनाएर कडा संघर्ष गरेका थिए। २०७२ सालमा संविधान जारी हुनुअघि त्यतिबेलाका मधेस केन्द्रित विभिन्न दलमा रहेका शक्तिहरूले संविधानसभाका बैठक बहिष्कार, सभासद्‌बाट राजीनामा, सडक संघर्ष जस्ता संघर्ष गरेका थिए। तर संविधान जारी भइछाड्यो। त्यसपछि उनीहरूले संविधानलाई अस्वीकार मात्रै गरेनन्, भारतीय नाकाबन्दीको सहयोगी समेत बने।

जसपाका कतिपय नेताहरुले संविधान संशोधन गर्नुपर्ने मात्रै होइन, पुनर्लेखन नै गर्नुपर्ने बताउँथे। उनीहरू संविधान जारी गरिएको दिन पारेर असोज ३ गते 'कालो दिवस' पनि मनाउँथे।

प्रतिनिधिसभा विघटनको विरुद्धमा आइतबार आयोजित विरोध सभामा जसपाका नेता राजेन्द्र महतोले संविधान निर्माण गर्दा नै प्रतिगमन भएको बताए। 

'अहिले जुन संविधानमा प्रतिगमन भयो, त्यो संविधान बनाउँदा पनि प्रतिगमन नै गरिएको थियो। गोली हानेर संविधान बनाएको होइन? हिमाल, पहाड, तराई मधेसका जनताले आन्दोलन गरेका थिए। आदिवासी, जनजाति, दलित, थारु, मधेसी, मुस्लिम लगायतले जुन आन्दोलन गरेका थिए। त्यस अनुसार संविधान बनेन। त्यो प्रतिगमन नै थियो। जनता अग्रगमनका लागि लडेका थिए। केपी ओलीहरुले, नश्लवादीहरुले नश्लवादी संविधान बनाए', महतोले भने।

महतोको भनाइले संविधानलाई हेर्ने उनीहरुको दृष्टिकोण प्रष्ट पार्छ।

घोषणा हुनुअघि प्रक्रियामा र घोषणापछि संविधानकै विरोधमा संघर्ष गरेको शक्तिले अहिले संविधानमाथि 'कू' भएको निष्कर्ष निकाल्दै किन सडकमै आइपुग्यो त? संविधानलाई स्वीकार गर्ने उनीहरुको विगत ५ वर्ष यताको गतिविधिले यसलाई प्रष्ट पार्छ। संविधानमा असन्तुष्टि राखे पनि त्यसलाई संशोधन गराएर आफ्नो माग पूरा गराउने बाटो संसद नै भएको उनीहरुले बुझेको धेरै भइसकेको छ।

'संविधान पूर्ण थिएन। त्रुटिहरु थिए। गलत व्यवस्थाहरु थिए। त्यसलाई पहिचान सहितको संघीयता अनकूल बनाउन बाँकी थियो। आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, खस, आर्य सबैलाई समान अधिकारयुक्त बनाउन बाँकी थियो। संविधान नश्लवादी थियो, विभेदकारी थियो। हामीले भनिरहेका थियौं- संविधानलाई संसदबाट संशोधन गर्दै, सुधार गर्दै अगाडि लिएर जानुपर्छ', आइतबारको सम्बोधनमा अशोक राईले भने।

उनको भनाइले पनि स्पष्ट पार्छ- संविधानमा त्रुटि छन्। तर त्यसलाई सुधार गर्ने ठाउँमा संसद् नै हो। तर त्यो अहिल्यै भइहाल्छ भन्नेचाहिँ होइन। स्वयं जसपाकै लागि पनि यो एउटा राजनीतिक एजेन्डा हो।

अर्कोतिर, राजपालाई संघर्षका लागि थप राजनीतिक एजेन्डा चाहिरहेको अवस्था छ। समाजवादी र राजपाबीच एकता भएपछि पनि पार्टीले कुनै गतिविधि गर्न सकेको छैन। राम्रोसँग बैठक पनि बस्न सकेको छैन। पद विभाजनमा लामो समय अनिर्णित भएको यो पार्टीले कार्यकर्तामाझ एकताको राजनीतिक सन्देश दिन सकेको छैन। आफ्नो राजनीतिक उपस्थिति देखाउने यो राम्रो अवसर उसलाई प्राप्त भएको छ।

पार्टी एकता भएपछि जसपाले आफ्नो कार्यकर्तालाई भावनात्मक रुपमा जोड्न सकेको थिएन। उसका कार्यकर्ता सँगै हिँड्न, संघर्षको रणनीति बनाउन, एक अर्काप्रति सहयोगी हुन पाएका थिएनन्। अहिलेको सडक संघर्षले जसपालाई त्यो अवसर दिएको छ।

मुख्यतः अहिलेको कदमको प्रतिवाद गर्नु संविधान र लोकतन्त्रप्रति उत्तरदायी कुनै पनि दलको दायित्व बनिरहेको अवस्था छ। झन्, कांग्रेसले भूमिका स्पष्ट पार्न नसकेको अवस्थामा जसपालाई सडकमा उत्रिएर खालि ठाउँ कब्जा गर्ने अवसर पनि छ।

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/235271  

No comments:

Post a Comment