Pages

Friday, August 25, 2023

मालेले चौथो महाधिवेशन आयोजना गरेको त्यो घर, जहाँ ३४ वर्षपछि बस्दैछ एमालेको सचिवालय बैठक

किशोर दहाल

सोमबार, भदौ ४, २०८०  २०:३७

फोटो स्रोत- प्रदीप ज्ञवालीको ट्विट

काठमाडौं- सोमबार दिउँसो नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एउटा घरको फोटोसहित ट्विट गरे। जिर्ण अवस्थामा पुगेको देखिने सो घर ऐतिहासिक भएको स्थापित गर्न उनले लेखेका छन्, ‘नेकपा मालेद्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ठीक ३४ वर्षपछि त्यसैदिन र त्यसै हलमा नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने तयारी हुँदैछ।’

मालेको चौथो महाधिवेशन २०४६ भदौ ९ देखि १४ सम्म आयोजना भएको थियो। एमालेले त्यही घरमा केन्द्रीय सचिवालयको बैठक आयोजना गरेको हो। बैठकबाट केही सन्देश दिने एमालेको तयारी छ।

ज्ञवालीले इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्ने आफूहरुको प्रयास रहेको ट्विटमा उल्लेख गरेका छन्। नेपाल लाइभसँगको कुराकानीमा उनले इतिहासको महत्त्वपूर्ण क्षणलाई स्मरण गर्ने उद्देश्यका साथ त्यहाँ सचिवालय बैठक आयोजन गर्न लागिएको बताए। ‘हामीले कस्तो चरणहरू पार गर्दै आजको बिन्दुसम्म आइपुग्यौं भनेर भन्ने विषयलाई रिभ्यु गर्ने र त्यसका भावनालाई आजको सन्दर्भमा जोड्ने हाम्रो प्रयास हो’, उनले भने।

नेकपाको स्थापना भएको ७५ वर्ष पुगेकाले त्यस ठाउँमा पछिसम्मै सम्झनलायक हुने गरी केही कामको घोषणा गर्ने ज्ञवालीले बताए। त्यस्तै, जनतासँग नेताहरूको अन्तरक्रिया गरिने सभा पनि त्यहाँ आयोजना हुनेछ। ‘त्यतिबेलाका मालेका त्यत्रा नेताहरू, जो जेल तोडेर बाहिर निस्किनुभएको थियो। कतिपयको टाउकोको मूल्य तोकिएको थियो। जनताको सहभागिता बिना उनीहरु सुरक्षित रहन र महाधिवेशन गर्न सम्भव नै थिएन’, ज्ञवाली भन्छन्, ‘त्यो विषयलाई पनि स्मरण गर्छौं र पार्टीलाई जनतासँग पनि जोड्छौं।’

माले गठनको ११ वर्षपछि आयोजित महाधिवेशन

२०२८ को झापा विद्रोहको जगमा कोके र नेकपा माले गठन भएको थियो। २०३५ पुसमा माले गठन भएपछि केही वर्षभित्रै सो पार्टीले उतारचढाव व्यहोरेको थियो। २०३७ मा सम्पन्न जनमत संग्रहमा भाग लिने कि नलिने जस्ता सन्दर्भ मात्रै होइन, २०३८/३९ सालतिर सिर्जना भएको पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता जस्ता विषयले पनि मालेलाई तरंगित बनाएको थियो।

त्यसैक्रममा पार्टीको आगामी कार्यदिशा, महासचिव सीपी मैनालीको कार्यशैली लगायतका विषयमा मालेमा विवाद बढेको थियो। पार्टीभित्र मतभेद बढेसँगै महासचिव मैनाली निरन्तर अल्पमतमा पर्दै गए। उनका चाहना वा लाइन विपरीतका निर्णयहरु हुन थाले। अन्ततः महासचिव मैनालीले अनुशासन उल्लंघन गरेको भन्दै २०३९ कात्तिक अन्तिममा बसेको केन्द्रीय कमिटीको बैठकबाट उनी महासचिवबाट मुक्त गरिए। एक वर्षपछि उनी थप कारबाहीमा परे। गुटबन्दीसमेत गरेको आरोपमा उनी पोलिटब्यूरो र केन्द्रीय समितिबाट हटाइए।

