Pages

Thursday, April 27, 2017

दर्शना उम्मेद्वारीले ल्याएको तरङ्ग

‘मुखमा रामराम, बगलीमा छुरा’ भनेजस्तै ‘चियापसलमा युवा नेता, मताधिकारमा पुरानै आस्था’ पुनरावृत हुने हो भने नेताले मात्रै होइन, सचेत भनिएका जनताले पनि परिवर्तन, उत्साह र साहस नचाहेको प्रष्ट हुन्छ । राजनीतिका उही ढिलासुस्तीको मतियार मात्रै होइन, भरिया पनि भएको प्रष्ट हुन्छ ।

किशोर दहाल

काठमाडौं महानगरपालीकाको मेयरमा रञ्जु दर्शनाको उम्मेद्वारीको समाचार सार्वजनिक भए लगत्तै एकजना फेसबुक प्रयोगकर्ताले लेखे– “मलाई २१ वर्षे यी नानी काठमाडौंको मेयर बनेर तहल्का पिटेको हेर्ने धोको छ !

रवीन्द्र मिश्रको भाषामा ‘अन्तिममा मम’ खोज्ने राजनीतिक संस्कार भएकको देशमा दर्शनाले मेयर बनेर तहल्का पिट्लिन् वा नपिट्लिन्, तर उम्मेद्वारीको पुरानो प्रचलनलाई भने धक्का दिइसकेकी छिन् । विवेकशील दलको तर्फबाट उनको उम्मेद्वारीले एउटा तरङ्ग ल्याएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी र विजयले राजनीतिक शान बृद्धि गर्न निकै ठूलो भूमिका खेल्छ, त्यस्तो ठाउँमा दर्शनाको उम्मेद्वारी आफैंमा पुरानो राजनीतिक संस्कारमाथिको प्रश्न पनि हो । र, सम्भवतः विकल्प खोज्ने नभइ, विकल्प बन्ने अभियानको एउटा प्रयोग पनि ।
यहाँ मेरो उद्देश्य दर्शनाले जित्नुपर्ला कि नपर्ला, जिते काम गर्न सक्लिन् कि नसक्लिन् भन्ने मूल्याङ्कन गर्नु होइन । त्यसको लेखाजोखा गर्न र नेतृत्व चुन्न काठमाडौंकै मतदाता सक्षम छन् । तर, दर्शनाको उम्मेद्वारीसँगै आम मान्छेको मनमा उठेका प्रश्न, उनी बारेका छलफल, उनीप्रतिको चासोले परम्परागत राजनीतिमाथि केही दबाब भने सिर्जना गरेको छ । यो खुसीको कुरा हो ।

त्यसै पनि हामीलाई चल्तीको राजनीति र नेता मन नपरेर थन्क्याएको ज्याकेट जस्तै भएको छ, मन नपरे पनि हतारको बेलामा त्यही भिरेर हिड्नु पर्ने बाध्यता जस्तै भएको छ राजनीति । मुख्य दलले मुख्य ठाउँमा यतिबेलासम्म उम्मेद्वारी घोषणा नगर्नुको एउटा कारण यो पनि हुन सक्ला कि मतदाता अहिले जतासुकै भए पनि मतदानस्थलमा हाम्रै हुन् । फलफूल पसल जति घुमेपनि, खाजा खाने बेला मम पसल छिरेजस्तो । नत्र, चुनाव आउन १५ दिन अघिसम्म आफ्ना नेता जनतालाई नदेखाउनुको कारण के हो, जनताले नेतालाई पर्गेल्न समय नदिनुको आशय के त ?

मुख्य दलले उम्मेदवारी घोषणा नभएसकेको परिस्थितिमा पछि खाली रहेको बहसको केन्द्रमा दर्शना नै छिन् । यसको फाइदा पनि उनलाई पुगिरहेको छ । कम्तिमा उनीमाथि व्यपक दृष्टि त पुगिरहेको छ । यो उनी स्वयमको लागि र मतदाताको लागि पनि राम्रो अवसर हो ।

यसलाई यसरी पनि बुझ्न सकिएला कि दर्शनाको उम्मेद्वारीसँगसँगै प्रमुख दलमा युवा, महिला वा यस्तै सीमान्तकृतलाई उम्मेद्वार बनाउनुपर्ने दबाब बढीरहेको छ । पहिलो पटक रामबरण यादव राष्ट्रपति बन्ने बेलामा जसरी राष्ट्रपतिको उम्मेद्वार मधेसी नै बनाउनुपर्ने दबाब दलहरुलाई परेको थियो, अहिले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारीमा त्यस्तै दबाबको पुनरावृति भइरहेको छ भन्न सकिएला । भलै यो क्षेत्रिय प्रतिनिधित्वको सवाल होइन तर उम्मेदवारी कम्तिमा दर्शनाले प्रतिनिधित्व गर्ने व्यक्तित्वको माग बढेको छ । यसकारण पनि अन्य दलको उम्मेद्वार अब दर्शनाको कसीमा जाँचिनेछन् ।

तर, हामीले यो भुल्नुहुँदैन कि चल्तीका दलहरुले त्यो हिम्मत पनि जुटाउन सक्नेछैनन् । त्यसकारण पनि दर्शनाको तरङ्ग निरन्तर नै रहनेछ । हारजीत आफ्नो ठाउँमा छँदैछ ।

सबैभन्दा सचेत वर्ग बस्ने काठमाडौंको मतदाताले अब निर्णय गर्नुपर्ने बेला आएको छ– सधैंभरि राजनीतिमा युवा चाहियो मात्रै भन्ने कि युवा नेतृत्व छान्ने अबसर आउँदा त्यसको सदुपयोग पनि गर्ने । ‘मुखमा रामराम, बगलीमा छुरा’ भनेजस्तै ‘चियापसलमा युवा नेता, मताधिकारमा पुरानै आस्था’ पुनरावृत हुने हो भने नेताले मात्रै होइन, सचेत भनिएका जनताले पनि परिवर्तन, उत्साह र साहस नचाहेको प्रष्ट हुन्छ । राजनीतिका उही ढिलासुस्तीको मतियार मात्रै होइन, भरिया पनि भएको प्रष्ट हुन्छ ।

यति भन्दै गर्दा, युवा भएकै कारणले दर्शनालाई मत दिनुपर्छ भन्ने मेरो आशय होइन, तर आस्थाको नाममा परीक्षण भइसकेका नेतालाई चयन गर्दैगर्दा दर्शनालाई हराइयो भने हराउनुको प्रष्ट कारण पनि सँगसँगै उपलब्ध होस् भन्ने चाहना मात्रै हो । किनकि, काठमाडौं भनेको त्यस्तो ठाउँ हो, जहाँ दोस्रो संविधानसभाको चुनावमा राप्रपाले सबैभन्दा बढी मत पाएको थियो । मताधिकारको सम्मान गर्दै यति भन्न सकिन्छ, काठमाडौंलाई परिवर्तन र परीक्षणदेखि डर लाग्छ । त्यो डर यसपटक नदोहोरियोस् ।

काठमाडौं महानगरमात्रै होइन, सत्ताको बिम्ब पनि हो । संविधानसभा चुनावको त्यो गल्ती स्थानिय चुनावमा नदोहोरियोस्, प्रवृत्तिका हिसाबले ।

twitter: kishu_gb123

No comments:

Post a Comment