Pages

Saturday, March 30, 2019

प्रधानमन्त्रीको लोकतान्त्रिक रटान


१) रिपोर्टर्स क्लबको २१औं वार्षिकोत्सवको अवसरमा क्लबको कार्यालयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली । २०७५ चैत १७।

लोकतन्त्र प्राप्तीको निम्ति सञ्चार माध्यमको असाधारण भूमिका रह्यो। लोकतन्त्र रक्षाका निम्ति सञ्चार माध्यम अत्यन्त सजग र क्रियाशील रह्यो। लोकतन्त्रलाई सुदृढ गर्ने र लोकतन्त्रलाई वास्तवमा जनताको समग्र जीवनसँग सम्बन्धित ढंगले, सम्पूर्ण लोकतन्त्र, परिपूर्ण लोकतन्त्र, अंग्रेजीमा भन्दाखेरि कम्प्लिट अथवा कम्प्रिहेन्सिभ डेमोक्रेसी भन्न सकिन्छ, त्यस दिशातर्फ, जहाँ पछौटेपन, गरिबी, अशिक्षा, बेरोजगारी, भोकमरी या अस्वस्थताका स्थितिहरुको अन्त्य गरेर हामी पूर्वाधार लगायतका सम्पूर्ण क्षेत्रको विकास गर्छौं। र नेपालाई एउटा साँच्चैको समृद्ध नेपाल बनाउँछौं।

त्यो नेपाल समृद्ध मात्रै हुँदैन, त्यो नेपाल एउटा सुसंगत, सभ्य, समतामूलक, सामाजिक न्याय सहितको, सुरक्षायुक्त र हरेक नागरिकले सम्मानयुक्त जीवन जिउन पाउन सक्ने, त्यस्तो नेपाल हुन्छ। त्यो नेपाल बनाउने अभियानमा हामी अगाडि बढेका छौं र यतिबेला सञ्चार माध्यमको यस दिशामा सकारात्मक योगदान र अत्यन्तै महत्त्वपूर्ण योगदान हुनुपर्दछ।

यतिबेला हामीले पक्ष विपक्षको हिसाबबाट सोचेर सत्यलाई असत्य र असत्यलाई सत्य भन्ने बेला छैन। प्रतिस्पर्धालाई अस्वस्थ ढंगले सञ्चालन गर्ने बेला छैन। जसरी पनि विरोध गर्नुपर्ने वा जसरी पनि समर्थन गर्नुपर्ने बेला होइन। सही ढंगले हामी अगाडि बढ्नुछ, सही ढंगले अगाडि बढ्नका लागि सकारात्मक सोचका साथ अगाडि बढ्ने वातावरण, अभ्यास हामीले निर्माण गर्नु छ।


२) सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । २०७५ फागुन ८ । बुधबार ।

लोकतन्त्र हामीले लडेर ल्याएका हौं। अलिकति हल्ला छ, म स्पष्ट गर्न चाहन्छु। (सरकार) अधिनायवादतिर जान थाल्यो भन्ने पनि हल्ला छ। हल्ला चलाइएको छ, कतिपयबाट।

अहिलेको सरकार अरुले ल्याइदिएको लोकतन्त्रमा हात थापेर, स्वीकार गरेर गएको होइन। यो सरकार लोकतन्त्रका लागि लडेर, त्यसको नेतृत्व गरेर, त्यसको अगुवाइ गरेर, लोकतन्त्रका मूल्यमान्यता अनुसार नै आएको सरकार हो। लोकतन्त्र ल्याएर लोकतन्त्रिक विधिबाट आएको सरकार हो। र जनताको विश्वासबाट आएको सरकार हो। जनताको अभिमतको कदर गर्नु लोकतन्त्रको पहिलो सर्त हो। त्यसकारण जनताको मतको हामीले कदर गर्नुपर्छ।

हामीले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्नु, सुदृढ गर्नु र वास्तविक अर्थमा लोकतन्त्रको प्रयोग गर्नु आजको आवश्यकता हो। लोकतन्त्रका विश्वव्यापी मान्यताहरु, आधारभूत मान्यताहरु, आफूले परिभाषित गरे अनुसारको लोकतन्त्र होइन, विश्वको साझा परिभाषाको लोकतन्त्र, संयुक्त राष्ट्रसंघले भनेजस्तो लोकतन्त्र अथवा मानव चेतनाले खोजेको, चाहेको लोकतन्त्र। आजसम्मका हाम्रो अभ्यासहरुले विकास गरेको लोकतन्त्र। शक्ति पृथकीकरणको सिद्धान्त सहित, सन्तुलन नियन्त्रणको सिद्धान्त सहित, प्रतिपक्ष वा भिन्न विचारप्रतिको सहिष्णुता सहित, संवैधानिक प्रतिपक्ष वा मान्यताप्राप्त प्रतिपक्ष वा सहअस्तित्वको सिद्धान्त सहितको लोकतन्त्र र आवधिक निर्वाचन, बहुदलीय राजनीतिक प्रणाली सहितको पारदर्शी, जनताप्रति उत्तरदायी, त्यस्तो लोकतन्त्र।

