Pages

Friday, November 24, 2023

राजतन्त्र फर्काउने हो-हल्लाबारे केही कुरा !

किशोर दहाल

आजकाल राजतन्त्र फर्काउने माग उठ्न थालेको छ। त्यसका लागि सडकमै पनि प्रदर्शन भयो। सामाजिक सञ्जालतिर पनि राजतन्त्र र गणतन्त्र पक्षधरको पोस्टहरू देखिन्छ। गणतन्त्र कार्यान्वयन भएकै १५ वर्षभन्दा बढीको अवधिमा राजतन्त्रको माग गर्नेहरू बेलाबेलामा नबोलेका होइनन्। तर त्यसबाट खासै तरंग उत्पन्न हुँदैनथ्यो। आजकाल भने अलि बढी नै चर्चा भए जस्तो लाग्छ।

राजतन्त्र फर्काउन खोज्नुमा बाह्य कारण पनि हुनसक्छन्। विभिन्न शक्तिकेन्द्रको आ-आफ्नै स्वार्थ हुनसक्छन्। त्यसबारे त के चर्चा गर्नु र! तर हरेक व्यक्तिमा हुने केही गुणले गर्दा यो बहस सामान्यभन्दा चर्चा भइरहेको हो कि जस्तो लाग्छ।

राजतन्त्र फालेको जम्मा १५ वर्ष त भएको छ। झन्डै २५० वर्ष विरासत भएको त्यस संस्थासँग आस्था भएका र लाभ लिएका कैयौं मानिस बाँकी नै छन्। उनीहरूले 'राजतन्त्र नै ठीक थियो' भनिरहनु स्वाभाविक हो।

भारतमै पनि अंग्रेज भगाएको कैयौँ वर्षसम्म कतिपय मानिसहरू 'अंग्रेजकै शासन ठीक थियो' भन्थे रे!

विज्ञानमा 'इनर्सिया' भन्छन् नि, वस्तुको यथास्थितिमै रहिरहन खोज्ने गुणलाई। जस्तै, घुमिरहेको पंखाको स्विच अफ गरिसक्दा पनि केही बेर घुमिराख्छ, त्यो इनर्सियाको कारणले भएको हो। कतिपय मानिसमा पनि त्यस्तै गुण हुँदोरहेछ। त्यसैले त पुरानै व्यवस्थामा रहिरहन मन लागेको होला। त्यसकै 'ह्याङ'ले नछाडेको होला। यस्तो गुणलाई 'राजनीतिक इनर्सिया' भन्न मिल्ला कि!

फेरि नेपालमा गणतन्त्र पनि सोचिए जस्तो ढंगले कार्यान्वयन हुन सकेको छैन। जसले गर्दा राजतन्त्र पक्षधरहरूलाई 'गणतन्त्रले के नाप्यो त?' भन्न सजिलो भएको छ। कैयौँ मानिसहरूको स्वभावै हुन्छ, भिडको आवाजसँगै बहकिने। चर्को स्वरलाई सत्य ठान्ने। गणतन्त्रकालका कतिपय कमजोरी देखाएर राजतन्त्र पक्षधरले 'अहिलेभन्दा त बरु राजतन्त्रकालमै ठीक थियो' भनेर चर्को स्वरमा नारा लगाउँदा र सामाजिक सञ्जालमा उत्तेजक पोस्ट गर्दा 'हो कि क्या हो' भन्ने लागेको हुनसक्छ। किनकि, त्यतिबेलाको खराब भोगाइहरू त धेरैले बिर्सिसकेका हुन्छन्। भन्छन् नि- 'पोहोरको पाडो ठूलो, यसपालिको जाडो ठूलो।' पहिलेको राम्रो कुराको बढी याद हुन्छ, अहिलेको नराम्रो कुराको बढी आलोचना हुन्छ। राजतन्त्र र गणतन्त्रको सवालमा पनि त्यही भएको होला।

मलाई लाग्छ, ज्ञानेन्द्र शाह जीवित रहुञ्जेलसम्म राजतन्त्रको माग सामान्यभन्दा ठूलो स्वरमा कुनै न कुनै रुपमा उठिरहन्छ। त्यसपछि त्यो स्वतः कम हुँदै जान्छ। किनकि, त्यसपछि राजा चाहियो भन्नेहरूले पनि राजा बनाउने भनेर देखाउने पात्र छैनन्। ज्ञानेन्द्र-पुत्र पारसको छवि र पृष्ठभूमि राजा हुने खालको छैन। पारस-पुत्र हृदयन्त्रको हुर्काइको अधिकांश हिस्सा दरबारिया वातावरणभन्दा बाहिरै भइसक्यो। जसका कारण सम्भवतः उनलाई राज-परम्पराको जानकारी र रहर नहुन सक्छ। 'बेबी किङ' (हृदयन्द्रलाई राजा)को प्रस्ताव त २०६३ सालतिरै चर्चा भइसकेको र सेलाइसकेको विषय हो।

ज्ञानेन्द्रलाई लामो आयु मिलोस्, शुभेच्छा छ। तर उनको मृत्युसम्म त गणतन्त्र थप बलियो भइसक्छ। अर्कोतिर, राजतन्त्र चाहियो भन्नेहरू थप 'एक्पोज' हुँदै जानेछन्। उनीहरूले मुलुकको आवश्यकताले होइन, आफ्नो राजनीतिक जीवन जोगाउन र अघि बढाउन राजतन्त्रको त्यान्द्रो समातेका हुन् भन्ने खुल्दै जान्छ।

अँ, ज्ञानेन्द्रका प्रति ठाउँठाउँमा सम्मान व्यक्त भएको देखिन्छ। मलाई लाग्छ, उनी राजा नभएर सामान्य नागरिक भएकाले त्यति सम्मान पाएका हुन्। सामान्य नागरिक पनि कस्तो भने, एउटा आकर्षक विरासतयुक्त। जसका कारण उनीप्रति मानिसमा धेरथोर आकर्षण हुन्छ नै। रुचि हुन्छ नै। त्यसैले पनि उनी गएका ठाउँमा मानिसको भिड लागेको हो।

राजा नै हुँदा त उनीप्रति यस्तो स्वाभाविक सम्मान कहाँ थियो र? त्यतिबेला सडकमा हिँडेका बेलामा कृतिम भिड जम्मा गरेर अभिनन्दन लिएको देखिएकै हो।

गणतन्त्र जिन्दावाद!

No comments:

Post a Comment