किशोर दहाल
काठमाडौं– प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये ६ वटामा मंसिर १० गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ। यी ६ जिल्लामा गरी प्रतिनिधिसभाका लागि ९ वटा निर्वाचन क्षेत्रहरु छन्।
यहाँका ९ निर्वाचन क्षेत्रमध्ये वाम गठबन्धनका तर्फबाट ६ वटामा एमालेका उम्मेदवार छन् भने ३ वटामा माओवादीका। माओवादीका उम्मेदवार नुवाकोट १, सिन्धुपाल्चोक १ र रामेछापबाट प्रतिस्पर्धा गर्दैछन्।
लोकतान्त्रिक गठबन्धनबाट भने १ स्थानमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्। बाँकीमा नेपाली कांग्रेसले नै आफ्ना उम्मेदवार उठाएको छ।
६ जिल्लाका ५९ स्थानीय तहमध्ये ३२ वटामा एमाले, १६ मा कांग्रेस, ९ मा माओवादी र १/१ स्थानमा राप्रपा र नयाँ शक्तिले नेतृत्व गरिरहेका छन्। स्वाभाविक रुपमा यहाँ वामपन्थी गठबन्धनमा सामेल दलहरुको वर्चस्व देखिन्छ।
२०७० को संविधानसभाको चुनावी नतिजा हेर्दा यी क्षेत्रमा एमाले बलियो देखिन्छ। त्यतिबेला यी ६ जिल्लाका १४ निर्वाचन क्षेत्रमध्ये एमाले एक्लैले ७, कांग्रेसले ५ र माओवादीले २ क्षेत्रमा जितेका थिए।
नुवाकोटः यहाँका १२ स्थानीय तहमध्ये कांग्रेसले ७, एमालेले ३ र माओवादीले २ वटामा जितेका थिए। प्रतिनिधिसभाको लागि साबिकमा ३ वटा स्थानीय तह रहेको नुवाकोटमा यसपटक २ वटा मात्रै क्षेत्र रहेका छन्। २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा भने कांग्रेसले ३ वटै क्षेत्रमा जित हासिल गरेको थियो।
क्षेत्र नम्बर १ मा शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका पर्छन्। यी ७ स्थानीय तहमध्ये ५ वटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने २ वटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।
स्थानीय तहको निर्वाचनमा यहाँबाट कांग्रेसले २२ हजार ७ सयभन्दा बढी मत पाएको थियो। त्यस्तै, एमालेले झन्डै १८ हजार १ सयभन्दा बढी मत प्राप्त गर्यो। माओवादीले भने १८ हजार ७ सयभन्दा बढी मत ल्याएको थियो। यहाँबाट कांग्रेसका रामशरण महत र माओवादीका हितबहादुर तामाङ प्रतिस्पर्धा गर्दैछन्। एमाले र माओवादीका विगतका मतदाताले वाम गठबन्धनलाई रोजेमा कांग्रेसका 'हेभीवेट' नेताविरुद्ध जित हासिल गर्न सक्नेछन्।
क्षेत्र नम्बर २ मा बेलकोट गढी नगरपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका, मेघाङ गाउँपालिका, किस्पाङ गाउँपालिका पर्छन्। यहाँका ५ स्थानीय तहमध्ये एमालेले ३ र कांग्रेसले २ वटामा जितेका थिए। स्थानीय तहको निर्वाचनमा एमालेले २३ हजार ८ सयभन्दा बढी, नेपाली कांग्रेसले १९ हजार ४ सयभन्दा बढी र माओवादीले १५ हजार ५ सय मत पाएको थियो। यहाँ कांग्रेसका चर्चित नेता अर्जुननरसिंह केसीविरुद्ध एमाले नेता नारायणप्रसाद खतिवडा प्रतिस्पर्धा गर्दैछन्। स्थानीय तहको चुनावमा कांग्रेसले भन्दा एमालेले बढी मत पाएको र उसलाई माओवादीको पनि मत थपिँदा वामपन्थी गठबन्धन बलियो देखिन्छ।
