किशोर दहाल
सोमबार, वैशाख ३, २०८१ २०:५६
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको सोमबार भएको ‘ब्रेक–थ्रु’ कार्यक्रममा सहभागी हुन पुगेका थिए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। उनका साथमा अरु मन्त्री तथा सरोकार र बेसरोकारका व्यक्तिहरू पनि थिए। यस्ता कार्यक्रममा विशिष्ट भनिने र भनाउनेहरूको उपस्थिति, बहकिएका भाषण, प्रतिबद्धता जस्ता विषय सामान्य नै हुन्। यस्तो वर्षौंदेखि चलिरहेकै छ।
सुरुङमार्गमा आयोजित कार्यक्रममै प्रधानमन्त्री प्रचण्डले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङ मार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति बारे भाषण गर्न भ्याए।
कार्यक्रम र स्रोता अनुसारको भाषण गर्न माहिर प्रचण्डका त्यस्ता नीतिबारे कसलाई पो विश्वास होला र? नेपाललाई सिंगापुर बनाउने योजना त परको कुरा, कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा 'फ्लड लाइट' राख्ने चर्चित निर्देशन समेत अलपत्र परेको कसले ख्याल गरेको छैन र?
हुन त, जुन देशमा विकास/निर्माण आयोजना नियमित उपक्रम बन्दैन, बरु कागतालीको विषय बन्छ, त्यहाँ अतिरिक्त साटासाट र देखावटी स्वाभाविक बन्न जान्छ। नागढुंगाको सुरुङमा सोमबार भएको त्यही हो। नत्र त खनिरहेको सुरुङको ब्रेक-थ्रु हुने स्वाभाविक घटनामा प्रधानमन्त्री नै उपस्थिति हुनु र सरकारको नीतिको बखान गर्नु आवश्यक हुन्थ्यो र? विकास/निर्माणमा तीव्रता दिएका अन्य मुलुकका प्रधानमन्त्रीहरू पनि त्यसै गर्लान्?
सोमबार सुरुङबाट बाहिर आएका तस्बिर र भिडिओ थप अनौठा छन्। 'मुख्य सुरुङक सफल ब्रेकथ्रुको उत्सव मनाउँदै' भन्ने ब्यानरको मुनितिर भूइँमा रातो कार्पेट ओछ्याइएको छ। त्यसमाथि सोफा राखिएका छन्। सोफामा प्रधानमन्त्री प्रचण्ड लगायत राखिएका छन्।
सुरुङभित्रको त्यो तामझाम केका लागि होला? सहजै बुझ्न सकिन्छ, सोफामा बस्नेहरू अरु व्यक्तिभन्दा विशिष्ट छन् भन्ने भावको प्रदर्शनका लागि।
जमाना पनि त त्यो रहेन, जहाँ सुरुङ-युद्धको चर्चा हुन्थ्यो। अब त 'सत्ताबाहेक सबै भ्रम हो' भन्ने पुरानो स्कुलिङ कार्यान्वयनको उत्कर्षमा छ। त्यही सत्ताले शक्ति दिएको छ, विशिष्ट हुँ भन्ने 'फिलिङ' दिएको छ। त्यसकै पुष्टि त हुन्, सुरुङमार्गका तस्बिर।
यतिबेला एउटा पुरानो तस्बिरको पनि स्मरण गर्नु वाञ्छनीय हुन्छ। २०७६ असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वरमा आयोजित कार्यक्रममा थिए- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकै मन्त्रिपरिषद्का अन्य केही सदस्य पनि। र त्यहीँ थिए शताब्दी पुरुष सत्यमोहन जोशी पनि (हाल जोशीको निधन भइसकेको छ) ।
मञ्चको अघिल्तिर ओली एक्लै भव्य सोफामा बसेका थिए। उनका पछाडितिर जोशी लगायतका अन्य व्यक्तिहरू सामान्य कुर्सीमा बसेका थिए। पदले जोशी कोही होइनन्। तर अनेक कारणबाट उनी सम्मानलायक व्यक्ति हुन्। तर ओलीको आसन शैलीले मञ्चको वातावरण नै भद्दा देखिएको थियो। त्यहाँ प्रधानमन्त्रीको अभिमान प्रकट भएको भन्दै खुबै आलोचना भयो। तर त्यस्ता आलोचनाले उनलाई खासै प्रभाव पारेन। बरु अन्य सन्दर्भमा उनको त्यस्तै शैली दोहोरियो।
तत्कालीन प्रधानमन्त्री ओली र अहिलेका प्रधानमन्त्री प्रचण्ड दुवै कम्युनिस्ट भनिने पार्टीको नेतृत्व गर्छन्। कम्युनिस्ट पार्टीहरू सिद्धान्तगत रुपमै समानतावादी हुने गर्छन् भनिन्छ। तर त्यतिबेला ओलीको शैली र आज प्रचण्डकै शैलीमा समानवादी दृष्टिकोण प्रतिबिम्बित हुन्छ त? पक्कै हुँदैन। बरु अरुभन्दा हामी विशिष्ट हौँ, हामीले विशिष्ट आसन पाउनुपर्छ, अरुले हामीभन्दा तल बस्नुपर्छ, अरुले आफू सानो हुँ भनेर बुझ्नुपर्छ भन्ने अभिमान प्रतिबिम्बित हुन्छ।
अर्कोतिर, प्रचण्ड त गणतन्त्रका लागि पनि संघर्ष गरेका व्यक्ति हुन्। गणतन्त्र भनेको राजा फालेर राष्ट्रपति निर्वाचित गर्ने व्यवस्था मात्रै होइन। समाजका अनेक संस्था र मनोवृत्तिमा रहेका तहगत विशिष्टताको मान्यतालाई पनि फाल्ने हो भन्ने उनलाई थाहा नहोला भन्न सकिँदैन। तर, उनको आजको शैलीले उनी स्वयंभित्र रहेको राजतन्त्रीय मनोवृत्तिको अवशेष, सामन्ती अवशेष प्रकट भएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ २०:५६
नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/324634
No comments:
Post a Comment