Pages

Friday, August 11, 2023

खगेन्द्र संग्रौलाप्रति भद्र असहमति

किशोर दहाल

खगेन्दाइ, अभिव्यक्तिका विभिन्न माध्यममा तपाईंको उपस्थिति र विचार प्रवाहको निरन्तरता लोभलाग्दो छ। हिजो सिंहासनमा बसेका राजालाई पत्रिकाको पाना र सडकको कुनाबाट ललकार्नुहुन्थ्यो, आज सिंहदरबारमा बसेका प्रधानमन्त्रीलाई एक डोज ट्विटले प्रहार गरिरहनुहुन्छ। शब्द चयनप्रति तपाईंको तिक्ष्णता र पक्षधरताको प्रष्टताले मलाई कायल बनाउँछ।

सडकमा उफ्रिरहेको मान्छे, कतिबेला बालुवाटारको टीका थापिसक्छ भन्ने आकलन नै गर्न मुस्किल यो समयमा तपाईं यस्तो उदाहरण बन्नुभएको छ, जसलाई हेरेरै बागी आवाजहरुले आफ्नो अभिभावक पाउने गर्छन्। तपाईंलाई न निरंकुशताको जगजगीले जलाउन सक्यो, न अवसरवादको लप्काले लोभ्याउन सक्यो। त्यसैले त तपाईं तपाईंजस्तो हुनुहुन्छ।

उल्लेखित दुई अनुच्छेद तपाईंको नामसँगै मेरो दिमागमा आइहाल्ने धारणा हो। यो ब्लग भने अलि पृथक उद्देश्यका लागि लेख्दैछु।

तपाईं लेखिरहनुहुन्छ। आजकाल तपाईंको उपस्थिति प्रिन्ट माध्यममा कम, अनलाइनहरुमा ज्यादा देखिन्छ। समयको परिवर्तनसँगै तपाईंले पनि आफ्नो माध्यम परिवर्तन गर्नुभएकोमा खुसी नै लाग्छ। उसै पनि पत्रिकाका 'कटिङ' थुपारिएका ठूल्ठूला फाइलहरूभन्दा अनलाइनका लिंक सेभ गरिएका स-साना फोल्डर बढी सहज हुन्छन्। 'लिंक पठाइदिनुस् न' भन्ने त थेगो नै भइसक्यो नि!

अब मुख्य विषयमा आऔँ। आज तपाईंका नाममा विभिन्न पत्रिकामा छापिने र तपाईंले ट्विटरमार्फत सेयर गर्ने कैयौँ आर्टिकलहरु पहिल्यै कतै छापिइसकेका पाउने गरेको छु। हुन त तपाईंको सामग्री जतिपटक छापे पनि पढ्नका लागि पाठक तयार नै होलान्। अरुको के कुरा, मैले पनि सकेसम्म नछाडी पढ्ने गरेको छु।

तर पटकपटक पुराना सामग्रीको पुनः प्रकाशन त्यति उचित लागिरहेको छैन। अन्य सञ्चार माध्यममा छापिसकिएका सामग्रीलाई शीर्षक परिवर्तन वा केही भाग काटकुट गरेर पुनः अर्को सञ्चार माध्यममा प्रकाशित गर्नु कसरी पो उचित होला! खास सन्दर्भमा, औचित्य खुलाएर र पुरानो सामग्री प्रकाशित गरिएको हो भनेर जानकारी दिएर प्रकाशन गर्दा पाठकको चित्त दुखाइ नहोला। तर पुरानै मालमत्तालाई नयाँ झैं छापिरहनु र पाठकलाई त्यसबारे एक शब्द पनि नभन्नु त बेइमानी पो भयो कि!

यति मात्रै लेख्दा आरोप लगाइएको ठहर्छ। त्यसैले उदाहरणका लागि केही सामग्री प्रस्तुत गर्छु।

सुरुमा रुपचन्द्र विष्टको मूर्तिका सन्दर्भमा तपाईंको सामग्री। पहिलो सामग्री नयाँ पत्रिकामा २०६६ असार ९ मा प्रकाशित भएको थियो। त्यही सामग्री १४ वर्षपछि शिलापत्र डट कममा २०८० असार ७ मा प्रकाशित भएको छ। तर मैले माथि उल्लेख गरेजस्तो पहिलो सामग्रीबारे कुनै जानकारी दिइएको छैन।

