Pages

Tuesday, May 25, 2021

मंसिर ४ को निर्णयप्रति वामदेवको पछुतो

किशोर दहाल

बुधबार, माघ १४, २०७७, १८:३५

काठमाडौं- नेकपा सचिवालयका केही महत्त्वपूर्ण बैठकहरुमा पर्छ- २०७६ मंसिर ४ को सचिवालय बैठक। बैठकले मुख्यतः पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कार्यकारी अधिकार प्रदान गर्ने र केपी शर्मा ओली पाँच वर्ष नै प्रधानमन्त्री बन्ने निर्णय गरेको थियो।

सो निर्णयसँगै पार्टी एकताअघि ओली र प्रचण्डबीच भएको गोप्य सहमति निष्क्रिय भयो। जहाँ, उनीहरु दुईबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो।

केही समयदेखि पार्टीभित्र बढ्दै गएको असन्तुष्टि र विग्रहलाई स्थगित गर्न सो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको थियो। आलोपालोको सहमति छाड्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएका प्रचण्डले नै कार्यकारी अधिकार पाएरै सन्तुष्टि व्यक्त गरेपछि नेकपा एकताको नयाँ आधार तयार भएको ठानियो। तर, केही हप्तामै ओलीले आफू नै एक नम्बर अध्यक्ष भएको भन्दै प्रचण्डको 'तेजोबध' गरिदिए।

नेकपाभित्रको विवाद त्यसपछि थप तीव्र हुँदै थियो। २०७७ पुसपछि भने अनौपचारिक विभाजन भइसकेको छ। फरक पार्टीको अभ्यास पनि सुरु भइसकेको छ। तर, अझै पनि एकता कायम राख्न सकिन्छ भन्ने विश्वासका साथ वामदेव गौतम भने प्रयास गरिरहेका छन्। बुधबार उनले आफ्नो अभियान नै घोषणा गरेका छन्। उनले मंसिर ४ गतेको सोही निर्णयबाट नै नेकपा विभाजनको बिउ रोपिएको बताएका छन्।

प्रचण्ड खुसी भए, ओलीले हतारमा निर्णय गराए

बुधबारको कार्यक्रममा गौतमले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन आफूहरुले निकै लडेको बताए। बाहिर प्रचार नभए पनि पार्टीभित्र संघर्ष तीव्र भएको उनको भनाइ छ। 'पोहोर साल मंसिर ४ गतेको सचिवालय बैठकबाट प्रचण्डको अध्यक्षताको अगाडि कार्यकारी भनेर थपिदियौं। त्यो हाम्रो लडाइँको विजय थियो। अन्तरपार्टी संघर्षमा हामीले प्राप्त गरेको एउटा सफलता थियो', गौतमले भने।

कार्यकारी अधिकारका लागि प्रचण्ड लामो समयदेखि सार्वजनिक रुपमै बोल्न थालेका थिए। उनले २०७५ जेठ २ मा गरिएको गोप्य सहमतिमा उल्लेखित आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिको विभिन्न अन्तर्वार्तामा चर्चा गरेर आफूलाई कार्यकारी अधिकारको दाबी गर्न थालेका थिए। जुन २०७५ मंसिर ४ गतेको सचिवालय बैठकबाट पूरा भयो।

निर्णय भएपछि प्रचण्ड एकदम खुसी भएको गौतमको भनाइ छ। 'उहाँको अनुहार एकदम भावुक भयो, उहाँलाई केके न भएजस्तो भयो', प्रचण्डलाई उद्धृत गर्दै गौतमले भने, 'केपी ओलीजी, यो प्रचण्ड प्रधानमन्त्री भएर प्रचण्ड भएको होइन। दुई पटक प्रधानमन्त्री भइसकेको छु। मलाई फेरि प्रधानमन्त्री चाहिएको छैन। मैले कार्यकारी भएर काम गर्न पाउने भएँ। पार्टी एकताको बेलामा हाम्रो आलोपालोको सहमति भएको थियो, त्यो परित्याग गरिदिएँ। त्यसअनुसार मैले प्रधानमन्त्री बन्न पाउने आधा समय पनि तपाईंलाई नै मैले दिएँ।'

