किशोर दहाल
शुक्रबार, वैशाख २३, २०७९, १८:२०
काठमाडौं- बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको आमसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति यतिबेला चर्चामा छ। चुनावको बेलामा गठबन्धनका उम्मेदवारलाई मत माग्न पुगेको भए पनि धम्कीको भाषा प्रयोग गरेपछि उनको आलोचना भइरहेको छ।
'तपाईंहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देश र जनताको समृद्धि र विकासको आवश्यकता भन्ने नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,' कांग्रेसका नेता तथा कार्यकर्ता लक्षित प्रचण्डको अभिव्यक्ति थियो।
प्रचण्डले भरतपुरमा हँसिया हथौडा (मूलत: मेयर उम्मेदवार रेनु दाहाल) को जितलाई सर्वस्व ठानेको देखिन्छ। पछिल्लो समय कमै मात्र उत्तेजनात्मक भाषण गर्ने गरेका, बरु विगतका गल्तीहरुप्रति पश्चाताप गर्दै हिँडेका उनले मत माग्ने कार्यक्रममै अव्यावहारिक शैली अपनाएका छन्।
चुनाव निश्पक्ष हुनेमा शंका
प्रचण्डले केही समययता नै निर्वाचनलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाको रुपमा नअर्थ्याई लडाइँको रुपमा परिभाषित गरिरहेका थिए। त्यसैले उनले विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउनेभन्दा पनि आफ्नो पार्टीको जितलाई मुख्य प्राथमिकतामा राख्ने गरेका छन्। भरतपुरलाई उनले नै कुरुक्षेत्र भनेर घोषणा गरेका थिए जहाँ अहिले रेनुलाई जिताउने र संसदीय चुनावमा आफूले जित्ने उनको उद्देश्य देखिन्छ।
सोही रणनीति अनुसार सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार आफ्नै दल र आफ्नै छोरीलाई दिलाउन सफल भए। तर असाध्यै पुत्रीमोह देखाउन थालेपछि उनले आलोचना खेपिरहेका छन्। अर्कोतिर, कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलका कारण पनि उनले तनाव बेहोरिरहेका छन्। परिणामत: उनको उम्मेदवारी पहिले फिर्ता गराउन र अहिले निष्क्रिय गराउन पनि प्रचण्डले देउवामार्फत निकै प्रयत्न गरेका छन्। यी घटनाहरुले प्रचण्डमा बढेको चिडचिडाहटलाई अनुभूत गर्न सकिन्छ। बिहीबारकै सभामा पनि उनको अभिव्यक्ति थियो, 'तपाईंहरुले दिगो रुपमा यो गठबन्धनलाई सुदृढ गर्न मलाई ऊर्जा दिनुहुन्छ कि प्रचण्डलाई अझ टेन्सन दिएर हेरौँ न त भनेर टेन्सन दिन चाहनुहुन्छ?'
प्रचण्डको पछिल्ला प्रयत्न र बिहीबारको अभिव्यक्तिलाई एक ठाउँ राखेर हेर्दा भरतपुरमा स्वच्छ र मर्यादित निर्वाचन हुन्छ भन्नेमा आशंका उत्पन्न गराएको छ।
तर, लोकतन्त्रको वकालत गर्ने दल नेपाली कांग्रेसको नेतृत्व रहेको सत्ता र भरतपुरको सभामै कांग्रेसका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई कांग्रेसले प्रतिवाद गरेको छैन। त्यस्तो अभिव्यक्तिले आफ्नो छविमा कस्तो असर पर्ला भन्नेमा पनि कांग्रेस चिन्तित नभएको देखिन्छ। प्रचण्डपछि बोलेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रचण्डको अभिव्यक्तिको खण्डन गरेनन्।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रचण्डको बचाउ गर्दै उनको अभिव्यक्तिको आशय बुझ्नुपर्ने बताए। उनले माओवादी, एकीकृत समाजवादी र जसपाले रुखमा पनि भोट हाल्ने हो र आफूहरुले पनि हँसिया हथौडामा हाल्ने भन्ने आशयमा बुझ्नुपर्ने बताए।
'मूल कुरा के हो भने जुन सहकार्य भएको छ। त्यो सहकार्य र गठबन्धन भत्कियो भने समस्या आउन सक्छ। हिजो ओलीले शासनसत्ता चलाउनुभयो। संविधानलाई नै आफूखुसी मनपरी ढंगले चलाउनुभयो। त्यसको विरुद्ध यो गठबन्धन बनेको हो,' उनले थपे, 'गठबन्धनलाई जोगाउन सकिएन भने समस्या आउँछ भन्ने आशयमा उहाँले भन्नुभएको होला।'
रेनुले जिते मात्रै गठबन्धन निरन्तर?
