किशोर दहाल
कात्तिक ८, २०७५| प्रकाशित १०:००
कागबेनी (मुस्ताङ)- दसैं सकियो। मुस्ताङ घुम्न आएका पर्यटक भने फर्किइसकेका छैनन्।
पर्यटकीय बस्ती हो, मुस्ताङको कागबेनी। यतिबेला यहाँ चिसो निकै बढेको छ। बाक्लो कपडा लगाएका मानिसहरूको चहलपहल बिहानैदेखि सुरु हुन्छ। उनीहरु चिसो सिरेटोमा आफूलाई हल्का बनाइरहेका छन्।
अघिल्लो दिन जोमसोम बसेका तर मुक्तिनाथ जाने यात्रुहरू, जो कागबेनी पस्न चाहन्छन्, उनीहरू आइसक्छन्। कागबेनीमै रात बिताएका हुन् वा जोमसोमबाट आएकाहरू, पितृलाई पिण्ड चढाउनेहरूको भिड देखिन्छ।
कागबेनीको थप बिशेषता कालीगण्डकीको किनारमा अवस्थित हुनु पनि हो। र, कालीगण्डकीको विशेषता शालिग्राम पाइनु। धार्मिक महत्त्वको शालिग्राम खोज्नेहरूलाई नदी किनारमा घुमिरहेका देख्न सकिन्छ।
हिमाल, नदी तथा फरक प्रकृतिका डाँडाहरू भएका कारण फोटो खिच्नेहरू भिड झोलुंगे पुल वरिपरि देखिन्छ। कोही सेल्फीको आनन्दमा रमिरहेका हुन्छन्।
बिहान साढे ७ बजेसम्म यहाँ घामको न्यानो स्पर्श पाइन्न। तर, वरिपरिका हिमालले भने बिहानै आँखा उघारिसकेका हुन्छन्। खैरा डाँडाहरू पनि कोही राता र कोही पहेँला देखिन्छन्।
कागबेनीबाट मुक्तिनाथ वा माथिल्लो मुस्ताङ जान सकिन्छ। मुख्य बस्तीभन्दा केही माथिबाट मुक्तिनाथसम्मै ११ किलोमिटर बाटो पिच छ। यहाँबाट ७ किमिजति माथिको छुसाङसम्म लोकल गाडीमा गएर त्यहाँबाट करिब ६० किमि जिपमा यात्रा गरी लो-मान्थाङ पुग्न सकिन्छ। अद्वितीय हिमाली सभ्यता बोकेको ठाउँ हो लो-मान्थाङ।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/34909
No comments:
Post a Comment