Pages

Friday, August 25, 2023

खगेन्द्र संग्रौलाको 'विलम्बित प्रत्युत्तर'

प्रिय किशोर दहाल,

साइबरको जङ्गल यति विशाल र सघन छ, यसमा प्रकट हुने सबै लेख–रचनाहरुमा आँखा पर्न असम्भव छ। धन्न मित्र राजेन्द्र महर्जनले लिङ्क पठाइदिनु भयो र साउन २६ को तपाईंको जिज्ञासा, प्रश्न वा अभियोग जे हो त्यसमा मेरा आँखा परे। पत्रात्मक शैलीको तपाईंको अनुरागयुक्त अभिव्यक्तिप्रति म कृतज्ञ छु। मे जे छु र जस्तो छु, तपाईंजस्ता सजग, आलोचनाशील र हस्तक्षेपकारी युवाको साथ, सद्भाव र आदरभाव पाएर नै छु। एक्लै कोही केही हुँदैन, र जीवनमा एक्लै कसैले पनि अर्थपूर्ण एवम् सुन्दर कार्य गर्न सक्दैन। कसैले म हुन्छु र सक्छु भन्छ भने त्यो निजको अहमत्याइँ हो। 

पत्रमा— 

१. मेरो कतै छापिइसकेको लेख पुनः छापिएकोमा मसँग तपाईंको भद्र असहमति छ।

२. शीर्षक परिवर्तन भएको वा ‘काटकुट’ भएकोमा मसँग तपाईंको गुनासो छ।

३. सन्दर्भ वा श्रोत नखोली लेख दोहोर्‍याएर छापेकोमा मसँग तपाईंको चित्त दुःखाइ छ।

४. पुरानो लेखलाई नयाँजस्तो गरी छापेकोमा ‘बेइमानी पो भयो कि’ भनी मसँग तपाईंको सविनय आपत्ति छ।

आफ्नो असमति, गुनासो, चित्त दुखाइ र आपत्तिलाई टेको दिन तपाईंले मितिसहित दृष्टान्तहरु प्रस्तुत गर्नुभएको छ यद्यपि मितियुक्त यी दृष्टान्तहरु नियोजित शोधकर्मका फल नभई स्मृतिबाट टिपिएका हुन् भन्ने तपाईंको अभिमत छ। पहिले यी दृष्टान्तका माध्यमले व्यक्त तपाईंका विचारहरुउपर म संक्षेपमा प्रतिक्रिया गर्छु।

नयाँ पत्रिकामा ९ असार २०६६ मा छापिएको रुपचन्द्र विषयक ‘मूर्तिभञ्जकको मूर्ति’ ७ असार २०८० मा शिलापत्रमा पुनः छापेको किन? छैसठ्ठीमा १० वर्षको भएको किशोर ८० मा २४ वर्षको हुन्छ। विषयको प्रकृति तथा भाषा  एवम् अभिव्यक्तिको स्तरका दृष्टिले यो वयस्कप्रति लक्षित निबन्ध हो। यो पुनः छाप्नुका पछिल्तिर दस वर्षको उमेरमा यो निबन्ध पढ्न समर्थ नभएका २४ वर्षका युवाले यो पढ्न पाऊन् भन्ने मेरो मनसाय छ। १ मंसिर २०७१ मा रेकर्ड नेपालमा छापिएको ‘मित्रराष्ट्रको राँगो’ २५ चैत २०७९ मा शिलापत्रमा पुनः छाप्नुको तात्पर्य पनि यही हो। निर्मल लामालाई लगाइएको सीआइडीको आरोपको प्रसङ्ग दुई ठाउँमा हुबहु किन दोहोरिएको? यो पुनरावृत्तिको सन्दर्भ भने फरक छ। पहिले ‘मेरो अभिव्यक्ति यात्रा’मा यो प्रसङ्ग उठेको थियो, अहिले ‘सम्झनाको तरेलीमा निर्मल लामा’ नामक संस्मरणमा यो प्रसङ्ग आयो। दुई फरक सन्दर्भ र फरक लेखमा यो प्रसङ्ग प्रस्तुत छ। एउटै लेखमा यो दाहोरिएको होइन।

