Pages

Tuesday, January 9, 2024

एमालेको मध्यपहाडी यात्राबाट सिंगो राष्ट्र नै लाभान्वित हुन्छ : विष्णु पौडेल [अन्तर्वार्ता]

किशोर दहाल

शुक्रबार, मंसिर २९, २०८०  २०:३०

नेकपा एमालेको जारी मध्यपहाडी क्षेत्रको यात्रा अभियान अन्तिम चरणमा आइपुगेको छ। मंसिर १४ गते पश्चिम नेपालको झुलाघाटबाट सुरु भएको यात्रा अभियान शुक्रबार तेह्रथुम पुगेको छ। शनिबार पाँचथरको चिवाभञ्ज्याङ पुग्ने बताइएको छ। यात्रा सकिँदै गर्दा एमालेका नेताहरूले यस बीचमा कस्तो अनुभूति गरे? कस्ता समस्या र सम्भावना देखे? लगायतका विषयमा उपाध्यक्ष विष्णु पौडेलसँग नेपाल लाइभका लागि किशोर दहालले कुराकानी गरेका छन्। शुक्रबार तेह्रथुममा रहेका पौडेलसँग दहालले टेलिफोनमा कुराकानी गरेका हुन्।

तपाईंहरूको अभियान अन्तिम चरणमा आएको छ। यसक्रममा तपाईंहरूले अनुभूति गरेका नयाँ विषयहरू के हुन्?

यो यात्रा ऐतिहासिक ढंगको यात्रा हो। यसलाई नेपालको राजनीतिक इतिहासमा लामो समयसम्म याद गरिने छ।

नेपालको भूमिलाई प्रत्यक्षरुपमा नबुझिकन निर्माण गरिने नीतिहरू सही, समुचित र व्यवहारिक हुन सक्दैनन्। देशको नीति निर्माण गर्दा देशलाई राम्रोसँग बुझ्नुपर्छ। देशको अवस्थितिलाई बुझ्नुपर्छ। भूगोललाई बुझ्नुपर्छ। जनसंख्यालाई बुझ्नुपर्छ। समस्या र सम्भावनालाई बुझ्नुपर्छ। मध्यपहाडी क्षेत्रका समस्या र सम्भावनालाई बुझ्नका निम्ति यो यात्रा महत्त्वपूर्ण सावित भएको छ।

यस यात्राका क्रममा हामीले केही नयाँ तथ्यहरू प्रत्यक्ष रुपमा देख्यौं। मध्यपहाडी क्षेत्रबाट ठूलो जनसंख्याको बहिर्गमन भइरहेको छ। यो समस्यालाई कस्तो नीति, कार्यक्रम र प्रयासद्वारा रोक्न सक्छौं र त्यस क्षेत्रको आकर्षण स्थापित गर्न सक्छौं भन्ने कोणबाट विवेचना गर्नुपर्ने स्थिति रहेको छ।

त्यस्तै, एमालेले मध्यपहाडी लोकमार्गको परिकल्पना गर्दा यस क्षेत्र र समग्र देशकै विकासका निम्ति महत्त्वपूर्ण आधार हुनसक्छ भन्ने हामीलाई लागेको थियो। त्यो परिकल्पना सही नै रहेछ भन्ने हामीले यो यात्राबाट अनुभव गरेका छौं। सँगसँगै यसमा परिमार्जनको आवश्यकता पनि बोध गरेका छौं। ठाउँठाउँमा यो राजमार्ग बढी घुमेको छ। त्यसलाई सोझो पार्न सक्छौं। र दुरी घटाउन सक्छौं। र यसलाई डबल लेनमा अपग्रेट गर्न सक्छौं। त्यसले मध्यपहाड र नेपालको विकासको सन्दर्भमा महत्त्वपूर्ण आयोजनाको रुपमा भूमिका निर्वाह गर्न सक्छ। प्रादेशिक र भौगोलिक रुपमा रहेको जनसांख्यिक असन्तुलनलाई पनि व्यवस्थापन गर्न पनि महत्त्वपूर्ण काम गर्न सक्छ।

बैतडीदेखि सुरु भएको यस यात्राका क्रममा आज (शुक्रबार) हामी तेह्रथुममा आइपुगेका छौं। भोलि पाँचथर पुग्छौं। यस क्रममा हामीले महसुस गर्‍यौं- जनताले एमालेका नीतिहरूलाई सही मानेका छन्। एमालेको नेतृत्वलाई सक्षम मानेका छन्। एमालेसँग आफ्नो भविष्य जोडेर हेरेका छन्। मुलुकको बागडोर छिटोभन्दा छिटो एमालेको हातमा आउनुपर्छ। एमाले बिना देशको विकास सम्भव छैन भन्ने अनुभूति आम मानिसमा रहेको पायौं।

