नेपाल लाइभ | २०७६ मङ्सिर २ सोमबार | Monday, November 18, 2019 १३:४१:०० मा प्रकाशित
काठमाडौं– पार्टी एकता भएको झन्डै १७ महिनापछि नेकपाले सांगठनिक एकता टुंग्याएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको हो। सचिवालयले टुंग्याउनुपर्ने यो अन्तिम कमिटी थियो।
पार्टीका तल्ला कमिटी र भातृ संगठनहरुले पनि आफ्नो कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउँदै गएका छन्।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो। घोषणासभामा सम्बोधन गर्ने क्रममा तीन महिनाभित्र एकता प्रक्रिया टुंगो लगाइने भनिए पनि १७ महिनापछि मात्रै टुंगो लागेको हो।
तर यो सहजै भएको भने होइन। सांगठनिक एकतालाई सहजीकरण गर्न पार्टीले चारवटा कार्यदल गठन गरेको थियो। तर सबै असफल हुनुले नै एकता प्रक्रियाको कठिनाइलाई पुष्टि गर्छ।
त्यसका अतिरिक्त दुई अध्यक्षले कैयौंपटक छुट्टाछुट्टै छलफल गरेका थिए। अन्य नेताहरुसँग परामर्श गरेका थिए। धेरै असन्तुष्टिबाट अघि बढ्दै नेकपा सचिवालय बैठकले सुस्त गतिमा एकताको काम सकाएको हो।
यस्तो छ, सांगठनिक एकताको विकास क्रम
२०७५ जेठ ३– पार्टी एकता घोषणा। त्यसअघि नै ९ सदस्यीय सचिवालय सदस्यको टुंगो। जसमा, अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन्। श्रेष्ठ प्रवक्ता र पौडेल महासचिव तोकिएका थिए।
२०७५ जेठ ७– केन्द्रीय समितिलाई पूर्णता। ४ सय ४१ जना केन्द्रीय सदस्यहरुमा पूर्व एमाले र माओवादीका तर्फबाट क्रमशः २ सय ४१ र २ सय जना राखेर केन्द्रीय समिति बनाइएको हो। जसमा पूर्व एमालेले आफ्नो १ सय ९६ जनाको केन्द्रीय समितिमा ४५ जना थपेको थियो। त्यस्तै माओवादीले आफ्नो सचिवालयमा रहेको ८८ जनामा बाँकी पोलिटब्युरोबाट सदस्य थपेर केन्द्रीय समितिमा राखेको थियो।
२०७५ जेठ १६– स्थायी समितिमा रहने ४५ जनाको टुंगो लगाइयो। जसमा, पूर्व एमालेका तर्फबाट २६ र माओवादीका तर्फबाट १९ जना छन्।
२०७५ असोज ५– सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गर्यो।
२०७५ मंसिर १२– सचिवालय बैठकद्वारा सातवटै प्रदेश कमिटीमा रहने सदस्यको मनोनयन गर्यो। मंसिर १७ गते पार्टी महासचिव विष्णु पौडेलद्वारा प्रदेश कमिटीमा रहने १ हजार ३ सय ८७ जनाको नाम सार्वजनिक गरे।
२०७६ बैशाख ९– बैशाख ८ गते साँझ बसेको सचिवालय बैठकले मापदण्ड टुंगो लगाउँदै ७७ वटै जिल्लाको अध्यक्ष र सचिव टुंगो लगायो। सहमति अनुसार सांसद, मन्त्री तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि पार्टीमा नेतृत्वदायी पदमा रहने सक्नेछन्। साबिकको जिल्ला कमिटीमा रहेका सदस्यहरु नै नेकपाको जिल्ला कमिटीमा रहने तय गरियो। सोही अनुसार धेरै जिल्लामा जिल्ला कमिटी तयार भइसकेको छ।
नेकपाको स्थापना दिवसको अवसरमा ९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेतृत्वको नाम घोषणा गरिएको थियो। जसअनुसार, ४४ जिल्लाको नेतृत्व एमाले र पूर्वमाओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ। पूर्व एमालेले अध्यक्ष लिएको जिल्लामा पूर्व माओवादीले सचिव र पूर्व माओवादीले अध्यक्ष लिएको जिल्लामा पूर्व एमालेले सचिव लिएका छन्।
२०७६ जेठ ३– जेठ २ गते बसेको सचिवालय बैठकले टुंग्याएको १९ र पहिल्यै टुंगो लागेका ३ गरी २२ जनवर्गीय संगठनको नेतृत्वको नाम सार्वजनिक गरियो। पार्टी एकीकरण तथा २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा पार्टी महासचिव विष्णु पौडेलले नाम पढेर सुनाएका हुन्।
२०७६ साउन ५– बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएका ६ महानगरको इन्चार्ज र सहइन्चार्ज टुंग्यायो।
२०७६ भदौ १– सचिवालयको बैठकले नेकपाभित्र तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपालको ठाउँमा झलनाथ खनाल राखियो। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले वरिष्ठ नेताको वरियताक्रमको हकमा पनि नयाँ निर्णय गरिएको बताएका थिए। 'वरिष्ठ नेताको पहिलो वरियताक्रममा झलनाथ खनाल र त्यसपछि माधव नेपालको निर्यण गरिएको छ', उनले भनेका थिए।
त्यस्तै, बैठकले जनवर्गीय संगठन, विशेष कमिटीलगायतमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिवको जिम्मेवारी पनि तोक्यो।
२०७६ भदौ ९– पहिलो पटक प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको बैठकले ४ जनालाई केन्द्रीय समितिमा मनोनित गर्यो। देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई केन्द्रीय समितिमा जोडिए। त्यस्तै, केही विभाग र जनवर्गीय संगठनहरुको जिम्मेवारी हेरफेर गर्यो।
२०७६ असोज ६– सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगोलगायो। जसअनुसार, काठमाडौंका अध्यक्ष र सचिवमा क्रमशः निर्मल देउला र रवीन्द्र श्रेष्ठ छन्। ललितपुरका अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य छन्। त्यस्तै, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की छन्।
२०७६ असोज २९– सचिवालय बैठकले संगठन विभागमा ३ जना सदस्यलाई थप गर्यो। विभागमा बामदेव गौतम र जनार्दन शर्माका अतिरिक्त ३ सदस्यहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरिएको हो।
२०७६ कार्तिक २५– सचिवालय बैठकले आयोगहरुको नेतृत्व टुंगो लगायो। जसअनुसार निम्न व्यक्तिहरुले जिम्मेवारी पाए–
अनुशासनको आयोगका अध्यक्ष– अमृत बोहरा। सचिव– अशोक रोकाय
निर्वाचन आयोगका अध्यक्ष– विष्णुपुकार श्रेष्ठ। सचिव– माधव पौडेल
लेखा परीक्षण आयोगका अध्यक्ष– पुष्प कँडेल। सचिव– टेकनाथ आचार्य
सल्लाहकार कमिटीका अध्यक्ष– केशव बडाल। सचिव– नन्दकुमार थापा
जेष्ठ कम्युनिस्ट मञ्च– नन्दकुमार प्रसाईं। सचिव– गोविन्द ज्ञवाली
२०७६ मंसिर १– सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगोलगायो। कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह र सदस्यमा तिल विक चयन भएका बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपाले यसअघि नै प्रवासमा पार्टी संगठन गठन नगर्ने निर्णय गरेको थियो।
नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/173841
No comments:
Post a Comment