Pages

Saturday, June 2, 2018

पहिलो संविधानसभाको जस्तै बलियो शक्ति बन्नेछौं : उपेन्द्र यादव

नेपाल लाइभ

कात्तिक २९, २०७४| प्रकाशित २३:३९

पहिले सुनसरी र मोरङबाट चुनाव लडेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीबाट उम्मेदवार बनेका छन्। सप्तरी क्षेत्र नम्बर २ मा उनको उम्मेवारीले सप्तरीको चुनावी माहौल तात्तिएको छ।

यसपाली यादव किन पनि चर्चामा छन् भने, उनी राष्ट्रिय जनता पार्टी (राजपा) सँग ‘मधेस गठबन्धन’ गरेर चुनावी मैदानमा उत्रेका छन्। संविधानसभाको पहिलो निर्वाचनमा बलियो बनेर दोस्रो निर्वाचनमा खस्किएको यादवको दलले स्थानीय तहको चुनावको परिणामले केही राहतको महसुस गर्‍यो।

यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो दल बलियो बन्ने यादवको दाबी छ। यादवसँग हाल स्थलगत रिपोर्टिङका क्रममा पूर्वी तराईमा रहेका नेपाल लाइभका किशोर दहालले सप्तरीको राजविराजमा गरेको कुराकानीः

चुनावका लागि कस्ता रणनीति बनाइरहनुभएको छ?

पहिलो कुरा जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने, सभाहरु गर्ने, आफ्ना विचार र मुद्दाहरु जनताकै बीचमा राख्ने गरिरहेका छौं।

जनताको माझमा के–के प्रतिबद्धता जनाइरहनुभएको छ?

हाम्रो राजनीति भनेको एउटा उद्देश्यको राजनीति हो। एउटा मिसनको राजनीति हो। त्यो मिसनमा दुई वटा पक्ष छन्। एउटा पक्ष भनेको अधिकारको लडाइँ हो। राज्यको गलत नीति र दृष्टिकोणका कारण यहाँका जनता विभेदमा छन्। असमानता र उत्पीडन छ। समान अवसर, अधिकार र पहुँचमा वञ्चित परिरहेको अवस्था छ। त्यस्तै, राष्ट्रिय पहिचान नै संकटमा परेको अवस्था छ। अधिकार र पहिचानका कुरा छन्, जसलाई प्राप्त गर्न संविधान संशोधन, पुनर्लेखन वा परिमार्जन गरेर अगाडि बढ्ने हो। यो अधिकारको पाटो हो।

अर्को, विकासको पाटो हो। तराई, त्यसमा पनि सप्तरी कहिले पनि राज्यको प्राथमिकतामा नपरेको ठाउँ हो। सप्तरी राम्रो खेती हुने सुगम र मिहिनेती ठाउँ हो। तर, मानव विकासको सूचकांकमा हेर्दा नेपालको निर्धन जिल्लामा पर्छ। राज्यले प्राथमिकता नदिएकै कारण यस्तो भएको हो। त्यसैले विकास र निर्माणका आधारहरु तयार गर्नु जरुरी छ।
त्यसैले अधिकार र विकासको कुरा नै मुख्यगरी हामीले अगाडि बढाइरहेका छौं।


जनताले तपाईंहरुसँग के कुराको अपेक्षा गरिरहेका छन्?

जनताले अपेक्षा गरेको पहिलो विकास र दोस्रो अधिकार हो। कहीँ विकास मुख्य, कहीँ अधिकार मुख्य। यिनै दुई कुरामा बढी चासो छ। विगतमा कमजोर नेतृत्वका कारण विकासमा ओझेल परेको उनीहरुलाई लागिरहेको छ र अब ओझेलमा परिन्न भन्ने विश्वास पनि बढेको छ।

सप्तरीका केही मानिससँग मैले कुरा गरेको थिएँ। उनीहरुले त अधिकार, संविधान संशोधनका सैद्धान्तिक कुराभन्दा पनि विकासका कुरामा बढी रुचि देखाएका छन् नि!

