Pages

Thursday, December 6, 2018

जनयुद्धका नेतृत्वमा त्रास यथावत्

किशोर दहाल

२o७५ मङ्सिर ५ बुधबार| प्रकाशित १६:५५:११

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित युद्ध समाप्त भएको १२ वर्ष पुगिसकेको छ। रोल्पामा समातेको बन्दुक छाडेर सिंहदरबारको हिस्सा उपभोग गरिरहेका त्यस युद्धका नेतृत्वकर्तालाई भने विगतको प्रतिच्छायाले सताउन छाडेको छैन।

युद्धका नेतृत्वकर्तामा रहेको डर बेलाबेलामा उनीहरुकै मुखबाट अभिव्यक्त भइरहेको पाइन्छ। फरकफरक समूहमा सक्रिय भएको किन नहोस्, त्रास भने साझा छ– विगतको युद्धको बदलामा कुनै अदालतबाट दोषी ठहर त हुनुपर्ने हो कि!

निरन्तर त्रास
त्यसो त त्रासको श्रृंखला नयाँ होइन। विस्तृत शान्ति सम्झौता नहुँदैदेखि युद्धका नेतृत्वकर्ता प्रचण्डले आफूलाई असुरक्षा रहेको संकेत गर्न थालेका हुन्। उनले भनेका पनि थिए– मदन भण्डारी नबनाइदेलान् भन्ने के ग्यारेन्टी?

शान्ति प्रक्रियाको उकालो ओरालोमा प्रचण्डले आफूलाई सुरक्षा खतरा रहेको बताउन छाडेका छैनन्। खतराको स्रोत कहिले बाह्य शक्ति त कहिले पूर्व सहयात्रीसम्मलाई औंल्याउने गरेका छन्। दुनियाँको नजर परेको संघर्षबाट आएको नेतालाई सुरक्षा खतरा हुनु स्वभाविक पनि हो। त्यो विगतमा पनि थियो। भविष्यमा पनि रहन्छ।


पूर्व माओवादी मुख्य गरी चार ठाउँमा पुगेका छन्। बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र विक्रमले पहिल्यै फरक बाटो समाइसकेका थिए। प्रचण्डले माओवादीलाई एमालेमा मिसाइदिए। तर प्रचण्डबाट भने असुरक्षाको भाव व्यक्त भइरहन्छ। उनीहरुले बेलाबेलामा आफूलाई हेगमा उभ्याउने प्रयत्न भएको बताउने गरेका छन्। आफूहरुलाई फसाउन खोजिएको गुनासो गर्ने गरेका छन्। यस्ता गुनासो आउनुको कारण, आफूहरुले अदालती प्रक्रियाबाट जुनसुकै बेला दोषी ठहरिन सकिन्छ भन्ने भय हो।

केपी ओली नेतृत्वको सरकार विरुद्ध अविस्वासको प्रस्ताव राख्दै प्रचण्डले भनेका थिए– ‘सरकारलाई समर्थन गरेर प्रधानमन्त्री बनाउने हामी अनि द्वन्द्वकालीन मुद्दामा फसाउने प्रयास पनि हामीमाथि नै भइरहेको छ। सरकारमा केपी ओलीजी बस्ने र बाहिरबाट मानव अधिकारवादी आफ्ना कार्यकर्ता लगाएर हामीलाई द्वन्द्वकालीन मुद्दामा फसाउने दोहोरो खेल भइरहेकोप्रति हामी सचेत छौं।'

नेताहरुका फरकफरक शैली छन्, जसले उनीहरुमा रहेको अनेकन त्रासलाई पुष्टि गर्छ।

किन त्रास?
कम्युनिस्ट आस्थाले डोहोरिएका र सशस्त्र युद्ध गरेर आएका पार्टी र नेतृत्वको हिसाबले त्रासका अनेक आयाम छन्। बाह्य होस् वा आन्तरिक, माओवादीले आफ्नो सिद्धान्तको सफल परीक्षण गरेको धेरैलाई मन पर्ने कुरै थिएन। मदन भण्डारीको हालत बनाइन सक्ने प्रचण्डको बुझाइमा सत्यता नभएको होइन।

माओवादीलाई असफल बनाउन र त्रस्त बनाइरहन सकिने एउटा सहज उपाय भनेको युद्धका क्रममा भएका कतिपय ज्यादति, मानवअधिकार हनन लगायतका कुरालाई निरन्तर उठाइरहनु नै हो। बेलाबेलामा हुत्तिएर आउने शिक्षक झुन्ड्याएका र बसमा बम पड्काइएका फोटोसम्मको राजनीति प्रचण्ड वा पूर्व माओवादी समूहले नबुझ्ने कुरै छैन। त्यसमाथि, नेतापिच्छेका मुद्दाहरुले पनि त्रास थप्ने नै भयो।

सैद्धान्तिक रुपमा सहमति वा विमति भए पनि माओवादी नेताहरुले युद्धभर ज्यानको माया मारेरै संघर्ष गरेका थिए भन्नेमा कुरामा असहमति हुनुपर्नेका कारण छैन। छापामार युद्धको सामान्य विशेषता त्यही नै हो। त्यतिबेला आफ्नो नेतृत्वमा जायज वा नाजायज सबै काम भए। उनीहरुले भन्ने गरेकै थिए– युद्ध नापे वा तौलेजस्तो हुँदैन।