जुनसुकै पार्टी, पेशा, व्यवसाय, जाति, भाषा, धर्म, संस्कृतिका मान्छेहरू एमालेमा गोलबन्द हुँदै गरेको रोचक दृश्य यस यात्राको क्रममा देख्यौं। एमालेप्रतिको विश्वास मात्रात्मक मात्र होइन, गुणात्मक रुपमा वृद्धि भएको छ।

हाम्रो पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीप्रति जनतामा असाधारण श्रद्धा देख्यौं। हामीले भन्ने गर्थ्यौं कि समकालीन राजनीतिका सर्वाधिक लोकप्रिय नेता, नेपाली जनताका प्रिय नेता, सही नीति प्रतिपादन गर्ने नेता, दृढतापूर्वक र सक्षमतापूर्वक देशलाई नेतृत्व गर्ने नेता भनेर उहाँलाई श्रद्धा गर्थ्यौं। हाम्रो दाबी सही छ भन्ने कुरा जनताको प्रतिक्रियाबाट पुष्टि भएको देख्यौं। बच्चा, किशोर किशोरी, अधबैँसेदेखि बुढाबुढी सबै केपी ओलीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहन्छन्। जनतामा अध्यक्ष ओलीप्रतिको क्रेज हामीले अनुमान गरेभन्दा धेरै फराकिलो रहेछ।

समग्रमा भन्दा, हाम्रो यो अभियान, एमालेको अभियानभन्दा पनि राष्ट्र निर्माणको अभियान हो। देशलाई समृद्धितर्फ लिएर जाने अभियान हो। अहिले मुलुकले बेहोरिरहेको समस्याका कारणहरू र मुलुकलाई सही दिशातिर लैजानका निम्ति गर्नुपर्ने कामका सन्दर्भमा हामीले जनतासँग प्रत्यक्ष संवाद गर्यौं। सभा, भेटघाट र छलफलहरूमा जनताका चाहना, माग र अपेक्षाहरू हामीले सुनेका छौं। समस्या समाधानका लागि हामीले दृष्टिकोण राखेका छौं।

तपाईंले मध्यपहाडी लोकमार्गको परिकल्पना सही रहेछ पनि भन्नुभयो। सँगसँगै जनसंख्याको विस्थापन पनि तीव्र भइरहेको पनि बताउनुभयो। किन यस्तो विरोधाभाष भयो? लोकमार्गको निर्माण हुने तर जनता त्यस क्षेत्रबाट बाहिरिने स्थिति किन आयो?

मध्यपहाडी लोकमार्ग बन्दै गरेता पनि जनसंख्याको विस्थापन शृंखला नरोकिएको सत्य हो। तर त्यसलाई रोक्न र मध्यपहाडको आकर्षण बढाउन सकिन्छ। यस राजमार्गको दूरी छोट्याउने, दुई लेनको बनाउने, सुरङ मार्गहरू बनाउने काम गर्न सक्दा जनसंख्याको विस्थापन शृंखला रोक्न सकिन्छ। अन्यत्रबाट त्यहाँ जाने स्थिति पनि बनाउन सकिन्छ।

तपाईंहरूले कात्तिक २२ को सचिवालय बैठकमार्फत् यस अभियानका केही उद्देश्यहरू सार्वजनिक गर्नुभएको थियो। जसमध्ये दुई उद्देश्य थिए- पहाडको विकासको चुनौती बुझ्ने र मानिसमा बढ्दो निराशाको कारण पत्ता लगाउने। यी दुई विषयमा के नयाँ तथ्य पत्ता लगाउनुभयो?

पहाडमा जनसंख्या छरिएर बसेको छ। त्यस्तो ठाउँमा विकासमा पूर्वाधारहरू बाटो, पानी, बिजुली, स्कुल, अस्पताल जस्ता भौतिक पूर्वाधार पुर्‍याउन स्वाभाविक रुपमा खर्चिलो हुन्छ। कठिन हुन्छ। त्यसका बाबजुद पनि हामी यस क्षेत्रको विकासमा केन्द्रित हुनुपर्छ भन्ने हामीले अनुभव गरेका छौं।