गौतमले थप रोचक विषय आफ्नो सम्बोधनमा प्रस्तुत गरे। उनले भने- 'अरु बेलामा निर्णय टिप्ने अनि पछि मिलाएर लेख्ने भन्ने हुन्छ। तर त्यसबेला केपीले महासचिवलाई 'यो पनि निर्णय गरिहाल्नुस्, लेखिहाल्नुस्' भन्नुभयो।'

पार्टी विभाजनको बिउ

प्रचण्डले त्यसरी आलोपालोको सहमति छाड्न हुँदैनथ्यो भन्ने गौतमको भनाइ छ। 'पार्टी एकताको सबैभन्दा महत्त्वपूर्ण पक्ष आलोपालो नै हो। किनकि त्यो नहुँदासम्म एकता हुँदै भएन', उनले भने।

प्रचण्डले खुसी भएर आलोपालो छाडे पनि ओलीले त्यसलाई स्वीकार गर्न हुँदैनथ्यो भन्ने गौतमको भनाइ छ। 'ओलीले आफूलाई संरक्षण गर्न सक्ने क्षमता भएको अभिभावक ठान्नुहुन्थ्यो भने जवाफ दिनुपर्थ्यो- यो आलोपालो एकताको आधार हो। तपाईंले छाडेर मैले लिनुहुन्न। पार्टी एकीकरण पूरा नहुँदै तपाईंले आलोपालोको सहमति छोड्नुभयो भने एकता हुन सक्दैन, एकता अघि बढ्दैन। आलोपालोमा तपाईं बसिदिनुस्, तपाईंको हिस्सा मैले दिन्छु, छोड्छु', गौतमले थपे, 'तर, केपीले भन्नुभएन।'

गौतमले सोही दिनपछि नै पार्टी विभाजनको बिउ रोपिएको बताए। 'त्यसपछि तलमाथि तलमाथि हुँदैहुँदै आउँदा हामी यस्तो ठाउँमा पुग्यौं कि हामीले यो विभाजनलाई रोक्न सकेनौं', उनले भने।

मंसिर ४ गतेको सचिवालयको बैठकमा केही साथीहरु भित्रभित्र रिसाएको र केही भने खुसी भएको उनले बताए।

गौतमको पछुतो

गौतमले आफूहरुले लडाइँ गरेर, निरन्तर-निरन्तर संघर्ष गरेर कार्यकारी ल्याएको दाबी गर्न भुलेनन्। तर, प्रचण्डले खुसी भएर आलोपालोको सहमति छाड्ने बताएपछि आफू पनि खुट्टा कमाएर बसिराखेको गौतमको भनाइ छ। तर त्यसलाई आफ्नो गल्ती ठान्छन्, उनी। त्यतिबेला आफूहरुले प्रतिवाद गर्नुपर्थ्यो भन्ने उनलाई लागेको छ।

'कमरेड प्रचण्ड, तपाईंले छोड्न पाउनुहुन्न। यो हाम्रो एकताको आधार हो। यो एकताको आधारलाई मैले छाडिदिएँ भनेर तपाईंसँगै आएका सबै नेता, सबै कार्यकर्ता तयार हुन्छन्? यो आधार त सिंगो पार्टीको, पूर्व एमाले र पूर्व माओवादी केन्द्र, यिनीहरुको बीचमा भएको हो र तपाईं त त्यसको एउटा प्रतिनिधि पात्र हो', आफूले त्यतिबेला यी कुरा भन्नुपर्ने रहेछ भन्दै गौतमले थपे, 'तर म बोल्न सकिनँ। भित्रभित्र रिस मात्रै उठ्यो मलाई। मलाई प्रचण्डले यस्तो गर्नुहोला भन्ने लागेकै थिएन।'

प्रचण्डले पछि गएर आफूलाई त्यतिबेला आलोपालो सहमति छाड्नु गल्ती भएको भनेर बताएको गौतमको भनाइ छ। तर त्यतिबेला आफू बेस्सरी रिसाएको उनले बताए। 'म उसबेला नै रिसाएको भए हुन्थ्यो। यो एकता भंग हुने थिएन। तर यसबेला रिसाएर के गर्ने?', उनको पछुतो छ, 'तैपनि मैले 'तपाईंले नगर्नु काम गर्नुभयो त्यसबेला, हामी सबैको भावनामा ठूलो चोट पुर्‍याउनुभयो, आज तपाईंले भनिरहनुभएको छ, यो भनेर के हुन्छ?' भनेर भनियो।'

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/237531 

No comments:

Post a Comment