नयाँ पत्रिकामा छापिएको सामग्री र शिलापत्र डट कममा छापिएको सामग्रीको स्क्रिनसट।

दोस्रो सामग्री- 'मित्र राष्ट्रको राँगो'बारे। यही शीर्षकमा तपाईंले २०७१ मंसिर १ मा 'रेकर्ड नेपाल' (नेपाली संस्करण)मा प्रकाशित गर्नुभएको थियो (अहिले नेपाली संस्करण प्रकाशन हुँदैन) । तर फेरि त्यही सामग्री २०७९ चैत २५ मा शिलापत्र डट कममा प्रकाशित भएको छ।

अब लागौँ निर्मल लामातिर। तपाईंले शिलापत्र डकटकमा २०७८ माघ १२ मा ‘लामाजी, तपाईंलाई सीआईडी आरोप लगाएको मोहनविक्रमजीले नै हो त ?’ भन्ने शिर्षकमा लामो र रोचक संस्मरण लेख्नुभएको छ। तर त्यही सामग्रीको आधा जति अंश 'सम्झनाको तरेलीमा निर्मल लामा — १' रातोपाटी डट कममा प्रकाशित गर्नुभएको छ। बाँकी अंश अर्को भागमा प्रकाशित होला। मलाई शंका लागेको छ, शिलापत्रमा छापिएको त्यो सामग्री पनि नयाँ(पहिलो पटक प्रकाशित) होइन। तर त्यसको अघिल्लो स्रोत पाउन भने असमर्थ भएँ।

थप एक प्रसंग पुष्पलालबारे। शिलापत्र डटकममै २०७९ साउन २० मा 'अघिअघि गद्दार पुष्पलाल, पछिपछि क्रान्तिकारी कामरेड' शीर्षकमा एक सामग्री प्रकाशित भएको छ। शिलापत्रमा त्यसको स्रोत (पुस्तक- जनआन्दोलनका छर्राहरु) र सन्दर्भ (कान्तिपुर कोसेलीमा प्रकाशित मोहनविक्रम सिंहको सामग्री- पुष्पलाललाई गद्दार भन्नु हाम्रो गल्ती थियो)  भन्ने उल्लेख छ। त्यही सामग्री २०८० साउन ५ मा रातोपाटी डट कममा प्रकाशित भएको छ। जबकि, रातोपाटीमा मूल स्रोतबारे केही उल्लेख छैन। नयाँ सामग्री जस्तै गरी प्रकाशित गरिएको छ।

त्यस्तै, शिलापत्रमै प्रकाशित '२०४६ सालको गोलीको पीडा र पानको पात', 'शहीदको अपमान किन ?', 'सुनको थालीमा जाँडको सौगात', 'शब्दको मूल्यहरण र शक्तिको गाथा', 'चाँदनी शाह र चाँदीका टुक्रा' जस्ता सामग्रीहरु 'जनआन्दोलनका छर्राहरु'बाट लिइएका हुन्। (साह्रै असान्दर्भिक केही वाक्यहरु भने हटाइएका र सम्पादन गरिएका देखिन्छन्।) तर त्यसबारे केही भनिएको छैन। नयाँ संस्मरण सामग्रीका रुपमा प्रकाशित गरिएका देखिन्छन्।

खगेन्दाइ, मैले कुनै रिसर्च वा मेहनत गरेर यो ब्लग तयार गरेको होइन। तपाईंलाई नियमित पढ्ने पाठक हुँ। त्यसैले पुनरावृत्ति भएका हुन् भन्ने ख्याल भएका र त्यसमध्येमा पनि अघिल्लो स्रोत सहजै पत्ता लागेका केही सामग्रीका आधारमा प्रतिक्रिया लेखेको हुँ। तपाईंलाई पढ्न म सधैं आतुर छु तर नयाँ सामग्री। वा पुरानै भए पनि इमानदारिताका साथ अघिल्लोको स्रोत खुलाइएको बखतमा इच्छाअनुसार पढ्ने नै छु। तर एकपटक लेखेका सामग्रीलाई पटकपटक फरकफरक माध्यममा नयाँ जसरी प्रस्तुत गर्नु हुँदा पटकपटक झुक्याइमा परेँ। यसप्रति भद्र असहमति छ।

धन्यवाद।

...

यो चाहिँ पुरानो सामग्रीको लिंक, जहाँ मैले तपाईं (संग्रौला)लाई शीर्षकमा राखेर ब्लग लेखेको थिएँ-

गाई–निबन्धे गाली र खगेन्द्र संग्रौला

No comments:

Post a Comment