उज्ज्वल प्रसाईं
twitter: @UPrasai
(२०७० फाल्गुन २४ मा कान्तिपुर दैनिकमा प्रकाशित)
तुहिएको सपनाको कुनै गन्ध
हुन्छ कि हुँदैन
? धेरैले सपाट उत्तर
दिनेछन्, सपनाको कुनै गन्ध
हुँदैन । कसैलाई
लाग्न सक्छ यो
प्रश्न आफैंमा सिजोपनिक छ
। यस्तो सवालको
जवाफ खोज्नु सिजोफ्रेनियाबाट ग्रस्त हुने
खतरा मोल्नु हो
। जब मान्छे
अक्कडा प्रश्नहरूको भारिले थिचिन
थाल्छ, सायद त्यसै
बखत ऊ सिजोफ्रेनिक बन्न
थाल्छ । तर,
आफू बाँचेको सिंगो
समय नै जब
सिजोफ्रेनिक बनिदिन्छ,
नचाहेरै हामी त्यसको
सिकार हुन थाल्छौँ
। सायद विद्यमान
समय जहाँ म
बाँचेको छु, त्यो
नै उस्तो हो
। समयले मलाई
सपनाको गन्ध सुँघ्न
बाध्य तुल्याएको छ
।
सपनाको गन्ध क्लोरमफेनिकल
भन्ने औषधिको जस्तो
हुँदो रहेछ ।
विस्मृतिमा पुगेको यो गन्ध
ह्वास्स गन्हाउने गरी वर्तमानले
मेरा वरिपरि फैल्याइदिएको
छ । त्यो
टर्रो तम्तम्याइलो क्लोरमफेनिकलको
गन्ध अहिले आएर
नाकमा मात्रै होइन
जिब्रोमा पनि अम्लजस्तो
भएर बसिरहेको छ
। कि दिमागमा
पनि जम्यो ? यकिन
छैन तर त्यो
कतै न कतै
अटुट मसँगै छ
। मेरा दैनन्दिनका
सबै कर्मकाण्ड खुरुखुरु
चलिरहेकै छन्, गन्धले
ओछ्यानै पारेको होइन ।
तर, सोच्ने ढंगमा
बढ्तै असर पार्दै
छ । त्यो
तीतो, अमिलो कस्तो
कस्तो गन्धले गर्दा
मैले दुनियाँलाई जस्तो
देखिरहेको थिएँ, त्यस्तो देख्न
छोडेँ । भविष्यलाई
जसरी आँकलन गर्दै
थिएँ, त्यो पनि
पूर्णतया बदलिने छाँट छ
। अहिले भने
भविष्यको त्यो दृश्य
अत्यन्तै धूमिल छ । कुनै वर्षौँदेखि
भग्नावशेष बनेको घरमा बाँकी
रहेको एउटा मात्र फ्रेम गरिएको
फोटोजस्तो भएको छ
भविष्यको अनुहार । गन्धको
प्रभाव यति चर्को
छ कि म
चाहेर पनि त्यो फ्रेममा पत्रैपत्र
भएर टाँसिएका धूलो
पुछ्न सकिरहेको छैन
।
जब म सानो
थिएँ, मैले सबभन्दा
बढी सेवन गरेको
औषधि नै क्लोरमफेनिकल
हो । मेरो
कलिलो रोगी काया
अनेकन् ब्याक्टेरियाहरूको आक्रमणबाट घरीघरी थिलथिलो
बन्थ्यो । ती
आक्रमणहरूबाट जोगाउन मलाई डाक्टरले
सारै धेरै क्लोरमफेनिकल
ख्वाए । बुझ्ने
हुन्जेलसम्म म क्लोरमफेनिकल
सिरप पिउँथें ।
जब बिरामी पर्थेँ,
त्यसैको गन्धले दिमाग कब्जा
गर्न थाल्थ्यो ।
मैले कैयौँपटक त्यही
गन्धका कारण भन्भनाएर
बान्ता गरेको छु ।
मलाई क्लोरमफेनिकल प्रेसक्राइब
गर्ने ती डाक्टरहरू
थिए भारत पश्चिम
बंगाल, नक्सलबारी बजारका ।
बिरामी परेपछि बा आमाले
लैजाने नजिकको डाक्टरकहाँ हो
। नजिक भन्नु
नै सात किलोमिटर
परको नक्सलबारी थियो
। काँकरभिट्टाबाट चढेको
टेम्पोभरि मलाई त्यही
क्लोरमफेनिकलको गन्धले छोपिरहन्थ्यो ।