तर यही कुरा शान्ति प्रक्रियामा आएपछि भने भन्न सकेनन्। म हेगमा पनि उभिन तयार छु, जुनसुकै सजाय पनि खप्त तयार छु, किनकि मैले संघर्ष जनताको लागि गरेको थिएँ भन्न सकेनन्। हिजो ज्यानको बाजी राखेर लडेको हुँ, मलाई जनताले बचाउँछन् भन्ने आत्मविश्वास देखाउन सकेनन्।

बरु, युद्धका बेलामा जसका विरुद्ध युद्ध लडिएको थियो भनेर बताउने गरिएको थियो, उनीहरुसँगै घाँटी जोड्न पुगे। गलत मान्छे र स्वार्थको संगतमा पुगेर आफ्नो ग्राउन्ड गुमाए। मुद्दा गुमाए, सपना गुमाए। विश्वास पनि गुमाए। यसले आफ्नो विगतको संघर्षप्रति प्रश्न उठायो, कार्यकर्तालाई रुष्ट बनायो। न सरकारमा पुगेर राम्रो काम गर्न सकियो, न कसैलाई खुसी बनाउन सकियो। सबैलाई चिढ्याउने पार्टी बन्यो, माओवादी।

विगतदेखि नै विपक्षमा रहेकाहरुबाट त त्रास सधैं रहने नै भयो। विगतमा आफूसँगै रहेकाहरुबाट पनि त्रास छ। माओवादी संघर्षमा सँगसँगै होमिएका धेरैमा अहिले पनि आफूहरुले केही नपाएको गुनासो छ। केही राजनीतिबाटै बाहिरिएका छन् भने केही वैद्य र विप्लवतिर संगठित भएका छन्।

असन्तुष्टिमा घ्यु थपेको हुनसक्छ, प्रचण्ड लगायतका नेताहरुको जीवनशैली तथा संगत र आर्थिक अपारदर्शिताका आरोपहरुले।

यसैकारणले पनि अहिले विप्लव र वैद्यसँग भएका कार्यकर्ता प्रचण्ड र उनलाई साथ दिने नेताप्रति असन्तुष्ट छन्। कहिले झापड हानेर होस् वा कहिले पुर्जी काटेर होस्, असन्तुष्टि व्यक्त हुने गरेका छन्। र त्यो असन्तुष्टि झापड र पुर्जी कटाइमै सिमित नरहन सक्छ। प्रचण्डले यस्तो कुरा नबुझ्ने सवाल नै भएन।

शक्ति र सत्ता नै सुरक्षा कवच
त्रासबाट बच्ने उपाय स्वरुप माओवादी सत्ताको दलदलमा फस्न बाध्य भयो। उनीहरुको नजरमा सरकार सुरक्षित ठाउँ थियो। यो कुरा उनीहरुले लुकाएनन् पनि। जस्तो कि, ०६९ माघमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीको हेटौंडा महाधिवेशनको बन्द सत्रमा भनेका थिए– हामी सरकारमा नभएको भए हेग लाने सम्मको तयारी गरिएको थियो। सरकारमा रहेर प्रतिक्रान्तिलाई रोकेका छौं।

यसले भट्टराईको मात्रै माओवादी र उनीहरुको सुरक्षा कवचको रणनीतिलाई पनि प्रष्ट पार्छ। भट्टराईले पार्टी छाडे पनि माओवादी रणनीति परिवर्तन भएन।

१२ वर्षमा युद्धबाट आएको माओवादी समूहले तीन वटा सरकारको नेतृत्व गरिसकेका छन्, केही बाहेक सबै सरकारको अंग भएका छन्। तर, प्राय सत्ता परिवर्तनको खेलमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने उल्लेख हुने गरेको छ। उनीहरु सरकारमा गएर आफू अनुकूल विगतलाई परिभाषित गर्ने र भविष्य निर्धारण गर्ने अवसर खोजिरहेका देखिन्छन्। तर, सफल भने भइसकेका छैनन्।

माओवादी संघर्षको नेतृत्व गरेको व्यक्ति भएका कारण असुरक्षाको बढी महसुस प्रचण्डले गरेका छन्। त्यसका लागि उनले फरकफरक उपायहरु अपनाएको बुझ्न कठिन छैन। पार्टीलाई एमालेसँग मिसाएर नेकपा बनाउने उनको पछिल्लो कारणका अनेक तर्क होलान्, तर त्यसमा पनि उनको त्रास जोडिएको छैन भन्न सकिँदैन। कारण, शक्तिको केन्द्रमा रहनु नै उनका लागि सुरक्षाको सबैभन्दा भरपर्दो कवच हो। बलियो माओवादी छँदा नै उनले यसको महसुस गरिसकेका थिए। माओवादी नरहे पनि नेकपालाई विकल्प बनाउन सकिन्थ्यो।

तर, नयाँ घरका जटिलता आफ्नै किसिमका हुनसक्छन्।

नेपाल लाइभका प्रकाशित / https://www.nepallive.com/story/36883

No comments:

Post a Comment