Pages

Saturday, March 10, 2018

सभामुखमा महरा निर्विरोध निर्वाचित


फागुन २६, २०७४| प्रकाशित १४:१८

काठमाडौं - माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले सभामुख पदका लागि एकमात्र उम्मेदवार महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो। उनी नेकपा एमालेका नेता सुवास नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा सभामुख निर्वाचित भएका हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका हैसियतले सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले महरालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।

'प्रतिनिधिसभाको अन्तरिम कार्याविधिको नियम ६ को उपनियम ३ बमोजिम महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु', संसदको अध्यक्षता गरिरहेका ठाकुरले भने।


महराका प्रस्तावक सुवास नेम्वाङले अबको प्रतिनिधिसभाले देशलाई एक ढिक्का बनाउन भूमिका खेल्नुपर्ने बताए। 'सम्पूर्ण राजनीतिक दलहरुले आफूहरु एकजुट भएर, देशलाई एकजुट बनाएर संविधानलाई ठोस रुपमा कार्यान्वयन गर्दै समृद्ध नेपालको आधार तयार गर्नुपर्ने चुनौती छ', संसदमा सम्बोधन गर्दै नेम्वाङले भने, 'सबै राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याएर अगाडि बढ्न सक्ने क्षमता र कौशल हाम्रो नयाँ नेतृत्वले देखाउनुपर्छ।' उनले सभामुखको रुपमा महराले राम्रो भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

महराका समर्थक देवप्रसाद गुरुङले मुलुकको स्वाधिनता, आर्थिक समृद्धि, समावेशी लोकतन्त्रको मान्यताको प्रतिनिधिसभालाई सहमतीय ढंगले सञ्चालन गर्नु जरुरी रहेको बताए। महत्त्वपूर्ण विधेयकहरुलाई सत्तापक्षको बहुमतले नभइ सहमतिबाट पारित गर्नु जरुरी भएको उनले बताए। साथै, सभामुखमा विपक्षीले उम्मेदवारी नदिएर सहमतिको लागि राम्रो सुरुवात गरेको भन्दै गुरुङले धन्यवाद दिए।

प्रमुख पतिपक्षीका मिनेन्द्र रिजालले आफ्नो दलको तर्फबाट सभामुखमा महरालाई समर्थन रहेको र उनको कार्यकाललाई सहयोग गर्ने विश्वास दिलाए। महरा प्रतिनिधिसभाको नेतृत्व गर्न योग्य भएको पनि उनले बताए। 'उहाँ शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको नेता हुनुहुन्छ', उनले भने, 'सभामुखको रुपमा उहाँलाई पाउँदा शान्ति प्रक्रियाका कामहरु पूरा हुनेछन् भन्ने विश्वास लिएको छु।'

प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित महराले पछिल्लो समय सभामुखमा दाबी गर्दै आएका थिए। सभामुखमा देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा लगायतका नेताले दाबी गर्दै आए पनि माओवादी केन्द्रले महरालाई अगाडि सार्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रबाट पटक-पटक मन्त्री भइसकेका महरालाई सभामुख बनाउन पार्टीभित्र शीर्षस्थ नेताबीच समेत समझदारी बनेको थियो। सोही कारण नयाँ सरकारमा सहभागी हुन महराले दाबी छाडेका थिए।
http://nepallive.com/story/18447 

No comments:

Post a Comment