नक्सलबारीको शाह मेडिकलको
सानो च्याम्बरमा पनि
त्यही गन्ध फैलिएको
हुन्थ्यो । च्याम्बरबाट
निष्केपछि झन् चर्को
हुन्थ्यो । चाहे
आमाले तरकारी किन्ने
सब्जी मन्डी होस्
वा बाले मेरा
लागि गन्जी किनिदिने
प्रदीप क्लोथ स्टोर, सबैतिर
क्लोरमफेनिकलकै गन्ध हुन्थ्यो
। इलिस माछा
होस् कि लालमोहन,
जेमा पनि त्यही
गन्ध । नक्सलबारी
बजारभरि त्यही गन्ध फैलिएको
हुन्थ्यो ।
काँकरभिट्टामा
हुर्केको मलाई आज
आएर महसुस हुँदै
छ, त्यस्तो गन्ध
फैलिएको नक्सलबारीे मेचीपारिको सानो
बजारको नाम मात्रै
होइन रहेछ ।
त्यो शाह मेडिकलका
गुप्ता डाक्टरको घर भएको
ठाउँ मात्रै होइन
रहेछ । वा
हाम्रो घरमा हरेक
हप्ता भित्रिने चिनी
र भुजिया पाउने
पसलहरू भएको ठाउँ
मात्रै होइन रहेछ
त्यो । बरु
त्यो त कैयौँ
किसानहरूका तुहिएका सपनाहरूको पनि
नाम रहेछ ।
मलाई लाग्छ त्यो
क्लोरमफेनिकलमा ती तुहिएका
सपनाहरूको गन्ध पनि
मिसिएको थियो ।
मलाई औषधि गर्न
पुर्याइएको नक्सलबारीमा, त्यो उहिल्यैको
भाकपा मालेकालीन १९६७
छिन्नभिन्न भइसकेको थियो ।
चारु मजुमदार मारिएको
दशक बढी भइसकेको
थियो । कानु
सन्यालको गतिमा सुस्तता आइसकेको
थियो । उनीहरूका
हतियार सम्भवतः डकैतीमा प्रयोग
भइरहेका थिए ।
गरिब किसानले जोत्ने
खेत पाएनन् ।
हलो छोडेर बन्दुक
समाएका उनीहरूसँग अर्को उपाय
पनि केही थिएन
। जसरी जाने,
त्यसरी नै बन्दुकको
प्रयोग गर्नु उनीहरूको बाध्यता
थियो । पति
मरेपछि आइमाईका चुरा ढुंगाले
फुटालेर टुक्रा टुक्रा पारेजस्तो
टुक्राहरूमा विभाजित बनिसकेको थियो
नक्सलबारी । मसँग
नक्सलबारीको सग्लो अनुहार खिच्न
सक्ने सामथ्र्य थिएन
उबेला । तर
आज आएर लाग्छ
फुंग उडेकी गरिब
हिन्दु विधवाजस्ती बनेको हुँदो
हो नक्सलबारी त्यसबेला
। कुनै आदर्शको
आभा, विद्रोहको राप,
वा परिवर्तनको न्यानो,
त्यहाँ केही थिएन
। सायद त्यो
ओसिलो नक्सलबारी तुहिएका
सपनाहरूको थुप्रो बनेर बसेको
थियो होला ।
किसान, मजदुर, महिला, पिछडिएका
समुदाय, र आदिवासीका
सपनाहरूको थुप्रो । परिवर्तनको
खास्टो ओढ्न नपाएपछि
तिनै तुहिएका सपनाहरूका
कारण टाइफाइडले ग्रस्त
बनेको हुँदो हो
। ज्योति वसुले
किसानलाई बाँडेको जग्गाले पनि
त्यो टाइफाइड निको
हुनेवाला थिएन ।
त्यसैले होला त्यहाँ
चर्को गन्ध फैलिएको
। सम्भवतः नन्दीग्राम
र सिँगुरजस्ता ठाउँहरूबाट
किसान लखेटिएपछिको समयमा
त्यो गन्ध अझ
विषाक्त बन्यो । अहिलेकी
ममता बेनर्जीको घ्राण
शक्ति कति छ,
मलाई थाहा छैन
।
नक्सलबारी त्यही आन्दोलन हो
जसबाट सन् ७०
मा उडेका केही
फिलिंगा झापामा खसे ।
तीनै फिलिंगा टिपेर
कमरेडहरूले झापामा आगो बाले