लोकतन्त्र खाली राजनीतिक क्षेत्रमा मात्रै होइन, संकुचित अर्थमा मात्रै होइन, सम्पूर्ण हकहरु, मौलिक हक, स्वाधिनताका हक, स्वतन्त्रताका हक, यी हकहरुको प्रयोगसहित एउटा व्यवस्थित, सभ्य, सुसंगत लोकतन्त्र। लोकतन्त्रका नाममा जसलाई जे पनि भन्न पाइने, गाली गर्न पाइने, मुख छाड्न पाइने, जसो पनि गर्न पाइने, यस्तो खालको होइन। लोकतन्त्र, जिम्मेवार लोकतन्त्र। मैले आफ्नो अधिकारको प्रयोग गर्छु भने अर्काको अधिकारको त्यतिबेला हनन गर्न मिल्दैन। हनन गर्नु हुँदैन। उसको पनि लोकतन्त्र हो भन्ने कुरा बुझ्नुपर्छ।

त्यसकारण यो सम्पूर्ण लोकतन्त्र र सम्पूर्ण लोकतन्त्र राजनीतिक क्षेत्रमा मात्रै होइन, आर्थिक क्षेत्रमा पनि, जनताका खाने, लाउने, बस्ने, छोराछोरी पढाउन सक्ने, बिरामी हुँदा उपचार गर्न सक्ने, आदि कुराहरु समेत उपलब्ध हुने लोकतन्त्र। खालि जिडिपी र प्रतिव्यक्ति आयको समग्र हिसाब गरेर देखाइने आँकडाको मात्रै लोकतन्त्र होइन। हरेक मान्छे गरिबीबाट मुक्त भएको, हरेकले छोराछोरी पढाउन सकेको, हरेकको आवासको प्रबन्ध भएको, हरेकले स्वास्थ्य उपचार गराउने प्रबन्ध भएको, त्यस्तो लोकतन्त्र। प्रतिशतका हिसाबले होइन, सम्पूर्णले समान अधिकार, समान अवसर, उत्तिकै सुरक्षा र सम्मान पाउनसक्ने लोकतन्त्र। अर्थात्, सम्पूर्ण अधिकार भएको लोकतन्त्र, जसलाई हामीले सामाजिक न्याय सहितको लोकतन्त्र भनेका छौं। सामाजिक न्याय सहितको आर्थिक उन्नति भनेका छौं। सामाजिक न्याय सहितको समृद्धि भनेका छौं। र, सामाजिक न्याय सहितको यस्तो लोकतन्त्रलाई, त्यस बाटोलाई हामीले समाजवाद उन्मुख भनेका छौं। समाजवाद उन्मुख लोकतन्त्र। समाजवाद उन्मुख लोकतन्त्र, समानताउन्मुख, समृद्धिका लागि क्रियाशील लोकतन्त्र। यस लोकतन्त्रलाई हामीले वास्तविक अर्थको लोकतन्त्र भनेका छौं। यस कुरामा आज हामी प्रतिबद्ध छौं। र क्रियाशील छौं।

३) सरकारले एक वर्ष पूरा गरेको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । २०७५ फागुन २ ।

२००७ सालमा राजनीतिक परिवर्तन भयो। २०१३ मा लोकतन्त्रका संस्थाहरुको आधार तयार गरियो। अहिले हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधान कार्यान्वयनको चरणमा छौं। यस नयाँ प्रणाली भित्र अहिले संघीयता, तीन तहका सरकार र शक्ति पृथकीकरण मात्रै होइन– सहभागिता र समावेशिता पनि अटाएको छ । हाम्रो लोकतन्त्र भनेको बोल्ने, लेख्ने राजनीतिक अधिकारमा मात्रै सीमित लोकतन्त्र हैन, सामाजिक न्याय, समानता, सुरक्षा र सम्मान सहितको 'परिपूर्ण लोकतन्त्र (कम्प्रिहेन्सीभ डिमोक्रेसी)' हो। तर केही मानिसहरुमा विचारधारात्मक आग्रह/पूर्वाग्रह देखिंदैछ । जनतालाई सबै हिसावमा सार्वभौम तुल्याउने र उनीहरुलाई सवल बनाउने हाम्रो अभियानबाट ध्यान बराल्न 'लोकतन्त्र खुम्चिन थाल्यो, अधिनायकवाद आयो' भन्ने अफबाह फैलाईंदै छ। फैलिएको र फैलिँदो परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु आश्चर्यलाग्दो दृष्टिदोष मात्रै हो। म दोहोर्‍याउन चाहन्छु- लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्त, सुसंगत र परिष्कृत व्यवस्था हो- जीविका चलाउने व्यवसाय हैन। केही मानिसहरुमा विचारधारात्मक आग्रह/पूर्वाग्रह देखिंदैछ।

४) धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण गर्ने क्रिकेट रंगशालाको घोषणा तथा सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली । २०७५ माघ १६ ।

(मेरो डावोस भ्रमणको क्रममा) तपाईंहरुले पनि हेर्नुभयो होला, मलाई प्यानल डिस्कसनमा सोधेका पनि थिए– लोकतन्त्र खुम्चियो भन्छन् नि के हो?