धादिङः धादिङमा पनि २ वटा निर्वाचन क्षेत्र रहेका छन्। दुवै क्षेत्रमा एमालेको बलियो पकड देखिन्छ। जिल्लामा रहेका १३ स्थानीय तहमध्ये एमालेले ८ वटाको नेतृत्व गरिरहेको छ भने कांग्रेसले ३, माओवादीले १ र राप्रपाले १ स्थानको नेतृत्व गरिरहेको छ।
क्षेत्र नम्बर १ मा धुनीबेँसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका पर्छन्। यी ६ तहमध्ये ५ वटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका थिए। त्यसैले पनि यसलाई वाम गठबन्धनको बलियो क्षेत्र मान्न सकिन्छ। यहाँबाट एमाले उम्मेदवार भूमि त्रिपाठी र कांग्रेसका उम्मेदवार विश्व अर्याल प्रतिस्पर्धा गर्दैछन्।
त्यस्तै, क्षेत्र नम्बर २ मा रहेका ७ स्थानीय तहमध्ये एमालेले ३, कांग्रेसले ३ र राप्रपाले १ ठाउँको नेतृत्व गरिहेका छन्। स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट एमालेले २३ हजार ८ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले २६ हजार ३ सयभन्दा बढी मत पाएको थियो। यहाँबाट एमालेका उम्मेदवार खेम लोहनी र कांग्रेसका उम्मेदवार दिलमान पाख्रिन प्रतिस्पर्धा गर्दैछन्। लोहनीले जिताका लागि माओवादी केन्द्रका मतदाताको भर पर्नुपर्ने देखिन्छ। यो क्षेत्रबाट स्थानीय तहमा माओवादीले ७ हजारभन्दा बढी मत पाएको थियो।
दोलखाः जिल्लामा रहेका ९ स्थानीय तहमध्ये एमालेले ७ र कांग्रेसले २ स्थानको नेतृत्व गरिरहेका छन्। एउटा मात्रै निर्वाचन क्षेत्र भएको यो जिल्लामा एमालेले झन्डै ४० हजार मत पाएको थियो। नेपाली कांग्रेसले भने ३० हजार मत कटाएन। त्यसैले पनि यहाँ एमाले एक्लै बलियो देखिन्छ। माओवादीले पाएको मत जोड्दा वामपन्थी गठबन्धन निकै बलियो हुन आउँछ। यो क्षेत्रबाट एमालेका पार्वत गुरुङ र कांग्रेसका रुद्रबहादुर खड्काले प्रतिस्पर्धा गर्दैछन्।
रामेछापः यस जिल्लामा पनि वामपन्थी गठबन्धन बलियो देखिन्छ। ८ स्थानीय तहमध्ये एमाले एक्लैले ५ वटा स्थानको नेतृत्व गरिरहेको छ भने माओवादीले २ र कांग्रेसले १ स्थानको नेतृत्व गरिरहेको छ। स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले झन्डै ३८ हजार मत पाएको थियो। कांग्रेसले भने २७ हजार ३ सयभन्दा केही बढी मत मात्रै पाएको थियो। यहाँ पनि माओवादीको मत नपाउँदै पनि कांग्रेसभन्दा एमाले बलियो छ। माओवादीले पाएको २४ हजार ६ सयभन्दा बढी मत समेत वामपन्थी गठबन्धनको पोल्टामा पर्ने हो भने उच्च मतान्तर सहितको जित निसक्नेछ।
जिल्लामा वामपन्थी गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठ र कांग्रेसका उम्मेदवार पूर्णवहादुर तामाङ प्रतिस्पर्धामा छन्। स्थानीय तहमा एमालको उच्च मत आएता पनि एमालेले माओवादीलाई सघाउनुपर्ने अवस्था गठबन्धनले सिर्जना गरिदिएको छ। स्थानीय तहमा एमालेलाई मत हालेका मतदाताले माओवादीलाई मत दिन्छन् कि दिन्नन् भन्ने कुराले नतिजामा प्रभाव पार्ने छ। माओवादीले एमालेका कार्यकर्ताको इमानदारिता र कांग्रेसले वाम गठबन्धनको असन्तुष्टिको कति फाइदा लिन सक्छन्, नतिजा त्यसमा भर पर्ने छ।