। ती सबै
ब्राह्मण पुरुष थिए, पढेलेखेका
जानिफकारहरू । मैनाली
ब्रदर्स अर्थात् चन्द्रप्रकाश उर्फ
सीपी र राधाकृष्ण
उर्फ आरके, मोहनचन्द्र
अधिकारी र अरू
केही नेताहरूले टिपेका
थिए ती फिलिंगा
। रातो झन्डा
बोक्ने वासु शाक्य,
दंगाली समूहका नेत्र लाल
अभागी, इलामका रत्नकुमार वान्तवा
र अहिले हामीले
नेताका रूपमा चिनेका धेरै
तिनै फिलिंगाले तातेका
भरमा नेता भएका
हुन् । कमरेडहरूले
बालेको आगोमा एक दर्जनको
ज्यान गयो ।
कतिको धरपकड भयो
। कतिले यातना
भोगे । कतिका
आङमा त्यसबेला लागेका
घाउमा आजका मितिसम्म
पनि पाप्रा नजमेर
थिलथिलै छन् ।
त्यसबेला यी सबैको
सपना उही थियो
ः सामन्ती मालिकहरूबाट
खोसेर जग्गा गरिब
किसानको हातमा दिने, सामन्ती
राज्यसत्ताको अन्त्य गर्ने, नेपाली
जनतालाई मुक्ति दिने ।
उही विभेदरहित समाजको,
उही समानताको सपना
। उही मानिसको
पूर्ण स्वतन्त्रताको खोजी
। उही लोकतन्त्रको
प्रगतिशील परिभाषा ।
कालान्तरमा
सीपी मैनाली आफैं
संसद्का पटके जागिरे
बने । अरू
केही नगरे पनि,
उनी आफ्नो जागिर
जोगाउन समानुपातिक उम्मेदवार बनिरहनेछन्
धेरै पछिसम्म ।
राधाकृष्ण मैनाली दरो मेरुदण्ड
नभएको जेली फिसजस्ता
भए । चारतिर
चिप्लिँदै हिँड्ने । राजाको
खोपीदेखि माओवादीको पटांगिनीसम्म ।
मोहनचन्द्र अधिकारी गेरु वस्त्रधारी
बैरागी बने ।
उनका समकालीनले धेरैअघि
उनलाई नेल्सन मन्डेला
भन्ने गर्थे ।
मन्डेलाको देहान्त हुँदा, कुनै
नेपालीले मोहनचन्द्रको खोजखबर गरेको मलाई
सम्झना छैन ।
नक्सलबारीमा जस्तै आजकल सुखानी
जंगलको बतासमा पनि ती
तुहिएका सपनाको गन्ध मिसिएको
हुनुपर्छ । तर,
सीपीको चाबहिलको महलसम्म त्यो
बतास पुग्दैन ।
राधाकृष्णको जेली फिस
अवतारलाई त्यो गन्धले
छुँदैन । उनको
आफ्नै गन्ध त्यसलाई
परास्त गर्न काफी
छ । मोहनचन्द्रको
पवित्र चन्दन मगमगाउने गेरु
वस्त्रमा त्यो गन्धको
कुनै प्रभाव पर्दैन
। झलनाथ र
केपी ओलीहरू सुखानीतिर
आउँदा अरबी अत्तर
बेस्सरी छर्केर आउँदा हुन्
।
चालीस वर्ष नैराश्यको
दलदलमा फँसेका कानु सन्यालले
नक्सलबारी नजिकै हात्तीगिसाको झुपडीमा
आत्महत्या गरे ।
झापाका योद्धा डिगेन्द्र राजवंशी
एमालेको बल्खु दरबार अघिल्तिर
पासो लागे ।
के तिनका सपनाहरूले
पनि आत्महत्या नै
गरेका हुन् ? इतिहासमा
सपनाको निर्मम हत्या गर्ने
प्रयास भएका छन्
। सपना आफैं
पासो लाग्न जान्दैन
।
माओवादीहरूले
तिनै तुहिएका सपनालाई
पुनःजीवन दिएको ऐलान गरे
। हतियार बोके
। उनीहरूको ऐलानमा
महिला सामेल भए,
दलित आए, जनजाति
आए, र आए
मधेसी । तिनले
सबैका सपना माझेर
एकै बनाए ।
