किशोर दहाल
रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रमा चर्चित नाम हो । उनी आवश्यकताअनुसार जुनसुकै परिस्थितिमा पनि आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । कलिलो उमेरदेखि नै पत्रकारितामा सक्रिय पाण्डेले त्यसैबाट सिर्जित अवसरबाट कूटनीतिक र राजनीतिक सक्रियताको अभ्यास गरेका थिए । जिन्दगीका उकाली–ओरालीहरूमा धेरै थरी भूमिका निर्वाह गरेका पाण्डेले आफ्नो जीवन भोगाइको अनुभव लिपिबद्ध गरेका छन्, आफ्नो आत्मकथामा ।
रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रमा चर्चित नाम हो । उनी आवश्यकताअनुसार जुनसुकै परिस्थितिमा पनि आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । कलिलो उमेरदेखि नै पत्रकारितामा सक्रिय पाण्डेले त्यसैबाट सिर्जित अवसरबाट कूटनीतिक र राजनीतिक सक्रियताको अभ्यास गरेका थिए । जिन्दगीका उकाली–ओरालीहरूमा धेरै थरी भूमिका निर्वाह गरेका पाण्डेले आफ्नो जीवन भोगाइको अनुभव लिपिबद्ध गरेका छन्, आफ्नो आत्मकथामा ।
पाण्डेको भोगाइ उनको जीवन उनैका लागि जस्तो भएता पनि आमपाठकका लागि भने निकै रोचक छ । उनले १६÷१७ वर्षको उमेरमा सक्रिय पत्रकार÷सम्पादकका रूपमा विश्व शक्ति सन्तुलनमा ठूलो प्रभाव राख्ने संसारका केही चर्चित नेता र राष्ट्रप्रमुखलाई प्रश्न सोध्ने आँट र अवसर पाएका थिए, जसलाई ती नेताले पनि ‘मार्क’ गरेका थिए । यस्तै, २० वर्षको उमेरदेखि नै राजा महेन्द्र र नजरबन्दमा रहेका बीपी कोइरालाबीच समझदारी गराउन कुशल सम्पर्कसूत्रका रूपमा काम गरेका थिए । उनको प्रयास सफल भने भएन ।
उनको परिपक्वता, रणनीति र कूटनीतिको विकास, परीक्षण र प्रयोग त्यही समयदेखि नै हुँदै आएको थियो भन्न सकिन्छ । जसले उनलाई पछि त्यही क्षेत्रमा परिचित गरायो । विभिन्न देशसँग सम्बन्ध स्थापित गर्न, सम्पर्क बढाउन र सहयोग आदानप्रदान गर्न, द्विदेशीय ‘कन्फ्युजन’ हटाउन उनले युवा उमेरदेखि नै सक्रिय भूमिका निभाएका थिए । जिम्मेवारीमा आइलागेका जस्तोसुकै काम पनि सहज र दृढताका साथ सम्पन्न गर्न लागिपर्ने उनको स्वभावले गर्दा नै हुनुपर्छ, फरक–फरक राजनीतिक व्यवस्था, राजा र प्रधानमन्त्रीहरूबीचमा पनि उनको सक्रियता कायम रह्यो । पुस्तकमा उनको त्यही सक्रिय जीवनलाई महशुस गर्न सकिन्छ ।
पुस्तकले पाण्डेको जीवनकथा मात्रै बोल्दैन, एउटा परिपक्व कूटनीतिज्ञको निर्माणका आधारहरू के–के हुन सक्छन् भन्ने पनि जानकारी पनि दिन्छ । त्यसकारण, यस क्षेत्रप्रति रुचि र संलग्नता रहेका जोसुकैका लागि पनि पुस्तक उपयोगी र संग्रहणीय छ । अन्तर्देशीय सम्बन्ध र रणनीति कस्ता हुन्छन् र त्यसमा कमजोर राष्ट्रले भोग्नुपर्ने जटिलता कस्ता हुन्छन् भन्ने विषय पुस्तकमा स्पष्ट उल्लेख छ । नेपाल–भारत सम्बन्धका विविध पक्ष, भारतको स्वार्थमिश्रित कूटनीतिक व्यवहार र हाम्रो राजनीतिमा त्यसले निरन्तर पारिरहेको प्रभाव र परिणामबारे पुस्तकले धेरै जानकारी दिन्छ । त्यति मात्र नभई कूटनीतिक क्षेत्रमा नेपालका कमजोरीको चित्रण पनि पुस्तकले गर्छ ।
हामी कहाँ र कसरी चुक्दै आयौँ तथा विश्व कूटनीतिमा प्रभावहीन बन्दै आयौँ भन्ने जानकारी पनि पुस्तकमा समावेश छ । विगतमा नेपालले भोग्नुपरेका विविध घटनाक्रमका कैयौं नखुलेका पाटाहरू पुस्तकले उजागर गर्छ । साथै, ती घटनाहरूमा बाह्य प्रभाव र मोलतोल कस्ता थिए, त्यसमा वैदेशिक स्वार्थका स्वदेशी प्यादाहरूले निर्वाह गरेको भूमिका कस्तो रह्यो । यस्ता तथ्य आम नेपालीले थाहा पाउन जरुरी छ । पुस्तकमा नेपाली राजनीतिका त्यस्ता धेरै पात्र, प्रवृत्ति र घटनाक्रमको वर्णन गरिएको छ ।