सोचलाई मानिसको वातावरणले प्रभावित गर्छ। व्यापार गर्नेले व्यापारिक कारोबार बढोस् भन्ने सोच्छ। किसानले कृषिको विकास होस् भन्ने सोच्छ। बौद्धिक वर्गले ठूलो राजनीतिक स्पेस खोज्छ। समग्रमा विकास र अधिकार उत्तिकै महत्त्वपूर्ण कुरा हो। अधिकार पनि विकास र समृद्धिका लागि हो नि! हरेक राजनीतिक लडाइँको अन्तिम बिन्दु भनेको समृद्धि प्राप्त गर्नु हो। समृद्ध समाज, मुलुक, क्षेत्र निर्माण गर्नु हो। त्यसैले तपाईंले भनेका कुरा प्राथमिकताको कुरा हो।

सप्तरी विकासको दृष्टिले निकै पछाडि परेको छ। यस्तोमा स्वाभाविक रुपमा जनताको प्राथमिकता विकास नै हुन्छ। मान्छेलाई जेले पोलिरहेको हुन्छ, जेको बिरामी लागेको हुन्छ, पहिले उपचार त्यसैको खोजिन्छ नि!

पहिलो संविधानसभाको चुनावमा निकै सिट जितेर बलियो शक्ति बन्नुभएका तपाईंहरु संविधानसभाको दोस्रो चुनावमा निकै कमजोर बन्नुभयो। यस पटक जनताले तपाईंहरुलाई मत देलान् भन्ने आधार के छ?

दोस्रोमा हामी विभाजित थियौं। तराईमा ६/७ वटा दलले चुनाव लडेका थिए। मतको अनुपात हेर्ने हो भने पहिलेभन्दा बढेको थियो, तर सिट कम भयो। किनकि, मत छरिएको थियो। अहिले हामी फेरि एकताबद्ध भएका छौं। यसले हामीलाई पहिलो संविधानसभाको जस्तै बलियो शक्ति बनाउनेछ।

मानिसहरुको अर्को शंका के छ भने, तपाईंहरु कमजोर हुनुहुन्थ्यो र मिल्नुभयो। भोलि बलियो हुनुभयो भने पदीय अवसरहरुमा भुल्नुहुन्छ। त्यसपछि फेरि विभाजन भइहाल्नुहुन्छ नि!

राजनीतिमा असम्भव भन्ने कुरा त केही हुँदैन। तर, विगतको अनुभवबाट सिकेर नै मानिस अगाडि बढ्ने हो। विगतको अनुभवले देखाउँछ, जब विभाजित भए, एक अर्काका विरुद्ध उभिए र कमजोर भए। जब मिले, शक्ति आर्जन गरे, अगाडि बढे। निरन्तर अगाडि बढ्नलाई मिल्दै जानुपर्छ।

हाम्रो अवस्था अलि फरक पनि हो। हामी तराईमा मात्रै आधारित दल होइन। हिमाल, पहाड, तराई, जनजाति, बाहुन, क्षेत्री, मुस्लिम सबैलाई जोडेर यो मुलुकमा भएको असमानता र उत्पीडनलाई अन्त्य गर्दै मुलुकलाई समृद्धितिर लैजाने हाम्रो उद्देश्य हो। तराईमा हामी फुटे पनि हिमाल र पहाडमा त जोड्यौं नि! एउटा राष्ट्रिय शक्तिको रुपमा अगाडि आयौं नि! त्यो ‘प्लस प्वाइन्ट’ हो। सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भने एकताको आवश्यकता छ।

अबको चुनावमा तपाईंहरुको पक्षमा नतिजा आयो भने त्यसको अर्थ र सन्देश के हुन्छ?

हाम्रो संघर्ष संघीयता, गणतन्त्र र समावेशीताको संघर्ष हो। विभेद र असमानता अन्त्यको मिसन हो। चुनावको नतिजा हाम्रो पक्षमा आयो भने त्यो मिसन अगाडि बढ्छ। त्यसले निश्चित रुपमा मुलुकको राजनीतिमा असर पार्छ। तपाईंलाई स्मरण गराऊँ, पहिलो चरणको स्थानीय तहको चुनावमा हामीले खासै राम्रो नतिजा निकाल्न सकेनौं, मुलुकको राजनीतिमा कुनै प्रभाव परेन। तर, तेस्रो चरणको चुनावमा तराईमा फोरम नेपालले अग्रता हासिल गर्‍यो र मुलुककै समग्र राजनीतिमा असर पर्‍यो। फेरबदल आइदियो। राजनीतिक गठबन्धन हुन थाले। त्यसैले हामीले राम्रो पोजिसनका साथ चुनाव जित्यौं भने राजनीति नयाँ दिशातिर जान सक्छ। र, त्यो सम्भावना पनि छ।

अबको मुलुकको राजनीति भनेको पहिचान, समावेशीता, संघीयता, गणतन्त्र र आर्थिक समृद्धि र विकास हो। यसलाई जोडेर लैजानुपर्छ। दरिद्र र गरिबीको अवस्थामा रहेर मुलुकमा कुनै पनि समस्याको हल हुँदैन। अब आउने दिनमा राजनीतिक अधिकारको कुरा त छँदैछ, आर्थिक विकासतर्फ मुलुकलाई लैजानुपर्छ। राजनीतिक अधिकारको लडाइँ र आर्थिक समृद्धिलाई सँगसँगै लैजानुपर्छ।

पछिल्लो समय तपाईंहरुले संविधान संशोधनलाई कमै मात्र उठाउनुभएको छ। किन?