बन्दुक भिरे, युद्धमा होमिए
। तीनलाई पटक
पटक झापा सम्झाइयो
। सम्भवतः नक्सलबारी
पनि सम्झाइयो ।
माक्र्स, लेनिन, माओहरू त
सर्वव्यापी नै भइगए
।
यिनले थालेको युद्धमा हजारौँको
ज्यान गयो ।
कतिका घाउ आलै
छन् । कति
शरीरभरि गोली बोकेर
हिँडेकै छन् ।
त्यस्तै अवस्थामा युद्ध रोकेर
उनीहरू राजनीतिको मूलधारमा आए
। धेरै समय
अल्मलिएर बिताए । त्यसपछि
सत्ताको चास्नीमा भुलिए ।
नगर्नु पर्ने सम्झौता गरे
। पहिले काठमाडौँका
सुकिला मुकिलालाई लल्कारे ।
पछि तिनैलाई खुसी
पार्ने अर्थहीन यत्न गरे
। बुर्जुवा रवाफको
धुनमा आफैं लट्ठिए
। अनेकन् दबिएका
प्रश्नहरू मूलधारको आकाशमा तरंगित
तुल्याएका थिए ।
तर, तीनको हल
खोज्ने कसरत गरेनन्
। अन्ततः पार्टी
फुट्यो । चुनावमा
नमिठो हार बेहोरे
। अहिले मुर्झाएका
छन् ।
यही मौका छोपेर
एकथरी मान्छे युद्धको
आँधीबेहरीमा भएका यिनका
गल्ती रिठ्ठो नबिराई
खोज्दै छन् ।
पुराना फाइल खोतलेर
यिनलाई अन्तर्राष्ट्रिय अदालत हेगको कठघरामा
उभ्याउने प्रपञ्च बुन्दै छन्
। यस्तो प्रपञ्च
बुन्नेहरूले यिनलाई हाकाहाकी लल्कार्दै
छन् । उताबाट
प्रत्युत्तरमा निम्छरा तर्कहरू पेस
हुँदै छन् ।
कोही भने सिँगो
पार्टीको असामयिक निधनको खबर
सुन्ने पर्खाइमा रमाएर बसेका
छन् ।
यसैबीच मैतीदेवीको तरकारी बजारमा
भुइँमा पसल थापेर
बसेको एक पूर्वछापामारले
शरीरभरि गोलीका दाग देखाउँदै
भने, 'मलाई टण्टलापुर
घाममा पनि ठकठक
काम छुट्छ ।
जस्तोसुकै गर्मीमा पनि ज्याकेट
लगाएर हिँड्नुपर्छ ।'
यी अयोग्य साबित
बिरामी लडाकुको सपना फुलकोबीसँग
रु. दुई र
पाँचमा साटिंदै छन् ।
रोल्पाको हावामा तुहिएका सपनाको
गन्ध कतिको बाक्लिएको
छ हँ ? के
लाजिम्पाट र सानेपाका
महलहरूसम्म अझै यी
हावाका झोँक्काहरू आइपुग्दै छन्
?
ठीक यसैबेला नेपालमा सन्
९० को बाँसुरी
बज्न थालेको छ
। हिन्दुवादी पार्टीको
समर्थनमा सिंगै राजधानी एकजुट
भएको चुनावले देखाएको
छ । पहिल्यै
कमजोर राज्यका सबै
अंगहरू झन् झन्
कमजोर बन्दै गइरहेका
छन् । शिक्षा
र स्वास्थ्यजस्ता क्षेत्रमा
ठूला खेलबाडहरू भइरहेका
छन् । चुरे
नासिँदै गइरहेको छ । बिस्तारै बँचेखुचेका हरिया
वन सकिएलान् ।
खोलानाला सुक्लान् । मुलुक
नै बिल्कुल व्यक्तिगत
बहीखाता मात्र बोकेका मान्छेहरूको
कब्जामा छ ।
लोकतन्त्रको दुहाई दिने पार्टीहरू
चुनाव जितेर सत्तामा
पुगेका छन् ।
तर पुग्न नपाउँदै
तिनले आफ्नो सनातनी
विभेदको दौरा-सुरुवाल
लगाए । भ्रष्टता
र लापरबाहीको चुचे
टोपी भिरे ।
ठीक यसैबेला सशत्र क्रान्तिको
ज्वाला दन्काउने झापा जिल्ला
भारतीय मठाधीश श्री श्री