निराशातर्फचाहिँ- नयाँ संविधान जारी भएपछि गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले आरम्भ गरेको कामले जनतामा असाधारण उत्साह पैदा गरेको थियो। त्यसलाई बीचमै परिवर्तन गरियो। २०७४ को निर्वाचनपछि पनि हामीले अध्यक्ष ओलीकै नेतृत्वमा सरकार बनाएका थियौं। त्यो सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सक्थ्यो। र विकासको हिसाबले नेपालले नयाँ उचाई चुम्न सक्थ्यो। तर त्यो सरकार पनि देशी-विदेशी षडयन्त्रको शिकार भयो। गठबन्धन-सठबन्धन बन्यो। त्यसकै सरकार बन्यो। त्यसपछि नै नेपालमा निराशाको शृंखला सुरु भयो। आर्थिक विकास र समृद्धितर्फ जाने बेलामा मुलुक अस्थिरताको चक्रव्यूहमा फस्यो।

सही नीति र सक्षम नेतृत्व भएको एमाले जस्तो पार्टीलाई घेराबन्दी गर्ने कोसिसले गर्दा निराशा पनि बढ्यो। वास्तवमा एमालेलाई सरकारबाट बाहिर बनाउनु नै निराशा बढ्ने कारण हो। र, निजी स्वार्थमा आधारित गठबन्धन बन्नु पनि निराशाको कारण हो। यो गठबन्धन सरकारले जनतामा सिर्जना भएको निराशालाई समाधान गर्न सक्दैन। बरु निराशा बढाउने काम गर्छ।

यो यात्राको अनुभवबाट एमालेले आफ्ना नीति, योजना तथा कार्यक्रममा कुनै परिमार्जन गर्ने सम्भावना छ?

जरुर। हामीले यो यात्राबाट धेरै ठूलो अनुभव र शिक्षा प्राप्त गरेका छौं। त्यसबाट एमाले मात्रै होइन, सिंगो राष्ट्र नै लाभान्वित हुन्छ। हामीले यो यात्राको अनुभवलाई विश्लेषण, विवेचना र समीक्षा गर्छौं। र अनुभवहरूलाई नयाँ ढंगले सूत्रबद्ध गर्छौं। ती अनुभवका आधारमा हाम्रा नीतिहरूमा, हामीले लिनुपर्ने निर्णयहरूमा क्रमिक रुपमा परिस्कार र परिमार्जन गर्दै अगाडि बढ्छौं।

एमाले र एमाले जस्ता दलहरूले बोक्नुपर्ने आम जनताका दैनिकीसँग जोडिएका कतिपय मुद्दाहरू आजकाल विवादित व्यक्तिहरूले वकालत गर्ने गरेको पाइन्छ। जनताले पनि एक हदसम्म सामाजिक सञ्जाल तथा सडकमार्फत् साथ दिएर उनीहरूलाई विश्वास गरेको देखिन थालेको छ। तपाईंहरूको यस यात्रामा जनतामा एमालेप्रतिको विश्वास कति बाँकी रहेको अनुभव भयो?

पहिलो कुरा, एमाले खहरे खोला होइन। यो कोशी, गण्डकी र कर्णाली नदीजस्तो अविच्छिन्न प्रवाहित हुने सशक्त राजनीतिक शक्ति हो। त्यसकारण एमालेको अरु कुनै खहरेसँग तुलना हुन सक्दैन। दोस्रो कुरा, एमालेले स्थापनाकालदेखि नै केही महत्त्वपूर्ण मुद्दामा आफ्नो दृढ अडान राख्दै आएको छ। नेकपा एमाले राष्ट्रको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको पक्षमा अविच्छिन्न रुपमा दृढतापूर्वक उभिएको छ। यस विषयमा एमालेले कुनै गलत विचार र प्रवृत्तिसँग सम्झौता गर्दैन।

यो पार्टी लोकतन्त्र र जनतालाई सार्वभौमसम्पन्न बनाउने कुरामा निरन्तर उभिँदै आएको छ। जनताका सामाजिक र आर्थिक अधिकारका प्रश्नमा एमाले सधैं नै दृढतापूर्वक उभिँदै आएको छ। अग्रभागमा रहेर जनताको अधिकारका निम्ति संघर्ष गर्दै आएको छ। सरकारमा हुँदा नीति निर्माण गरेर, निर्णय गरेर, कार्यान्वयन गरेर, जनताका समस्या सम्बोधन गर्छौं। प्रतिपक्षमा हुँदा सदन र सडकमा आवाज बुलन्द गरेर, जनतालाई गोलबन्द गरेर, जनताका आर्थिक सामाजिक अधिकारका प्रश्नमा आफूलाई खरो ढंगले उतार्छौं। नेकपा एमालेको यो नीतिमा कुनै पनि खालको कन्फ्युजन छैन। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २०:३०

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/319301 

No comments:

Post a Comment