संविधान संशोधन राजनीतिक मुद्दाको प्रमुख विषय हो। त्यो सँगसँगै आर्थिक समृद्धि पनि प्रमुख विषय हो। यी दुइटा कुरा सँगसँगै जोडिएका छन्।

संविधान संशोधन होला? के लाग्छ तपाईंलाई?

संशोधन भएर परिमार्जन भयो भने मात्रै यो संविधान सफल हुन्छ। जुन चिज परिवर्तन हुँदैन, समयको गति अगाडि बढ्दै जाँदा संविधान या व्यवस्थाले त्यसलाई पछाडि तान्छ र त्यो ठाउँमा राजनीतिक प्रणाली र संवैधानिक व्यवस्था असफल हुन्छ।

०१९ सालको संविधान किन असफल भयो? किनकि, मुलुक लोकतन्त्रतर्फ जान खोजिरहेको थियो, त्यसले निरंकुशतामै राख्न खोज्यो। त्यसैले फेल भयो। ०४७ सालको संविधान किन असफल भयो? किनकि, मुलुकले समावेशीता र संघीयता खोजेको थियो। तर, संविधान एकात्मक र केन्द्रिकृत थियो। त्यो पनि फेल भयो। अहिलेको संविधानले पनि संघीय प्रणालीलाई विकसित हुन नदिने, अवरोधहरु खडा गर्ने काम गरेको छ। यसलाई संशोधन गरेर अगाडि बढिएन भने जनताको मानसिकता त अगाडि बढिसक्छ। संविधानले पछाडि तान्न सक्छ। जनतालाई पराजय गर्न सक्ने संविधान त हुँदैन। अनि यो संविधान कागजको खोस्टो बन्छ। जसरी अगाडिका ६ वटा संविधान बनेका थिए। त्यसैले यो संविधानबाट मुलुक चलाउने हो भने संशोधन, परिमार्जन र पुनर्लेखन नगरीकन सम्भव छैन।

पछिल्लो समय तपाईंको केही रणनीति सफल भएसँगै मधेस आन्दोलनमा भारतीय प्रभाव अन्त्य हुने दिशातिर गएको भन्ने विश्लेषण हुन थालेको छ। हो?

हामी आफ्नो खुट्टामा उभिएर आफ्नो लडाइँ आफैं लड्ने कोसिस गर्दैछौं। त्यो प्रयास हाम्रो हो। त्यसले केही गति पनि लिएको छ। तर, हाम्रो लडाइँलाई भारतीयसँग जोडेर सबैथोक उसैले गराएको हो भन्ने जुन विश्लेषण गरिन्छ, त्यो गलत हो। यस्तै बिल्ला पञ्चायत कालमा कांग्रेसलाई पनि भिडाइएको थियो। हिजोका दिनमा बिल्ला भिडेकाहरुले अहिले हामीलाई बिल्ला भिडाउँछन्। भोलि अरु कसैलाई भिडाउँछन्। यो भनेको राजनीतिको कमजोर पक्ष हो। यो गलत चिन्तन हो।

चिन्तन के हुनुपर्छ भने, मधेसका के समस्या छ, बसेर छलफल गरौं र हल गरेर  अगाडि बढौं। त्यस्तै, हिमाल र पहाडका के समस्या छन्, बसेर छलफल गरौं र अगाडि बढौं। यस्तो सोच राख्नुपर्छ।

तपाईंलाई यो देशको प्रधानमन्त्री बनौं र आफ्नो भिजन अनुसारको मुलुक बनाऔं भन्ने लाग्दैन?

मेरा लागि त्यो पद महत्वको विषय होइन। मेरो चाहना भनेको यो मुलुकको लागि केही गर्न सकूँ भन्ने हो। समावेशीता, पहिचानको मान्यता र संघीय गणतन्त्रलाई बलियो बनाउने र मुलुकलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन सकियो भने त्यो नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हुन्छ। पद भन्ने कुराले मानिसको नाप घटबढ हुँदैन।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/6039

No comments:

Post a Comment