साहित्य र अखबारी लेखन गरी परिमाणका हिसाबले मैले एक डङ्गुर लेखेँ। लेखनको परिमाण ज्यास्ती हुँदा पुनरावृत्तिको खतरा सधैँ रहन्छ। यस अर्थमा मेरो लेखन पुनरावृत्तिको दोषले भरिपूर्ण छ। कहिलेकाहीँ समय–सन्दर्भले मागेर वा मलाई मागेजस्तो भ्रम भएर मेरा रचना दोहोरिएर छापिएका छन्। ‘अघिअघि गद्दार पुष्पलाल, पछिपछि क्रान्तिकारी कामरेड’ र ‘जनआन्दोलनका छर्राहरु’का राजतन्त्रको दुश्चरित्रलाई नङ्ग्याउने मेरा पुन्टे निबन्धहरुको पुनरावृत्ति यसका उदाहरण हुन्। ‘पुष्पलाल....’ विषयक पुन्टे निबन्ध छयालिस सालको जनआन्दोलनमा वामहरुद्वारा प्रदर्शित अवसरवादी प्रवृत्तिको चित्रण हो। त्यो बेला हिजोसम्म पुष्पलाललाई थेगोसरी गद्दार भनिरहेका वामहरु पुष्पलालको संयुक्त संघर्षको मन्त्र जप्दै आन्दोलनमा होमिएका थिए। अनि अहिले धेरै समयपछि पहिले पुष्पलाललाई गद्दार भन्न तँछाडमछाड गर्ने वामहरु पुष्पलालको नामलाई राजनीतिमा गरिखाने भाँडो बनाउन तँछाडमडाड गरिरहेका छन्। यिनको यो अवसरवादी चरित्रलाई नाङ्गेझार पार्न मैले अर्कै निबन्ध लेखेको भए पनि हुन्थ्यो। तर मलाई लाग्यो, राजनीतिक दुुष्चक्रमा पुरानै पात्र र प्रवृत्ति दोहोरिइरहेका छन् भने म दोहोर्‍याएर आफ्नो झटारो किन नहानु?  प्रिय किशोर, यो वास्तवमा अल्छीको धन्दा हो। म अलि जाँगरिलो हुँदो हुँ त पुनरावृत्तिको दृष्टान्त औँल्याउँदै तपाईंले मसँग चित्त दुखाउनु नपर्दो हो।

‘जनआन्दोलनका छर्राहरु’मा सत्चालीस सालमा प्रकाशित ‘पानको पात...’ आदि लघु आकारका ब्यङ्ग्य निबन्धहरु दोहोर्‍याएर छाप्नुको कारण पनि यही हो। सत्तासीन गणतन्त्रवादी क्रान्तिकारीहरु वैचारिक, नैतिक र आचारगत दृष्टिले पतनतर्फ लाग्दा सिंहासनवासी विष्णुका औतार सत्ताच्यूत भई राजनीतिमा ख्वामितरहित टुहुराजस्ता भएका राजावादीहरुमा ताउरमाहुर बढ्यो। र, यी राजाको अन्धमहिमामण्डन र देवत्वकरण गर्दै ‘राजा आऊ, देश बचाऊ’ भन्न थाले। पश्चगमनको यो झुसिलो डकारलाई गिज्याउन ‘मैले तिम्रो राजा हिजैदेखि कस्तो थियो हेर’ भन्न राजतन्त्रको सत्चालीस सालको जनआन्दोलनकालीन कुरुप चित्र प्रस्तुत गरेको हुँ।

प्रिय किशोर, यसरी श्रोतको उल्लेख नगरी रचना दोहोर्‍याएर छाप्दा ‘म पटक–पटक झुक्याइमा परेँ’ भन्ने तपाईंको गुनासो मेरो चित्तमा गडेको छ। नयाँको भ्रम दिने अभिप्रायले मैले श्रोतको उल्लेख नगरेको किमार्थ होइन। यो मेरो स्वभावगत लापर्बाहीको नतिजा हो। र यो जागरुक पाठककको संवेदनामाथिको आघात हो। तपाईंले कुरीकुरी गर्दै मलाई चनाखो तुल्याउनुभयो। यसबापत तपाईंलाई मेरो थुप्रो धन्यवाद छ, किशोर।

