Pages

Monday, December 5, 2016

चिरविद्रोही तस्बिरको कथा

           इतिहास यदि व्यक्तित्वमा ढल्दछ भने, त्यसको कुनै एक अनुहार हाम्रा पुस्तक र स्मरणमा टाँसिएर बसेको हुन्छ । चाहे महात्मा गान्धी, माक्र्स, लेनिन सबैको एउटा लोकप्रिय चेहरा हाम्रा सामु छन् । यी अनुहार जुन, हाम्रो स्मृतिमा गढेर बस्छन्, ती कुनै एउटा निश्चित समयका तस्बिर हुन्, तर एउटा समयपछि ती फोटोग्राफरको कपिराइटको बाहिर दुनियाँमा फैलिन्छन् ।

           यो तस्बिर, जुन यहाँ प्रकाशित छ, यसलाई हेर्नेबित्तिकै प्रायः सबैले चे ग्वेभाराको फोटो भनेर सजिलै चिन्न सक्छन् । विश्वभर कम्युनिस्ट क्रान्तिकारीका रुपमा प्रख्यात चे आफैंले भने यो फोटो कहिल्यै देखेका थिएनन् । र, यो फोटो खिचेबापत फोटोग्राफरले कहिल्यै एक पैसा पनि पाएनन् । तर, दुनियाँको हरेक कुनामा यो फोटो प्रसिद्ध छ । यदि कुनै फोटो आफैं सेmिब्रिटी हुन्छ भने यसभन्दा ठूलो सेलिब्रिटी दुनियाँमा अर्को भेटिनेछैन ।

            विद्रोह र क्रान्तिको प्रतीकको रुपमा यो फोटो अहिलेसम्म विश्वमा सबैभन्दा बढी प्रकाशित फोटो हो । टाइम म्यागेजिनले पछिल्लो शताब्दीका सबैभन्दा महान् सय जनाको सूचीमा चेलाई समावेश गर्नुभन्दा अघिल्लो अंकमा चेको यस फोटोलाई विश्वमा सबैभन्दा बडी प्रकाशित फोटो घोषणा गरेको थियो ।
क्युबाका फोटोग्राफर एल्बर्तो कोरदाले ५ मार्च १९६० मा हवानाको क्रान्ति–चोकमा चेको यो उदास मुद्रा क्यामेरामा कैद गरेका थिए । फोटोमा चे जसरी उदास देखिन्छन्, यो उनका सामान्य मुद्रा होइन । त्यस दिन नै सामान्य थिएन । चे मात्र होइन, सबै क्युबामा रहेका मानिसको मन त्यस दिन उदास थियो । कारण– एउटा विमान दुर्घटनामा ७२ नागरिक मारिएका थिए । क्यास्ट्रोले यस घटनामा अमेरिका र केहि गद्दारको भूमिका रहेको आरोप लगाएका थिए । यस घटनाको सम्झनामा क्रान्ति–चोकमा एउटा शोकसभा आयोजना गरिएको थियो । झुकेको शिर लिएर सभामा उपस्थित हुनेमा चेको अलावा साहित्यकार ज्या पाल सात्र्र र सिमोन द बुआ पनि थिए । उनीहरु चेले बोलाएर दुई दिनअगाडि क्युबा आएका थिए ।

              त्यसदिन चे अलि ढिलो सभामा आइपुगेका थिए । उनी मुख्य मञ्चको अगाडि बनाइएको एउटा अस्थायी चौकीको पछिल्तिर चुपचाप उभिएका थिए । अघिल्तिर निकै ठूलो भीड थियो । उनी थोरै अघि बढे र भीडमाथि एक नजर दौडाए । मानिसले उनको आँखामा रोष देखे, सायद उनी मारिएकालाई सम्झिरहेका थिए कि !

              त्यसबेला फोटोग्राफर कोरदा तलबाट चौकीमा उभिएका सात्र्रको फोटो खिच्दै थिए । त्यसैबेला उनले क्यामेराको जुमको अघिल्तिर चेको अनुहार आइपुगेको देखे । चेको कपाल अस्तव्यस्त थियो, त्यसमाथि कालो पहेँलो तारले बेरिएको टोपी थियो । हरियो ज्याकेट जसको चेन हल्का खुला थियो । कोरदाले तस्बिर लिए, एउटा चौडा फ्रेमको तस्बिर । त्यसबेला चेको एकातिर सुरक्षाकर्मी थिए, एकातिर रुखका हाँगा । अघिल्लो पल चे त्यहाँबाट अघि बढिसकेका थिए ।

             चेको यो तस्बिर लामो समयसम्म कोरदाको फाइलमा जम्मा भएर रह्यो । खिचिएको सात बर्षपछि अचानक एक दिन इटलीका एकजना प्रकाशक फेल्त्रिनेल्लीले यो फोटो प्रयोग गरे । त्यो पनि, बोलिभिया डायरीको आवरणमा । छाप्दा उनले फोटोको वरिपरिको केहि भाग काटेर मिलाए । किताबको लागि बनाइएको यो केबल एउटा पोस्टर थियो, जो किताबभन्दा कैयौं गुणा बढी लोकप्रिय भयो ।

              महसुर आइरिस कलाकार जिम फिट्जपेट्रिकले यही पोस्टरको आधारमा चेको एउटा श्याम–श्वेत ‘पोट्रेट’ बनाए । यो चित्र युवाहरुमा निकै लोकप्रिय हुन थाल्यो । पछि अमेरिकी चित्रकार एन्डी वारहोलले आफ्नो एक कृतिमा चेको यही छवि टाँसिदिए ।

              कुनै दिन संयोगले खिचिएको यो फोटो थाहा छैन, पछि कतिवटा रुप र रंगमा ढल्यो । कलाकृति हुँदै फोटो टिसर्ट र टोपीसम्म पुग्यो । सिगार, लाइटर, क्यालेन्डर, कलम र घडीमात्र होइन, यो फोटो अंकित चियाका कपसमेत बजारमा लोकप्रिय भए । चीनदेखि अमेरिकासम्म यो फोटो कति ठाउँमा, कति विज्ञापनमा र कति नाजायज काममा प्रयोग भयो, कसैले बताउन सक्दैन ।

            चे र यो तस्बिर दुवैको दुर्भाग्य के छ भने, क्रान्तिकारी र जुझारु नेताको एउटा छवि त यस तस्बिरले बनायो । तर, प्रायः युवाका लागि चेको अर्थ क्रान्ति नभएर फेसन बन्न पुग्यो ।
          –एजेन्सी
                    (साभारः नयाँ पत्रिका दैनिक, झन् नयाँ, शनिबार, १८ फागुन, २०६४)

No comments:

Post a Comment