रविशंकरको झन्डामुनि कथित नेपाली
ढाका टोपी दिवस
मनाउँछ । जग्गा
प्लटिङ र बेचबिखनको
दलालीमा रमाउँछ । म्यानपावर
कम्पनीहरूमार्फत कमिसनको लुट मच्चाउँछ
। स्कुल जाने
नानीहरूको झोलामा राखेर सुपारी
तस्करी गर्छ ।
छिटो पैसा कमाउने
धन्दामा तस्करीको मोहताज पहिरिन
लालायित छ मेरो
झापा । नक्सलबारीको
जस्तै ओसिलो गन्ध
यहाँ पनि व्याप्त
छ ।
ठीक यसै बेला
भारतमा हिन्दुवादीहरूको जगजगी बढ्छ ।
हिन्दुवादी दक्षिणपन्थी नेता नरेन्द्र
मोदीले पब्लिक स्पिmयर
कब्जा गर्दै छन्
। जनताको काल्पनिकीको
ठूलो हिस्सा उनैले
लिँदै छन् ।
आम आदमी नामको
एउटा मध्यम वर्गीय
धिपधिपेले कतिको उज्यालो दिन्छ,
थाहा छैन ।
वा त्यसको उज्यालो
कतिको टिकाउ छ
भन्ने यकिन पनि
कसैले गर्न सक्दैन
। यता आम
आदमीको चर्चा चलेकै बेला
उता लन्डनबाट प्रकाशित
हुने नवउदारवादी पत्रिका
इकोनोमिस्ट मोदीको प्रशंसामा गीत
गाउँछ । उनले
गुजरातमा गरेका जघन्य अपराध
भुल्नुपर्छ भन्ने अर्ति बाँड्छ
। हैदरावाद विश्वविद्यालयका
प्रोफेसर हरगोपाल खुइय गर्दै
भन्छन्, 'अब ग्लोबल
नवउदारवादीहरूलाई मनमोहन सिँह र
कांग्रेसले जति गर्नु
थियो गरिसके भन्ने
लागेको छ ।
उनीहरू एकपटक फासिस्ट नेतालाई
प्रयोग गर्न चाहन्छन्
।' उडिसा, छत्तिसगढ
र आन्द्र प्रदेशमा
सीमित नक्सलवादीहरूको 'गाउँहरू
कब्जा गर्दै अन्ततः
दिल्ली घेर्ने' संकल्प दिनप्रतिदिन
दिवास्वप्न हुँदै छ । बरु दिल्लीले
नै उनीहरूलाई घेर्दै
लगिरहेको खबर व्याप्त
हुँदै छ ।
ठीक यसैबेला अमेरिका हरेक
नागरिकको इमेल एकाउन्टको
निगरानी गरिरहेको छ, फोन
टेप गरिरहेको छ
। शालीन राष्ट्रपति
बाराक ओबामा यस्तो
निगरानी बढाउनुपर्नेमा जोड दिँदै
छन् । गैरकानुनी
निगरानीको पोल खोलिदिने
एडवार्ड स्नाउडेन उनको तारो
बनेका छन् ।
भर्खरै टोरोन्टो एयरपोर्टको वाइफाईमार्फत
क्यानडाले पनि आफ्ना
जनतामाथि निगरानी बढाइरहेको खबर
छापाहरूमा आएका छन्
। सन् १९९२
मा रियो डि
जेनेरियोमा आयोजित अर्थ समिटमा
जर्ज डब्लु बुस
सिनियरले छाती फुकाएर
घोषणा गरेका थिए,
'अमेरिकी जीवनशैली परिवर्तन हुँदैन
।' अर्थात् अमेरिकीहरूले
उपभोक्तावादलाई शिरोपर गरिरहनेछन् ।
त्यसमा सम्झौता गर्ने छैनन्
। फलस्वरूप दुनियाँका
लाखौँ मान्छेका मुखबाट
हजारौँ केजी मकै
खोसेर बायोग्यास बनाइयो
। लेखक आदित्य
निगमले गार्जियनको एक लेख
उद्धृत गर्दै भनेका थिए,
'अहिले आफ्नो मोटर निर्बाध
कुदाउन चाहने ८०० मिलियन
मोटरधनीहरू र दुई
छाक जुटाउन हम्मे
पर्ने २ बिलियन
मानिसहरूबीच सीमित अन्नमाथि प्रतिस्पर्धा
छ ।' दुनियाँका
आँखाका नानी बनेका
ओबामा यो प्रतिस्पर्धामा
