Pages

Sunday, March 4, 2018

प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा पनि आश्वासन उस्तै, चौथो पटक भने- 'कोही नेपाली भोकै मर्नुपर्दैन'

किशोर दहाल
फागुन १८, २०७४| प्रकाशित २१:३७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले 'अब कोही नेपाली भोकै नमर्ने' बताएका छन्। शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै ओलीले भने– 'अब कोही पनि नेपाली भोकै मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ। केही वर्षभित्र नेपाल अल्पविकशित देशको सूचीबाट विकसित देशमा पुग्छ।'

रोचक के छ भने, प्रधानमन्त्रीका रुपमा ओलीले यो आश्वासन कम्तिमा चार पटक दिइसकेका छन्। अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि ओलीले कम्तिमा तीन पटक यस्तो आश्वासन दिएका थिए।

त्यतिबेला विभिन्न कार्याक्रममा मन्तव्य राख्दै ओलीले 'आफू प्रधानमन्त्री रहुञ्जेल कोही नेपाली भोकै मर्नु नपर्ने' आश्वासन सार्वजनिक रुपमै दिएका थिए।

०७३ वैशाख ८ मा कास्कीको पुरुन्चौरमा स्थापित प्राकृतिक श्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्ने क्रममा ओलीले आफू प्रधानमन्त्री रहुन्जेल कोही भोकै मर्नु नपर्ने आश्वासन दिएका थिए। नेपाललाई दुई वर्षभित्र खानेकुरामा आत्मनिर्भर बनाउने उनको घोषणा थियो। 'केपी ओली प्रधानमन्त्री रहेसम्म कोही भोकै पर्दैनन्,' उनले भनेका थिए, 'मैले लोकप्रियता खोजेको होइन, जनताको दुखकष्ट कटाउन खोजेको हुँ।'

यस्तै, ०७३ वैशाख १७ मा धरान नगरको सातौँ नगर अधिवेशन उद्घाटन गर्दै ओलीले आफू प्रधानमन्त्री रहुन्जेल कोही पनि नेपाली भोकै नमर्ने बताएका थिए।


ओलीले सोही आश्वासन सोही वर्षको जेठ २५ मा पनि दोहोर्‍याए। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास गर्न सुर्खेत पुगेका ओलीले विकासका लागि बजेट अभाव देखाउनु विकास नगर्ने बहाना मात्र भएको बताएका थिए। सोही कार्यक्रममा आश्वासन दिँदै ओलीले भने– 'तपाईंहरु विकास गर्नुस्, दुनियाँको जुनसुकै स्थानबाट पनि म पैसा ल्याएर दिन्छु। मेरो पालामा कोही भोकै मर्दैन, म चामल पुर्‍याउनेछु।'

दुःखको कुरा के छ भने, प्रधानमन्त्रीले यो आश्वासन दिएको ३ दिनअघि २०७३ जेठ २२ मा धादिङ महादेवस्थानका चेपाङले खाने कुराको अभावमा 'घाँस खान वाध्य भएको' खबर प्रकाशित/प्रशारित भएको थियो।

सोही वर्ष साउनमा ओली प्रधानमन्त्रीबाट बाहिरिएका थिए। साउन १९ गते उनलाई पुष्पकमल दाहालले प्रतिस्थापन गरेका थिए। उनी ०७४ फागुन ३ मा पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रधानमन्त्रीजस्तो पदमा पुगेपछि पनि कार्यक्रमैपिछे एउटै आश्वासन बाँड्दै हिँड्ने तर त्यसलाई पूरा गर्न ठोस कार्यक्रम र योजना सार्वजनिक नगर्ने चलन नेपाली नेतामा पुरानै रोगजस्तै बन्दै आएको छ। प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा 'कोही नेपाली भोकै मर्नुपर्दैन' भन्ने आश्वासन अझै कति पटक बाँड्ने हुन् वा त्यसका लागि ठोस कार्यक्रम अघि सार्ने हुन् त्यो भने भविष्यले नै बताउला।

nepallive.com/news-details/17596/2018-03-02

No comments:

Post a Comment