मैले भनें– कुप्रचारको प्रभाव यहाँसम्म पनि आइपुगेछ।

कहाँनेर खुम्चियो, नेपालमा लोकतन्त्र? नेपालमा लोकतन्त्र खुम्चिँदैन, खुम्चिन दिँइदैन। लोकतन्त्र प्रणाली सुन्दर प्रणाली हो। तर लोकतन्त्र लोकतन्त्र नै हुनुपर्छ। जहाँ जनतामा सार्वभौमसत्ता होस्।

५) संसदमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । २०७५ पुस २२ ।

अहिले हामी लोकतन्त्रलाई सुदृढ गर्ने र लामो संघर्षपछिको उपलब्धीलाई संस्थागत गर्ने क्रममा छौं। कुनै समय विपक्षी दलको नेता सत्ता पक्षमा रहँदा राष्ट्रपतिको सन्दर्भमा भन्नुभएको म अहिले पनि स्मरण गरिरहेको छु– राष्ट्रपतिले आफैं गल्ती गर्दैन। राष्ट्रपतिले गरेको काम मैले गरेको हो।

संवैधानिक व्यवस्थामा राष्ट्रपतिले आफैं केही काम गर्दैन। प्रतिवाद गर्दैन। केही बोल्दैन। जुन संस्था आफैं केही गर्दैन, केही बोल्दैन। त्यसमाथि हमला गर्नुको अर्थ के हो? बुझ्न सकिन्छ। राष्ट्रपतिमाथिको हमला होइन यो। यो गणतन्त्रमाथिको हमला हो।  र यसलाई हामीले त्यसै रुपमा बुझेका छौं।

विवादमा ल्याइएको शीतल निवास सम्बन्धी हरेक निर्णय सरकारले गर्छ। राष्ट्रपति संस्थाले होइन। यस संस्थाको गरिमाका लागि राजाबाट गरिने, राज्यबाट गरिने व्यवस्थामा गरिने अनावश्यक ढोंग वा दरिद्रता प्रदर्शन गरिरहनुपर्ने आवश्यकता पनि म देख्दिनँ।

एउटा ढोंगी तरिकाले यो पनि नभए हुन्छ, त्यो पनि नभए हुन्छ, त्यो पनि होइन। त्यो संस्थाको गरिमा अनुसारको अभ्यास आचरण हुन्छ र त्यस्ता निर्णय सरकारले गर्छ।



म एउटा कुरा स्मरण गराउन चाहन्छु, संस्थाको मर्यादा रहेन भने लोकतन्त्र धराशायी हुन्छ। कुनै पनि संस्थाको सन्दर्भमा होस्। हामी कतिबेला आनन्द मानौंला, कतिबेला आनन्द नमानौंला। तर त्यो तिर त्यहाँ मात्रै छैन। संघीय संसद, प्रदेश र स्थानीय तहतर्फ पनि सोझिएकै छ। कुनै समय रक्त अल्पताको औषधि सेवन गर्ने सांसदलाई लक्षित गर्दै सुत्केरीको औषधि खायो, पुरुष सांसद सुत्केरी भयो भन्ने खालका अफवाहहरु फैलाइए। संसदलाई आक्रमण गरियो। अलोकप्रिय बनाउने प्रयास गरियो। र संसदलाई बदनाम गर्ने काम भयो। तर त्यसले के गर्‍यो? त्यसको भित्री आशय के थियो? त्यसको भित्री आशय पछि गएर प्रकट भयो। आश्विन १८, माघ १९, त्यसका पछाडि थिए।

अहिले पनि सबै सांसदहरुलाई ठग, लुच्चाको रुपमा चित्रण गर्ने, अपमान गर्ने, संसदको गरिमा घटाउने, यस प्रकारका कामहरु भइरहेका छन्। कसैले तेलमा भ्रष्टाचार गर्‍यो भनेको छ, कसैले तेल हालेन भनेको छ, तेल खायो भनेको छ, घरभाडा खायो भनेको छ। यस ढंगले अपमान गर्ने। यस अपमानका पछाडिका उद्देश्यहरु के छन्? वास्तवमा यो लोकतन्त्रलाई हमला गर्ने कुरा हो। यस्तो कुराहरुसँग हामी होशियार हुनुपर्छ। र यस्तो हमलालाई व्यक्तिमाथिको हमला मात्रै होइन, प्रणालीमाथिको हमलाको रुपमा बुझ्नुपर्छ।

No comments:

Post a Comment