अहिलेको सत्ता गठबन्धन गठन गर्नुको उद्देश्यलाई बृहत् रुपमा अर्थ्याउने कोसिस दलहरुले गर्ने गरेका थिए। त्यसप्रति प्रचण्डले संशय सिर्जना गरेका छन्। अर्कोतिर, सोही मञ्चबाट गठबन्धनको निरन्तरताप्रति प्रचण्डको प्रतिबद्धता खोजेका कांग्रेस नेताहरुसंग उनले बार्गेनिङ पनि गरेका छन्।
प्रचण्डको भनाइ छ, 'गठबन्धन राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो, लोकतन्त्रको आवश्यकता हो भनेर तपाईं चितवनवासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी गराउनु भयो भने म निकै उत्साहित हुनेछु। र यो गठबन्धनलाई १०,१५,२० वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ।'
अनि, चितवनवासीले रेनु र चित्रसेन अधिकारीको टिमलाई विजयी गराएनन् भने के हुन्छ? प्रचण्डले सम्झना गरेको २०७४ सालको निर्वाचनको सन्दर्भले प्रष्ट पार्छ। '२०७४ सालमा रुखवालाले हँसिया हथौडामा भोट हाल्न धेरै न गाह्रो मानेको देखेँ,' उनले भनेका छन्, 'सपना त ठूलै देखिएको थियो। यो गठबन्धनलाई १० र १५ वर्ष लैजाने भनेर नै शेरबहादुर देउवाजी र मेरो बीचमा छलफल पनि भएको थियो। तर व्यवहारमा आउँदा मैले सहज देखिनँ। त्यतिबेला सहज नदेखिएको एउटा जिल्ला चितवन पनि हो। मेयरकै चुनाव पनि हो।'
प्रचण्डको भनाइको सार हो, 'रेनुलाई जिताइदिनुभयो भने गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्छु, हराइदिनुभयो भने २०७४ सालमा जस्तै गरी नयाँ गठबन्धनका लागि वाध्य हुनेछु।' त्यसको सम्भावनालाई उनकै अभिव्यक्तिले पनि पुष्टि गर्छ। सोही सभामा उनले एमालेका कतिपय साथीहरुले 'हामी नै मिलौँ' भन्न आउने गरेको पनि सुनाए।
'भरतपुर महानगरपालिकामा उनको छोरीले नजिते गठबन्धन नै भत्किनेसम्मको बार्गेनिङ लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप छ,' विश्लेषक खनाल भन्छन्, 'प्रचण्डको निजी राजनीतिक सुरक्षाका लागि यो सबै आलोचना, गठबन्धनप्रतिको आक्रोश, गठबन्धनको विपक्षमा मिडियामा जनमत सिर्जना भएका कुराको रिस्कु कांग्रेसले पनि लिइरहेको छ।'
प्रचण्डको अभिव्यक्ति हताश मनोवृत्तिको अभिव्यक्ति मात्रै भएको बताउँछन् खनाल। '२०६२ र ६३ पछि सबैभन्दा ठूलो पार्टी भएका बेला माओवादीले ४० वर्ष शासन गर्छ भन्थे। नेकपा बनाएपछि ३० वर्षसम्म शासन गर्छ भन्थे। त्यतिबेला त एउटा खालका आधार पनि थियो। अहिले त आधारहीन तरिकाले कुरा गरेका छन्। यो उनको हताश मनोवृत्तिको अभिव्यक्ति मात्रै हो,' उनको भनाइ छ।
नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/279882
No comments:
Post a Comment