Pages

Monday, March 18, 2019

सिके राउतको बैठक : कार्यकर्तालाई गराउलान् 'कन्भिन्स'?


नेपाल लाइभ

२o७५ चैत ३ आइतबार| प्रकाशित १३:३८:oo

काठमाडौं– स्वतन्त्र मधेस गठबन्धनको केन्द्रीय परिषद् बैठक आजदेखि लहानमा सुरु हुँदैछ। 'नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे ऐतिहासिक सहमति र अबको रणनीतको सन्दर्भमा' छलफलका लागि बैठक बोलाइएको भनिएको छ।

सरकारसँग ११ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि पहिलो पटक यो बैठक बस्दैछ। यो बैठकबाट आउने निष्कर्षले केही नयाँ परिदृश्यको सिर्जना गर्ने भएकाले पनि यसलाई चासोपूर्व हेरिएको छ।

खासगरी राउत जेलमै हुँदा सरकारसँग सहमतिको पहल भयो। त्यसले निष्कर्ष पनि पायो। निश्चित छ कि, गठबन्धनको विषयमा पार्टी पंक्तिभित्र गहिरो छलफल भएकै थिएन। कार्यकर्ताको सामूहिक स्विकारोक्ति वा नयाँ बाटोप्रतिको रुचिका कारण सम्झौता भएको होइन। यसमा व्यक्तिगत रुपमा राउतको बुझाइ वा उनीभित्रको परिवर्तनले काम गरेको छ। त्यसलाई आफ्ना 'फलोअर'लाई पनि चित्त बुझाउनु राउतका निम्ति चुनौतीपूर्ण छ।


आफूभित्र स्वतन्त्र मधेसका लागि विकास भएको अठोट, त्यसमा एउटा समूहसम्म विस्तारित गर्दाका तर्क तथा उदाहरण तथा आफूमा आएको बदलावलाई सहजै कार्यकर्ताको पनि चित्त बुझ्नेगरी सम्प्रेषण गर्नु राउतका चुनौती हुन्। त्यतिमात्रै होइन, स्वतन्त्र मधेसका लागि तयार भएर बसेका आफ्ना कार्यकर्तालाई आफूहरु जितकै अवस्थामा रहेको तर संघर्षको स्वरुपमा बदलेको भन्दै द्विअर्थी भाषामा कन्भिन्स गराउनु उत्तिकै जटिल पक्ष छ। यसको निकट उदारहण माओवादीको मूलप्रवाहीकरण हो। त्यसबेला प्रचण्डको भाषामा विद्रोही र सम्झौताकारी दुवै प्रतीत हुने गर्थे। सानै समूहका लागि होस्, राउत पनि दशकअघिका प्रचण्डको भूमिकामा छन्। निर्णय क्षमतामा प्रचण्डकै बराबर हैसियत निर्धारण गरिदिएका प्रधानमन्त्री ओलीको विश्वास राउतले कसरी राख्लान्, देखिन बाँकी छ।

नेपाल जस्तो भूराजनीतिक अवस्था र राजनीतिक प्रचलनको परम्परा रहेको देशमा स्वतन्त्र राष्ट्र सम्भव छैन भनेर बुद्धिजीवीहरुले भनिआएका कुरा हुन्। तर, राउतले यही कुरालाई बेवास्ता गर्दै आफ्नो अभियान जारी राखेका थिए। स्कुलिङ गर्दै आएका थिए। अहिले पनि उनका फलोअरहरुले त्यो स्कुलिङलाई चटक्कै बिर्सेर राउतको नयाँ बाटोलाई विश्वास गर्न सकेको देखिँदैन। सामाजिक सञ्जालहरुमा आउने प्रतिक्रिया र कतिपय जिल्लाबाट आउने विज्ञप्तिले त्यो संकेत गर्छ।

सिके राउतले हस्ताक्षर गरे पनि उनले प्रतिनिधित्व गर्ने सामाजिक सञ्जालमा पोस्ट हुने सामग्रीले सरकार पक्षीय बुझाइप्रति भने प्रश्न उठाइरहेको छ। धेरैको आशंका छ– सरकार र राउतको बुझाइमा देखिएको अन्तरले उही पुरानो गतिविधिले निरन्तरता पाउने त होइन?

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको शब्दमा भन्ने हो भने सिके राउतका कार्यकर्ताका पछिल्ला गतिविधि खहरेप्रतिको भ्रम मात्रै हो। लेकमा पानी बर्सिन छाडेको भन्ने नबुझेका कार्यकर्तालाई त्यहाँ पानी परिरहेकै छ, खहरे बगिरहन्छ भन्ने भ्रम भएको उनले बताएका थिए। राउत लेकमा बर्सिने पानी हुन्, तर सरकारसँगको सम्झौतापछि त्यो पानी बर्सिन बन्द भएको छ। राउतले बैठकमा यो कुरालाई कति स्पष्टताका साथ बताउन सक्छन्, उनीहरुको आगामी बाटो त्यसैले तय गर्नेछ।

तर, नयाँ बाटोचाहिँ तय गर्नु नै छ। राउतको 'कन्भिन्स' गराउन सक्ने क्षमताको परीक्षण हुने बैठक पनि हो यो।

लहान बैठकमाथिको चासोका थप कारण पनि छन्। यसले विखण्डनवादको विसर्जनलाई पनि वैधानिकता दिने अपेक्षा छ। सानो समूह पनि विखण्डनको पक्षमा नउभियून् भन्ने चाह त्यो अपेक्षाको केन्द्रमा छ। बैठकमा उपस्थितहरु सहजै विखण्डनवादको विसर्जनका निम्ति तयार भए भने आगामी लामो समयसम्म त्यस खालको बाटोका निम्ति ढोका बन्द गर्नेछ। यो समूहको अनुभव र स्विकारोक्ति पछिल्ला पुस्ताका निम्ति पनि पाठ बन्ने छ।

राउतले आफ्ना तर्क कसरी प्रस्तुत गर्लान्? त्यो पक्कै रोचक नै हुनेछ।

बैठकप्रति चासोको अर्को कारण हो, विखण्डनवादको बदलिँदो भूमिका। त्यो समूह इमानदारीपूर्वक राजनीतिको मूल प्रवाहमा आउँछ वा अरु कुनै भूमिकातिर बदलिन्छ वा रणनीति परिवर्तन गर्दै आफ्नो उद्देश्यमा प्रतिबद्ध रहन्छ भन्ने यो बैठकले तय गर्नेछ। विखण्डनको नारा पूर्ण रुपमै त्यागेर अर्को बाटोबाट अघि बढ्न तयार भयो भने अन्य देशका निम्ति पनि उदाहरण बन्न सक्छ।

राउतका ती दिन र यी दिनमा निकै फरक छ। त्यसको स्पष्ट चित्र सायद परिषद्को बैठकले देखाउनेछ।

नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/44949

No comments:

Post a Comment