निःसन्देह मोटर धनीको
पक्षमा छन् ।
अहिलेको संसारको परिदृश्य यस्तो
छ भन्ने तपाईँलाई
थाहा छ । तर
पत्तो नपाएको गुह्यचाहिँ
के भने यति
थाहा पाइसकेपछि अब
गर्ने के हो
त ? कसको तरिका
ठीक भन्ने ? कसका
तर्कलाई सही मान्ने
? कसले गरेको राजनीतिमा भरोसा
गर्ने ? बजार व्यवस्था
ठीक वा समाजवादी
व्यवस्था ? भएका बजारहरूले
असमानता बढाउँदै छन् ।
बजार आफैं चरम
संकटमा फँस्दै लाखौँ मानिसको
ज्यान धरापमा पार्दै
छ । अनि
समाजवादी भनिएका मुलुकमा राज्यले
के गर्दै छ
? मुठ्ठीभरको सेवा र
अरूलाई हेलोहोँचो । राज्य
र बजारको समदूरीमा
भएको व्यवस्था कस्तो
हुन्छ ? के त्यो
सम्भव छ ? कि
यो धर्ती अब
कुनै गतिलो राजनीति
र विचार नजन्माउने
गरी बाँझो भइसक्यो
? प्रश्नहरू यसरी अक्करिला
बन्दै छन् कि
उत्तर नभेटेर सिंगो
समय सिजोप|mेनिक
बन्दै छ ।
यो दुनियाँमा अझ पनि
देब्रे ढल्केका अर्थात् वामपन्थी
विचार र आन्दोलनहरूले
नै मानिसलाई स्वतन्त्र
बनाउन सहयोग पुर्याउँछन्
भन्ने विश्वास गर्नेको
संख्या यथेष्ट छ । तर, विचार
आफैंमा कुनै भौतिक
शक्ति हुन सक्दैन
जसले आफैं परिवर्तन
ल्याइदेओस् । राजनीतिले
विचारलाई भौतिक शक्तिमा बदल्ने
हो । राजनीति
गर्ने मानिसहरूले हो
। के उचित
विचारलाई परिवर्तनको भौतिक संवाहक
बनाउने उचित मानिसहरू
नजन्मने गरी यो
धर्तीको बन्ध्याकरण भइसकेको हो
? मानिसले कसलाई पत्याउने, विचार
भनिने कुनै अमूर्त
चिजलाई वा त्यसलाई
बोकेका मानिसहरूलाई ? कि त्यसरी
विचार र राजनीति
अथवा विचार र
त्यो विचार मान्छु
भन्ने मान्छेलाई छुट्याएर
हेर्न मिल्दैन ? के
ती एउटै हुन्
? वा तिनको छुटाछुटै
अस्तित्व हुन्छ ? यदि होइनन्
भने ठीक वैचारिक
धरातलमा उभिएको मानिस किन
उल्टो बाटो हिँड्दै
छ ? सही सिद्धान्तबाट
दीक्षित मानिस किन गलत
काम गर्दै छ
? स्वर्गको म्याप बोकेर नर्कको
बाटो नाप्दै छन्
हाम्रा वामपन्थी पार्टीहरू ।
कि तिनले बोकेको
म्याप नै नर्कको
हो ? यकिन छैन,
यदि यिनीहरू हिँडिरहेको
बाटो नर्ककै हो
भने, त्यो अहिले
बाँचेको नर्कभन्दा अझ खराब
हुनेछ वा राम्रो
?
सिंगो समयको यस्तो सिजोफ्रेनियाले नराम्ररी गाँज्दै
छ मान्छेलाई ।
त्यसैले तुहिएका सपनाको गन्ध
सुँघ्न बाध्य छु म
। जताततै क्लोरमफेनिकलको
गन्ध व्याप्त छ,
नक्सलबारी जताततै फैलिएको छ
।
अत्याचारीसँग
हुने लगातारको मुठभेडले
भरिएको छ हाम्रो
अनुभव ।
यहीँ नेर एउटा
बूढो माली हाम्रो
मृत्युग्रस्त सपनामा फूल र
आशा राखेर जान्छ
।
-गोरख पाण्डे twitter: @UPrasai
(२०७० फाल्गुन २४ मा कान्तिपुर दैनिकमा प्रकाशित)
No comments:
Post a Comment