साथै, मित्र देश भनिएकाहरूबाट नेपालमाथि कसरी निरन्तर रूपमा द्वैध व्यवहार भइरहेको छ, त्यसको समेत शल्यक्रिया गरिएको छ । त्यस्ता शक्तिहरूप्रति धारणा बनाउनुअघि ती देशका विगतको कूटनीतिक विरासतलाई बुझ्न जरुरी छ, त्यसका लागि पनि पुस्तक सहयोगी हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।बीपीसँग राजाको समझदारी कायम हुन नसके पनि पाण्डेले सधैंभरि दरबारनिकट भएर आफ्नो कूटनीतिक सीपको विकास र प्रयोग गरेका थिए । यो आत्मकथाको माध्यमबाट दरबारको आन्तरिक राजनीति, कार्यशैली, दरबारको सोचको स्रोत र शैली आदिबारे पनि निकै कुरा बुझ्न सकिन्छ ।
आत्मकथा भएकाले घटनाक्रम पाण्डेको वरिपरि वा सक्रियतामा घुम्नु अनौठो होइन ।
आत्मकथा भएकाले घटनाक्रम पाण्डेको वरिपरि वा सक्रियतामा घुम्नु अनौठो होइन ।
त्यसमा पनि पत्रकारिताबाट उदाएका र कूटनीतिमा खारिएका व्यक्तिको भूमिका झन् बढी देखिनु स्वाभाविकै हो । तर, पुस्तकमा पाण्डेले केही मौनता साँधेका छन्, जसले पाठकका मनमा प्रश्नहरू उब्जिन्छन् । जस्तै : उनी निरन्तर दरबारनिकट रहेर काम गरे । तत्कालीन राजा ज्ञानेन्द्र अध्यक्ष रहेको शाहीकालका मन्त्रीसमेत भए । त्यसकारण उनी राजनीतिमा राजाको सक्रियताका सारथी मानिन्छन् । तर, यसप्रति कुनै आत्मालोचना गरेका छैनन्, पुस्तकमा । उक्त घटनाका कारण पाण्डेलाई राजनीतिमा सिद्धान्तहीन भनेर आरोप लाग्ने गरेको छ ।
राजा र बीपीको समझदारी स्थापित गराउने प्रयास असफल भएपछि बीपीबारे उनले खासै उल्लेख गरेका छैनन् । दोहोरो सम्बन्ध नभएर हो वा बीपीको आस्थाले ‘आगो बाल्न’ छाडेर हो, उनी दरबारले बालेको आगो नै तापिरहन्छन्, निरन्तर । दरबारनिकट नै भएर हुन सक्छ, पञ्चायती अराजनीतिक व्यवस्थाप्रति उनी मौन बसेका छन् । त्यतिबेलाको राजनीतिक दमन, कुशासन र राज्य दोहन नीतिप्रति मौन छन् । यो उनका लागि स्वाभाविक र पाठकका लागि अस्वाभाविक छ । त्यसबारे उनले किन उल्लेख गर्न जरुरी ठानेनन्, पाठकमा सन्देह सिर्जना हुन्छ ।
बहुदलपछिका हरेकजसो सरकार परिवर्तनमा उनी खेलाडी भएका छन् । स्थिर सरकारको रटान लगाउँदै, सरकार परिवर्तनमा पनि भूमिका निर्वाह गरिरहेका छन् । उनले आफ्नो प्रभावको गलत प्रयोग गरेका थिए भन्न सकिन्छ । पुस्तक सामान्यतया मोटो आकारको छ । यसका अनगिन्ती सबल र केही दुर्बल पक्ष छन् । विशेषगरी पुस्तकमा आत्मालोचनाको मात्रा निकै कम छ । बरु, अरूलाई खुइल्याउन धेरै शब्दको प्रयोग गरिएको छ ।
निष्कर्षमा, राजनीति, कूटनीति तथा देशका हरेक परिवर्तनप्रति दृष्टिगोचर गरिरहेका र आशा तथा निराशाले भरिपूर्ण जोसुकै नेपालीले पाण्डेको यो व्यापक अनुभवसँग साक्षात्कार भए राजनीतिक बुझाइ प्रवाहमा थोरै भए पनि परिपक्वता आउन सक्छ भन्न सकिन्छ । नेपाली कूटनीतिक अभ्यासको सन्दर्भ सामग्रीको रूपमा पनि पुस्तकले महत्व राख्नेछ । पाण्डेको आत्मकथा भएका कारण निःसन्देह त्यसमा उनकै चलाखी र चतुर्याइँका महिमा बढी छन् । तर, कूटनीतिक चातुर्यताका आयाम बुझ्न इच्छुकहरूलाई पुस्तक जानकारीमूलक र रोचक लाग्ने अपेक्षा गर्न सकिन्छ ।
पुस्तक : कूटनीति र राजनीति
लेखक: रमेशनाथ पाण्डे
प्रकाशक: सांग्रिला बुक्स
मूल्य: रु. ७७७/–
लेखक: रमेशनाथ पाण्डे
प्रकाशक: सांग्रिला बुक्स
मूल्य: रु. ७७७/–
No comments:
Post a Comment