आयो अब शीर्षक फेर्ने र ‘काटकुट गर्ने’ कुराको प्रसङ्ग। योचाहिँ आफ्नै रचनाहरुको गोडमेल गर्ने मेरो बसिबियाँलो वा लतसँग सम्बन्धित विषय हो। मैले जे जे लेखेँ, सधैँ हतारमा लेखेँ। लेखेपछि दोहोर्‍याएर परिमार्जन वा गोडमेल गर्ने समय मलाई कहिल्यै भएन। अहिले मलाई फुर्सदको प्रचुरता छ। बेला प्रकाशनले मेरा समग्र रचना छाप्ने योजना गरेको छ। र, फुर्सदको यो प्रचुरतालाई उपयोग गर्दै म सारा रचना शान्त मनोदशामा र सुस्त गतिमा दोहोर्‍याउँदै छु। प्रत्येक रचना दोहोर्‍याउँदा केही न केही गोलमेल गर्ने मेरो बानी छ। म कतै पर्यायवाची शब्द परिवर्तन गर्छु, कतै वाक्यांश हेरफेर गर्छु। वृत्तान्त लम्बेतान भए म केही न केही कलमी गर्छु। सन्दर्भको अर्थ नखुलेजस्तो लागे केही शब्द थपेर म अर्थ खुलाउने यत्न गर्छु। शीर्षक फेर्ने वा ‘काटकुट’ गर्ने मेरो अभ्यास पनि यसै मेसोमा पर्छ। यो हेरफेर, ‘काटकुट’ र गोडमेलको प्रसङ्गमा मलाई बर्तोल्त ब्रेख्तको सम्झना भयो। ब्रेख्तका प्रत्येक रचनाको दोस्रो संस्करण पहिलो संस्करणभन्दा आनका तान फरक हुन्छ। र, समालोचकहरुलाई दुईमध्ये कुनचाहिँ संस्करण उत्तम हो भनी छुट्याउन कठिन हुन्छ। लेखनको यो ब्रेख्तीय शैली हो। ब्रेख्तको हेरी मेरो गोडमेल त एकदमै नगण्य हो।

प्रिय किशोर, पठन–स्मृतिको भरमा तपाईंले विभिन्न कालका र विभिन्न विधाका मेरा रचनाहरुको दृष्टान्त अघि सार्दा मलाई गोपाल उप्रेतीको याद आयो। युएईतिर कतै काम गर्ने यी गोपालले मसम्बन्धी एउटा लेखमा मैले नै बिर्सेका धेरै अघिदेखिका मेरा अनेक रचनाको उल्लेख गरेको देख्दा मलाई आश्चर्य–मिश्रित आनन्दको अनुभूति भयो। र, एक सामान्य मनुवा र सामान्य पाठकको मेरा रचना पठनप्रतिको यो लगाव र स्मृतिको यो तीक्ष्णता मेरा लागि सदैव स्मरणीय हुनगयो। तपाईं र गोपालजस्ता मेधावी र जागरुक पाठकहरु लेखकका लागि सदैव ऊर्जादायी श्रोत हुन्। ‘सुन्दर संसर सम्भव छ’ भन्ने तपाईंको आप्त वचन मलाई सुन्दर र प्रिय लाग्यो।

अभिवादन।

खगेन्द्र संग्रौला

भदौ ८ गते

चाबहिल, काठमाडौं।

०००

(गत साउन २६ गते प्रकाशित 'खगेन्द्र संग्रौलाप्रति भद्र असहमति' शीर्षकको ब्लगमाथि संग्रौलाको प्रतिक्रिया। उहाँले 'विलम्बित प्रत्युत्तर' शीर्षकमा पठाउनुभएको यो प्रतिक्रिया उहाँकै सहमतिमा यहाँ प्रकाशित गरिएको हो।)


No comments:

Post a Comment