नेपाल लाइभ | २०७६ असार ७ शनिबार | Saturday, June 22, 2019 १३:३०:०० मा प्रकाशित
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने तयारी गरेको छ। गत बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रतिवेदन प्रकाशित गर्ने समझदारी भएको उनीहरु निकट नेताहरुले बताएका छन्।
आज दिउँसो बस्ने सचिवालय बैठकले सम्भवतः यस सम्बन्धमा थप निर्णय लिनेछ।
तोकिएको समय अनुसार काम हुन्थ्यो भने २०७५ जेठमै यो प्रतिवेदन प्रकाशित भइसक्नुपर्ने थियो। सोही वर्ष जेठ १६ मा जारी पार्टीको अन्तरपार्टी निर्देशनको बुँदा ६ मा भनिएको थियो– 'अध्यक्ष कमरेडहरुले १५ दिनभित्र उक्त दस्तावेजहरु (घोषणापत्र, अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन) सम्पादन गरिसक्नुहुनेछ र पार्टी केन्द्रीय कार्यालयले प्रकाशन तथा वितरण गर्नेछ।'
तर राजनीतिक प्रतिवेदन १३ महिनासम्म प्रकाशित हुन सकेको थिएन। प्रतिवेदन प्रकाशित नहुँदा नेकपाभित्र वैचारिक अन्योल देखापरिरहेको छ। प्रकाशित भएपछि त्यसमा स्पष्टता आउने कतिपय कार्यकर्ताको विश्वास छ।
३९ पृष्ठको यो प्रतिवेदन प्रकाशित हुनुमा माओवादीको सशस्त्र युद्धलाई जोडेर लेखिएको विषयलाई समेत लिने गरिन्छ। पूर्व एमालेको ठूलो समूहले अस्वीकार गरेको जनयुद्ध शब्दलाई प्रतिवेदनमा खुलेर लेखिएको छ।
प्रतिवेदनमा उल्लेख छ– 'सामन्तवाद र साम्राज्यवादको विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालीन जनयुद्धका रुपमा बल प्रयोग अनिवार्य रहेको निष्कर्षका साथ नेपालको ठोस परिस्थितिमा राजनीतिक र फौजी रणनीतिको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेदेखि जनयुद्धको पहल गर्यो। त्याग र बलिदानका कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली राजनीतिमा नयाँ तरंग र बहस सहित दूरगामी प्रभाव पार्यो।'
पार्टीहरुप्रतिको धारणा
नेकपाले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिको रुपमा चिनाएको छ। पार्टीलाई सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्तिको मूल नेता भनिएको छ। 'यो देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति हो', भनिएको छ।
पार्टी नै नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाली कांग्रेसलाई भने उसले नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टीको रुपमा चिनाएको छ। 'सामन्तवाद विरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन', नेकपाको बुझाइ छ।
नेपाली कांग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’को नारा औपचारिकता र ढोंगमा परिणत भएको प्रतिवेदनमा उल्लेख छ। उसले विभिन्न बखतमा आत्मसमर्पणवादी नीति लिँदै आएकोमा आलोचना गरेको छ। 'भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौं सन्दर्भमा भ्रष्टहरूको संरक्षण समेत गरेको छ', प्रतिवेदनमा भनिएको छ।
तत्कालीन संघीय समाजवादी फोरमप्रति भने नेकपा नरम देखिएको छ। 'कतिपय बेला ढुलमुल देखिए पनि संघीय समाजवादी फोरम राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा तुलनात्मक रुपमा सही ढंगले उभिने गरेको छ', प्रतिवेदनमा उल्लेख छ।
मधेसकेन्द्रित राजनीतिबाट उदाएको अर्को दल राजपाप्रति भने नेकपा आक्रामक छ। 'राजपा, नेपाल जातीय, भाषिक र संघीयताको विषयमा अतिवादको पक्षपोषण गर्दछ', भनिएको छ, 'यसले मजदुर किसान, गरिब, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन, बरु तिनका विरुद्धमा उभिने गर्दछ।'
राजपाले राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा आत्मसमर्पणवादी नीति अवलम्बन गर्ने गरेको उसको बुझाइ छ।
'कतिपय बेला यसका विभिन्न नेताहरूबाट बाह्य शक्तिको हित गर्ने र विखण्डनकारी विचार पनि प्रकट हुने गरेका छन्', प्रतिवेदनमा भनिएको छ, 'मूलतः यसले तराई/मधेसका बचेखुचेको सामन्त र दलाल पुँजीपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्दछ।'
अन्य कम्युनिस्ट पार्टीलाई एकता प्रक्रियामा सामेल बनाउने उसको रणनीति छ। 'उनीहरूका जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै उनीहरूलाई एकतामा सामेल गर्ने पहल र प्रयत्न अघि बढाउनुपर्दछ', प्रतिवेदनमा भनिएको छ।
नेत्रविक्रम चन्द समूहले उग्रवामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको नेकपाले लेखेको छ। 'नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र संघर्षलाई तत्कालीन कार्यसूची बनाउने वकालत गरिरहेको छ। यो नेपालको आजको आवश्यकता र परिस्थितिसँग पट्टकै मेल नखाने काम हो', प्रतिवेदनमा उल्लेख छ।
राप्रपाका सबै समूहले सामन्तवादी अवशेषको प्रतिनिधित्व गर्ने नेकपाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
नेपाल लाइभमा प्रकाशित / https://www.nepallive.com/story/99261
No comments:
Post a Comment