मैनालीलाई हटाइएपछि झलनाथ खनालले पार्टीको नेतृत्व गरेका थिए। उनले झन्डै सात वर्ष पार्टी नेतृत्व गरे।

यतिञ्जेल राष्ट्रिय अन्तर्राष्ट्रिय परिवर्तन पनि व्यापक भइसकेको थियो। खासगरी निरंकुश पञ्चायती शासनबाट मुक्ति पाउनुपर्ने थियो। त्यसका लागि संघर्षका अनेक बाटोको खोजी भइरहेका थिए। अर्कोतिर, मालेभित्र मदन भण्डारीको वैचारिक र नेतृत्वदायी वर्चस्व स्थापना हुँदै गइरहेको थियो। त्यही सन्दर्भमा महाधिवेशन गरिएको थियो।

‘माले स्थापना भएको ११ वर्ष भइसकेको थियो। त्यसबीचमा अनेक घटना घटिसकेका थिए। परिस्थितिमा परिवर्तन भएको थियो’, वरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन्, ‘प्रतिकूलताका कारणले महाधिवेशन गर्न ढिलाइ भइसकेको थियो। त्यसैले २०४६ सालमा हामीले महाधिवेशन गरेका हौं।’

पञ्चायती व्यवस्था कायमै रहेका कारण देशभित्र महाधिवेशन आयोजना गर्नु नै जोखिमपूर्ण थियो। तर मालेले त्यो आँट गरेको थियो। ज्ञवाली भन्छन्, ‘पञ्चायती व्यवस्था लागू भइसकेपछि ३० वर्षको अवधिमा कम्युनिस्ट पार्टीले देशभित्रै आफ्नो महाधिवेशन वा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको यो नै पहिलो पटक थियो। नत्र त धेरैले भारतमा निर्वासित अवस्थामा कार्यक्रम गर्नुभएको थियो। हामीले देशभित्रै पञ्चायती दमनका बाबजुद पनि महाधिवेशन आयोजना गरेका थियौं।’

कसरी भयो घर छनोट?

अहिले एमालेका वरिष्ठ उपाध्यक्ष रहेका पोखरेलले तत्कालीन कोके र मालेकालमा मधेश क्षेत्रलाई मुख्य कार्यक्षेत्र बनाएर करिब आठ वर्ष पार्टी गतिविधि गरेका थिए। पार्टीले गरेको क्षेत्र वर्गीकरण अनुसार उनी मध्यदक्षिण क्षेत्र (बारा-पर्सादेखि सप्तरी-उदयपुरसम्म) को प्रमुख थिए। २०४६ सालको चौथो महाधिवेशनअघि भने उनी लुम्बिनी क्षेत्र सरुवा भएका थिए। मध्यदक्षिण क्षेत्र पनि दुई भागमा विभाजित भयो- कमला पूर्व र कमला पश्चिम। पोखरेलको सरुवा भएपछि सो क्षेत्र मदन भण्डारीले नै हेरिरहेको थिए।

महाधिवेशन आयोजना गर्ने भएपछि उपयुक्त ठाउँको खोजी भएको थियो। पोखरेल सम्झिन्छन्, ‘त्यस सिलसिलामा अर्घाखाँची, रुपन्देही, धनुषा, मोरङ तथा झापाका विभिन्न ठाउँ पुगेर अवलोकन गर्‍यौं। तर, सिरहा नै उपयुक्त देखियो।’

लामो समय त्यस क्षेत्रमा रहेर राजनीति गरेको र त्यहाँको वस्तुस्थितिका बारेमा पनि राम्रो जानकारी राख्ने भएकाले महाधिवेशन व्यवस्थापनको जिम्मेवारी पोखरेलले पाए।

यसबीचमा एउटा घटना घट्यो। खासगरी सिरहास्थित पूर्व-पश्चिम राजमार्गको दक्षिणी भेगमा रहेको एउटा गाउँमा महाधिवेशन गर्ने तय भइसकेको थियो। त्यसको तयारी पनि लगभग सकिइसकेको थियो। ‘तर हाम्रो कागजपत्र, नक्सा, तयारी योजनाहरु एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा हरायो। त्यसपछि हामीलाई डर भयो। र त्यो ठाउँमा हामीले महाधिवेशन गरेनौं’, पोखरेल सम्झिन्छन्।