सिन्धुपाल्चोकः यहाँको १२ स्थानीय तहमध्ये एमालेले ७ वटा, कांग्रेसले ३ वटा र माओवादीले २ वटा स्थानीय तहमा जित हासिल गरेका थिए। जिल्लामा प्रतिनिधिसभाको लागि २ वटा निर्वाचन क्षेत्र रहेका छन्।
क्षेत्र नम्बर १ मा पर्ने ८ स्थानीय तहमध्ये ४ मा एमाले, २ मा माओवादी केन्द्र र २ मा नेपाली कांग्रेसले नेतृत्व गरिरहेका छन्। यो क्षेत्रमा पर्ने स्थानीय तहमा एमालेले २२ हजारभन्दा बढी र माओवादीले १६ हजार ३ सयभन्दा बढी मत पाएका थिए। कांग्रेसले पाएको मत १९ हजारभन्दा बढी मात्रै हो। चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्र नम्बर १ र २ दुवैतिर बाँडिएकाले सो ठाउँको मत यहाँ मत समावेश गरिएको छैन।
यस क्षेत्रमा माओवादीका अग्निप्रसाद सापकोटाविरुद्ध कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिस्पर्धा गर्दैछन्। वामपन्थी मतदाताले गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको अवस्थामा यहाँ पनि उनीहरुले ठूलो मतान्तर सहित जित्न सक्छन्। स्थानीय तहमा एमालेलाई सघाएका मतदाताको मत बाँडिएको अवस्थामा नतिजा लोकतान्त्रिक गठबन्धनतिर जान पनि सक्छ।
क्षेत्र नम्बर २ मा भने वामपन्थी गठबन्धनका तर्फबाट एमालेका शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा प्रतिस्पर्धा गर्दैछन्। यस क्षेत्रका स्थानीय तहमध्ये एमालेले २, कांग्रेसले २ र माओवादीले १ तहमा नेतृत्व गरिरहेका छन्। यो क्षेत्रका लागि चौतारा साँगाचोकगढी नगरपालिका पुनः जोडिएको छ। माओवादीले जितेको सो नगरपालिका बाहेकका अन्य स्थानीय तहमा एमालेले २० हजार ९ सयभन्दा बढी, कांग्रेसले १९ हजार ६ सय बढी र माओवादीले ९ हजार ७ सयभन्दा बढी मत पाएका थिए।
यहाँ पनि जितका लागि वामपन्थी गठबन्धनलाई मतदाताले रुचाउनुपर्नेछ। मतदाता बाँडिएको अवस्थामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राणालाई फाइदा पुग्न सक्छ। २०७० को संविधानसभा चुनावमा पनि यी दुवै उम्मेद्वार एकापसमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो, जसमा तामाङले राणालाई २ हजार ५ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका थिए।
रसुवाः एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा ५ वटा स्थानीय तह रहेका छन्। तीमध्ये २ वटा एमाले, २ वटा कांग्रेस र १ स्थानमा नयाँ शक्तिले नेतृत्व गरिरहेका छन्। जिल्लाका ५ स्थानीय तहमा एमाले र कांग्रेसको झण्डै बराबर अर्थात् ७ हजार १ सयभन्दा केही बढी छ। माओवादीको ३ हजार ६ सयभन्दा बढी र नयाँ शक्तिको ४ हजारभन्दा बढी मत छ। गोसाइकुण्ड गाउँपालिका र नौकुण्ड गाउँपालिकाको अध्यक्षका लागि माओवादी उम्मेदवारको मत प्राप्त नभएकाले उनीहरुको उपाध्यक्षको मत जोडिएको छ। वाम गठबन्धनका संयुक्त उम्मेदवार एमालेका जनार्दन ढकाल र कांग्रेसका उम्मेदवार मोहन आचार्य प्रतिस्पर्धा गर्दैछन्। स्थानीय तहका अध्यक्षहरुलाई खसेको मतअनुसार लोकतान्त्रिक गठबन्धनलाई केही सहज देखिन्छ।
२o७४ कार्तिक ७ मंगलबार| प्रकाशित १o:१२:oo
http://nepallive.com/news-details/4052/2017-10-24
No comments:
Post a Comment