केही समयपछि उत्तरतिर पर्ने विष्णुपुरको सर्रे अम्बास भन्ने ठाउँ, जो अहिले धनगढीमाइ नगरपालिका अन्तर्गत पर्छ। त्यस ठाउँलाई छनोट गरियो। पोखरेलका अनुसार, जुन घरमा महाधिवेशन हुँदै थियो, त्यो घर हिराबहादुर सुनुवारको थियो। उनी मालेकै जिल्ला कमिटीमा थिए। यद्यपि, उनको घर भने सानो थियो। तर महाधिवेशनकै लागि भनेर काठको नयाँ दुई तले घर बनाइएको थियो।

महाधिवेशनमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मदन भण्डारी, सीपी मैनाली, केपी ओली, जीवराज आश्रित, मोदनाथ प्रश्रित, वामदेव गौतम, अमृत बोहरा, राधाकृष्ण मैनाली, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, युवराज ज्ञवाली लगायत लगभग १०० जनाको सहभागिता थियो। (मेरो पाइला मेरो अनुभव/अष्टलक्ष्मी शाक्य)

महाधिवेशनपछि मालेले जारी गरेको विज्ञप्ति अनुसार, महाधिवेशनमा सबैभन्दा बढी उमेर ५५ र सबैभन्दा कम उमेर २५ का प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए। उपस्थितमध्ये ३० वर्ष मुनिका १५ प्रतिशत, ४५ माथिका ७ प्रतिशत तथा ३०-४० बीचका ७७ प्रतिशत थिए। औसत उमेर ३६ वर्ष थियो। त्यसमा ९५.३ प्रतिशत पुरुष र ४.७ प्रतिशत महिला थिए।

२०४६ भदौ ९ गते महाधिवेशन सुरु भएको थियो। टाँडे घरको पूरै तला प्रतिनिधिले भरिएको थियो। महाधिवेशन हलमा हँसिया-हथौडा अङ्कित झन्डा, मार्क्स, लेनिन र माओका विचारहरु भित्तामा लेखिएका थिए। मध्यदिनमा महाधिवेशन उद्घाटन भयो। प्रदीप नेपालको अगुवाइमा अन्तर्राष्ट्रिय गीतको धुनसँगै उद्घाटनको औपचारिकता सकिएको थियो। (श्वेतशार्दूल/रमेश रुछेन राई)

के-के गर्‍यो महाधिवेशनले?

महाधिवेशनअघिसम्म कांग्रेस र कम्युनिस्ट पार्टीहरु पञ्चायतविरुद्ध आक्रामक त थिए। तर त्यसकाविरुद्ध एकताबद्ध भएर उभिएका भने थिएनन्। कांग्रेस कम्युनिस्टसँग मिलेर आन्दोलन गर्न तयार थिएन। कम्युनिस्ट शक्तिहरु कांग्रेसलाई प्रतिक्रियावादी वर्गको प्रतिनिधित्व गर्ने शक्ति नै ठान्थे। यही महाधिवेशनले नै प्रधान शत्रु (पञ्चायती सत्ता)का विरुद्ध सम्भव भएका सबै शक्ति एक भएर उभिनुपर्छ भन्ने बाटो तय गर्‍यो। अर्थात्, निरंकुश र निर्दलीय शासनका विरुद्ध संयुक्त संघर्षको कार्यदिशा पारित गर्‍यो। ज्ञवाली भन्छन्, ‘त्यहाँबाट फर्केर आएपछि हामीले संयुक्त वाममोर्चा गठन गर्‍यौं। कांग्रेससँग संयुक्त मोर्चा बनायौं। २०४६ सालको जनआन्दोलन त्यसकै जगमा उठेर सफल भएको थियो।’

यो महाधिवेशनले बहुदलीय प्रतिस्पर्धालाई पनि स्वीकार गर्‍यो। मुकुन्द न्यौपाने लेख्छन्, ‘मालेको चौथो महाधिवेशनले बहुलवाद र बहुदलीयतालाई स्वीकार गर्‍यो र राजनीतिक प्रतिस्पर्धाको बाटो पनि आवश्यक बेलामा अंगीकार गर्ने कुरालाई सहमत जनायो। यो निर्णय हालसम्म मालेले लिएको एकदलीय जनवाद परित्याग र बहुदलीय जनवादको सूत्रपक्षको थालनी थियो।’ (जननेता मदन भण्डारीसँगको सहयात्रा/मुकुन्द न्यौपाने)

तत्कालीन मालेले २०४६ को जनआन्दोलन सफल भएर बहुदलीय प्रतिस्पर्धायुक्त शासन प्रणाली सुरुहुनुअघि नै महाधिवेशनबाट सूत्रीकृत गरेर आफूलाई तयार राख्यो। र २०४६ को जनआन्दोलनपछि पार्टीले निर्धक्क भएर संसदीय अभ्यास गर्‍यो।

यही महाधिवेशनले मालेको मार्गदर्शक सिद्धान्तबाट माओ विचारधारालाई हटायो। शाक्यको भनाइ छ, ‘माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्तबाट हटाउने प्रस्तावप्रति क अमृत बोहरा (क अमर सिंह) समेत १२-१३ जना कमरेडहरुले असहमति जनाउनुभएको थियो र मैले पनि असहमति जनाएकी थिएँ। तर मदान हुँदा माओत्सेतुङ्ग विधारधारा अल्पमतमा परेको थियो।’ (मेरो पाइला मेरो अनुभव/अष्टलक्ष्मी शाक्य)

महाधिवेशनले २० सदस्यीय केन्द्रीय कमिटी चयन गर्‍यो। जसमा मदनकुमार भण्डारी, माधवकुमार नेपाल, जिवराज आश्रित, झलनाथ खनाल, अमृत बोहरा, चन्द्रप्रकाश मैनाली, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, ईश्वर पोखरेल, वामदेव गौतम, मोदनाथ प्रश्रित, केपी ओली, अशोक राई, युवराज ज्ञवाली, त्रिलोचन ढकाल, राधाकृष्ण मैनाली, केदार न्यौपाने, केशव बडाल, युवराज कार्की र गोपाल शाक्य थिए।

केन्द्रीय कमिटीको बैठकले मदन भण्डारीलाई महासचिव चयन गर्‍यो। भण्डारी त्यतिबेला पार्टीभित्रका वैचारिक बहस र छलफलमा नेतृत्वदायी भूमिका निर्वाह गर्न थालिसकेका थिए। र उनी नै अबको नेतृत्वकर्ता हुन् भनेर पार्टीपंक्तिले पनि महसुस गर्न थालिसकेका थिए।

एउटा रोचक प्रसंग। २०३९ सालमा सीपीलाई विस्ताथित गर्दै झलनाथ खनाल महासचिव छानिएपछि सीपीसँग सम्बन्ध चिसिएको थियो। उनीहरु सोझो हेराहेर गरेर बोल्न पनि सक्दैनथे तर महाधिवेशन कक्षमा मोदनाथले दुवैका घुँडा जोडाइदिए। उनीहरुका घुँडा जोडिँदा सबै प्रतिनिधि खुसी भए। महाधिवेशन सकेर आ–आफ्नो कार्यक्षेत्र फर्कँदा दुवै धनुषासम्म सँगै जाने साझा प्रस्ताव तयार गरेका थिए। (श्वेतशार्दूल/रमेश रुछेन राई)

(विज्ञप्ति स्रोत- सुरेन्द्र पाण्डेको फेसबुक पेज)

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:३७

https://nepallive.com/story/313460 

०००

अपडेटः

सिरहामा हुने भनिएको एमाले सचिवालयको बैठक स्थगित

नेपाल लाइभ

शुक्रबार, भदौ ८, २०८०  १५:५५

काठमाडौं- नेकपा एमालेको सिरहामा बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्तिमार्फत् बैठक स्थगित भएको बताएका हुन्।

‘नेकपा (एमाले) केन्द्रीय सचिवालयको २०८० भदौ ९ गते सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं. ४ मा आयोजित विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको व्यहोरा जानकारी गराइन्छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अविरल वर्षा, बाढीका कारण बैठक स्थगित भएको जानकारी उनले बताएका छन्।

तत्कालीन मालेको चौथो महाधिवेशन यही स्थानमा भूमिगत रुपमा बसेको थियो। महाधिवेशनका लागि काठको दुई तले घर नै बनाइएको थियो। सोही घरमा केन्द्रीय सचिवालय बैठक बस्ने तयारी गरिएको थियो।

सोही बैठकबाट मालेको महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:५५

https://nepallive.com/story/313714

No comments:

Post a Comment